Ananda Ram Paudel – Loktantra Ko Aawaj

आनन्दराम पौडेल – लोकतन्त्रको आवाज

कोलाहललाई पुरेर
त्यसमाथि गरिएको ढलानमा
मचक-मचक हिंडिरहेछन् बुटहरू
बुटबाट आवाज आइरहेछ- लोकतन्त्र
(यथार्थमा आफ्नै अन्तरआत्माबाट प्रस्फुटित)
बुटको पदचापबाट ध्वनित आवाजले
सिपाही झस्कन्छ
सदियौंदेखि
मस्त सुतिरहेको
सत्ता छेवैमा छ
ढलान हेर्छ
बुट हेर्छ
कहीँ चुक छैन
सिपाहीलाई यत्ति थाहा छ-
सत्ताको ऐसआराममा
दखल पु-याउनेलाई
सिध्याउनै पर्छ
सत्ता सुकुमारी छ
कोमल गुलावी छ
सानो आवाजले पनि चोट पार्छ
झन् असन्तुष्टिको आवाज
कति कर्कश हुन्छ !
व्यथाहरू, पीडाहरू, आर्तनादहरू
झर्को लाग्ने आवाजहरू
सबै पुरिसकिएकै छ
पुराइमा शङ्का छैन
बरु यो बुटभित्र के छ ?
यो बुट बनाउने
मजदुरको अनुहार
रातो-रातो, तातो-तातो थियो
स्वर ठ्याक्कै यस्तै थियो
मजदुरलाई खोज्दै
सिपाही जति छिटो
जुत्ता कारखानातिर लम्कियो
बुटबाट त्यत्तिकै छिटो
लोकतन्त्र लोकतन्त्र आइरह्यो
त्यो शब्ददेखि तर्सेर
सिपाही झन्-झन् छिटो कुदिरह्यो ।

Ananda Ram Paudel – Samanti Maya

आनन्दराम पौड्याल – सामन्ती माँया

माँया गरेरै होला
देहातमा नथुनी जिम्दार
श्रीमती र वुहारीको भोट
आफैँ दिन्छ
यता, नथुनीकै सरकार
नतुनीबाटै सिकेर
सम्विधान सभा नबन्दै
राज्य-संरचनाको मोडेल तय गर्छ ।

छुटेको परिवार

एउटा परिवार
जुन जनगणनामा सँधै छुट्यो
सपना
जीजीविषा
संघर्ष
आक्रोश
र तीसँगै रहेको छ ।

Ananda Ram Paudel – Barta (Nepali Short Poem)

आनन्दराम पौडेल – वा॒र्ता॒
(Sent To Sanjaal Corps Via Email)

सवै सम्वाद,गोष्ठी
विमर्श,वार्ता र अन्तर्कृयाले
सधैं मुख्य प्रश्नलाइ पन्छाउने गर्छ
यस्तो लाग्छ
गम्भीर विषयबाट ध्यान हटाउनकै लागि
गोष्ठी,वार्ता हुने गर्छ।

Ananda Ram Paudel – Ganatantra Diwas

आनन्दराम पौडेल – गणतन्त्र दिवस
(मधुपर्क साउन, २०६७)

पार्टीको कार्यकर्ता
अबेला उठ्यो
कागजको एउटा टुक्रामा
‘व’ अक्षर देख्यो
वर्गसङ्घर्षका कसहरू
रेडलेबलले कुल्ला गरिसकेको हो
यो शब्दले तैपनि पिछा Continue reading “Ananda Ram Paudel – Ganatantra Diwas”

Ananda Ram Paudel – Naya Nepal

आनन्दराम पौडेल – नयाँ नेपाल

‍‍नयाँ नेपाल निर्माण गर्न
दलित
जनजाती
आदिवासी
अपाङ्ग
महिला
र मधेशी
सवै पठाइयो
नेपाली मात्र भेटिएन।

Ananda Ram Paudel – Byakaran

आनन्दराम पौडेल – ब्याकरण

साँधसीमाना मिचिएछकि
छिमेकीसँगको व्यवहारमा तलवितल परेछकि
ज्यापुनी दिदी कराइन्
प्रोफेशर सरले
भाषा पढाउन छाडेर
ध्यान दिएर सुने
ज्यापुनी दिदीले धारे हात लाएको
उफ्रि-उफ्रि चिच्याएको
प्रोफेशरले हेरिरहे
र अन्तमा भने
ब्याकरण मिलेन
शव्दसंयोजन, शव्दविन्यास
एउटै मिलेन।

Ananda Ram Paudel – Poster

आनन्दराम पौडेल – पोस्टर

बस्तीका भित्ताभरी
टाँसिएका छन् पोस्टर
पोस्टरमा छ
ङीच्च दाँत देखाएर हाँसिरहेको
नेताको फोटो
ढाकछोप गर्दागर्दै
छोपिन नसकेको कुटीलता
र जतनसँग ढाकिएको आडम्बर
छेउकुनाबाट चियाइरहेको छ।
हजूरआमाले नियालेर हेरिन्
प्रस्ट देखिन् तीखा बङ्गारा
यस्ले केही चपाइरहेको छ
हाम्रो सपना
हाम्रो जीवन
र एउटा सिङगो राष्ट्र ।
कहाँ लगेर जोगाउने होला
नातीनातिनाको भविष्य
सोचमग्न भइन् हजूरआमा
र एक थोपा आँसु झारिन्।

(Sent to Sanjaal Corps via Email)