Basudev Pulami – Desh Ra Kira

बासुदेव पुलामी – देश र किरा

देशको मानचित्र जस्तै छ
उसको नाङ्गो करङसितको छात्ती।

सर्व शिक्षा अभियानको
घोटालाले पिल्सिएको छ उसको जीवनको साउँअक्षरहरू
त्यसैले उसले कहिले जानेन
अ वर्णमालाबाट अधिकार
र आ वर्णमालाबाट आरक्षण बोल्नु।

स्कुल, ऱ्याम्स, सुग्घर लुगाफाटा र घेघेरानीहरू
उहिल्यै नै फ्याक्ट्री र कारखानाहरूले चोरेर लगिदिएको हो
जीवनमा कहिल्यै नफर्काउने गरी।

भोक, तिर्खा र पसिनाले लेख्छ उसले
देशको स्वादिलो तलतल
त्यसै स्वादमा जिब्रो पढकाएर खान्छ देशले खैनी
उसकै रगतको अलिकति चुना दलेर।

ढुङा, रोडा र बालुवामाथि
घस्रिरहेको त्यो नाङ्गो सिगानेकिरा लाग्छ देशलाई त्यसको रूप
तर त्यो रूपबाट देखिने देशको
प्रतिबिम्बलाई हेर्ने राष्ट्रपतिकोमा चस्मा छैन।

Basudev Pulami – UJyalo Ko Ankha

बासुदेव पुलामी – उज्यालोको आँखा

घरभित्र गजधम्म भई बसेको छ
अराजक विचारको लाटकोसेरे आँखाहरू।
उज्यालो हेर्नै मान्दैनन् त्यसले।

पुस्तौंदेखि
अँध्यारोको सिंहासनमा बसेर
अँध्यारोकै गीत भजन जत्तिकै प्यारो सम्झेर गाइरहन्छ यसले।
कुलुलुलुलुलुलु………………………..
कुलुलुलुलुलुलु………………………..
कुलुलुलुललुलु………………………..
एकैखाले स्वरहरू
एउटै रिदममा लयबद्ध कोरसहरू।

एक झिल्का जूनकिरीको उज्यालोसित डराउँछ त्यो।
…………………………………….
घरमाथिको बगेनाको रूखबाट
जूनले घरलाई नै चिहाइरहन्छ।

चूकजस्तो अँध्यारो पोखिएको घरभित्रबाट
स्वादको जिब्रो पढकाइएको आवाजहरू मात्रै बाहिर आइरहन्छ।
…………………………………………
अँध्यारोमा बसेर त्यसले आफैलाई खाइरहेछ कि ?
बाहिर निस्कनै सक्तैन त्यो।

मलाई थाह छ
घामको उज्यालो घरको छानाबाट भित्रैसम्म छिरेको दिन
ती आँखाहरू अन्धा हुनेछन्।

Basudev Pulami – Jutta Ra Ma

बासुदेव पुलामी – जुत्ता र म

सधैं एउटा यात्रा हिँडेर
थाकेपछि
रातभरि चुपचाप एककुनामा बसिरहन्छयो।

मैले हिँडन जानेको दिनदेखि
मलाई शिरमाथि थामेर कुनै यात्राहरूसम्म पुर्‍याएर पनि
एक्लो बनाएको छैन यसले।

कति लामो यात्रा मबाट हिँडिसक्यो
कति लामो बाटो मबाट छुटिसक्यो।
यो यात्रामा हिँडदा- हिँडदा
म आफै थाके पनि
अझै
मलाई अघि बडने जोश र जाँगर दिएर
हेरिरहन्छ हरेक यात्रापछि यसले।

मलाई थाह छ
मेरो यो यात्रा एकदिन टुङ्गिनेछ,
कारण मान्छेलाई कहीँ पुग्नु छैन।
तर
त्यो दिन पनि
मलाई चुनौति दिएर
यसले मलाई पर्खिरहन्छ। पर्खिरहनेछ।
एउटा असमाप्त यात्रा शिरमाथि बोकेर।

Basudev Pulami – Sharanarthi

बासुदेव पुलामी – शरणार्थी

एउटा आकास नहुनुको पीडा
कति गहिरो हुन्छ
त्योअनन्तताजस्तो।

आफ्नो
भूइँ/माटो नहुनुको खाडल
कति तल हुन्छ
त्यो अन्धकार जस्तो।

आफ्नो मुलुक नहुनुको पीडा
आफ्नो देश नहुनुको पीडा
त्यो अनकन्टार जङ्गलहरु जस्तो।

यो संसारमा
तिमीलाई म मान्छे हुनुको पीडा
कसरी देखाऊँ हँ?