Acharya Prabha – Najarko Baan Le Hanyo Ki Malai

आचार्य प्रभा – नजरको बाणले हान्यो कि मलाई ? (गजल)

नजरको बाणले हान्यो कि मलाई ?
मनको मन्त्रले तान्यो कि मलाई ।

बुझ्न नै सकिन आज खै के भनुँ ?
प्रियसी भनेर जान्यो कि मलाई ।

सकिन बुझेर मन नि कहिल्यै
जीवन संगीनी मान्यो कि मलाई ।

शायद असल प्रेमी नै भएर
मनकी प्रेमिका ठान्यो कि मलाई ।

हज्जारौं सुन्दरी छाड्दै पो यसरी
एक्मात्र मायालु छान्यो कि मलाई ।

छुटाइ कहिल्यै टाढा नै नगर्न
कसिलो डोरिले बान्यो कि मलाई ।

(रचना १९ अगस्ट २०१० )

Acharya Prabha – Jindagi [Shishu Gajal]

जिन्दगी कहिल्यै नमेटिने मीठो आश रैछ
निराशामै अल्झिदिने जिउँदो लाश रैछ ।

जस्तो चल्छ, चल्दै जान्छ भोग्नै पर्छ आखिर
पीडा, ब्यथा बिर्सिएमा जीवन आहा! खास रैछ ।

बाँच्यौ भनी मक्ख पर्छन, यहाँ मान्छेहरु
साँचो जीवन बचाउने संघर्ष नै सास रैछ ।

जिन्दगीमा हाँसो,खुशी सबै नै अमुल्य छन
खुशी, हाँसो अँगाल्नु मात्र जीवन ह्रास रैछ ।

(अमेरिका )

Acharya Prabha – Desh Samjhera

आचार्य प्रभा – देश सम्झेर

हो, म चटक्कै
आफ्नो माटो बिर्सिएर
सात समुन्द्रको माटो
टेक्न आइपुगे,
तर मेरो देशको माटो
मेरो निधारमा टिका बनेर
टाँसिएको छ
कहिल्यै नमेटिने गरी ।
मेरा खाली पाईतालाहरुमा
टाँसिएका मेरो सानो देशका
माटोका कणहरु अझै पनि
मेरा औंला औँलाहरुमा
टल्किरहेछन् सगरमाथाको
पर्याय बनेर ।
निधारमा मेहेनतको पसिना पग्लँदा
म सम्झने गर्छु,
त्यो खेतबारी र करेसाबारीका
कुलेसोहरु, अनि तृप्त बन्छु
र…,
आनन्दानुभूतीको श्वास फेर्छु
पराई भूमीको यो आँगनमा ।
जब आकाशमा
परेवाका हुलहरु
छताछुल्ल बनेर
उडेको देख्छु
तब लाग्छ मलाई
मेरो देशको बुद्धले
मलाई सम्झेर शान्तिको दूत
पठाइदिए अनि म
आकाशतिर फर्किएर
शान्तिको गीत एक पटक
गुन्गुनाउँछु
बुद्धमशरणम गच्छामी……!

Acharya Prabha – Sangeet Bihin Maun Juwari

ब्यर्थ बिचारको उहापोहमा
मस्तिष्क खर्चेर हामी
सदा शीतयुद्धमा लडिरहेछौँ
ता पनि…..
सकारात्मक निश्कर्षको
प्राप्ती छैन हामीलाई ,
अन्यौलमा भौँतारी रहेछौं
अकथित भावनाहरु मनभरी गुम्साएर
एकार्काका बिचारहरुसँग
असहमतिको सहिछाप गर्दै
मौन जुवारी खेलिरहेछौँ ।
कोही राजनीतिको रखवाला भएर
युद्धको धावा बोलिरहेछौँ
कोही धर्मको बिभाजनमा एकार्कालाई
बिभाजित गरिरहेछौं
कोही लिंगभेदको निहुंमा आफूलाई
अग्रणी बनाइ रहेछौं ,
कोही जातिबादमा
अन्धो बनिरहेछौँ ।
हो यो मौन जुवारीमा
न मादलको मीठो ताल छ,
न त सारंगीको स्वीकृतिको
मन छुने मीठो धुन छ
न त बाँसुरीको लय छ
फगत !यो जुवारी संगीतबिहिन छ
असमर्थन र अस्वीकृतिका शब्दहरु
ब्यर्थमा भरिएको छ
यो कण्ठबिहिन जुवारीमा
पोख्त संगीतकारको कमी छ
मीठो स्वरदिने गलाको
आवश्यकता छ
अनि सहि शब्दकारको खाँचो छ
यो मौन जुवारीमा ।

Acharya Prabha – Dastur Le [Nepali Gajal]

सँगै बाँच्ने बाचा हाम्रो,पुरा हुन दिएन दस्तुरले
हाम्रो भेटको निवेदन पनि किन लिएन दस्तुरले ?

च्यातियो हाम्रो मनको रुमाल, जहाँ माया बाँधिएथ्यो
दयालु बनी हाम्रो पक्षमा, फेरि किन सिएन दस्तुरले?

खै!कस्तो मिलन हो? समाजबिच एकसाथ हुनै नसकिने
हाम्रो चाहनाको चोखो अम्रितलाई, किन पिएन दस्तुरले?

केही ढिलो भएछ,हाम्रो जीवनले सँगै हाँस्ने पल पाउन
जिउनु पर्थ्यो हाम्रो निम्ती भएनी किन जिएन दस्तुरले?

(अमेरिका)

Acharya Prabha – Ma Chhu Bishwasta

म छु बिश्वस्त गरेनौ शायद, मेरो मायालाई तिरष्कार
अनि सोच्दैछु फेरि यो पनि, गर्ने छैनौ मनबाट बहिष्कार ।

तिम्रो माया जिउने आधार भयो, अनि आश्वासन जीवन
जीत भयौ तिमी यसै मेरो, अनि भयौ जीतको पुरस्कार ।

ठान्दछु म मन स्वच्छ भए, पाईन्छ मीठो खुशीको बरदान
कुन ईश्वर हो त्यो जस्ले, रच्यो तिम्लाई गर्दछु म नमस्कार।

हो भावना र चाहनाले रोज्यो तिम्लाई, यस्मा मेरो के दोष ?
थाहा छ मलाई यो पनि, तिमीमा छैन मेरो पूर्ण अधिकार ।

(९/२९/ २००९ साँझ )

अमेरिका

Acharya Prabha – Nabin Barsha Jhulkiyo (Nepali Gajal)

आचार्य प्रभा – नविन बर्ष झुल्कियो (गजल)

हर्षले छायो, मनमा हेर, बिहानी आएर
उमंगसँगै, उदायो सूर्य, झल्मल्ल छाएर।

नविन बर्ष, झुल्कियो अब, लिएर सुखद
सबैको मन, हर्षित बन्यो, आनन्द पाएर ।

बाँच्नेछन् सबै, हाँसोमा रमी, खुशी नै भएर
लडाइँ अब, लड्दैनौ भनि कसम खाएर ।

रगतको खोलो, चाहिन्न अब, सद्भाव चाहिन्छ
बाँचौला सबै, एकार्का माझ, नजिक धाएर ।

नव यो बर्ष, खुशीले मान्दै, मनमा फुलाउँ
मायाको साक्षी, बनेर बाँचौं पिरती लाएर ।

(नयाँ बर्ष २०६७ सालको आगमनलाई हार्दिक स्वागत गर्दै सिर्जिएको गजल)

Acharya Prabha – Samjhana Dar Lagyo (Nepali Gajal)

आचार्य प्रभा – सम्झन डर लाग्यो (गजल)

सम्झन डर लाग्यो
बिर्सन कर लाग्यो

तिम्रा नाटक हेरी
केनै पो भर लाग्यो?

यत्ती ढाँट्यौ मलाई
झनै अभर लाग्यो ।

जाली,झेली देख्दा त
अझ पो पर लाग्यो ।

बिस्वाश यत्ति थियो
शंखा नै तर लाग्यो ।

(रचना ३ /२५ /२०१० )

Acharya Prabha – Euta Nakshatra Jharechha Sahityaakash Bata

म स्तब्ध बनें
त्यो शोकाकुल खबरले
साहित्यिक नभबाट एउटा स्रष्टारुपी तारा खसेछ
झापाली साहित्यकाशबाट ,
चम्की रहेका उज्ज्वल नक्षत्रलाई
कसरी कालो बादलले आफ्नो कालरात्री घुम्टोमा लुकाएछ

म कामना गर्दछु वहाँको चिरशान्तिको
म प्रार्थना गर्दछु वहाँको प्रतिभाको दिर्घायुको
शरीर माटोमा मिल्यो त के भो ?
साहित्यरुपी सन्तानहरू जिवित नै छन
आत्मा पलायन भयो त के भो ?
सृजनाका डोबहरू बाटाभरि यत्रतत्र छन

देह मर्यो रे वहाँको सदाकोलागि
कबिताहरू जिउँदो आत्मा बनेर गुन्जिरहनेछन ,
छायाँ बिलिन भयो रे सुन्यतामा
कथाहरू जिवित बनेर सल्बलाई रहनेछन
सबको मनमस्तिष्कमा

हो म फेरि पनि भन्छु
एउटा देह पलायन भयो रे, आत्माले चिरनिन्द्रा रोज्यो रे
तर अजर, अमर बन्नेछ सदा
वहाँका साहित्यरूपी सन्तानहरू
सबका अन्तरात्माभित्र गुन्जिरहने छन
वहाँका भावनारूपी साहित्यका शब्दहरू
यसैले म चडाउदैछु वहाँलाई
श्रद्धान्जली स्वरूप सम्झनाका
यीशब्द सुमनहरू

(आदर्णीय दाइ भवानी घिमिरेको सम्झनामा समर्पित कबिता )

Acharya Prabha – Nirdeshak Ho Man

बहकिन सक्छ मन
कतै छट्पटिमा आत्तिएर
टुक्रिन सक्छ मन
कँही पीडामा बल्झिएर,
हो, मन यस्तै छ
कोमल बन्छ कहिले
नचाहिंदो तर्कमा बिनासित्तिमा,
कठोर बन्छ कहिले
डुबेर स्वार्थको अभिप्शामा चुर्लुम्म
त्यसैले त हजार मान्छेको मन
हज्जार थरिका ………,
अनि ब्यवहार पनि परिपरिका ।
आखिर सबै परिणामहरुको
उपज हो यो मन ,
अनी त… सोँचाइ र बुझाईमा पनि
कत्ती असमानता ?
शायद मनको बर्गिकरण नभएको भए
जीवन भोगाइमा हुने थिएन भिन्नता
हो यही मनको दर्पणले
कसैको मुहारमा बुद्धको आकृति
झल्काएको छ भने
यही मनको रंगले कसैको मुहारमा
कालो रंग पोतिएको छ ,
म त भन्छु,
मन बजारमा तमाशा देखाउने नौटंकी हो
फेरि भन्छु यो मन,
छेपारोको रंग फेर्ने प्रव्रीती हो ,
अनि भन्छु मन
आकाश गर्जिएर धर्तीलाई
त्रास देखाउने गर्जन हो
हो यो मन ,
मान्छेलाई बिभिन्न रूपमा
अभिनय गराउने निर्देशक हो ।

(अमेरिका )