विवश पोखरेल – दिङ्ला
रुद्राक्षको शीतल सिंयालमुनि
तपस्यारत् छ षडानन्दको सालिक
आश्चर्य भावस“गै–
प्रत्येक ओठओठमा झुन्डिएका छन्
बर्खामा, एउटा पातलो गम्छा ओच्छ्याएर
अरुण नदी तरेको षडानन्दको कथा ।
नेपाली कविता को बिशाल संग्रह
विवश पोखरेल – दिङ्ला
रुद्राक्षको शीतल सिंयालमुनि
तपस्यारत् छ षडानन्दको सालिक
आश्चर्य भावस“गै–
प्रत्येक ओठओठमा झुन्डिएका छन्
बर्खामा, एउटा पातलो गम्छा ओच्छ्याएर
अरुण नदी तरेको षडानन्दको कथा ।
विवश पोखरेल – अराजक सहरमा
सपनाको रङ्गीन घुम्टो ओढेर
अराजक यो सहरमा
प्रतीक्षाका आतुर मन ओछ््रयाउँदै
धमिला आँखामा मान्छेहरू खोजिरहेछन्
जीवनको उज्यालो रङ
खोजिरहेछन्
अप्रत्यासित ओठबाट अपहरित मुस्कान Continue reading “Biwash Pokhrel – Arajak Sahar Ma”
विवश पोखरेल – बाँदर आतङ्क
आफ्नै घर भत्काएर
एक हुल बाँदरहरू
शहर पसेका छन्
खबरदार मान्छेहरू
घर बाहिर ननिस्कनु
फेरि कफ्र्यु लाग्नसक्छ
अनाहक बाँदर आतङ्कले
एउटा शान्त बस्ती
तहसनहस हुनसक्छ
पुनःअसङख्य छोराहरू–
अनायास हराउन सक्छ ।
थरी–थरीका छन् बाँदरहरू
बाँदरको रङ्ग बेग्लै छ
जात बेग्लै छ
छुल्याँइ बेग्लै छ/उत्पात बेग्लै छ
बाँदर युद्धमा सधैं मान्छेहरू
सास्ती भोगिरहेछन्/सन्त्रास भोगिरहेछन्
कहिले मान्छेका –
सपनामाथि घोडा चढेर
स्वार्थका पीङ मच्चाउँछन् बाँदरहरू
कहिले पशुपतिको घण्ट ठोक्दै
राष्ट्रसङ्कटको उद्घोष गर्छन् बाँदरहरू
कहिले खुरूर्र बुर्कुसी मार्दै
कुर्सीका खुट्टा समाउँन पुग्छन् बाँदरहरू
चलिरहेछ –
एकपोल्टा उज्यालोको भागबन्डामा
बाँदरहरूको लुछाचुँडी
घामका रेशा–रेशाबाट
सगर छुने प्रविधि सिकाउँदै –
खाटा बसेको घाउ कोट्याएर
पारिलो घाममा–
सन्तुष्टिका जुम्रा हेरिरहेछन् बाँदरहरू
आँखामा भ्रमका हरिया चश्मा लगाएर
प्रत्येक मनलाई दिग्भ्रमित पार्दै
शिशिरलाई वसन्त देखाइरहेछन् बाँदरहरू
कति हेर्नु –
बाँदरका नृत्य नौटङगी र चटक
चोकमा– डबलीमा निरन्तर
जात्रा देखाइरहेछन् बाँदरहरू ।
विवश पोखरेल – गाउँमा एउटा साँझ
पहाडको मायालु छातीमाथि
निर्धक्क टाउको अड्याएर
एउटा थकित दिन
विश्राम लिने तरखरमा छ
गुलाबी बिछ्यौनामा निश्चिन्त
सुतेजस्तो देखिन्छ पहँेलो घाम
निर्जनता छिचोल्दै–
निर्बाध बगिरहेछ नदी
चिरबिर चिरबिर गाइरहेछन् चराहरू
समयको उदास गीत
एउटा सग्लो दिनको अन्त्य गरेर
गोधूलिसँगै फर्किरहेछन् गोठालाहरू
पिठ्ँयूको दाउराको भारी पिँढीमा बिसाएर
कमिजको फेरोले निधारका पसिना
पुछिरहेका छन् एक हुल गाउँले
तुरतुरे धारोमा
माटो सुगन्धित फरुवा पखाल्दै
सन्तुष्टिका स्नान गरिरहेछन् किसानहरू
दिनभरि मेलापातमा हराएकी
आमाको न्यानो काखमा लुट्पुटिंदै
निस्सासिंदै चुसिरहेछ एउटा बालक
आमाको गानिएको दूध
गोठमा गाँसिदै छन्
बिहानी पूर्वाद्धमा फुकेका
बस्तुका असरल्ल दाम्लाहरू
एउटा सिलसिलाको
नवीकरण गरिरहेछ समय
क्रमशः आँखाबाट ओझेल परेको छ
अनवरत यात्रारत एउटा दिन
जीवन समरमा हारेको छ समय
गाउँलेहरू मनाइरहेछन्
समयको पराजयमा एउटा विजयोत्सव
पाहुनाजस्तै –
प्रकृतिको ढोकाबाट भर्खरै भित्रिएको छ
गाउँमा एउटा साँझ ।
विवश पोखरेल – घाइते अचेल
घाइते अचेल जिन्दगानी भएको छ
रगत खोलाको पानी भएको छ।
हिंसामा कठोर ढुङ्गा भएपछि मुटु
पीडा सहने अनौठो बानी भएको छ।
डढेलो लागेको जङ्गल भएको छ देश
एकाएक सपना डढेर खरानी भएको छ।
भत्किएर सद्भाव – हराएर मानवता
एकादेशको अनौठो कहानी भएको छ।
सत्तालिप्तहरू भागबन्डामै व्यस्त छन्
देश आँसुले रुझेको सिरानी भएको छ।
विवश पोखरेल – एउटी नगरवधुको डायरी
प्रत्येक साँझसँगै सुरू हुन्छ
मेरो जीवनको दिनचर्या
जब सहर बल्छ/म निभ्छु
जब झलमल्ल रात फुल्छ
म ओइलिन्छु
मोलमोलाइको बजारमा
जोसँग जे छ, त्यही बेच्ने त हो
किन्नेहरू किन्छन् त म के गरूँ ?
यो नगरमा–
सधैं बेइमानहरूको स्वागतार्थ
अधिकांश इमान्दारहरू
माला लिएर ठिङ्ग उभिएको देख्छु
प्रशंसाका लोरीसँगै–
स्तुति र भजन गाएको देख्छु ।
यहाँ इमान बेच्नेहरूको
कुनै चर्चा हुँदैन ।
पापी भुँडीका लागि मैले अलिकति
लाजसम्म बेचेको न हुँ
जसरी मान्छेहरू ठेक्कामा
माटो बेच्छन् /कुर्सी बेच्छन्
त्यसरी नै–
क्षणिक भोगाधिकारका लागि
मैले अलिकति शरीर बेचेको न हुँ ।
ससाना कुरामा ठूलाठूला आन्दोलन र
बन्द हडताल हुने यो देशमा
किन मेरो शरीरको मात्र चर्चा हुन्छ
मेरो विवशताको किन चर्चा हुँदैन ?
मेरो भोकको किन चर्चा हुँदैन ?
मेरो अभाव र गरिबीको किन चर्चा हुँदैन ?
यो देशको अभागी नागरिक म
मनभरि अनगिन्ती पीरको भारी बोकेर
निदाऊँ भन्छु सक्दिनँ ।
सधैं समानता आरक्षण र अधिकारका कुरा
उठिरहेका बेला
आफ्ना सम्पूर्ण पीडा बिर्सेर
जीवनको चौतारीमा केही क्षण
सुस्ताऊँ भन्छु सक्दिनँ ।
यसो सोच्छु –सोचको धरातल
अझ फैलिन्छ / अग्लिन्छ
किन महाशय यो शहरमा
नगरवधुको मात्र चर्चा हुन्छ
अनुहारमा भलाद्मीको खास्टो ओढेर
हामीसँगै समागममा लिप्त
नगरवरहरूको किन चर्चा हुँदैन ।