Ishwar Ballav – Kinar Ko Bodhi Chhaina

ईश्वर वल्लभ – किनारको बोधि छैन

किनारको अतिरिक्त
नदीको दायाँ बायाँ केहि छैन,
नदी बग्छ त्यसैले किनार बग्दैन
त्यो स्थिर स्थापत्य जस्तो
नदी हेरिरहन्छ |

अनेकौं युगहरुदेखिन्को यो क्रम,कहिल्यै परिवर्तन Continue reading “Ishwar Ballav – Kinar Ko Bodhi Chhaina”

Dipendra KC – Udaas Samaya Haru Lai

दीपेन्द्र के.सी. – उदास समयहरुलाई !

किन ? प्रतीक्षा “”” !
उदास समयहरुलाई !

पोलिरह्यो चिसो रातले
आशा बोकेर झर्दैनन् ताराहरु
मनमा विझाइरह्यो त्यो साइत
आफनै दृष्यमाथी अविश्वासी आँखाहरु,
झरनाको ढुँगाजस्तै
पखालिएको छ कि ? थिलथिलिएको ?
कसलाई के थाहा ?
खोलो सुसाएको
रोएको हो कि ?
गीत गाएको ?

अँध्यारोमा टम्म भरिएको बाहेक
रित्तो देखिन्छ दुनियाँ
हेर्दा उज्यालोमा
सायद !
आउँदा पनि खाली
जाँदा पनि खाली
यही हो कि ?
नमेटिएको तिर्खा !

आँधीहरु चलिरहे
के पातहरुलाई
रहर थिएन होला र ?
रुखमै लहराउने ?
तिमीले कटेर गएपछि
कहिले सम्मिएन त्यो डाँडो,
यो मनको पहिरो
चल्छ आफै, थामिन्छ आफै
अव भत्कनै के बाँकी छ र त्यहाँ,
थाहा छ मलाई
भाग्यको लेखन, र
आशीर्वादले नचल्ने जीन्दगी
कुनै असफल रिक्रुटे
खाली खुट्टा फर्किएझैं
किन प्रतीक्षा छ
उदास समयहरुलाई !

कुनै स्टेसनबाट
छुट्यो कि छुटेन ?
पुरानो रेल झैं उदास समय
आइपुगेको छैन अझै यहाँ
रँगहीन शन्देस बोकेर ।

बागलुङ, हाल ओस्टण्डे बेल्जियम

Krishna Sen Ichchhuk – Euta Gaunle Ko Diary

कृष्ण सेन इच्छुक – एउटा गाउँलेको डायरी
(इतिहासको यस घडिमाबाट)

हिजो छिमेक पनि विरानो-विरानो लाग्थ्यो
आज संसारै आफ्नो लाग्छ
हाँस्नुपर्दो रहेछ खुसीले मन
मन हाँसे संसारै हाँस्दो रहेछ
मुटु अब पहिले जसरी दुख्दैन
छाती अब पहिले जस्तो पोल्दैन
गहभित्रै सुकेको पीडाको आँशु
पहिले जसरी अब भक्कानो फुट्दैन
लाग्नुपर्दो रहेछ मनभित्र घाम
संसारै उज्यालो देखिदो रहेछ
दुःखी र गरिबको सुखको दिन ल्याउन
गरिब र दुःखी नै एकजुट भएर लाग्दा
तिनै प्रियजनहरुको सम्झनामा
गाउँको नाम नै
शहीद गाउँ भएको छ ।
र, शहीदहरुको हार्दिक सम्मानमा
निर्माण भएका छन्
असंख्य गेट र स्मारकहरु
डाँडा, थुम्का, लेक र पहाडहरुका नाम
बस्ती, भञ्ज्याङ र चौतारीहरुका नाम
शहीदहरुका नाममा फेरिएका छन्
गाउँ फेरिएको छ
गाउँलेहरु फेरिएका छन्
र, आस्थाको शिखर मन
झन् अग्लो भएर चुलिएको छ ।
बौलाहा हात्तीझैं
धेरैचोटी बौलायो दुश्मन
र, धेरैचोटी गाउँमा आक्रमण गर्यो
कराइरहेको छ धुरीबाट
बैरीहरुको पाप बेसरी
शहीदहरुको रातो रगतले
पापीहरुको घिनलाग्दो चिहान खनेको छ
गाउँमा आउँछन् नयाँ साथीहरु
भेटघाट र कुराकानी गर्छन्
आफन्तले झै सुखदुःख बाँड्छन्
दुःखसुखमा साथ दिन्छन्
सहयोग दिन्छन्/सुरक्षा दिन्छन्
र, घर-घरमा र्सवप्रिय बनेका छन्
आधा दशक
धेरै हण्डर र ठक्कर खायो गाउँले
आधा दशक
धेरै आँधी हुरी र तुफानहरु झेल्यो गाउँले
टिन ठटाएर धपाइएको बाली मास्ने बाँदरहरु जस्तै
भागेर गएका छन्
दुश्मनहरु गाउँबाट अहिले
उठीबास लागेका गाउँलेहरु
फेरी गाउँमा फर्केका छन्
नयाँ दिनको नयाँ घाम उदाएको छ
र, नयाँ हावाको नयाँ लहर
चलिरहेको छ गाउँमा अहिले
महिलाहरु गाउँमा
चुलो चौकोमात्र गर्दैनन् अचेल
केटाकेटीहरु गाउँमा
डण्डीवियो मात्र खेल्दैनन् अचेल
बुढाबुढीहरु गाउँमा
काल पर्खेर मात्र बसिरहँदैनन् अचेल
काललाई समेत जितेर
नयाँ जीवन र नयाँ भविष्यको
सुन्दर अभ्यासमा लागिरहेका छन्
फूलिरहेको गाउँको आँखामा लालुपाते
छातीमा लालीगुराँस फक्रिएको छ
साहसको शस्त्रागारमा
फेरिएको छ संकल्प
विवेकको बारुदखाना सल्किएको छ
महान एकताको विशाल भावले
संकिर्णताको जिर्ण पर्खाल भत्किदै गएको छ
हिजो छिमेक पनि विरानो-विरानो लाग्यो
आज संसारै आफ्नो लाग्छ
हाँस्नु पर्दोरहेछ खुसीले मन
मन हाँसे संसारै हाँस्दोरहेछ
उदाउनु पर्दोरहेछ मनमा चेतनाको घाम
संसारै उज्यालो लाग्दोरहेछ

०५७ कार्तिक १८ राजविराज कारागार
इच्छुक रचनावली (इतिहासको यस घडिमा) बाट

Bairagi Kainla – Mateko Manchheko Bhashan: Madhyarat Pachhiko Sadak Sita

बैरागी काईंला – मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित

आधारातपछि
रक्सी दोकानबाट म के निस्किएको छु :
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेटा फट्फटाउँदै विद्रोहको
कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन्,
यहाँको बातावरणको निम्ति
यहाँको निर्जीवताको निम्ति
यहाँको व्यवस्थाको निम्ति
मेरो रक्सीको गन्धले भिजेको निश्वास पनि
आज, ठुलो आँधीसरह भइसकेको छ
सडकका दुवैतिर लाम लागेका यी आलिशान भवनहरू
आफ्नो जगसहित आफ्नो कमजोरि माटोमुनि गाडिदिनु
अब, अब, अब लड्नलाई तयार छ,

आज मेरो प्रत्येक पाइलामा यौटा-यौटा भूकम्प छ
आज मेरो प्रत्येक अनुभवमा यौटा-यौटा ज्वालामुखी पड्कन तैयार छ
कसरी बसेछु यो उमेरसम्म
यौटा पाइलासम्म पनि नअटाउने
ढल्न लागेका यी साँगुरा घरहरूमा ?
मलाई दुःख लाग्छ :
अझै सुत्छन् गनाउलाझै गुजुल्टिएर
आत्म-पराजित मानिसहरू
धरतीको अस्वस्थ्यकर घरहरूमा,
अनि यति अबेरसम्म ?
आज मेरो विशाल्ता पृथ्वीमाथि अटाउदैन
यो सडकभरिको देशमाथि सास थुन्छ
अनि मैले सडकभरि आँदाखाँद गरेर हिड्दा
मानिस भन्छन्- यो मातेको छ ।,
छेउ लागेर बाँयापट्ट हिंड्नु पर्छ
हो हामीले छेउ लागेर हिंडनु पर्छ
धेरैले सडकमाथि अटाएर हिंड्नु पर्छ,

गगनचुम्बी भवन र धरहराका
सिरान-सिरानका कोठाभित्र
रात-रातभरि बल्दछन्…….नीलो-नीलो गुलुप :
लाटकोकोसेराका आाखाहरू,
यहाँ रातभरि लाटकोसेराले आँखा देख्दछन,
यहाँ रातभरि लाटकोसेराले कसकसको बाटो ढुक्छ ?
टाउकोभरि अफिसको कागजपत्रका अक्षर,
छातिभरि अफिसको दिवाल घडीका काँटाहरू
फेरिनै आटेका पूर्जाजस्ता जिन्दगी
काँधमाथि टाउको लतारेर यो सडकमाथि हिंडदछन्,
यिनलाई घिसारेर हिंडदछन्
अनुहार नभएका मानिस, अँध्यारोका खुट्टाले टेकेर
रात-रातभरि यो सडकमाथि !
फलतः आजकाल सडक घटेको छ,

कसले चोर्दछ सडकका छेउकुनाहरू ?
किन घट्दछन यो सडक प्रत्येक रातको आगमनसित ?
यो सडकलाई उधारेर फेरि ठुलो पार …………
जब म भन्छु, छेउको मुर्ख पुलिस
मलाई पक्रन तयार छ किनकी म मातेको छु !
अनि रक्सीले छात्ति भरेपछि
मलाई पनि लाग्छ कि मभित्र यत्ति विशालता आइसक्यो,
कि यो सडकको संकीर्णतामा अब अब नअटाउने भइसकेको छु !
इन्जिनियरले सुनुन्
नेता, प्रध्यापक र कविहरूले सुनुन्
इतिहासको प्रत्येक आन्दोलनले सुनुन्
यसर्थ, पोष्ट अफिसको पेटीबाट
म वक्तव्य प्रसारित गर्दछु :
ए सडक हो !
यौटा मानिस तिमीमाथि हिंडदै छ,
म अटाइना तिम्रो फैलावटमा
थसर्थ, म हुकुम गर्दछु …..
अझै तिमीहरू-फट्टिदेऊ, च्यात्तिदेऊ, फैलिदेऊ……
तिम्रो फैलावटको सीमामाथि अतिक्रमण गर्ने
प्रतिक्षण इतिहास बनिरहेका क्षणसित
यी ठूलठूला बिल्डिङका पेटीहरू
मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ति र वंशावली लेखिएका इतिहासका इतिहास नाङ्गा पन्ना जस्ता
यी पेटीहरूलाई
मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर
तिमीले च्यात्तिदेऊ……..फाट्टिदेउ……
कोलम्बसको पैतालाले
यस सडकमाथि टेक्न पाउनु पर्छ ।
यौटा विद्रोहले यहाँ शिर उचालेर हिंड्न पाउनु पर्छ,

यसर्थ, म हुकुम गर्दछु :
ए सडक हो !
अझै च्यात्तिदेऊ…….अझै फाट्टिऊ….
जति खाडल बन्दछ त्यत्ति नै
रक्सीको तरलताले भिजाएर
म, मेरो सद्भावनाले रसाइदिन्छु
म मेरो विशाल्ताले ढाकिदिन्छु
नत्र ता म यहाँ अटाउनै सकिनँ,
नत्र ता बिहान नौ बजे स्कूलको बखत
सानो बालकलाई
उसको आमा र मैले कसरी स्कूल पुर्‍याउनु यहाँबाट
जहाँ अटाउदैन यौटा खुट्टाको पनि पैतालाको फैलावट !
सयौ बूटले प्रतिक्षण किच्चिएर
मोटरका चक्काले प्रतिक्षण पिल्सिएर
लम्पसार र उत्तानो परिसकेका ए जिन्दागी हो !
निष्क्रियताको हुस्सुले थुनिएर
साइनबोर्डका खम्बाले सीमित
घुम्तिघुम्तिले टुक्राटुक्रा खण्डित
चक्रवर्तीको चोइटिएका पराक्रमको सहस्र चोइटा……
ए सडक हो !
अश्वमेध यज्ञका घोडा खेदेर विश्वविजयमा बढेका
सगरका ए शापित सहस्रदश पुत्र हो !
आकाशबाट बोतलको स्वर्गङ्गाको जल
भगीरथको आस्थाले छर्किहेछु तिमीमाथि,
तिम्रो निधारमाथि, आँखामाथि, छात्तिमाथि !
यो जो बगाइरहेछु बोतलका बोतल….
रक्सी सडकमाथि,
थोपाथोपा पिएर
उठ, उठ बौरिएर ए मेरा पिताहरू हो !
ए सगरका शापित सहस्रदश पुत्र हो !
अनि एस पल्ट हिमालजत्रो मुठीले
क्षितिजका गहबाट कचेराको कुइरो पुछेर
मसित हेरिदेऊ…….प्रथमपल्ट :
आँखाले भ्याउञ्जेलसम्म
हामी हाम्रो चारैतिर
विजयका निम्ति युद्धभूमी र
जिन्दगीका निम्ति उज्यालै उज्यालोमात्र देख्दछौं !

Pravin Rai Jumeli – Man Pareko Durghatana Bare Euta Report

प्रवीण राई जुमेली – मन मरेको दुर्घटनाबारे एउटा रिपोर्ट
(Sent to Sanjaal Corps via Email)

सधैं त सरीर मर्थ्यो मन बाँच्थ्यो
यसपाली त मन चाहिँ मरेछ सरीर बाँच्यो

नैराश्यको गाडीमा चडेथ्यो ‘रे त्यो
विडम्बनाको भीरमा वैरिएछ
‘ए झरी’ भन्थ्यो ‘रे मर्नअघि
अलिकति घामको किरण पनि माग्थ्यो ‘रे
नीलो आकाशलाई हेरेर त झन् सासै चुँडिन गाह्रो भो ‘रे
मर्दै गर्दा त्योसित एकान्तको साथ थियो ‘रे

सरीर मर्नलाई त एउटा ढुङ्गाको चोट नै मनग्गे
छुरीको एउटा सानो प्रहार नै मनग्गे
तर गीतबाट भाका नचुँडी
रुखबाट हरियो नखोसिई
कहाँ मर्छ र मन कहाँ मर्छ र मन

समयले भन्थ्यो ‘रे हामी अमर्त्यसेन-खोला सुकेको देख्छौं
असीम एउटा वानगोफ-बोध हराएको देख्तैनौ
हामी सुन्छौं पण्डित बजेको ज्ञानहरु
तरलताको अरुणालामा-रुदनहरु सुन्दैनौ
समयले त्यसै भन्थ्यो ‘रे

कति सुटुक्क मऱ्यो त्यो समयकै षडयन्त्रमा
कसैको गजप मुटुले देख्नै भ्याएन
मलामीको रमिता भर्न र विषादको काँध दिन पाएन कसैले
हिप्पोक्रेसी गन्हाउने फूल नै चढाउन आएन
कुनै भ्रमको महत्वकांक्षी हात
आस्था नामक सरौको सूचीमा पनि चडेन
राहत भनिने केही छद्म राशी

समवेदनाको साइटभरि बोधो कंक्रिटहरु ठडिन थालेछ अहो
मनको चिहानमाथि विस्मृतिको बनमारा उम्रिन थालेछ॥

सिक्किम अकादेमी, तिब्बत पथ, गान्तोक – ७३७१०१, सिक्किम
इमेल – ritukhel2009@gmail.com
फोन – ९७७५९९२१४१

Aayam Phuyal – Sanjeevani Haru

आयाम फुयाल – सञ्जीवनीहरु

एउटा लाम्चो क्यानभास…
त्यसमा कोरिएको,
मेरो मातृभूमिको रुन्चे आकृति,
मेरो मातृभूमिको करुण रोदन,
अनि, मेरो मातृभूमिको निसार चिच्चाहट!
दृश्य एकमा म नियाल्दछु-
आजभोलिका उराठलाग्दा दिनहरु,
कहालीपुर्ण चर्किएका भाष्करका रश्मि,
शून्य अस्तित्व बोकेका मेरा छाया
र मरेतुल्य नरहरु!
सुनकोसीको क्रुर व्यग्रता,
भोटेकोसिको आडम्बरी थुनाइ,
डाँडा-पाखाका बजार ओर्लाई
र यी तथाकथित सर्वश्रेष्ठ मानवजातिको आर्तनाद!
गगनचुम्बी हिमचुचुराका आँसु,
शिर निहुराहिरहेका चोमोलुङ्मा र कन्चनजङ्घाहरु,
वेदनाजन्य ध्वनि निकालेर बगेका हिमनदीहरु,
अघोरी बनेका लेक र तालहरु!
डिपार्टमेन्टल महल बनेर उभिएका चारकोसे झाडी,
प्राण विहिन जङ्गल
प्यासी मुहान
र आना र दाममा चिरिएका जमिन।
दृश्य दुईमा म खोज्दछु-
बट्टामा सिमित कस्तुरी,
गुगल चित्रमा सिमित डाँफे र मुनाल,
क्यानडाको भिसा लागेका काँडेभ्याकुर,
दुर्ग खोज्दै हिडेका सारौँ र परेवा!
साउदीको रापिलो घाममा टटि्एका बलभद्र र अमरसिहंहरु,
रातका रानी बनेका भृकुटी र सीताहरु,
अमेरिकामा पाइप कस्दै गरेका पृथ्वीनारायण र जङ्गबहादुरहरु,
र दुतावास धाउदै गरेका कर्मठ नेपली युवाहरु!
क्यासिनोमा पत्ती फिट्दै गरेका भानुभक्तहरु,
कोठीका रिवन काट्दै गरेका देवकोटाहरु,
व्यभिचारी बनेका लेखनाथहरु
र ज्ञानशून्य समहरु!
उपेक्षित बन्दै गएका वेद र उपनिषदहरु,
मिथ्या भाषण बनेका गीता र रामायण्हरु,
निरर्थक बनेका प्रश्नोतर र मुनामदनहरु,
विना परिश्रम सिर्जिएझैँ श्रीमदभागवत
र छन्द भाचिएको मेरो साहित्य!
दृश्य तीनमा म नियाल्दछु-
भाचिएको सहनाई,
भ्वाङ परेका डम्फु,
खिया लागेका नौमतीबाजाहरु
अनि एकादेशका झैँ बासुरी र सारङ्गीहरु!
राष्ट्रिय धुनले पाकेका कान,
मङ्गलधुनले फाटेका जाली,
डिस्को धाएका नारायण गोपाल र तारादेवीहरु
र शरीर मात्र उत्तेजित पार्ने बेसुरा सङ्गीतहरु!
दिनानुदिन प्यारा बन्दै गएका क्याप्सुल र ट्याब्लेट,
विदेश भ्रमणमा पठाइएका यार्सा र चिराइतो,
कुहिएका पाँचऔले र सर्पगन्धा,
सखाप भएका ती सञ्जीवनीहरु!
बुट्टा कुँदिएको अग्राख,
‘बेड’ भनेर चिनिएको उत्तीस,
विराजमानका साधन बनेका साल र पयूँ,
र यही क्यानभास अडाइएको हाड्बेल र वयर!
नापो छोटिएका घाँघरहरु,
सङ्ग्राहलयमा सजाइएका गुन्यू-चोलीहरु,
घर पुस्ने टाला भएका दौरा-सुरुवालहरु
र लत्याइएका परम्परागत पोसाकहरु!
दृश्य चारमा म खोजिरहेछु-
पूर्खाको रगतको मुल्य,
समग्र स्वार्थविहिनता,
राष्ट्रघातीको उठिबास
र मुर्झाएको देशभक्तिमा
सञ्जीवनीको सञ्चार !

-आयाम फुयाल
कक्षा-१२
सैनिक आवासीय महाविद्यालय
सल्लाघारी, भक्तपुर

Khagendra Sangraula – Aparajita Parijat

खगेन्द्र संग्रौला – अपराजिता पारिजात

उदास जीवनको उजाड बगरमा
मुना टुसायो एक दुबोको
पारिजात अपराजिता पारिजात

जीवनको त्यो जीवन शक्ति
कालरात्रीको जुनकीरी
जनजीवनको दिपशिखा त्यो
श्रमको त्यो महिमा गीत
पारिजात अपराजिता पारिजात

हुरी उठ्दा त्यो हारेन
बज्र बन्यो निस्तेज
मृत्यु मुखेन्जी लत्रेन त्यो
मृत्युन्जयी त्यो अमर गीत
पारिजात अपराजिता पारिजात

उदास जीवनको उजाड बगरमा
हरियाली त्यो जीवनको
पारिजात अपराजिता पारिजात

Dhooswan Sayami – Laas

धुस्वां सायमि – लास
(नेपाल साप्ताहिक)

मेरो
एउटा ‘म’ छ
यहांको स्थितिमा
सदा आफूलाई मरेको पाउंछ
तर सधैका लागि
कहिल्यै यो मर्दैन
र, यो बांचेर उठ्छ/जिउंछ

मेरो
एउटा ‘म’ छ
यहांको स्थितिमा
सदा आफूलाई मरेको पाउंछ
तर सधैका लागि
कहिल्यै यो मर्दैन
र, यो बांचेर उठ्छ/जिउंछ
किनभने
तयार छैन
म आफैलाई यसरी मरिदिन
कुनै प्रकार जीवनलाई घिसारिरहन्छु
यही अवस्था आज
यस देशको क्रान्तिको छ,
र, प्रजातन्त्रको पनि
यहा सधै आन्दोलन हुन्छ
तर सधै प्रजातन्त्र मर्दछ
सत्य भनु त
यहा
प्रजातन्त्र कहिल्यै जिउंदो रहन्न
केवल त्यसको लास
जीवित छ आजपर्यन्त ।

Laxmi Prasad Devkota – Ishwar Tainle Rachera Feri

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ?
हे दिदी मैले ती मुना देख्ता मुनाको मुहार
ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार
मुना छातीको जुहार!

पृथिवीतिर नहेर मुना म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु
प्रेमको हीरा छुटेको तल म लिई आउँछु ।
कसरी खायो आगोले दिदी कमलको शरीर ?
कसरी खायो निठुरी भई कमलको शरीर ?
म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ
खरानी तिनको मलाई द्यौन छातीमा लगाऊँ
हे मेरी आमा हे मेरी मुना म यहाँ बस्तिन
म यहाँ अब बस्तिन आमा म यहाँ बस्तिन
म यहाँ अब बस्तिन मुना म यहाँ बस्तिन

हे मेरा भाइ ती तिम्री मुना मरेकी छैनन् ती
ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती

पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाई
म रुने छैनँ गएर भोलि भेटुँला तिनलाई
हे दैव पर्दा चाँडै नै उठा धन्य छ तँलाई

Prakash Thamsuhang – Hariyo Graha Ko Manchhe

प्रकाश थाम्सुहाङ – हरियो ग्रहको मान्छे

१.
तिम्रो लुगाभन्दा हजारौँ गुणा मैलो
कालो आयातित कम्बल ओढेर
निस्लोट सुतेको यो सहर
तिम्रो नाङ्गो पाइतालाको हस्तक्षेपले
बेस्सरी थर्किएछ जमिन
सहर आतङ्कित ब्यूँझियो,

२.
छक्क पर्‍यो सहर
अचम्भित भए सहरवासीहरू
कसको भयङ्कर पदचाप हो यो ?
हेर कस्तरी हल्लिएको हाम्रो पृथ्वी ?
यो भवन, टावर, सोपिङमल
यो धरहरा, घन्टाघर, सिंहदरबार
किन हल्लिएको यस्तरी ?
कुन ग्रहको जीव आइरहेछ यहाँ ?
अनेकौँ प्रश्नहरूको थाक बोकेर
सहर सोचमग्न उभियो,

३.
तिमी आइपुग्यौ
आफ्नो आदिम अनुहारको चमक बोकेर
तिमी आइपुग्यौ
गहुँगोरो पसिनाको गन्ध छरेर
तिम्रो काँधमा भिरेको हतियार
तिमी युद्धमा हिँडेको हुनुपर्छ
तिमीले पिठ्यूँमा बोकेको पहाड
टाउकोमा ओढेको सुर्जे
घाँटीमा बेरेको जङ्गली लहरा,
तिम्रो गहना हुनुपर्छ
चौडा छातीमा किरिङमिरिङ कोरिएका शब्दहरूले
तिम्रो उत्पत्तिको कथा भनेको हुनुपर्छ
तिम्रो आँधीजस्तो हिँडाइ
बिजुली चम्केजस्तो बोली
तिम्रो चट्याङ विचार
तिमी पक्कै देउता हुनुपर्छ,

४.
आकाश छुन अग्लिएका भवनहरू
चर्किदैछन् जगैबाट
यो सडक फाट्दैछ धुजा-धुजा भएर
कस्तरी काँपेका भित्रैबाट
लोडसेडिङले रतन्धो लागेका
यहाँका असङ्ख्य मान्छेहरू
कुनै ड्रगिस्टझैँ
कस्तरी लुगलुग काँपेका
यहाँका डरपोक शासकहरू
सम्भवतः यिनीहरूले इतिहासमा
अक्षम्य गल्ती गरेको हुनुपर्छ
सम्भवतः यिनीहरूले यो ब्रह्माण्डमा
भयानक अपराध गरेको हुनुपर्छ,

५.
तिम्रो शरीरमा मगमगाइरहेको
जङ्गली फूलको सुगन्ध
तिमी जङ्गलकै बाटो भएर आएको हुनुपर्छ
तिम्रो नश्ल, तिम्रो संस्कृति, तिम्रो सौन्दर्यचेत
तिमी अर्कै देशको हुनुपर्छ
जङ्गली तरूलजस्ता पाखुराहरू
सखुवाको रूखजस्ता बलिष्ठ हातहरू
तिमी अर्कै पृथ्वीको हुनुपर्छ
तिमीले कानमा सिउरेको बुकी फूल
र हातमा लगाएको काँडाहरूका बाला
तिमी पक्कै यो ब्रह्माण्डको
आदिम मानिस हुनुपर्छ,

६.
झ्याप्प सडकको बत्ती निभ्यो
जहीँको तहीँ रोकिए सवारीहरू
डिस्कोथेकमा कर्कश सङ्गीत बन्द भो
स्तब्ध भयो समय
मूर्तिवत उभिए मानिसहरू
शासकहरू कुनै अर्को षड्यन्त्रका लागि
गोप्य बैठकमा सामेल भए
विचारको सवारीमा तिम्रो आगमन
रातो ग्रहझैँ तिम्रो अनुहार
ओ ! सृष्टिको प्रथम मान्छे
तिम्रो नाङ्गो पाइतालाको हस्तक्षेपले
एकाएक यो सहरको गति ठप्प भयो,

७.
यो सहरमा
तिम्रो आगमनको अर्थ
तिम्रो उपस्थितिको प्रभाव
पूर्वानुमान थिएन यिनीहरूलाई
फलस्वरूप विसङ्गतिले निर्मित यिनीहरूको चिसो मस्तिष्कमा
तिम्रो सटिक विचारको आक्रमण
तिम्रो सटिक तर्कको प्रत्याक्रमण
तिम्रो साँध-सिमानाको दस्तावेज
तिम्रो स्वतन्त्रताको खबरदारी
यस्तरी बजि्रएछ कि
गिदी छताछुल्ल निस्कियो
र तिमी घोरियौ निकैबेर
छामी हेर्‍यौ अनि चाख्यौ छरपस्ट गिदीलाई
कुनै खास जनवारको गिदी तिम्रो स्वादिष्ट भोजन
जस्तै लागेको हुनुपर्छ तिमीलाई,

८.
ल्याएर विचारको सुनामी
छरेर बीउ उत्सुकताको
आतङ्कित, भयभीत, स्खलित
यो सहरबाट
तिमी फर्कियौ आफ्नै बाटो
तिमी फर्कियौ आफ्नै भूगोल
तिमी फर्कियौ आफ्नै पृथ्वी
ओ पि्रय हरियो ग्रहको मान्छे !
तिम्रो नाङ्गो पाइतालाको पदचाप
यो सहरको चिसो छिँडीमा बसेर
ध्यानपूर्वक सुनिरहेछ एउटा कवि
प्रेमपूर्वक सुनिरहेछ ऊ, नेपथ्यमा बिलाउँदै गइरहेको
तिम्रो नाङ्गो पाइतालाको पदचापलाई ।

Dil Sahani – Naya Nepal

दिल साहनी – नयाँ नेपाल

सामन्ती सत्ता विनाकै नेपाल हो नयाँ नेपाल
जन सत्तासितकै नेपाल हो नयाँ नेपाल
प्रतिगमन विनाको नेपाल नै हो नयाँ नेपाल
अग्रगमनसितकै नेपाल हो नयाँ नेपाल
राजाको छोरो राजा हुने नेपाल नयाँ नेपाल होइन
राजाकी छोरी राजा हुने नेपाल पनि नयाँ नेपाल होइन
राजाको बंशनाशपछि
खोजेर राजाकै कुनै उत्तराधिकारी फेरि
पाउमा दाम चढाउने नेपाल पनि नयाँ नेपाल होइन
काजीको छोरो काजी हुने नेपाल पनि नयाँ नेपाल होइन
आमाको गर्भबाट फुत्त निस्किनसाथ बाहिर
कर्नेल र जर्नेले हुने नेपाल पनि नयाँ नेपाल होइन
हली गोठाला कमैया र सुकुम्बासीहरुका छोरा छोरीहरु पनि
राष्ट् प्रमुख हुन सक्ने नेपाल नै हो नयाँ नेपाल हो
राजा र रैतीको साइनो बोकेको नेपाल कुनै नयाँ नेपाल होइन
लोकतन्त्र र गणतन्त्रको परिचय बोकेको नेपाल नै नयाँ नेपाल हो
श्री ५ की जय भन्ने नेपाल नयाँ नेपाल होइन
श्री ५ गंभीर प्रचण्ड प्रतापी भूपतिको नेपाल पनि नयाँ नेपाल होइन
राजा सवैका साजाको नेपाल पनि नयाँ नेपाल होइन
हाम्रो राजा हाम्रो देश
हाम्रो भाषा हाम्रो भेषको नेपाल पनि नयाँ नेपाल होइन
श्रीपेचसितको होइन
श्रीपेचविनाको नेपाल नै नयाँ नेपाल हो
दरबारविनाको नेपाल नै नयाँ नेपाल हो
तरबारविनाको नेपाल नै नयाँ नेपाल हो
विदेशी प्रभहरुको आशीवार्द थापेर चल्ने नेपाल नयाँ नेपाल होइन
विदेशको बजेटमा जोतिने नेपाल नयाँ नेपाल होइन
मजदूर किसानको रगत पसिनाले कोरिने नेपाल नयाँ नेपाल हो
श्रमजीवी जनताको हाड र छालामा कोरिने नेपाल नयाँ नेपाल हो
जंजीरमा जेलिएको नेपाल नयाँ नेपाल होइन
हत्कडीले बा“धिएको नेपाल नयाँ नेपाल होइन
नेल ठोकिएको नेपाल नयाँ नेपाल होइन
माथिको आदेश र हूकुमले चल्ने नेपाल पनि नयाँ नेपाल होइन
जनादेशले चल्ने नेपाल नै नयाँ नेपाल हो
हजारौं हजार शहीदहरुको बलिदानले ब्युँझेको नेपाल नै नया“ नेपाल हो
युगौं युगकदेखिको नर्ककुण्डबाट बाहिर निस्केर
सगरमाथातिर पखेटा चालिरहेको नेपाल नै नयाँ नेपाल हो
मुक्तिको बाटो पहिल्याउ“दै अघि लम्केको नेपाल नै नयाँ नेपाल हो
युगौं युगौंको दासताबाट
पुरै का“चुली फेरिरहेको नेपाल नै नयाँ नेपाल हो
लाहुर जाने नेपाल नयाँ नेपाल होइन
आफै लाहुर बन्ने नेपाल नै नयाँ नेपाल हो ।

Tika Bhakta Jirel – Panch Tukre Kabita

टीकाभक्त जिरेल – पाँच टुक्रे कविता
(मधुपर्क साउन, २०६७)


च्यातेर भ्रमको पर्दा
उभिँदा
ऐना अगाडि
थुक्यो भने ऐनाभित्रको मान्छेले
के हिँड्नु
दोसल्ला ओढेर….।।


बुढेनीलाई भाकेको
रातो भाले
स्यालले लगेपछि
बार्दलीबाट
बेस्कन भुक्यो-
मेरो भोटे कुकुर ।।


चोक-चोक
गल्ली-गल्लीमा
टाँगिएका
सिनेमाको कुनै
कामुक पोस्टर हेरेर
सपनामा सर्प नचाउँछ-
बालब्रहृमचारी ।।


तिमीले मेरो बौद्धिकता
मैले लगाएको
पुरानो कमिजमा खोज्यौ
धन्य ! तिम्रो बौद्धिकता ।।


तिम्रो-
मानसम्मान, पुरस्कार, स्याबासी…
केही चाहिन्न
तिमीले नचिनेर के भो र
मलाई
मेरो ईश्वरले चिने पुग्छ ।।

Rajendra Pahadi – Mero Kushma

राजेन्द्र पहाडी – मेरो कुश्मा

मोदी र कालीको काखमा
उत्तर–दक्षिण तन्किएर
लमतन्न सुतेको
मेरो प्यारो जन्मभूमी कुश्मा
हिजो जस्तो थियो–आज त्यस्तो रहेन,
बान्नो (पर्खाल) मा टुक्रुक्क बसेर
सा“झ–बिहान हाम्रा हजुरबाले
गाउ“का तन्नेरीलाई सुझाउ“थे–
‘कुरा सुन्नु बुढाको–आगो ताप्नु मुढाको’
अहिले कुश्मा उल्टो दिशा हिंडिरहेछ
उहिलेका कुरा खुइले
बुढाहरु÷अनुभवीहरु पाखा लागे
तन्नेरी जमाना
फा“ट फुकेको बहरझै
इत्ला–कान्ला जोत्न व्यस्त छ,
डहर देख्न पाईंदैन कुश्मामा
पंधेरो छैन टोलमा
भएको एउटा इनार इतिहास गिज्याउदै
सिमेन्टमुनी कक्रक्क दबिएर बसेको छ,
ढिकी, जा“तो, ओखल किंवदन्ती भए
हेर्दाहेर्दै,
भुराभुरी टौवा बुझ्दैनन्
दा“इ खेल्न पाउ“दैनन्
ठेको के हो ?
मदानी के हो ?
आरी के हो ?
मधुश के हो ?
फाली के हो ?
आली के हो ?
न विरुवाको जात चिन्छन् यिनले
न सामाजिक संस्कृतिको खात चिन्छन् यिनले
‘काग कराउ“दै गर्छ–पिना सुक्दै गर्छ’
नसुनेरै÷नचिनेरै
कुश्मा दिन प्रतिदिन खुइते बनिरहेछ ।
नया“ र पुरानाबीचको खाडल
तन्काउ“दै तन्काउ“दै
रबर बनेको कुश्मा
आफ्नै भविश्यप्रति बेखवर भएको छ,
कम्प्यूटरमा रम्ने नया“ पुस्ता
यसको कुरा सुन्दैनन्
यसको उपदेश लिंदैनन्
न दाम्लो देखे तिनले
न नाम्लो देखे तिनले
डोको, थुन्से, सेखु र खुरपेटो
केवल कहानीका विषय बने तिनका लागि,
न भत्केरु बुझ्छन् तिनले
न लमी चिन्छन् तिनले
न दुनो बुझ्छन् तिनले
न टपरी ठम्याउ“छन् तिनले,
मेरो मुटु कुश्मा
अचम्मैस“ग आधुनिक बनेको छ
विश्वासै नलाग्ने गरी पराश्रित बनेको छ,
अपनत्व गुमाएर दिनदिनै
कुश्मा ढुस्स गनाउ“छ आयातित मदिरास“ग
भुक्क फुल्छ आयातित संस्कृतिस“ग
कहिले नाठा खेलाउ“छ इमान बन्दगी राखेर
कहिले भक्ति जगाउ“छ गुप्तेश्वर साक्षी राखेर,
दिन दहाडै बलात्कृत हुन्छ कुश्मा
नव–यौवनाहरुबाट
र, गर्भधारण गर्छ
विसंगतिको÷विकृतिको
फट्याईंको÷दुष्ट्याईंको,
मन्दिरमा घण्ट पनि बजेकै छन्
गुम्बाका माने पनि घुमेकै छन्
मदरसा कुरान घोकाउ“छ
मण्डली बाइबल पढाउ“छ
परन्तु,
कुश्माको कुनै धर्म छैन
गर्नै पर्ने खास कर्म छैन
खै, यसको आफ्नै श्वर छैन
आफ्नै गौरव छैन
आफैमाथि भर छैन
धेरै भएर पनि केही नभए जस्तो
हरेक प्रभातस“गै नक्कली बनेर व्याउ“छ
हरेक सा“झस“गै सक्कली देखिने उपक्रम गर्छ
तर,
सबै उपक्रमको नतिजा अनुतीर्णमा दरेर
कुश्मा पल–पल निचोरिइरहेको छ
आफूलाई मर्द लाठेहरुबाट निचोराईरहेको छ
पेलिनु र ठेलिनुको नियति
शीरदेखि पाउसम्म
कुश्मा खिईंदै गएको छ
सुक्दै गएको छ मोदीबेनीको फेदैसम्म ।
आदर्श सुखको सपना सा“चेर
निसासिंदो कल्पना बोकेर
रातारात कङ्क्रीटको
जंगल बन्न व्यस्त कुश्मा
ध्वनि, धुवा“ र धूलोस“ग
होली खेल्दै
आफ्नो परिचय खोज्छ
साच्चै म को हु“ ? कहा“ छु ?
ठिमाहा संस्कृतिको कोलाहलमा
बित्ता र हात नापेर चिरिंदा पनि
ऐइया–आत्था भन्न जान्दैन कुश्मा
आर्त र बेदना सहेर पनि सौम्य देखिन्छ कुश्मा,
सभ्यताको कृतिम उत्कर्षमा
चाकडी, चाप्लुसी र खुराफाती संस्कार
मौलिक गुण बनाए झैं
कुश्मा दलाली गर्छ आक्कल झुक्कल
ठालूको दैला चाहार्छ
नेताको पाउ मुसार्छ
चेपारे बन्छ
दहिच्यूरे हुन्छ
तर पनि,
कुपोषित ठान्दैन यसले आफूलाई
निरिह मान्दैन यसले आफूलाई
बरु अखबारका पानामा
भंगेराटाउके अक्षरमा विज्ञापन
छाप्छ÷छपाउ“छ यसले
र पुलकित दावा गर्छ,
कुशै कुशले भरिएको परी
कुश्मा नामधारी कुशुमपुर नगरी ।।

– बिहीबार, 26 भाद्र, 2071

Sharan Aansu – Mero Rastra Chhaina

शरण आँसु – मेरो राष्ट्र छैन

टोर्पेड़ोहरूले ठुँगेर नीलो आकाश
रगताम्मे बनाउँछ,
म त्यै रगतमा राष्ट्रियता खोजिरहन्छु ।

अर्थोडोक्स विचारको बन्दी हुन्छ –
कलिलो समय ।
म यसको जिगीशाका पिङहरूमा
मच्चिरहन्छु।

मच्चिनुको पनि त सीमा हुन्छ:
माटो बोल्दछ ।

कविताहरूको केमोफ्लाज’
लाज बनेर नुनको उकालो
चढिरहन्छ ।
अनि लेख्छु म – फोहोर कविता
मेरै देशका सागाहरूको एन्टिक्लैमेक्स’ ।

सीमानामा झन्डाहरू
डरले केराको पात झैं काँपिरहन्छन् ।
जैतूनका सेता फूलहरू
पिलातेको दरवारका क्रुसमा
लर्किरहन्छन् ।

वैतरणी नदीमा इतिहासको
युयुत्सु सपना बग्न थाल्छ ।
मेरो तेश्रो विश्वको तेश्रो आँखामा
मौन पीडाले घाइते सपना
चहराइरहन्छ ।

यद्यपि –
ती श्वेत श्यामल
रिसल्लाहरूको बाटोमा
सतरंजा ओच्छ्याएर
जङ्ग बहादुर
सार्वभौम माटोको याचना गरिरहन्छ ।

च्व, च्व!
सेतो मजेत्रो ओडेका आमा हिमालहरू-
दुधले पखाल्न सक्तैनन् –
सन्तानका रगतको राजीनामाका अक्षरहरू ।
खुल्न सक्तैन –
हिमालका कुमुदिनी पत्रहरूमा:
रगतै रगत फुलेको फूलको सौन्दर्य ।

मुक्तिकामी ओठका अठोटहरू
फुटिरहँदा-
भीरबाट खसेको मनले म
तय गर्न सक्तिन दुरुह बाटो
गन्तव्य सम्मको ।

ऐजन ऐजन छ – दासत्वको शिरबेहोरा
ऐजन ऐजन छ – तिनका इश्तिहारहरूको पालना ।
सरजमिन । सरसैया
उत्पीडनहरूको उत्प्रेषण
ऐजन ऐजन छ- युगौंदेखि ।

म लेख्न सक्तिन – कखहरा
यो राष्ट्र स्फीतिको ।
मलाई माफ गर है – वीर वलभद्र !
म छुन सक्तिन – मेरो माटो
काली तरेर ।
म त राष्ट्रियताको जेव्रा’ क्रसिङमा
इतिहासले दुखाएको प्यारानर्मल’
पाइला लर्खराउँछु
किनभने म त पागल कवि
मेरो राष्ट्र छैन ।।

Bhupin Byakul – Pathak Ko Hatya

भूपिन ब्याकुल – पाठकको हत्या

यस युगको महान् कवि
पाठकको हत्या गर्छ
तर कुनै शोकगीत गाउँदैन

शब्दको मन्दिरमा
बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ
झुठा मिथहरुको टुँडाल सजाउँछ
थुनिराख्छ कवि
निकाल्नै चाहन्नँ मन्दिरबाहिर
शब्दका नयाँ इश्वरहरुलाई !

आत्मप्रलापका लागि
कबिताभर स्खलित गर्छ
शब्दका कामुकताहरु
सुन्दरी वेश्यालाई झैं कवि
भोग्छ शब्दहरुको सौन्दर्यलाई !

कवि
अक्षरका आत्महरुको चीरहरण गर्छ
अक्षरहरुलाई नाङ्गै पार्छ
र कुण्ठाको सपाट सडकमा हिडाउँछ !

‘एडिक्ट’ छ कबिताको
कविताका नसाहरूमा सिरिन्ज हान्छ
कविताका कलिला हातहरुमा
अँध्यारो सूर्य थमाउँछ

दुर्व्यसनी आँखाहरुमा
रक्सीले मातेको पृथ्वी बोकेर
कविताको अन्तरिक्षमा हराउँछ

नयाँ कवितामा
ककटेल उपदेशहरु वान्ता गर्छ
हल्लाहरुको हाटबजारमा
शब्दहरुको किनबेच गर्छ
समीक्षा गर्न लगाउँछ भक्तहरुलाई
सापटी पुरस्कार थाप्छ
र सृजनशील उचाइको भ्रममा बाँच्छ !

सबैभन्दा बढी
अमूल्य प्रेमका सस्ता कबिताहरु लेख्छ
कि कवितामा
आत्महत्याको बीउ छर्छ
प्रिय छैनन् जीवनका बहुलरङ्गहरु
यस युगको महान कवि
सादा रङ्गहरुको कोलाजभित्र निस्सासिन्छ !

आधुनिक ‘भ्यानगग’ हो
यस युगको महान कवि
सत्ताको समर्पणमा
कविताको कान काट्छ र चढाउँछ
र गर्वले
बुच्चा कविताहरुको पोट्रेट बनाउँछ !

यस युगको महान् कवि
पाठकहरुको हत्या गर्छ
तर कुनै शोकगीत गाउँदैन

Sabina Sindhu – Akroshit Shahid Gate

सबिना सिन्धु – आक्रिशित शहिदगेट

आँगन भत्काएर चिहान खन्नू
कसैको विरोध गरेर
उप्काउनू रक्तरन्जित ज्वारभाटा
बलि चढाएर कुनै मन्दिरमा
घाँटी रगेड्नू उसको
फुटाउनू उसको खप्पर
च्यात्नू मस्तिष्क
र गाड्नू उसका आँखाहरू
सुकिला घामहरूका अगाडि
कोदालो बोक्नू र खन्नू खाडल
ताकि चिप्लिएर लडून्
निरही तिनका सप्तनदीजस्ता
कल्कलाउँदा सपना
दन्दन्ती बाल्नू उसका इच्छाहरूलाई
सल्काउनू उसको शब्दको पीडा
आक्रोशित उसका आँसुहरूलाई
बल्न दिनू औपचारिक सङ्कीर्णतामा
शक्तिशाली रहेछन् भने
उसका शब्दहरू
पीरो धूवाँ ओकलेर
तस्बिर उतारिहनेछन्
हिमालको अग्लाइमा,
नाप्नेछन् शब्दका गहिराइहरू ।
लात्ती हानेर आफ्नै घर भत्काउनू
भन्नू, “समयको गतिसँगै चलेको छु”
ढाल्नू घण्टाघर, ढाल्नू सहिदगेट
यदि यस्तै हो भने नलेख्नू इतिहास
नउम्याउनू सहिदगेट
नसम्झनू सहिदका सपनाहरूलाई
यदि यस्तै हो भने
आफैँ पस्नू आफूले खनेको खाडलहरूमा
आँगन भत्काइरहनू
चिहान खनिरहनू ।
बिर्सनू आफैँलाई
बिर्सनू देशलाई
र, सहिदका सपनाहरूलाई ।

Bhupin Byakul – Chhal Haru

भूपिन ब्याकुल – छालहरु

छालहरु
नदि बगिरेहेका संकेतहरू हुन्
नदि बग्छ
र छालहरु निस्कन्छ

छालहरु
नदीले गाएका मौन गीतहरु हुन्
नदीले भरेका प्रिय संगीतहरु हुन्
अक्षरहरु हुन् छालहरु
नदीले उत्कर्षमा रचेका
जो बुझ्दैनन नदीले लेखेका शब्दहरु
जो सुन्दैनन नदीले गाएका धूनहर
मलाई शंका छैन
ती मेरो देशका शासकहरु हुन्

छालहरु हुलाकीहरु हुन
खबर पर्खेर बसिरहेका आफन्तहरुलाई
बगिरहने नदीको कथा सुनाउँछन्
छालहरु बेनामे चिठ्ठीहरु हुन्
नदीको अतल गहिराइबाट झिकेर
खामबन्दि गरिरहन्छन परिवर्तनका सन्देशहरु
र नदीतटक बस्तीहरुलाई सुनाउँछन्
समयको नरोकिने धूनझैँ
हरेक लहरका नदीका
जीवनका प्रिय संकेतहरु हुन् !
एउटा अग्लो घुम्ने कुर्चीमाथि
मस्त निदैरहंछ देश
र छालहरु आइरहन्छन
कुर्चीको क्षितिजमाथि
संधै दुबिरहांचा एउटा घाम
र छालहरु गइरहन्छन्
मा सोचिरहेछु युगौदेखि
किन शासकहरु देश बनाउन चाहन्छन
छाल नाउने सपाट नदिजस्तै
जब किनारमा उभिएर एउटा युग
लेखिरहेछ रगतले प्रेमपत्र
छालहरुको नाममा !

छालहरु
नदि बगिरेहेका संकेतहरु हुन् !

Rajendra Thapa – Kehi Tukra Haru

केही टुक्राहरू – राजेन्द्र थापा
(मधुपर्क माघ, २०६८)

१. बाघ राजनीति

यौटा बाघ मर्छ – खबर बन्छ
त्यै बाघले दिनहुँ मृग मार्छ – खबर बन्दैन
थुक्क राजनीति !

२. सडक बन्द

सडक बन्द भन्छ मान्छे,
तर Continue reading “Rajendra Thapa – Kehi Tukra Haru”

Saru Binda – Aghoshit

सरु विन्द – अघोषित
(मधुपर्क बैशाख, २०६७)

अब उप्रान्त
तिमी र मबीचको पर्खाल ढल्नेछ
पहाडहरू फुट्नेछन्
जेलहरू तोडिनेछन्
आकाश खस्नेछ र
हामी दुवैलाई ढाक्नेछ ।
न बन्देज रहनेछ सिन्दूरको ।
न भरोसा रहनेछ चुराको
फजुल कुराहरू नगर
वकवासहरू बन्द गर
म युद्ध निम्त्याउँछु प्रणयको !
प्रेम हो यही यो-
सिन्दूर र चुराहरको बार नलगाउ
जायज र नाजायजको प्रश्न नउठाउ
प्रणय हो यही यो –
मेरा दृष्टिबाट ओझेल नपर
जायज र नाजायज छुट्याउन
म तिम्रा निम्ति संविधान लेख्छु
हो, अघोषित संविधान !
जहाँ सूर्य अस्ताउँछ एकछिन, उदाउनका लागि ।
जहाँ ढोकाहरू बन्द हुन्छन् लुटेराहरूका लागि ।
पैले जन्माउन नसकेको
वीर छोराहरू छन् तिम्रो गर्भभित्र !
गर्भहरू तुहिन सक्छन्
हे सूर्य ! त्यतिञ्जेल नउठाऊ
हे आकाश ! मेरो प्रणयलाई ढाक
पि्रय, म तिम्रो गर्भबाट
अर्को सूर्य जन्माउँछु ।
भो चाहिँदैन-
रगतले लतपतिएको सूर्य !
अँध्यारोबाट पराजित सूर्य !
लुटेराहरूले कैद गरेको सूर्य !
भो चाहिँदैन
युगयुग समयसँग हारेको सूर्य ।
तिम्रो सगरमाथाले हमेसा छेक्ने सूर्य !
यसैले अघोषित जस्तै छ तिम्रो गर्भभित्र
पृथ्वीलाई पुरुषार्थ दिने मेरो सूर्य !
मेरो पृथ्वीलाई कायरहरूले चुरा पहिर्या ए
मेरो पृथ्वीलाई लुटेराहरूले सिन्दूर लगाए
मेरो पृथ्वीलाई नपुङ्शकहरूले युगयुग भोगे
ए सूर्य ! तिमी अस्ताऊ-
म अब
पृथ्वीसँग अघोषित सम्झौता गर्छु ।
हो, अब उप्रान्त पृथ्वीका गर्भबाट जन्मनेछ-
मेरो ब्रहृमाण्डको अर्को जीवित सूर्य !

पोखरा

Aryabiman Chitrakar – Manai Ta Ho

आर्यबिमान चित्रकार – मनै त हो

मनै त हो के बुझोस् यसले
तिम्रा ऐतित्युदका बाघचालहरु
मनै त हो, सहेरै बसिदिन्छन्
तिम्रा करकापहरु
के बुझोस् यसले
तिम्रा स्वार्थका ब्यालेन्ससीतहरु
गाएरै बसिदिन्छन्
आफ्ना यूलोजीका गीतहरु

मनै त हो के बुझोस् यसले
तिम्रा षड्यन्त्रका भुइचालोहरु
मनै त हो नबोलेरै कुर्छन्
आफ्नो पालोहरु
के बुझोस् यसले
तिम्रा सिम्प्याथीका अद्जस्तमेंटहरु
सहजै बनिदिन्छन् साउने भेलका
रेंटल टेन्टहरु

मनै त हो के बुझोस् यसले
तिम्रा डाइमेन्सनका परिधिहरु
मनै त हो बाधेरै राख्छन्
आफ्ना बचाऊ बिधिहरु
के बुझोस् यसले
तिम्रा रंगमंचका नाटकहरु
स्वीकार्य ठान्छन् पार्श्वध्वनिका
कथित बादकहरु

मनै त हो के बुझोस् यसले
तिम्रा पाराडाइम सिफ्टहरु
मनै त हो हाँसेरै थाप्छन्
अनवान्टेड गिफ्टहरु
के बुझोस् यसले
तिम्रा कटुवचनका धारहरु
रेत्त्तिऐरै बस्छन् बरु
गर्दैन् छेकबार अरु

मनै त हो के बुझोस् यसले
तिम्रा दोषका निराधारहरु
मनै त हो कम्प्रोमाइज गर्छन्
धैर्यका आधारहरु
के बुझोस् यसले
तिम्रा मृगतृष्णाका प्रकारहरु
अझै फराकिलो पार्छन्
आफ्नै आकारहरु

मनै त हो केहि बुझ्दैन यसले
मनै त हो केहि जान्दैन यसले
मनै त हो!!
मनै त हो !!!!