Gopal Jhapali – Sarbahara Ko Neta

गोपाल झापाली – सर्वहाराको नेता

पुषको ठिहिमा हुस्सुको ब्याल्क होलले निल्दै गरेको सडकमा
म हात जोडेर मुखले फुक्दै न्यानो भ्रम खोजी रहेको छु ,
तिमी त्यहि सडक आडैको महलमा बसेर मकल ताप्दै
म प्रति दया देखाउँछौ र फलामे झ्यालमा आएर
एकमुठि सिगरेटको धुँवा म तिर हुर्याउँछौ ।

प्रत्येक साँझ पेगहरुले तिमीलाई स्वागत गरिरहेका बेला
म एक माना बगेडा लिएर झुपडी भित्र छिर्दै हुन्छु
त्यहि बेला दुधे छोरी मेरा खल्तिको खान्तलासी गर्न थाल्छे ,
सायद तिमी त्यहि बेला रङ्गिला यौवनहरु एक एक गर्दै सुम्सुम्याउन थालि सकेका हुन्छौं ।
पर्दा उचालेर तारासँग खित्किँदै तिमीले मुलायम हत्केलामा
भोगको बिस्कुन सुकाउँदै गर्दा
म मेरी सुत्केरी श्रीमतीको भोक मेटाउन जाउलो छड्काँउदै
अँगेनाको धुँवा चिर्दै धुरीबाट तिनै तारा सँग सर्माईरहेको हुन्छु ।

माक्र्सवादका ठेली सिरानीमा बिझाउँदै तिमी कृत्रिम सपना खोजी गर्दै हिड्छौं,
किनकि त्यहि सपना भित्र तिम्रो बिपना बाँचेको छ ।
जुन सपनाले तिम्रो उडान उचाई लिने क्रममा भएकै बेला
मेरो गन्धे पसिनाले भिजेको मयलपोसबाट छिरेको बतासले
म आँतमा शितलता भरि रहेको हुन्छु ।
किनभने मेरो सपनाले तिम्रो जस्तो उडान लिन सक्दैन
किनकि म त सर्वहार हुँ, तिमी सर्वहाराको नेता ।

लखनपुर, झापा

Shyamal – Dasani Ko Lehanga

श्यामल – दसनीको लेहङ्गा

तातो हावाको झाँकाले
फरफराउँछ
पराजित मुलुकको झन्डाजस्तो
दसनीको लेहङ्गा ।

धेरै चोट सहिसक्यो
धेरै रगत बगाइसक्यो
धेरै बलात्कार खपिसक्यो
जमिन्दारको बाँझो खेतमा
धेरै कुलो लगाइसक्यो
घामपानीको मारले
जति मधुरो देखिए पनि
अझै रङ्गीन छ
हजारौँ फूल फुल्ने उद्यानजस्तो
दसनीको लेहङ्गा ।

दाउरा लिन गएको
जङ्गलबाट फर्केन
कसैलाई थाहा छ कि
कहाँ फरफराइरहेछ बुट्टेदार
दसनीको लेहङ्गा ।

Rakesh Karki – Jati Jati Para Sarchheyau (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – जति जति पर सर्छयौ (गजल)

जति जति पर सर्रछयौ उति नजिक बसुँला म
जति जति फुक्न खोज्छ्यौ उति उति कसुँला म

घुर्काएर ठुस्कीएर रूँदै जित्न खोज्छ्यौ भने
ति आंशुका थोपा थोपा संग संगै खसुँला म

कति सजिलै भन्छ्यौ नि मेरो माया छैन भनि
थुने पनि छेके पनि त्यो दील भित्र पसुँला म

डराई समाजसंग कुल् घरान खोज्छ्यौ भने
जात पात कुरीतिलाई गोमन बनि डसुँला म

डराउदिन कसैसित तिमीले हात थामे पुग्छ
साथ तिमी दिन्नौ भने भैगो एक्लै फसुँला म

विर्सीभुली कसम बाचा चोखो माया जलाइदिए
अंजुलीमा खरानी लीइ छाती भरी घसुँला म

Shyamal – Bikash Pandit

विकास पण्डित
झोलाभरी राखेर
इकोलोजीका जेनेभा प्रिन्ट ग्रन्थहरू
ओभरहेड प्रोजेक्टरबाट देखाउँछ
गरीबीको चक्र
र राजधानीका रियल स्टेटसँग
खरीद गर्छ
छ आना जग्गा
विकास पण्डित
छात्रवृत्तिको खोजमा आउँछ
मेरो गाउँमा ।
विकास पण्डित
इन्कार गर्छ विकासका समस्त धारणा
लैंगिक असमानताविरुद्घ लड्दै
पुग्छ कमला तामाङको भट्टी पसलमा
र साँझपख
स्तनका स्पर्शहरु लिएर
फर्कन्छ डेरामा ।
विकास पण्डित
आपत्कालीन सौर्य बत्तीको
धमिलो प्रकाशमुनि बसेर
लेख लेख्छ अंग्रेजीमा
राजधानीको कुर्नै कोठामा
राखिएकी छ उसकी
ग्राजुयट स्वास्नी
जसका लागि
विकासे झोला भिरेर
विकास पण्डित पसेको छ
मेरो गाउँमा ।
उसले पठाएको छ मलाई
स्टेशनरी पसलको दलाल कार्यालयमा
र स्कूल गार्मेण्ट्स्को मुन्सीखानामा
कृपावश
म पनि स्वाबलम्बी हुँदैछु
आत्म विकासमा
म बुझ्दछु
उ केही अंक लिएर फर्कनेछ यस गाउँबाट
केही अनौठा स्मृतिहरू लिएर फर्कनेछ
केही चित्रहरू लिएर फर्कनेछ ।
विकास पण्डित
आफ्नो जागीर थाम्न
म्वाईं खान्छ डाइरेक्टरका छोराछोरीलाई
घडेरी खरीद गर्छ दामी ठाउँमा
र लेख लेख्छ गरीबका नाउँमा ।

Indra Kumar Shrestha Sarit – Jaghar Tarne Saghur

छाती चिरेर देखाउनू
पर्दैन सम्भव
बोलीमा छैन कसैलाई विश्वास
छ त केवल त्राशमा विश्वासमा

अघाए नि छैन जीवनमा सूख
भोकाए नि केवल साथमा मात्रै दूःख
छ शंखा, त्राश र उकूसमूकूस केवल
जीवन पानी बिनाको माछो हो कि ?
मरुभुमिमा रोपिएको मखमली विरुवा?

हरक्षण तनाव, हरक्षण सकस
छैन गल्ति छैन अपराध
तर बिना निर्णयको सजाय निरन्तर
छैन निकास, छैन द्वार मूक्तिको
निराश, हतास र उजाड जनीव्नहावा बगिरहंदा
पुर्णिमाको जुन भेट्छु भन्दा त
जीवन केवल, मात्रै औंशीको रात

नदेखिएको त्रू्कसीफाइडको पीडा स्थायी
मूटू कटकट खादा पनि
मौन छन पीडा, मौन छन् छटपटी
मन क्ष विक्षत भएको असहनीय पीडा
सूनाउन नि नसकिने
नसूनाइ नि बस्न नसकिने
सून्ने सक्की स्रोता त पटक्कै नभेटिने
जीवन जंघार अघि स्तव्ध उभिएको छ
किंकर्तव्यविमुढ बूख्यंचासरी उभिएको
धमिलो पानीमा लेउसरी हेलिरहेको छ एउटै प्रश्न
जंघार तर्ने कूनै काठे साघू छैन त?

Sumitra Wangdel Cheli – Paschim Bata Udaune Gham Kasto Hola (Gajal)

सुमित्रा वाङदेल ‘चेली’ – पश्चिमबाट उदाउने घाम कस्तो होला

पश्चिमबाट उदाउने घाम कस्तो होला
धेरै देखेँ कृष्णहरू राम कस्तो होला

देश हेर्छु उभिएर सुदूर पूर्वबाट
इलामले सोध्छ सधैँ अछाम कस्तो होला

हाँगाबाट चुँडालेर फूल टिप्छन् यहाँ
झर्‍या फूल चढाउने घाम कस्तो होला

मान्छे मात्छन् धन, मान, पद, प्रतिष्ठाले
नपिइकनै भात लाग्ने जाम कस्तो होला

– दमक, झापा

Jagadeesh Ghimire – Yuddha Unmulan Yuddha

जगदीश घिमिरे – युद्ध उन्मूलन युद्ध

तालुदेखि तानेर ठाडो रेखा पैतालासम्म
दुवै हत्केलाको सरल रेखामा क्रस टाँगिएको छु यस चौबाटामा
धर्तीमा
समय र विज्ञान दुई बाटाहरू
धर्ती मसँग छैन , घर परिवार–समाज देश छैन
बरालिनु
स्टेसन
जानकीचोक,
जानकीचोक
स्टेसन
शून्य सडकमा त्रिशङ्कु र भाटभटेनीहरू सँगसँगै शोकसभामा
ओर्कनुफर्कनु धूलामा टाँगिनु हावामा उँधोमुन्टो आधा
सेरिएर हलाल बगरेको किलामा छट्पटाउँदै…….
ल्याटेन्टसिफलिस बोकेर रगतभरि समयभरि बाँड्दै सम्पर्कभरि
आनुवंशिकताभरि कीटाणुहरू, विवश वेश्यावृत्ति जिजीविषामा
अस्तित्वको कात्राले कवचले व्याख्या गरिएको पश्चिमी
चस्मा जीवनको (व्यवसायको विज्ञान) छिः छिः !
(हामी गड्यौला छौँ हर्मा फ्रोडाइट । दुवै पक्षीयलाई काम लाग्छौँ
प्रभू ! आज्ञा होस् यसो सुतौँ वा उसो पल्टौँ ?)
होइन ।
अर्थजन्य दुव्र्यवस्थामा विश्वस्त त्रिशङ्कुहरू गड्यौलाहरू
इतिहासले वर्तमान गर्भिणी बनाउँछु –
शान्तिसमूह जन्मन्छ चिहानबाट
आजसम्म पूजा भएको छ शक्तिसम्पन्न सूत्रधार मतियारहरूको
हाडनाताकरणीका–युगस्त्रीलाई नीति निर्धारण गर्दै ।
शक्ति अनिवार्य छ स्थापित हुन ।
खारिनु अनिवार्य छ पूजित हुन ।
समय छ । निश्चय छ ।
भविष्य=२H2O=O2+२H2O
सापेक्ष सत्य छ
राँको बाल्छु आऊ अब
चक्षुहीन गड्यौलाको धर्तीहीन त्रिशङ्कुको भाटभटेनीको
यातायात हुँदैन वसन्तमा केवल
तन्कनु खुम्चनु जीवन
मेरो चेतना कपाल सल्काउँछ अब
यस टुपी उन्मुलन युद्धमा
युद्ध उन्मूलन युद्धमा

Padam Bhandari – Kheti Ma Palayeka Jhaar Haru

पदम भण्डारी – खेतीमा पलाएका झारहरू

कृषि विषय पढें तर गैससको खेती गरें
कस्तो अचम्म!
बीस वर्षसम्म खेती गर्दा पनि
यो बालीको जरो, टुप्पो, पात केही देखिन
फल पनि देखिन
पाकेको फलको स्वादको त कुरै नगरौं
सानो चिचिलोको स्वाद समेत चाख्न पनि पाईन
२०४६ साल पछि बिकासे बीऊ, मल बेच्न
चार सय भन्दा बढी बिदेसीहरु कस्सिएका छन्
तीस हजार भन्दा बढी नेपाली किसानहरूले बारी बनाएका छन्
महङ्गा चिल्ला कागजहरुमा, पाना पानामा,
खेती गर्ने तरिकाबारे राम्ररी जोतिएको छ,
बीऊ छरिएको छ, मलजल गरिएको छ
तर गैससको खेतीमा बाली भन्दा झारपात बढी मौलाएको छ
खेत बारीमा बाली भन्दा झारपात हर्लक्क बढेको छ
खेती गर्ने तरिका सिकाउन
अहिले त कलेजहरूले समेत नर्सरी बनाएका छन्
साना किसानको खेतीमा बाली भन्दा झारपात मौलाउँदो रहेछ
सानै खेती भए पनि झार उखेल्न धेरै संघर्ष गरें
मैले झारलाई उखेल्न खोज्दा उल्टै झारले मलाई तान्यो
मेरो केही लागेन
खेती गर्न औजार हुनेहरुका लागि
यो खेती रोप्न सजिलो छ, बाली थन्क्याउन सजिलो छ
औजार नहुनेहरुका लागि
न रोप्न सजिलो छ, न फडानी गर्न सजिलो छ
खेतबारीमा उम्रिएको झार उखेल्न म प्रयत्नरत छु
अपत्यारिलो तर सम्भव
यो खेतीभित्र उम्रिएको झार उखेल्न म लागिरहेछु
लागिरहने छु ।
★★★

Padam Bhandari – Jhukkine Ra Jhukyaune Khel

पदम भण्डारी – झुक्किने र झुक्याउने खेल

तिमीहरुले दुनियालाई झुक्याउन बिज्ञापन गरेथ्यौ
मैलेपनि तिमीहरुलाई झुक्याउन निवेदन दिएथें
तिमीहरुले मलाई झुक्याउन लिखित परिक्षामा बोलायौ
तिमीहरुले मलाई झुक्याएकोमा म दङ्ग थिएँ ।
म आँफै झुक्किएर लिखित परिक्षामा समावेश भएथें
लिखित परिक्षामा मैलेपनि तिमीहरुलाई झुक्याएर राम्रो लेखेथें
मैले तिमीहरुलाई झुक्याएकोमा तिमीहरु दङ्ग थियौ
झुक्किने र झुक्याउने हाम्रो लुकामारी खेलमा थुप्रै वर्ष बितेको थियो
झुक्किनु र झुक्याउनु त हाम्रो नियति नै थियो ।।
फेरी तिमीहरुले दुनियालाई झुक्याउन बिज्ञापन गर्यौ
फेरी मैलेपनि तिमीहरुलाई झुक्याउन निवेदन दिएं
यसपल्६ तिमीहरुले फेरी मलाई झुक्याएर जागीरबाट हटायौ
मपनि फेरी झुक्किएर जागीरबाट हटें
फेरीपनि झुक्किने र झुक्याउने लुकामारी खेलमा
मपनि दङ्ग भएँ, तिमीहरुपनि दङ्ग भयौ ।।।
तिमीहरुको चेत खुल्योकी भनेर बिन्तीभाउ गरें
तिमीहरुलाई फेरी झुक्याउन सकिन्छ की भनेर बिन्तीपत्र चढाएँ
तिमीहरु त अर्ध निद्रामै रहेछौ
पूरा निदाएकाहरुलाई बरु ब्युझाउन सजिलो हुन्छ
तिमीहरुलाई त ब्युझाउन पनी सकिएन
निरङ्कशतामा बिन्तीपत्रको केहि अर्थ हुदैन
त्यो कुरा बुभ्mन नसकेर फेरी म झुक्किएँ
तिमीहरुले फेरी मलाई झुक्याएर वास्ता गरेनौ
यसपल्ट तिमीहरु फेरी झुक्कियौ र जागीरबाट हटायौ ।।।।
म किन झुक्किएँ र तिमीहरु किन झुक्कियौ
खोज्दै जांदा यो शहर र गाँउ बीचको फरक रहेछ
अंग्रेजी खरर बोल्ने र काममा जोतिनेहरु बीचको फरक रहेछ
अह्राउने र गर्नेहरुबीचको फरक रहेछ
फरक रहछ भन्ने थाहापाएपछि
मपनि दङ्ग भएँ, तिमीहरुपनि दङ्ग भयौ ।।।।।

म त अहिले अभावले छटपटिएका पिडितहरुको जमातमा छु
तिनीहरु परिश्रम गर्छन र सुन्दर भविश्यको सपना देख्छन,
तिनीहरुले आफ्नो कुराहरुमात्र ओकल्दैनन्
अरुको कुरा सुन्नसक्ने क्षमता गुमाएका छैनन्
तिनीहरुले अरुको कुराहरुमा पूर्वानुमान लगाउदैनन्
तिनीहरुको पूर्वाग्रह साँधेर अपराध गर्ने बानी पनि छैन
तिनीहरुले आफ्नो जीवनलाई माया गर्छन
म अहिले ती असल मान्छेहरुको भिडमा छु
म फेरीपनि तिनीहरुको माझ झुक्किएर पुगेकोमा
मपनि दङ्ग छु, तिनीहरुपनि दङ्ग छन् ।।।।।।
काठमाण्डौ देखि धेरै टाढाको गाउँ हो त्यो
३ाईतेले पानी पानी भन्दा पानी खुवाउने चलन छ त्यहां
तिमीहरुजस्ता सुन्दर अनुहार भएका मान्छेहरु त छैनन् त्यहां
तिमीहरु बस्ने जस्तो आकर्षक ठाउँपनी हैन त्यो
तर त्यहांका मान्छे केही सुन्न सक्छन्, केही सिक्न सक्छन्
तिनीहरुको माझ झुक्किएर पुगेकोमा
मपनि दङ्ग छु, तिनीहरुपनि दङ्ग छन् ।।।।।।।
तिमीहरु बस्ने अखडा मेरा लागी एउटा रीट्रिट जस्तै भयो
एउटा फिल्म महोत्सव जस्तै भयो ्
मेरालागी त सुनमा सुगन्ध थपे जस्तै भयो
अहिले त म गैंडाको छाला जस्तै बाक्लो भएको छु
जसले जति पिटे पनि दुख्न छोडेको छ
त्यसैले फेरीपनि तिमीहरु र म बीचको फरक हेर्ने रहर लागेको छ
झुक्किने र झुक्याउने खेल खेल्ने खेलाडि बन्न मन लागेको छ
किनकि झुक्याउने र झुक्किने तिमीहरु र मेरो नियति नै बनिसकेको छ ।।।।।।।।

Bhupendra Mahat – Maisaap Hajur Achel [Nepali Gajal]

भुपेन्द्र महत – मैसाप हजुर अचेल पिउन थाल्नु भएछ

मैसाप हजुर अचेल पिउन थाल्नु भएछ
ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ

चिसो सिरेटोमा पनि उदाङग चल्ने अङ्ग
अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ
वैँशको रापमा बाफिएको नसालु माद
बोझिलो भयो कि, नसकी खेप्न, फाल्नु भएछ

आँखा भरी बग्न लागेका अधुरा सपना
बिझ्ने भयो कि, नसकी थेग्न बाल्नु भएछ
अभिमानले भत्किएका मायाका प्रणय
कतै जोडिन्छ कि भनी लेख्न थाल्नु भएछ

Saroj Dhital – Prem

सरोज धिताल – प्रेम

शब्दहरू
जो मूर्तिकारको सानो छिनो भएर
ढुङ्गालाई अर्थ दिन्छन्,
शब्दहरू
जो पानीको विशाल प्रवाह भएर
नदीलाई जीवन दिन्छन्
शब्दहरू
जसले सृष्टि गर्छन्
जसले अर्थ दिन्छन्
र जसले संहार पनि गर्छन्
तिनै शब्दहरू
कुनैकुनै बेला
आफै
लाजले शिर पनि निहुराउछन्

टिप्न सक्ने वस्तु हो र सत्य ?
शब्दले कसरी बाधोस् ?
प्राप्य छ र पूर्णता ?
शब्दमा कसरी अटाओस् ?
आरोह्य उचाइ हो र ईश्वर ?
शब्दले कसरी चढोस् ?

प्रेम
ईश्वरको अर्को नाम हो
ईश्वर
पूर्णताको अर्को नाम हो
पूर्णता
सत्यको अर्को नाम हो ।

त्यसैले
जीवन
प्रेमको खोज हो
यात्रा हो– कहिल्यै नटुङ्गिने ।

Shekhar Dhungel – Man Ke Baadal Ho

मन के यो बादल हो
घरीघरी स्वरुप
बदलिरहने
मन के यो बादल हो
चन्चल भै
यताउती कुदिरहने
मन के यो बादल हो
अस्थीर बनी
कहिले लुक्ने
कहिले निस्कने गरिरहने
मन के यो बादल हो
कहिले गर्जने त
कहिले शान्त कुदिरहने
मन के यो बादल हो
कहिले सेतो त
कहिले कालो बनी छकाइरहने
मन के यो बादल हो
कहिले पानी त
कहिले असिना बर्षाउने ?

Abhas – Ananta Tirkha

युगौंदेखि
मैले तिमीलाई
पूmलमा खोजेँ
बास्नामा खोजेँ
मिर्मिरेको मधुर किरण
गोधूलिको क्षितिजमा खोजेँ
युगौंदेखि
निशब्द, मौन
मैले
तिम्रैनिम्ति युद्ध लडेँ
आफ्नै रगतको गन्धमा
मैले तिमीलाई खोजेँ
मेरो अनन्त तिर्खा
तिम्रो सुकोमल स्वरुप
शान्त
सौम्य
युगौंदेखि
मैले तिमीलाई
केबल तिमीलाई खोजेँ ।

Min Dwandi – Haijale Lana Nasakeka Haru

उता बस्तिमा बाघ पसेर
धमाधम मान्छे खाइरहेको छ
हरेक दिन गाउँबाट कोही न कोही
हराएको खबर आइरहेको छ,
यता आपूmलाई जन्मजात
शिकारी ठान्ने केही महानुभावहरू
झि¨ा मार्ने आफ्नो सिद्धान्तको,
झि¨ा मार्नु पर्ने कारणको
बखान गर्नमा व्यस्त छन्
हैजाले लान नसकेकाहरू !

उता बाघले बस्तिमा पसेर
आतङ्क फैलाइरहेको छ
गाउँभित्र दिनप्रतिदिन
असुरक्षा मौलाइरहको छ
यता आपूmलाई उच्च कोटीको
शिकारी ठान्ने केही महानुभावहरू
फिस्टा मार्ने आफ्नो सिद्धान्त र नीति
कता हो कता बहादुरीपूर्ण भएको
दाबी गर्नमा व्यस्त छन्
हैजाले लान नसकेकाहरू !

आफ्ना गाउँले इष्ट–मित्रहरूलाई
बाघले मारेको समाचार आउँदा पनि
संगै खाईखेलेका दौंतरीहरूलाई
बेपत्ता पारेको खबर पाउँदा पनि
तिनका आँखामा बेदनाको नाम पनि छैन
मुखमा सहानुभूतिको ‘राम राम’ पनि छैन
“म बहादुर, तँ चाहिं काँतर” भनेर उनीहरू
आपसमा घाँटी कोराकोर गरिरहेका छन्
एक–अर्काको भूडी फोराफोर गरिरहेका छन्
हैजाले लान नसकेकाहरू !

Kumar Simkhada – Jindagani

कुमार सिंखडा – जिन्दगानी

जाने हुन्छन् फेरि फर्की आउने हुन्छन्
आफ्नो आफ्नो बाटो हजुर
लड्ने हुन्छन् संघर्षमा मर्ने हुन्छन्
जिन्दगीको सत्य हजुर

महलभित्र बस्नेलाई पीर छ महलसरी
झुप्रो कुर्ने सान्नानीलाई जीवन झुप्रैभरि
महल झुप्रो के कुरो भो पीर छ सडकमा नि
दुखभित्र हाँसो खोज्ने खेल हो जिन्दगानी

दिए खाने भन्नेहरु आज दिनेपट्टि
अमूर्त हौं भन्ने पनि गए सडी-गडी
खुसी फुल्ने पहाडभरि बेहोसीको पहिरो
सत्य बोके जीवनभरि सन्तुष्टिको ओइरो

बाटो कुर्ने बुढी आमालाई परदेशीको आस
बाटो भुल्ने परदेशीको कहाँ हो गाँस बास
बाटो होलान् लाखहजार रोज्नुपर्ने एउटा
स्वर्गलाई पछि छोडी खोज्छौ कहाँ देउता

Bishnu Kumar Basnet – Taadhindai Jaau Timi

बिष्णु कुमार बस्नेत – टाढिदै जाउ तिमी

टाढिदै जाउ तिमी मबाट,
म भुल्दै जान्छु तिमीलाई।
कथा हाम्रो यस्तो होस्,
नदुखोस् मलाई न तिमीलाई।

चाहेर मैले खोजेको हैन यो
घडी न तिमीले चाह्यौ।
दुखाएँ मैले तिमीलाई , मुटुमै
तिमीले छुरा धस्यौ।

उडिरहने पंछी तिमी
कैदमा समाउन खोजेछु
बाटो भिन्न हाम्रो , लक्ष्य
भिन्न नसोची साथ रोजेछु।।

Bhupi Sherchan – Ek Kavita

‘भोक लाग्यो’ ठिटोप्रति
न गाँसको प्रबन्ध
न बासको प्रबन्ध
तैपनि
बाँचेकै छ
हुर्केकै छ
यो मगन्ते ठिटो
नयाँ सडकको पेटीमा
पेटीजस्तै सधै असङ्ख्य पाउमुनि कुल्चिएर
कसैको वासनाको द्रुतगामी रकेटमा राखेर
यो ठिटो उडाइयो
अनजान र अनिश्चित भविष्यको अन्तरीक्षमा
बिना कुनै स्पेस सूट !
‘अक्सिजन मास्क’
र सुरक्षित सञ्चालनको
तर ऊ
बेवारिसपनाको भारहीन अवस्थाबाट
सकुशल ओर्लियो
नयाँ सडकको पेटीमा
झुत्रो प्यारासुट ओढेर
यो शिशु
जन्मियो यिशुजस्तै
कुमारी आमाको गर्भबाट
र बसेको छ अहिले ऊ
नयाँ सडकको पेटीमा
ल्याम्प–पोष्टको ‘क्रस’ बोकेर ।
पुसको जाडो
रांै ठाडो हुने रात
उदास, उजाड, पूmटपाथ
एक कुनामा सिउरेर
सुतेको छ ऊ झुत्रो बोरा र पुरानो अखबार ओढेर
अखबार ः जसको छातीमा छापिएका छन्
ठूला–ठूला अक्षरमा ‘बालदिवस’ का समाचार
मन्त्रीज्युबाट उद्घाटन,
मिठाई र पुरस्कार वितरण
तथा बाल–बालिकाहरुको प्रगतिको विज्ञापन
सुत बाबा सुत
सुत ज्ञानी सुत
सुत राजा सुत
यसरी नै निश्चित भै सुत
एक दिन यस्तो पनि आउनेछ
जब तिम्रा यी अखबार र झुत्रे बोराका
लुगा पनि
झुण्ड्याइने छन्—म्युजियममा
कालुपाँडेजस्तै
कालुपाँडेको लुगासँग
र त्यस बेला लेख्नेछ इतिहासकारले
‘उहिले–उहिले’ को नेपालमा
दुई थरिका मानिस थिए
एक थरी
जो अखबारमाथि पल्टन्थे
हेडलाइनको सिरानी हालेर
महत्वपूर्ण खबर बनेर,
अर्को थरी
जो त्यो खबरको न्यानो ओढेर
पुस–माघको जाडो काट्थे बेखबर भएर
उहिले–उहिलेको नेपाल
एउटा बासी अखबारजस्तो थियो ।

B J Bantawa Rai – Aafain Lai Kahan Lagera Bagaaun?

बि. जे. बान्तवा राई  – आफैलाई कहाँ लगेर बगाउँ?

म तिम्रो नजरबाट फ्याँकिएको मान्छे हुँ,
म आफैलाई खोज्न कहाँ जाउँ।
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

मान्छे हुँ अरु जस्तै गल्ति त हुँदोरैछ,
आफ्नैले पराई ठानी फ्याँकेपछि मन धेरै रुँदोरैछ।
बाटो पनि बन्द भयो उनीसम्म पुग्ने मेरो,
सम्झना भने सधै रह्यो उनकै सेरोफेरो।
टुक्रेको मुटु लिई अब म कता जाउँ?
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

मलाई छोडी उनी सुखी बनी हाँस्छिन भने
स्वीकार्य छ, जहाँ जाउन खुशीसँग बाँच्छिन भने,
म नै जिउँला बेदनाको सबै पोका पारी,
भिरि दिउँला जुनीभरी दुखका सबै भारी।
आँशु लिएर जाँदैछहु खुशी बनी तिमी रमाउ
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

Rupesh Rai – Janda Haru

रुपेश राई – जण्डाहरू

हुइहुइ…
जोकर करायो
प्लेकार्डको बीचबाट। गाउँले,
एकझ्याप हत्याएन, हप्ता दिनको अनिदो रातमा।
आलो-आलै मरौमा।

मरौमा,
जोक्स रिमिक्स
भएर दुःख-सुखको घरमा बेहोरा
देखाइरहेछ। गाउँ नै डराएको अँध्यारो रातमा।
पल्लो कोठा र वल्लो कोठा गर्ने मेरो विसञ्चो दिमाग
घरिघरि झुण्डी हिड्छ मर्माहत परिवारमा।

रामायण
सुँकसँक गर्दै माम्री-माम्री
परेर अस्ति नै अचेत भइदिएछ, शिक्षित
समाजको श्लिपिङ पिल खाएर। कखराहरू हुर्किनु
नपाएर सिलेटमै कचल्टिरहेन्छन्।

क्योर हुँदैन
यो घाउ गाउँको, मेम-बासा अचेत हत्केलामा लडेपछि।

पिरामा टुक्रुक्क बस्ने फ्लाश ग्यास्ट्रिक भएर उँड्छ।

नयाँ संस्करण
हुँदैन भानुभक्तको, नयाँ संस्करण हुँदैन पितृको।

जन्डाहरू
कराइरहेछन् अस्ति खसेर पुलमुनि
झर्ने आत्मालाई। उनिहरूको नियुक्तिबारे!
तिमीलाई कहाँ स्थान दिऊँ?

नछिचोलेको
समनवाद घर जङ्गलको
कुनाकाप्चामा। बौरी उठ्छ हिप्पीहरूको
ऱ्यापमा जन्डाहरू हेरेको-हेरेकै आत्मसमर्पनको अनुहारमा। स्वेत वस्त्र लिएर।

गोप्य कोठामा।
तीनचूलेमा, सँघारमा या
अन्य कहीँ

डाँडा…काँडा, खोला…नाला
बारी…कान्ला, धारा…पँधेरो, उत्तर…दक्षिण
पूर्व…पश्चिम, ट्याङ्… ट्याङ्… ट्याङ्…
ट्याङ्… ट्याङ्… ट्याङ्… ट्याङ्….

कुनै एउटा पूर्वाग्रह
जस्तो, कोकटेलको रमरम जस्तो;
धिपधिप ताल दिइरहेको। सुनिदैछ गाउँमा अहिले
हाम्रै चिन्तामा उसको चिन्ता जन्डा भएर हिँडिरहेको। पालैपालो बखान्दै।
विभिन्न भाषामा।

तिम्रो… गाउँमा… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्…
अनिकाल… पसेछ… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्…
तिम्रो… घरमा…ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्…
पितृको बेहाल भएछ… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्…

ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ् ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्
ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्…
ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्
ट्याङ्ट्याङ्… जन्डाहरू कराइरहेछन् निद्रा बिगारेर तुक्काहरूमा।

Kusum Gyawali – Jhar Ra Jhar Haru

डम्म फैलिएका छन् सदियौं देखि
फूलबारीमा थरिथरिका झारहरू
तुलसी उखेलिने डरले
हिन्दुहरू झार नउखेल्न भन्छन्
जीवहत्याको डरले
वौद्धहरू झार नउखेलौ भन्छन्
कुरान साक्षी राखेर
मुस्लिम मरूभूमिमा झार बचाऔं भन्छन्
चिहानमा रोपेका विरूवा उखेलिने डरले
इसाई झार नउखेल्न भन्छन्
यसरी नउखेलिदा झारहरू बर्षौसम्म
अचेल झारहरू जुलुस गरी रहेछन्
फूलहरू विस्थापित फूलबारीमा

कहिलै माली बन्न नसकेका बन्दुकहरूले
फुल जसरी फूलेका झारहरू देखाएर
फूलबारीमा आरक्षण मागेका छन्
पेशेवर खैरा सिकारीहरू
देखाएर वातावरणका कुरा
झार जोगाउन उपदेश दिइरहेकाछन्
एक हुल छद्म खेलाडीहरू
खेलका लागि मैदानमा झार हुनैपर्छ भन्छन्
अर्को कुनाबाट चर्न निस्केका एकहुल ध्वंसक पशुहरू
उठाउँदै गाँसको गम्भीर प्रश्न
मैदानमा झार रहनै पर्छ भन्छन्
झार उखेल्ने वर्कत हराएको
एउटा बृद्ध आलंकारिक किसान
भोका सन्ततीको अग्रपङ्तीमा
झारै झारले ढाकेका बाँझो खेतनेर
पुर्ख्यौली मौजाबाट लखेटिएको जमिनदार जस्तै
अलमल्ल उभिएको छ

झारका व्यवसायीहरू हडपेर किसानका मञ्चहरू
देखाउँदै फूलजस्तै देखिने झारहरू
आँखा थुनेर चर्को स्वरले भनिरहेछन्
कहिले अन्त हँदैन झारहरूको
– खेतमा बारीमा वा बाटोमा
– मन्दिरमा घरमा वा अफिसमा
– टावरमा पुलमा वा बाँधमा

के हामी चुपचाप हेरिरहन सक्छौं?
हाम्रै शरीरमा उम्रेका
ऐंजेरू जस्ता यी विशालु
थरिथरिका झारहरू।