तिमी देउलाउ नि मेरो बालाई स्वर्ग
ईश्वर ?
उनी मरे
तिम्रो आस्थाका लागि
तिमी देउलाउ नि उनलाई स्वर्ग ?
तिम्रा लागि
उनी
जीवनभर अन्धो भए
अब तिमी उनलाई
आँखा देउलाउ नि ईश्वर ?
ईश्वर
यदि तिमी कतै लुकेका हौ भने
उनलाई
आफ्नो कालो अनुहारको दर्शन दिएर
तृप्त गरिदेउ
Author: admin
Saroj Dhital – Marusthal Ko Katha
सरोज धिताल – मरुस्थलको कथा
मरुस्थल पनि हाँस्दछे
यदाकदा
पत्याउँछौ तिमी ?
मैले त देखेको छु
उषामा मरु भू हाँसेको
कलिलो घामसँग
लिएर रातो पछ्यौरी पैँचो
डराई डराई त्यो नाचेको ।
छोटो थियो उत्सव
उसको ।
दिनभरि त
ऊ फेरि ढलिरही
बालुवाको तातोमा बिचरी
निःशब्द जलिरही ।
पीडाको कराहीमा
पाकिसकेपछि त्यसरी
के हाँस्न सक्थ्यौ तिमी भए ?
मैले त देखेको छु
दिनभरिको नर्कवासपछि पनि
मरुभूमि
सन्ध्यामा फेरि हाँसेको
रातो बर्को मागेर
बूढो घामसित एक छिन्
हतार–हतार त्यो नाचेको ।
छोटो थियो तर उत्सव उसको
रातभरि त ऊ फेरि रोई रही
जूनको आँसु पुछिदिँदै
ठिहि¥याएको हातले
मनको बह पोखिरही ।
हिउँद, २०६०
Tanka Subba – Euta Yug
टंक सुब्बा – एउटा युग
एउटा युग लेख्नलाई
श्रमजीवी हातहरुले देशको छाती-छातीमा
हलो र कोदालोले बारीको कान्ला-कान्लामा
खेतहरुको गरा गरामा
गाउघरको दलान दलानमा
निधारबाट परिश्रम बगाएर
जो बिहानीको घामसंग उदाउछ
त्यही मान्छे ।
केवल एउटा युग बनेको हुन्छ ।
हरियाली बसन्तको आचलसंग
फूलवारीका फूलहरुसंग
खेतवारीको बालीनालीसंग
जिएको हुन्छ एउटा युग
नपत्याए आफ्नो परिश्रममा रमाउने कृषकहरुलाई सोध
नपत्याए आफ्नो पाखुरी बजार्ने श्रमजीवीहरुलाई सोध
पसिनामा मान्छे भिजेको छैन भने
अन्नमा मान्छे धन्य भएको छैन भने
अथवा युगमा मान्छे उभिएको छैन भने
किनकी सपना हो युग
हिमाल उभेको हुन्छ
र उभेका हुन्छन् आकांक्षाहरु
अनि अठोट धरतीमा सिचाइ हुदा
फुल्छन् सिर्जनाका फूलहरु
त्यसैले टागिन्छन् अनन्तसम्म
सन्ततीका पुलहरु
जसबाट सजिलै हिड्ने गर्छ युग
र समयका नदीहरु तर्दै
आइपुग्ने गर्छ हामीसम्म
तसर्थ
एउटा युग लेख्नलाई
चाले हुन्छ जोसिलो कदमहरु
बोके हुन्छ भरिला उद्देश्यहरु
जहा रङ्गीएर आफ्नै श्रममा
मान्छे
एउटा युग बनेको हुन्छ ।
Sarubhakta – Shalyakriya
मृत्यु विपठनः एनेस्टेशियाका धुपहरु
खोई मनका सारसहरु कुन सिमसारतिर लागे ?
जति आत्महत्या गरेपनि
मान्छेहरु सिद्धिदैनन्
गिरफ्तार जिन्दगी
आउ, आफैले आपूmलाई सुपुर्दगी गरौं
दिमागका धुर्रा घुमाएर
तन्नमहरु इतिहास ब्यूताउँदैछन्
नालापानीदेखि कालापानीसम्म
गुर्खाज् सिमेट्री याने गोर्खाली चिहान
इतिहास मर्नेहरुले बनाउँछन् वाँच्नेहरुले
के बनाउँछन् ?
आ ! बाउबाजेहरुले वीरता बेचे हामी
श्रम बेच्न जाउँ
न्यूयोर्क र गुन्द्रुकको झोल
खोई हाम्रा अरु सपनाहरु?
तुर्तुरे खोलाहरु रोएका छन्
कि–वोर्ड औंलाहरु चलाएर
ब्लफकलमा अडेको जिन्दगी
ठिन्लेका गाउँहरु हराएका छन्
आह ! विखण्डनको ब्रह्माण्डमा के को
अखण्ड राष्ट्रियता ?
वर्वरयुगीन हामी ः अध्यादेशहरुमा देश चलेको छ
अन्धा एकिर वाइनमेयरहरु हाम्रा सगरमाथा
आरोहण गर्दैछन्
स्वर्णनगरीः वाणासुरका हजार हातहरु
जाउँ लावण्यदेशतिरै
त्यहाँ हाम्रा गुमेका कडीहरु छन्
ए ! टोनी हागनहरु कता लागे ?
आउ, अन्लाइन च्याटिङ गरौं अनि विर्सिदिउँ
एकदिन सूर्यले पृथ्वीलाई निल्नेछ
केही छैन, एउटा खुट्टो काट्नु पर्ने अर्कै खुट्टो काटिएछ
अब अर्को शल्यकृयामा हामी मुटू हैन
आत्मा काट्न सक्नेछौं !
Meena Subba – Jindagi Anek Rangharuma
मीना सुब्बा – जिन्दगी अनेक रङ्गहरूमा
जिन्दगीलाई कुन रङ्गमा ढालुँ?
जिन्दगीलाई कुन अर्थमा मानुँ?
कहिले चहुने भएर रित्तो भई बज्दछ जिन्दगी
कहिले बेसी भएर भाँडाबाट पोखिन खोज्दछ जिन्दगी
कहिले चञ्चल बतास भएर उडान भर्न चाहान्छ जिन्दगी
कहिले चुचाप निश्चल दह भई एकै ठाउँ जम्नखोज्छ जिन्दगी
कहिले विक्रमादित्यको सिंहासनको खोजीमा पराजित भएर
सर्वत्र कहालिहिँड्ने मन गर्छ जिन्दगी
कहिले हिरोशिमाको नील पल्टेको भूमिमा दुबो भई
पलाउने मन गर्छ जिन्दगी
कहिले मर्यादा र आदर्शको प्रश्नचिन्हमा चुनौती बन्छ जिन्दगी
कहिले महँगाइको भाउ भएर त्यसै तर्सिदिन्छ जिन्दगी
जिन्दगीलाई म कुन दृष्टान्तमा सजाउँ?
जिन्दगीलाई म कुन उद्वेगमा समाउँ?
कहिले फुर्सदको अभिशप्त घडीभित्र निस्सार लाग्छ जिन्दगी
कहिले हतारको आँधीभित्र आफ्नोसित पराई हुन्छ जिन्दगी
कहिले एकैक्षण रमाउन निकै इन्तजार गर्छ जिन्दगी
कहिले रातमा कसैको याद बनेर गालाबाट बगिदिन्छ जिन्दगी!
Basanta Mohan Adhikari – Ma Jali Rahechhu (Nepali Gajal)
वसन्त मोहन अधिकारी – म जलिरहेछु
यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
नदिनु चोखो मुटु कसैले चिरेर जलाई दिन्छन्
हेरत आज यहि मायामा जिउँदै म बलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
नसोध कोही प्रेम मलाई चोटै चोटले लडेकोछु
त्यहि चोटले उठ्न नसकी हेर त म गलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
मेरा हज्जार पिडा बिचमा उठेर म बाँच्न खोज्दा
रेटेर उनले चुलेसीमा छटपर्टाई चलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
Laxmi Prasad Devkota – Paani
क.
पानीजस्तो के छ जगत्मा ?
पानी !
रानी, सब रसकी !
ख.
आम्लजन औ जलजनकी यी
कस्ती मधुर मिलन !
कस्ती तरल मिलन !
दुई प्रेमीले संसार बसाए
यस जलमा !
दुई बिलाई एक बनेथ्यो
तत्व यसैमा, कोमलमा !
प्यारका आँखा चार, बराबर,
जल बन्छन् ! जल बन्छन्,
दुईटा दिलका दूरालिङ्गन,
भावित सङ्गम,
बाफ उडीकन, बादल बन्छन् !
बादल बन्छन् !
दूरी मिटाउन घर्षन्छन् !
सम्झनाका बिजुली–लहरा
विलसन्छन् क्या
द्रवाभिपुख ती पानीमा !
हृदयले सारा रस नै निचोरी,
बाहिर झिक्दा,
आउँछन् पानी, नानीमा !
ग.
पानी–रानी आइरहिछन्
ज्येठको दिनमा गगनमा !
धुवा भुवामा, धुवा भुवामा,
शानी गतिमा, बगुवामा !
घुम्टो डाली,
माकुर–जाली
पर्दा–नशीन झैं, पर्दा–नशीन झैं, वरुणकुमारी,
सुकुमारी !
रत्नाञ्चला छन् भारी, प्यारी !
वायुप्ङखी चढीरहिछन्, लगाम रोकी
पर्वतवारि !
पाश्र्वमा छ चाँदीपत्ती कुँदिएको क्या
जलझारी !
फटिक महलमा भेट्न उमाकन
बढ्छिन् उत्तरतिर ती, के ? भन !
कोमलताले खुशले चुमिई
वनस्थली क्या मस्की !
पानी आइन् !
कविकी कहानी
पानी, रानी सब रसकी !
घ.
उत्तर लम्क, उत्तर लम्क !
स्वागत गर्छौ नेपाली !
खुस्की मोती–पोल्टो, छम्क,
झर्र झमटमा गानाको धन,
पुलकित तृणमा अफाली !
ङ.
पृथिवी परिथिन् विविध कटौरा
पक्रन, पहिलो वर्षणमा !
देश देशका सिमाना सब,
नीला, लगायौ तिमीले रानी !
प्रथम प्रलयको घर्षणमा !
पर्वतबाट खेल्यौ सुरेली
बेल्यौ बनायौ गर्त, दरी !
पृथ्वीको यो अनेहार बनायौ,
शिल्पिवरी !
समतल, अवतल, उत्तल सुन्दर !
आरोहण औ अवरोहणको
सङ्गीत सरि !
तिम्रा पद, पद, पन्ना उब्ज्यो,
हरियो लाग्यो सुन्दरता !
सभ्यताले मन्दिर पायो,
दुनियाँ बन्यो, भो जग–रमिता !
पहिलो भाषा, शब्दको खानी !
पहिलो चित्र, नभपट भित्र,
पहिलो शिल्प हिमानी !
दृगमा रसायौ पहिलो प्रीति
सलिल तरङ्ग हो पहिला गीति !
नाच्न सिकेथ्यो चराचरले,
तिम्रै तरल पयरले !
पानी ! पानी ! जादूगर्नी !
सभ्यता हो तिम्री छोरी !
तारीफ तिमी छौ दिशि दशकी !
पानी ! रानी सब रसकी !
च.
लहडी नानी !
ए पानी !
वसन–गुलाफी, श्रृङ्गार–सुनौली,
उषालु वेला,
दिव्य गगनमा, क्या स्वर्बाला !
अनुपम, नौली !
करबाल लिएकी बिजुली, चमचम,
वर्षा–समरको भूमि गगनमा,
हाँक्दा वीरा रुपौली !
आँधिकेशर आरुढा तिमी
कालो कराली,
सङ्क्रान्ति–कालकी गजौंली !
बीभत्स–स्वरुपिणीमा
बष्यौंली !
पुस्करिणीमा शान्तरसकी
स्वर प्रतिविम्बी दर्पण निश्चल
साधु उरझै्र झल्कौली !
उत्तुङ्ग शिखरमा वसुन्धरा
तिमी तपस्विनी ज्ञानी !
सेती, फटिक हिमानी !
पार्वतीकी रोगन शानी !
उच्चताकी अमर कहानी !
ध्यानी !
शिवकी प्रिया छौ,
स्वर्णदीपिका भाव–शिखरले पूजा गर्दी
शङ्कपद अभिमानी !
ए पानी !
छ.
बुरबुर चीनी सल्लाघारीहरुमा राति
बुट्टा जाति, बहुभाँति !
सुस्त हवाको चलनीद्धारा
छिर्दै, मधुकर मैदा झाछर्यौ !
एकान्तलाई पाउडर लगाई,
सफेद सिंगाछर्यौ !
पर्वतबाट हाम्फालेर,
समतल सम्झी,
माइती जाने बाटो वेली
नूपुर पछाछर्यौ !
चल्दाचल्दै बाटामा तिमी
पलपल उपल, उपलमा कोमल
चाँदी–बेली सिंगाछर्यौ !
ढुङ्गालाई बोल दिईकन बुलबुल पाछर्यौ !
अथवा, चिसापानी गढीमा,
हिउँका पुतली फुरफुर झाछर्यौ !
अथवा सुन्दरताको स्वपना
रँगिलो धुनमा लच्का माछर्यौ !
अथवा तीतरपङ्खहरुले
व्योम बराबर सुन्दर सिंगाछर्यौ ।
अथवा, एकली वाष्पिल तरणी
नीलो दधिमा विहरी तछर्यौ ।
अथवा, बेरी इन्दुलाई सौन्दर्यक्षुधाले,
मस्त सुधाले,
भूवातनका स्नायु लस्दी,
विस्मृत गति भई क्षणभर बस्दी
अमृतगोला छाती हाली
चकोर भूचर डाहा भछर्यौ
अहिले तहतह चाँगीचाँगी
हाँगा हाँगी
पत्ती कुँदेकी, चमकी चाँदी,
दक्षिणबाट उताछर्यौ !
अस्पष्टताकी मोहनी बन्दा
हेमन्त–कुहर भै क्या झछर्यौ !
अथवा सानो पुत्लो मन्त्री ,
उपत्यका नै क्या भछर्यौ !
पहाड पाखा–पटुकी भे वा,
कोमल मलमल क्या बेछर्यौ !
साँझ, बिहान, स्वर्गका लहँगा,
रँगरँग ठाटी, क्या धछर्यौ !
गरीब शब्दावली नै अड्छे
आफै झस्की !
पानी ! रानी सब रसकी !
ज.
फूल–जरामा पस्दी रानी !
पूmल–कोपीमा बस्दी रानी !
शीत–विन्दुमा खस्दी रानी !
किरणहरुमा लस्दी रानी !
हे महाध्र्या पानी !
झ.
ढुङ्गा अजङ्गका
बोकी, वम्का मारी दम्की
भूमा धम्की,
वृक्ष उखेडी ढयाम्मै पारी
खाडी डम्की,
उम्किन्छयौ जब उग्र गतिले,
मच्चाईकन भीषण उत्सव
बाढी गौरव !
रिसले उर्ली,
फींजका फौज बटारी, हुरली,
क्रान्तिनादिनी वेगकी काली
हेर्दछु केवल, रसनाबद्ध,
उग्र प्रशंसा पाली ।
जब हे ! पर्वत–छाm उछाली
हान्छयौ धराका ठोस किनारा,
सारा !
‘पोथी क्रोध’ म भन्छु तिमीकन
भीमा भामिनी !
ध्वंसकी दामिनी
‘माता’ भन्दछु ‘सब रसकी ! ’
पानी ! रानी सब रसकी !
ञ.
सागरकी काली !
सागर–नीलो
हिउँकी गौरी !
वज्र–करा !
पर्वत–शिल्पिनि !
ध्वंस–प्रजल्पिनि !
वर्षा–विलपिनि !
छाँगा–छहरा !
देवि ! तिम्रो रुप छ अनगिन
नाम अनन्त छ पारावार !
माई ! धाई !
वर्णन गर्न तिम्रो आज,
सक्तिन हाई !
केवल गर्छु नमस्कार !
ट.
तर सबभन्दा तिम्रो महिमा
मानवीय दुई नानीमा !
प्यार क्षारकी सिन्धु हे विन्दु !
विश्वगोला बनेर अटाउँछयौ,
दृगनानीमा ! दृगनानीमा
सृष्टिको मुटुको रस भै आउँछयौ
झछर्यौ कविको कहानीमा
तब सरस्वती वीणा रोकी,
क्षणभर हेर्छिन् जिल्ल परीकन,
पानीमा !
विन्दु झिल्किंदो नानीमा !
Dr. Madhu Madhurya – Madhu Madhurya
मधु माधुर्य
यो चोटी यस्तै भयो साथी
मैले एउटा अपराध गर्न सकिन
कविता खाएर भोक मार्न सकिन
विचारलाई शब्दमा रुपान्तरण गर्दै मेट्दै गर्नेले
कविता पिएर तीर्खा मेट्न सकिन
सुन्दर कल्पनाले झ्वाम्म अगालो हालेको बेला
छटपटिलाई मुस्कानले छोपछाप पारेर िहडे म कति चोटी
भावनामा डुबुल्की मार्दै कति रमाए म
अहा ! बगरका बान्किला ढुंगाहरुँ सप्रेका मीठा आलुजस्ता
रातका झिलिमिली ताराँहाडीभित्रका फुलौरा मकै
अन्तर क्रन्दन / पीडा आधुनिक सिम्फोनी बजेजस्तो
मानौं स्वर्ग त्यहि छ
र म त्यहाको देवता
जब भावनाको स्वर्गबाट पृथ्वीमा ओर्लन्छु म
दोहोरिन्छ अराजकता भोकँप्यासँछटपटि र क्रन्दनको
अहिले त्यही भावनासग वार्तालाप गर्दैछु
दसैं आयोँ किन आयो कहाबाट कसरी आयो
आएपछि स्वागतँसम्मान दर्शाउनु पर्दो हो बलीको मूल्यमा
सोध्दै छु मँ
खुसीको अभिनय गर्दै कसैलाई कुनै उपहार दिनुपर्दो हो
मौखिक आशिष दिएर धेरैलाई टारेको हो पोहोर परार पनि
बहिरो एकान्तझैं मौन छ भावना
दसैं गएपछि मात्र लामो सुस्केरा तान्यो…
अपराधी हुन नसक्नुको हिनताबोधले पराजित भएन
कविलाई हिमालभन्दा अग्लो देखायो
उचाईमा सुरक्षित रहेछ कविको गर्व / अस्तित्व / सत्ता
अनुभूतिको अदृष्य स्पेसमा ऊ महान स्रष्टा पो रहेछ
त्यहि गर्विलो साइनोले निथ्रुक्क भिज्न पाउदा कति रमाइलो
तै पनि यो चोटी यस्तै भयो साथी
मैले एउटा अपराध गर्न सकिन
कविता खुवाएर तिम्रो भोक मारिदिन सकिन
कविता पिलाएर तिम्रो तीर्खा मेटिदिन पनि सकिन ।
Prakash Sayami – Mofasal Ma
कारिन्दाको कुर्सिमा छु
गृहस्थीको सपना छाउँछ टेबुल भरि
घरको पलङ्गमा छु
हाकिमको सपनाले तर्साउँछ रात भरि
यो मुलुकमा म बाहेक अरुको एक्लो छ ?
म सोध्छु- आफैलाई घरिघरि
निरुत्तर उभिन्छु
आफ्नै तस्विर अगाडि
ऐना भएर ।
छियाछिया भएर सजिन्छु
विधवाको सिउँदो भरि
यो मुलुकमा मभन्दा कमजोर को होला र ?
एउटा सिङ्गै गाउँ सुतेको छ मभित्र
र जतै म जान खोज्छु त्यो ब्युँझिन खोज्छ
र जतै म भाग्न खोज्छु त्यो पछ्याइरहन्छ
एउटा अर्को पनि गाउँ छ- मेरो आँखामा
जो भत्किनै लागेको छ
पूर्वमा घाम नफुटदै
यसको मन फाटिसक्छ
आवाजहरुको रङ्गीन जङ्गलमा
खोजिरहन्छ यो आफ्नै आवाज
विज्ञापनको भाषामा
अखबार खोजिरहेछ
आफ्नो आवश्यकता
एउटा अनुहार बोकेर आएको छ- चिठ्ठी
एउटा चिठ्ठी बोकेर आएको छ आमाको अनुहार
धेरै कुरा देखिन्छ- आमाको अनुहारमा…।
पहिरोमा डुब्दै गरेको गाउँ
सपनामा भत्किँदै गरेको गाउँ
एक्लो/दुर्बल/कमजोर
त्यो गाउँमा एउटा पहाड पनि छ
एक्लोपनको पहाड !
म त्यो गाउँमा अब पुग्न सक्दिन
एउटा गाउँ नै बोकेर आएको छ चिठ्ठी
एउटा चिठ्ठी बोकेर आएको छ- गाउँ ।
Sijan Nayan – Gham Ko Lagam Samatera Dhwaje
सिजन नयन – घामको लगाम समातेर ध्वजे
हावाको लिगमा घिस्रिँदै घिस्रिँदै
आइपुगेको छ,
ठ्याक्कै ढुङ्गाजस्तो आकृति
ध्वजेको थाप्लोमा
समात्न– घामसँगको प्रिय आलाप
संसर्गको अमूर्त पृष्ठभूमिबाट
भर्खरै जन्मिएको बछेडो गुराँस
चोरेर त्यही आलापको पोको
नाघेर जान्छ–
कुन क्षितिज ?
मरुभूमिको सफरमा निस्केको ध्वजे*
बीच बाटोमै अल्मलिएको छ
उसले जाँदाजाँदै भेटेको
ईश्वरको दुुुर्लभ हस्ताक्षर
कुन गर्तमा ?
लुकाएर जान्छ
मलाई नै बिर्सेर ध्वजे
मेरै छेउबाट
पगालेर जान्छ
ध्वनिको– कुन आवृत्ति ?
अझ
मैले नै रङ्गाएको उन्मक्त परिवेशमा
घामको लगाम समातेर ध्वजे
दौडन्छ– कुन दिशा ?
– कति कोस ?
उक्लन्छ– कुन पहाड ?
*ध्वजे— धनकुटाको डाँडाबजार गाविसमा अवस्थित प्रसिद्ध डाँडा । जहाँबाट सूर्याेदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
Basanta Mohan Adhikari – Nishthuri Nabhana Priya Ma Farki Aaune Chhu (Nepali Gajal)
बसन्त मोहन अधिकारी – निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु
निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।
बिछोडको पिडा सहेर बस सिउँदो सजाउँन
साडीको साथमा चुरा र पोते सिन्दुर ल्याउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।
रहर होईन छाडेर जान बाँध्यता मलाई छ
यो धन कमाई फर्केर आई म प्रिती लाउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।
विश्वासमा बाँची सपना साँची मलाई नै पर्खनु
थापेर जगिया सिन्दुर हाली डोलीमा बसाउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।
बर्षौको सम्बन्ध परेली भरी भिजाउँदै साँच है
आएर म भोली गाँसेर प्रिती साथ सजाउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।
निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु ।
Balika Thapaliya – Ruwaidinchha Mayale
बालिका थपलिया – रुवाइदिन्छ मायाले
(Source: मधुपर्क जेठ, २०६९)
कि त रुवाइदिन्छ मायाले
कि त हँसाइदिन्छ मायाले
मनमा मायालुको तस्बिर
कि त बसाइदिन्छ मायाले ।
कि त उडाइदिन्छ मायाले
कि त खसाइदिन्छ मायाले
अपार जञ्जालको बीचमा
कि त फसाइदिन्छ मायाले ।
कि त छुटाइदिन्छ मायाले
कि त टसाइदिन्छ मायाले
घरि स्वर्ग घरि नर्कभित्र
कि त पसाइदिन्छ मायाले ।
Sarubhakta – Sapana Ra Shiva Adhikari Haru
सरूभक्त – सपना र शिव अधिकारीहरु
(Source: मधुपर्क जेठ, २०६९)
यातना घर
इरेजरले मेटिएका अनुहारहरू
स्वयम्भू माफियादेवहरूको अर्चना गर्छन्
यो युग नरभक्षी बाघहरूको युग होइन
नरभक्षी नरहरूको युग हो !
वेवारिसे लासहरू
गाउँ छोड्ने सपनाका लस्कर चलेका छन्
भोकाएका अजिङ्गरहरू
छुचुन्द्राहरूका जुलुसमा सामेल छन्
ए ! यो देशबाट देवताहरू विस्थापित भइसके ?
त्यसो भए मन्दिरहरूको होइन
भ्रष्टाचारहरूको जीर्णोद्धार गरौँ
लोपोन्मुख गिद्धहरू
आमाहरूलाई सोध, प्रत्येक गर्भ घाइते छ !
मृगमरिचिका
देशका लागि सर्वत्र देश विस्फोटित छ
दोर्जेलाक्पा हिमालको कसम
यो देशमा अब खतराहरू मात्र सुरक्षित छन् !
ˆयाउराहरूको आत्मकथा
ध्रुवीय भालुहरूको डरयुक्त भर छ
कस्ले कस्को स्थिति सार्वजनिक गर्ने ?
जीवन सधैँ भुइँचालो र्फकने प्रतीक्षामा व्यतीत छ !
अलिनो भान्सा
दरबारमार्गका झडपहरू
एम्बुस जडान जिन्दगीका जिजीविषाहरूसँगै
सपना भुलाई गएका शिव अधिकारीहरू कता लागे ?
बन्दका हल्लाले बन्द देश
सावधान, तोडा चलेको छ
डबलीमा कात्तिक नाचहरू हेर्दै
ऊ लास परेका जुलुसहरू जीवनको अभिनय गर्दैछन् !
आङमा लुगा छैन ?
त्यसो भए निःशुल्क केटि्रमोक्साजोल खाऔं
कठ्याङ्गि्रने जाडो याम
मनहरूको अकुपन्चर चलेको छ !
अन्धोयुग
के ब्रेल छाम्ने औँंलाहरू पनि लोप भई सके ?
Shyamal – Kaali Ghartini Ko Dehawasan Ma
कतै कोही पनि शोकाप्त छैन
काली घर्तिनीको देहावसानमा ।
अखबारहरूमा कहिल्यै नपढिएको अनुहार
राजभक्तिगानलाई महिमामण्डित बनाउन
जनताको उर्लँदो भेल देखाउने
टेलिभिजनको पर्दामा
कहिल्यै नहेरिएको अनुहार
राजधानीमा तीन आना जग्गा खोज्न
भौंतारिएको जुलुसमा
प्रख्यात जग्गा–दलालहरूले पनि
सनाखत गर्नै नसक्ने अनुहार
तिमीले वा यस देशका महान् शासकहरूले
चिनेको दाबी गर्ने
तर चिन्दै नचिनेको अनुहार
काली घर्तिनीको अनुहार ।
कसैलाई केही फरक परेको छैन
त्यो अनुहार अस्ताएमा ।
काली घर्तिनीको अनुहार
कुनै पनि सांसदसँग मिल्ने अनुहार
मीना, लीला, शैलजा
माधव, रामचन्द«, गिरिजा
सबैसँग दुरुस्त मिल्ने अनुहार
तर तन्किएपछि सांसदका गाला
मिल्नै छाड्यो अनुहार उसको
सांसदवर्गको अनुहारसित
संसद्मा अनुपस्थित
संविधानका कुनै पनि धाराले नछोइएको
विशिष्ट अनुहार
नेपालका नदीनालाझैँ
कहिले फाट्दै र कहिले जोडिँदै
ईश्वर, भगवान्, मस्टो आदि देवगण
कोही थिएनन् उसको महाप्रयाणमा ।
काली घर्तिनीको तीखो आवाजका तरङ्गहरू
अझै सुन्दछु म
र उसको चाउरी परेको अनुहार
सम्झन्छु म घरीघरी
जे–जे गरी उसले जिन्दगीमा
ठीक गरेर मरी
हाम्रो जस्तो चपाउँदै जिब्रो
बाँचिन ऊ
मन लागेका कुरा मजाले गरी
एउटा भयावह सत्य प्रकट भयो फेरि
काली घर्तिनी हिजो मरी
कसैको केही नबिगारेर मरी
कवि हो, आँंसु अझै बाँकी छ तिम्रा आँखामा ?
गाउँलाई रित्तो– रित्तो छाडेर
अचानक हिजो लोप भयो
काली घर्तिनीको अनुहार ।
Bimal Nibha – Ghadi
हत्याराले धेरै चीजबीजहरु
छाडेर गएको थियो
केही महत्वपूर्ण थिए
जस्तो कि छुरा, आतंक र
एउटा घडी
छुरा रगतमा लतपतिएको थियो
र आतङ्क गहिरो
घडीमा कुन्नि कति बजेको थियो
हुल निकै थियो
मानिसहरु भयभीत
र लास त्यहीं राखिएको थियो
वातावरणमा सबभन्दा
स्मरणीय थियो
त्यो घडी
जहाँ समय कैद थियो
(२०४२)
Komal Shrestha Malla – Five Nepali Haikus
हाईकू # १
मुहार खोल,
आफैलाई हेरेर
माया कोर्नुछ ।
हाईकू # २
मन तराजुमा
तिमी अट्न सके
गार्हो हुन्न है ।
हाईकू # ३
सुन र बुन
अनि माया बाधेर
चुम्नु चुम है ।
हाईकू # ४
आसु र हांसो,
जीवनको नासो हो
चेतना भया ।
हाईकू # ५
देश काटेर
बाडी खाने कती भो
हत्याराहरु?
Acharya Prabha – Nabin Barsha Jhulkiyo (Nepali Gajal)
आचार्य प्रभा – नविन बर्ष झुल्कियो (गजल)
हर्षले छायो, मनमा हेर, बिहानी आएर
उमंगसँगै, उदायो सूर्य, झल्मल्ल छाएर।
नविन बर्ष, झुल्कियो अब, लिएर सुखद
सबैको मन, हर्षित बन्यो, आनन्द पाएर ।
बाँच्नेछन् सबै, हाँसोमा रमी, खुशी नै भएर
लडाइँ अब, लड्दैनौ भनि कसम खाएर ।
रगतको खोलो, चाहिन्न अब, सद्भाव चाहिन्छ
बाँचौला सबै, एकार्का माझ, नजिक धाएर ।
नव यो बर्ष, खुशीले मान्दै, मनमा फुलाउँ
मायाको साक्षी, बनेर बाँचौं पिरती लाएर ।
(नयाँ बर्ष २०६७ सालको आगमनलाई हार्दिक स्वागत गर्दै सिर्जिएको गजल)
Ram Prasad Prasain – Itihas Ko Daldal Pathshala
रामप्रसाद प्रसाईं – इतिहासको दलदल पाठशाला
समयका अनगिन्ति ट्रँकणहरु
युगोद्घाटनका अजम्बरी अभिलेखालयहरुमा
बिस्तारै बिस्तारै पाँजिदै जान्छन्
बैँसालु मनका दिग्भ्रमित इतिहासहरु
अनवरत प्रवाहमा अभ्यस्त नदीहरू
नागबेली र तरेलीका साथसाथ
बढिरहेछन् अघि
चुम्नलाइ स्वाभिमानका फोक्टाहरू
फोक्टैभित्रका भए पनि स्वकीय सत्ताका किल्लाहरु
श्रद्धाका सम्मोहनकारी बगानमा
आस्थाका आखेट टेकेर बथान उफ्रिरहन्छन्
सुनाखरीका धुनसँगै
पुतली फुलिरहेजस्तै
सूर्योदयको पूर्बाद्धमा
शहादत गर्न तम्तयार शीतविन्दुजस्तै
टाइरिसिस् महोदयका अदालतबाट
नियतिका गालामा थप्पड बर्साउने एक्लो इडिपस् जस्तै
सीमसारमा जीवन मुस्कुराउँछ
जिजीविषाका जोतारामा विडम्वनाका जुवामा नारिंदा
युगोदयका गोधूलीमा
जनमनका भावना रोप्दै
प्रष्फुटनका अक्षरहरूमा
लुप्त विकट हार्दिकता छचल्किएझैँ
मनको बारीमा
अनन्त आँखाले सजाउँछन्
गोश्वारा आकाशहरूलाइ
स्वाभिमानका हरिया पानाहरुमा
इस्पातका नीला मसीले लेख्नुछ इतिहास
वैंसालु सारङ्गी र एकजोर आँखाहरुको
फिर्ता लिइ छाड्नु छ
शिल्पीहरुको नाक, कान, हात र पसिनाको मोल
लुटिइएका अक्षरहरुले सिंगारिएका ताम्रपत्रहरुबाट
हो
त्यसैले
फलैंचामा कचहरी चलाउनु छ,
नियाँ निसाफ गर्नु छ,
गर्नु छ फैसलाः टाउकाहरुको जसजसले
जोडेका थिए दक्षका शिरताजमा बोकाको टाउको
शक्ति र सत्ताका उन्मादमा पलाएका रूमानी पैजेरुहरुसंगै
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
Hari Govinda Luitel – Hamro Kulekhani [Nepali Bal Kabita]
कति धेरै पानी
हाम्रो कुलेखानी
माछा छानीछानी
हाम्रो कुलेखानी
अग्लो बाँधले छेकेर
खोला पूरै थुनेको
डाँडो सिंगै छेडेर
लामो सुरुङ खनेको
सुरुङभरि पानी छ
भित्रभित्रै बगेको
डाँडैडाँडा काटेर
भिरालोमा झरेको
झर्दै गर्दा पानीले
जोड्ले ठक्कर खा’को
ठक्करले मेसिनको
घट्ट घुमा’को
झिलीमिली बिजुली
त्यसैबाट निस्केको
तारैतारमा बगेर
शहरसम्म फैलेको
बिजुलीको खानी
हाम्रो कुलेखानी
हेर हेर नानी
हाम्रो कुलेखानी !
Sudhir Chhetri – Bagar Byapar
सुधीर छेत्री – बगर-व्यापार
बगरको छातीमा
भुत्भुते खेलेर ह्नखोर्सेर
एकहुल हुण फर्के।
व्यवस्थाको न्यायपालिकाबाट हेपिएका
भूमिपुत्र कुकुरका जिब्राहरू
खाद्य-अनुदानका रहल टपरी चाट्दैछन्।
*
अग्ला टक्सिक दृश्यहरू
आँखा पोल्दै आँखीभौं उचालेर भित्र पस्छन्।
चिप्ला अनि चिल्ला बुदुनाहरू
स्पर्शको अमूर्त्त गणित
अनुभूत गराइवरी
जिब्रोको आयतनमा
आगामी स्वादको तन्तुलाई चिमोटेर
पानीमा बेपत्ता भए।
*
हे पर्यटक !
हिमाल स्वच्छ, जल र राशि, विशुद्ध यहॉंको
मान्छे र ईश्वर, ब्युँझन्छ सँगै, प्रकृति जहॉंको
*
धुपीका सोलोडोलो छेपारीमा
चट्याङ्ले ताछेर पीप भरेछ।
किशोर चेपेगॉंढाहरू
मन लाएर जीवन-कला घोकिरहेछन्
शान्तिजुलूसका कमिलाहरू
बालुवाभरि
आदिम स्लोगनहरू कराउँदै होलान्,
खै सुनिन्न!
*
हे पर्यटक !
कन्दरामाथि, सुनखरी राम्रा, भित्ता र पाखामा
सुविधा राम्रो,नैसर्गिक यस्तो, उपत्यका काखमा
*
आँखामा इन्द्रेनीको धागो
र
हातमा मर्चाले मुछेको निद्रा बोकेर आएका
शबरीहरूले आवेगको लट्टाईबाट
मेरो अनुभूतिको गुड्डड्डीलाई
रूखको टुप्पासम्म उचालिरहेछन्।
चर्मराएर बज्छन्
मेरा शारीरिक वाहनका चक्काहरू।
*
पातका नशाहरूमा बर्षौं अघिको हुरी चल्मलाउँछ।
हावाको हेलिकप्टरले पिठ्यूँको क्षेत्रफलमा चिसो छरेर जान्छ।
त्रिपिटकका पानाहरू झैं
फर्फराइरहेका केराका पातले
अभूतपूर्व गीत गाएर
गाम्भीर्यको हावा पखाली
चाञ्चल्यको रिदम् बजाउँछ।
*
कत्थक पुतलीहरू
अक्षरका फोका आँखामा फुटाउँदै
जीवनको रौं छाम्न नदिई
दृश्य सिलाएर फर्कन्छन्।
पुतलीहरू मिलेर
पखेटाभरि छापिएको
बेनेडेटो क्रोचेका
चिट्ठीहरू पढिरहेछन्।
*
साइँलाका छोराहरू
भोलि
यो जङ्गलको कर्चीमर्ची बटुल्न
यही लुगा र कत्लासितै आउँछन् ;
अनि हराइसकेका अनेकन् भाषाहरूका
स्वरहीन अवशेषहरू बटुल्छन्।
सार्वभौमिकताको लेउमा चिप्लेर
खुट्टा ताछिँदा तर
पञ्चायती मलम छैन वरिपरि।
*
हे पर्यटक !
हरियो पहाड, चरा र जङ्गल, सुन्दर छवि छ
टेन्टमा सुत्नु, शौचालय राम्रो, दाम यसको पॉंच-सय छ