Dipen Tamang – Mero Gaun Lai sodha

दिपेन तामाङ – मेरो गाउँलाई सोध

जिजीविषा प्रत्येक मान्छेको
लटरम्म तर नपाकेका फल र
फक्रन आतुरिएका फूलका कोपिला जस्तै
अपत्यारिलो जीवन चक्रमा
बाँच्नुछ, हुर्कनुछ त्यस्तै फक्रनु
व्यंग्यात्मक हाँसो
अवहेलित दृष्टिको घेराभित्रबाट
आत्मग्लानि, अभिशाप, दुर्भाग्यको कथा
मेरो गाउँलाई सोध

हेलचेक्राई, शोषित, दमित इच्छाहरू
एउटै रूखमा जीवन नबुझी तुर्लुङ्ग झुण्डिएका
भकटे, सुन्तला त्यस्तै डल्ले खोर्सानी
स्वशाषित, स्वतन्त्र, स्वअस्तित्वमा बाँच्ने आकांक्षा
भकटेभित्रको सन्तान भकटेको
सुन्तलाभित्रको सन्तान सुन्तलाको
खोर्सानीभित्रको सन्तान खोर्सानीको
धप्प छात्ती फुकाएर जिउन अघि
चिथोरिएर, निमोटिएर विवश बनेको कथा
मेरो गाउँलाई सोध

नभएको कसलाई छ ?
स्वतन्त्र बाँच्ने-बनाउने रहर
छुट्टै पहिचान जीवनको
छुट्टै मूल्य जीवनको
छुट्टै अस्तित्व जीवनको
यहाँ तर…
मानवता दानवताको घेराभित्र
केस्रा-केस्राभित्र
रस-रसभित्र
निर्धक्क आडम्बरको घुम्टो ओढेर
आफ्नै जीवनको मूल्यहीनतामा
फुस्रो हाँसो
पाइरियाको ङिच्च दाँत देखाएर
पल-पल ती
स्वशाषित, स्वअस्तित्व चाहनेहरूमाथि
जमाएका प्रभूत्त्वको कथा
मेरो गाउँलाई सोध

कठयाङ्ग्रिने जाडोलाई आफ्नै ठान्नेहरू
निर्धो, विदेशी कहलाइएका कथा
‘स्व’ भावना पटक-पटक लुटिइएका कथा
‘गाँस’ शिक्षाको गाईले खाएर
भूँडीभित्र पचाउन नसकेर
सुस्तरी-सुस्तरी भूँईमा तेर्सिएका कथा
मेरो गाउँलाई सोध !
आफ्नै गाउँलाई सोध !!

-दार्जिलिङ

Laxmi Prasad Devkota – Udbodhan

क.
हामी खिचडीनिम्ति बिकेका
हामी आजका नेपाली,
सामन्तका सब ढुकुटी ढुकेका,
नूर झुकेका
साहित्य–कलाका कोर्काली ।

ख.
टेबिल ताक्छौ जिभ्रो चाटी, युग ढाँटी,
पापीहरुसँग नीति सिकेका, परिपाटी,
चाकरीबिनु जीवन जिएझैं
हुन्न नि साथी !
हुन्न नि साथी !
कसै पछाडि नाच्न नजाने के जाति !

ग.
दर्शन हाम्रो पुच्छरमा छ घुम्रेको,
व्यक्तित्व हाम्रो पोशाकमा छ उम्रेको ।

घ.
कौडी हामी पूजा गर्छौ कडोरकडा,
हाम्रा देउता बुर्जावाला ठूला–बडा !

ङ.
सास फेरी हामी जिउँछौं, हल्ली चामर,
धूप चढाउँछौं छाती ठोकी खोक्रा पामर !

च.
काँचका आँखा, कुक्कुर–कान !
फ्याउरो–जिभ्रो, अजगर–प्रान !
सुँघ्छौं मालिक, महली हावा,
गन्छौं आफू मुर्दा, जावा !

छ.
हामी खोक्रा टीनका मान्छे,
हाम्रो मकैको लुते जुँघा ।
कर्कलाका दुइटा हात,
बोल्छौ “मालिक”, जस्तो शुधा ।

ज.
गोरा खाँद्थे, भोटे खाँद्थे पुरुखा हाम्रा
आकाङ्क्षा सब सिन्की खाँद्छौ,
खाल्डा हाली, हामी झुम्रा ।

झ.
हामी पिउरी, हामी धूपौरा, हामी छाउरा,
हात दोटा नित जोडेका,
हामी खडे छौं, कुक्कुर बबुरा,
पिकिङ बनाउने, सिक्किम उडाउने,
काङ्डा लडाउने नेपालीको
आज लडाइँ, हर्क बढाइँ,
ठूलो ढोका कुर्नु दिनभर थरथर, थरथर,
केवल कमाई, दात भात दौरा !

ञ.
जीवन गङ्गा बाढी आयो डुब ए शूकर !
कम्र्मको छालमा हुत्ती जाओ बन्लाऊ भूसुर ।

ट.
हात यी तिम्रा झुण्डन होइनन्,
माथ यी तिम्रा मुण्डन होइनन् ।

ठ.
मिठास लेऊ घाउको, चोटको,
गर्नु, मर्नु, अचल अठोटको ।

ड.
युगका रणका बाजा बज्छन् ।
मरुले दिन्छ घोर चुनौती,
आज बनाउने धावा ठूलो,
भविष्यको छ आज बपौती,
आत्मा पत्ता लाओ आफ्ना, युगका रुद्र !
अन्धता नै तिम्रो गरीबी, चेत दरिद्र !

ढ.
आफ्नै राजमा, आफै रङ्क, ए नेपाली !
ए पुराना युगका टुनाले कङ्गाली !
बानी–बोक्सी लागेका हे, उफ्रने वीर हो
हामफाल वीर हो !
ऐंठन जाला, जाला सब यो माकुरी–जाली !

ण.
चन्द्रमामा पुग्नु छ तिम्रो
तिम्रो मङ्गल खेती–
अरुनिको ए भाग्यो, भाग्यो !
भेट्टाऊ कराई “ज्योति, ज्योति !”
बलभद्र भो किन जलुको आज ?
बाघका जुँघा तानी सोध ।
पृथ्वीनारायण किन टोह्लाए ?
राष्ट्रका दुश्मन गोदन गोद !
भानु कहाँ छन् ! आँखापछाडि ।
फर्की उफार, फर्की उफार !

त.
मगज भनेको त्यो हो बाकस जसमा चमत्कार,
हृदय भनेको त्यस्तो कान हो
सुन्दछ जसले युगचीत्कार !
शरीर भनेको त्यस्तो साधन,
खिइँदै जसले लक्ष्यको सत्कार !
नेपाली भनेको त्यो हो जसले—
हाँसी हाँसी उत्री उठ्दछ खतरापार,
जसले उठाउँछ विश्व जगाई
आजको युगको विश्वको भार !

Balkrishna Sama – Ichchha

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।

“यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐर्श्वर्यको”
यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ
साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ।२।

बज्ला मन्दिरमा ‘तथास्तु’ जब यो घण्टा दिदै उत्तर
हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरुँ ।
मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३।

नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ,
पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँ
मानेपालीहरु छन् मरीकन सबै जन्मिरहेका जहाँ ।४।

Rabindra Nath Thakur – Sawan Ghana [From Geetanjali]

आज सावनको मेघका विशाल छायामा चूपचाप, नीरव रात झैँ,
मूक प्रभातमा सबैको अगाडि मुख लुकाउँदै कदापि नभाग !
आज प्रभातकालको आँखा बन्द भएका छन्, पूर्वका कोलाहलपूर्ण
पवन व्यर्थमा कसैलाई आह्वान गरिरहेछ ।
नित्य जागृत नीलाम्बरको मुख मेघका चादरले ढाकिएको छ ।

जंगल–पहाडमा आज गुञ्जन सुनिदैन ।
सबै घरका ढोका आज बन्दछन् ।
निर्जन मार्गमा तिमी एक्लै यहाँ किन कसको प्रतीक्षामा बसिरहेछौ ?

हे एकाकी सखा, प्रियतम ! मेरो ढोका खुला छ :
स्वप्नमा झैँ मेरो अगाडि आएर अदेख नहोऊ ।

Nawaraj Subba – Bidai Ka Haat Sangai

यात्रामा
हिड्दै जाँदा
काटिइसकेका पहाडहरू
एक पल्ट हेरिदिनु
सक्छौ भने
हिँडेका पैतालाका डामहरू
बाटामा छन् भनी संझिदिनु
साथी !
यहाँ यस्तै गोलमाल हुनसक्छ
कतै भीडमा साथी हराउला भन्ने
कतै हतारमा आफै हराइएला भन्ने ।

Raghu Panta – Sapana

रघु पन्त – सपना

अनगिन्ती सपनाहरु देखिसकेँ आजसम्म
छैनन् कुनै पनि सम्झनामा
तर एउटा टाँस्सिएको छ आँखामा नानी बनेर
छातीभित्र सलबलाई रहन्छ मुटुको ढुकढुकी बनेर

जीवन प्यारो लाग्छ त्यो सपनाले गर्दा
धर्ती मोहक लाग्छ त्यो सपनाले गर्दा
कष्टदायी क्षणहरु पनि सुखद लाग्छन्
र यो बन्दी अवस्था पनि प्रिय लाग्छ
यही सपनाको नाममा यसलाई सुम्पँदा ।

Min Dwandi – Man Pahiro

को देख्न सक्छ
मनमा पहिरो गएको छ
जिन्दगी पहिरो भएको छ ।
भत्केको कहालीलाग्दो बिपनामा बाँचेर
आफूमा नव–निमार्णको सपना साँचेर
नव–युद्धको उद्घाटन गर्दा–नगर्दै
अन्तर्मनमा धाँजा फाटेर
झनझन गहिरो भएको छ
जिन्दगी पहिरो भएको छ ।
अस्वीकृत जिउनुलाई पनि जीवन ठानेर
वर्तमानका हरेक हारलाई क्षणिक मानेर
एउटा उदीप्त भविष्यको रेखा कोर्दा–नकोर्दै
अन्तर्मनमा धाँजा फाटेर
झनझन गहिरो भएको छ
जिन्दगी पहिरो भएको छ ।
को देख्न सक्छ
मनमा पहिरो गएको छ
जिन्दगी पहिरो भएको छ ।

Nistej – Bartaman Pariprekshya Ma

निस्तेज – वर्तमान परिप्रेक्षमा

वर्तमान परिप्रेक्षमा
ओझेलमा परेका छन् कतिपय परिप्रेक्षहरू !

वर्तमान परिप्रेक्षमा
हामी डराएर जूनकिरीसङ्ग
खाटमुनी लुकेका छौं
र पढ्दैछौं हाम्रो वीरताको इतिहास !

शिखण्डीहरू
निर्बाध विचरण गर्दैछन कुरुक्षेत्रमा
मुस्कुराउँदै र अनुहार पछाडी
लुकाउँदैछन आफ्नो लाचारी
नेपथ्यबाट अर्जुनको प्रहारको प्रतिक्षामा
वाण बर्साउँदै अभेद्य भीष्म वक्षमा,
अखबार खोज्दैछन शिखण्डीहरू
छपाउन आफ्नो वीरताको समाचार
शिखण्डीहरूको आत्मविज्ञापनको लालसा,
नेपथ्यबाट अर्जुनको प्रहार
र भीष्मको अभेद्य छाती
कुरुक्षेत्रका नियति बनेका छन् ।

वर्तमान परिप्रेक्षमा
चमेली षड्यन्त्र गन्हाउँदैछ
बेलीले बोक्दैछ बस्ती जलेको गन्ध
जाई र जुही हरू फुल्न डराएझैं छन्
गुलाब काँडा मत्रै फुलाउँदैछ
र गुराँसको बैंसालु मुस्कान
त्रसित छ यो मौसम देखेर
आकाशबाट अम्लवर्षा हुने हल्लाहरू बोकेर
एक हूल परेवाहरू
भूमिगत भएकाछन् ।
ब्वाँसाहरूको बस्तीमा
वसन्तोत्सवको तयारी चलिराखेको छ
अभूतपूर्व तवरले
खुम्चिदैंछन यो वस्तीका सीमाहरू
फाँट खुम्चिएर खेत
खेत खुम्चिएर घडेरी बन्दैछन
त्यस्तै बस्ती खुम्चिएर टोल
टोल खुम्चिएर घर
घर खुम्चिएर कोठा
र कोठा खुम्चिएर कुना भईराखेको वर्तमान परिप्रेक्षमा
सत्ताको प्रयोगशालामा
अभ्यास गरिंदैछन नयाँ नयाँ प्रयोगहरू
नयाँ नयाँ सूत्रहरू
नयाँ नयाँ गणितहरू
र नयाँ नयाँ व्याकरणहरू
शसकहरू गोप्य मन्त्रणामा छन्
र दिनहुँ छपाउँदैछन आतंक अखबारमा ।

युगौं पुरानो घाउमाथिको पाप्रा कोट्याउँदै
बसेको छ ईतिहासले बिर्सिएको यौटा योद्धा
ऊ सम्झिदैंछ आफ्ना हारका शृंखलाहरू
र बिस्तारै फुक्ने कोसिस गर्दैछ प्रतिशोधको आगो
खरानी भित्र केही झिल्काहरू उठ्दैछन
वाणविद्व छातीबाट पीप निचोर्दै
ऊ फेर्न खोज्दैछ आफ्नो शापित ईतिहास
पराजयका शृंखलाहरू हुनेछैनन अन्तहीन
शिखण्डी समयका वाणहरूमा छैन त्यो विष
जस्ले रोक्न सकोस उसको रक्त-प्रवाह।

वर्तमान परिप्रेक्षमा
गतिमान वर्तमान परिप्रेक्षमा
ओझेलमा परेका छन् कतिपय परिप्रेक्षहरू
र देखा पर्दैछन कतिपय नौला परिप्रेक्षहरू
यो समय दास बनेको छ
परिप्रेक्षहरूको
वर्तमान परिप्रेक्षमा
परिप्रेक्षहरूको यस महान असङ्गतिमा
हामी हाम्रो वीरताको इतिहास किताबहरूमा कैद गरेर
खाटमुनी लुकेका छौं र पढ्दैंछौं
घोक्दैछौं इतिहासका परिप्रेक्षहरू।

बैतडी,हाल: धनगढी

Chanki Shrestha – Purba Katha

तिम्रो बाटो बेग्लै होला
अनुहार बेग्लै होला
तिम्रो आस्थाको आकाशमा
उड्ने चराहरू पनि त बेग्लै होलान्
बाटो बेग्लै भए पनि
पुग्ने ठाउँ त तिम्रो मेरो उही न हो !

मेरो मन फूल होइन
मेरो मन ढुंगा पनि होइन
फूलकै फेरि हत्या हुँदा
मेरो मन तिम्रो रूपको गीत पनि त होइन
सायद यस अर्थमा
तिम्रो मन पनि त फूल होइन !

पानीको आफ्नै सतह हुन्छ
साउनको आफ्नै उन्माद हुन्छ
शिरको खोजीमा मानिसहरू हिँडिरहेका यस बेला
कतै पानी छैन/कुनै माछा छैन ।

घरमा चोरहरू लाग्लान्
भित्ताहरू फोडिएलान्
तर मलाई थाहा छ,
तिम्रो मन चोरले त के जासुुसले पनि चोर्न सक्दैन ।

आँसु र अट्टहासको गृहयुद्ध चलिरहेको बेला
आँधी र असन्तोषको ज्वालामुखी फुटिरहेको बेला
जिन्दगीको हरियालीको खोजीमा
हिँडिरहेछु एउटा अनवरत यात्रामा ।

हावाको विपरित दिशातिर
फ्याँकिएको काजगजस्तै
जब आउँछ
उडेर तिम्रो सम्झनाको तस्बिर बारम्बार
म भेट्छु तिमीलाई मेरै यात्रामा
उही यात्रामा त छौ तिमी पनि !
बाटो बेग्लै भए पनि
पुग्ने ठाउँ त तिम्रो मेरो उही न हो !

Abir Khaling – Shahar Ma

अबिर खालिङ्ग – शहरमा

कान्छीले साईंलीलाई
साईंलीले माईलीलाई
खोजी हिंड्ने शहरमा
रहरमा परेर सबैले बेचिसकेछन गाँउको साईनो
गाँउको बोली र गाँउको नाम ।
बाबरीको सुगन्ध र सयपत्रीको स्वच्छता ।

परको गल्लीमा कोपिला भएर कान्छी बस्छे
र वरको गल्छेंडामा
सपिला भएर साईंली बस्छिन ।
तर गाँउ छैन अहिले उनीहरूसित ।
छ ७३ दिनभरि बजिरहन्छ हातमा
शहरको रमझमसित ।
त्यही रमझमसित दिनभरि उनीहरुलाई भेट्न
आईरहन्छ नयाँ / नचिनिने / डरलाग्दो
एच आई भी पोजिटिब भन्ने नयाँ मानिस ।

(Sent To Sanjaal Corps via Email)

Tanka Subba – Mero Kabita Timilai

टंक सुब्बा – मेरो कबिता तिमीलाई

सोची रहेछु म
यसपालीको भेटघाटमा
के उपहार दिउँ तिमीलाई ?
म सँग एउटा साग्लो जीन्दगी छ
र छन् कोमल हृदयहरु
त्यहि हृदयबाट फक्रिएका
केहि सुन्दर कविताहरु छन्
तिनै कविताहरुको माला गाँसेर
तिम्रो आगमन पर्खिरहेछु
तिमी आउँने गोरेटोमा
कविताका गुच्छाहरु छरीरहेछु ।
र अन्धकार रातहरुमा
कविताका दीपहरु जलाईरहेछु
यसरी म तिम्रै लागि कविता लेखिरहेकोछु

तिम्रो आगमनको खुशीयालीमा
तिम्रो आगमनको सम्वोधनमा
एउटा कविता वनेर लेखिँदैछु
एउटा सरिता भएर फूल्दैछु
किनकी तिम्रो आँखामा कविता भएर देखिनुछ
यसरी जीन्दगीभर लेखिएका कविताहरु
तिम्रो लागि भएनन् भने
मैले कविता लेख्नुको कुनै महत्व हुदैन
यसर्थ मेरा कविताहरुको लागि
तिमी विम्व भएर आउँनु पर्छ
तिमी प्रतीक भएर छाउँनु पर्छ
तव मात्र मेरा शव्दले पूर्णता पाउँनेछन्
तव मात्र मेरा कविताले जीवन पाउँनेछन्
तव मात्र नयाँ संसारको सिर्जना हुनेछ
यदि मेरो कवितामा
तिमी प्रतिविम्व भएनौ भने
त्यो कविता अनर्थको हुनेछ
त्यसैले म भन्छु तिमी कवितामा
स्वतन्त्र विचार भएर आउँनु पर्छ
सुनौलो जिवन भएर वाँच्नु पर्छ
उज्यालो घाम भएर उदाउँनु पर्छ
तव मात्र मैले कविता लेख्नुको उदेश्य पुरा हुनेछ
त्यसकारण सोची रहेछु म
यसपालीको भेटघाटमा
के उपहार दिउँ तिमीलाई ?
म सँग एउटा साग्लो जीन्दगी छ
र छन् कोमल हृदयहरु
त्यहि हृदयबाट फक्रिएका
केहि सुन्दर कविताहरु छन्
तिनै कविताहरुको माला गाँसेर
तिम्रो आगमन पर्खिरहेछु
तिमी आउँने गोरेटोमा
कविताका गुच्छाहरु छरीरहेछु ।
र अन्धकार रातहरुमा
कविताका दीपहरु जलाईरहेछु
यसरी म तिम्रै लागि कविता लेखिरहेकोछु

Rajab – Hitler Ko Umer Chhaina

हिटलरको उमेर मृत्युपछि कति हो
ऊ इतिहासमा पूर्णतः कहिले फर्कन्छ
हिटलर ती सब मुलुक कहिले छोड्छ
जहाँ नाम फेरी फेरी
ऊ राज्य गर्दै छ
तर हार्डभर प्रोफेसर भन्छ
हिटलर जन्मिरहने जात हो
केयौं वर्षदेखि म कक्षामा
प्रजातन्त्र, स्वतन्त्रता, उदारवाद पढाउँदै छु
तर हिटलर जन्मिरहेछ
हिटलर जन्मिरहने जात हो

Anup Joshi – Itihaas

अनुप जोशी – ईतिहास

पहिले पहिले
जमिनमा वनस्पतिहरु मात्रै बस्थे
जीव–जनावरहरु सबै पानीमा बस्थे ।
एकदिन भयो आकाशवाणी,
समून्द्रमा चारैतिर फैलियो अफवा–
“हिमालमा डढेंलो लाग्यो ।”
आगो नदीको बाटो हुँदै समून्द्र आईपुग्ने डरले
हिउँ माछाहरु हिउँ छेडेर भाग्न थाले
जीवनमा सूर्य नदेखेका पिंधका माछाहरु
बायोलुमिनेसेन्स विधिबाट बत्ती बाल्दै दौडिन थाले
छली ढुंगे माछाहरु–
साना माछाहरुलाई फसाउन छाडेरै सुइकुच्चा ठोके ।
सुरक्षित स्थानको खोजिमा–
सार्क , ह्वेल र डल्फिनहरु पनि भौतारिन थाले ।

समून्द्रको किनारमा आईपुग्दा
देखे– सबैले जमिन
सोचे– पानीको आगो जमिनमा फैलिदैन
अक्कलझुक्कल जमिन टेकेको बिराले माछा
जसै छाड्यो पानी
र टेक्यो जमिन
घट्यो अपरिकल्पनीय मेटामर्फाेसिस
र बिराले माछा बन्यो बिरालो ।
देखेर आश्चर्यचकीत–
सबै माछाहरु जमिन चुम्न अघि बढे
संखे किरा बन्यो कछुवा
बल्छीमाछा बन्यो जुनकीरी
सार्क बन्यो सिंह
ह्वेल बन्यो डाईनोसर
ढुंगे माछा बन्यो बाघ
तारे माछाहरु बने चरा
र उँडे भुर्र तारा छुन ।

यस्तैमा भयो अर्को आश्चर्य
चेपागाँडा बन्यो मान्छे ।
पृथ्वीजस्तो टाउको
शरीरैभरी कालो बादलजस्तो भुत्ला
सूर्यजस्ता दुई आँखा
रुखका हाँगाजस्ता दुई हात, दुई खुट्टा अनि औंलाहरु ।
यौटा चेपागाँडाको खुट्टाहरुको संगमस्थलमा
ठडियो पहाडजस्तो लिङ्ग
र अर्काे चेपागाँडामा
धस्सियो पहाड अट्ने दह
र छातीको दायाँ–बायाँ
आएर टाँस्सिए दुई चन्द्रमाजस्ता स्तन
देखियो दुवैको बीचमा यौटा कालो दाग ।

आपरिवर्तीत जनावरका बीच
मान्छेमा भने पलायो भिन्न ईश्वरिय खोपडी
मान्छे भयो सबैभन्दा बुद्धिमान ।
र नेतृत्व गरेर तमाम जनावरको
लाग्यो वनस्पतिहरुको साम्राज्य ।

नियाल्दै – हिड्दा–बोल्दा रुख–विरुवाहरु,
वनस्पतिहरुको जीवनशैली
हजार माइल पार गरेर मान्छे–
पुग्यो हिमाल
देख्यो–
हिमालछेऊ जमिनको छातीबाट
दनदनी बल्दै गरेको एक राँको ज्वाला
जहाँबाट निस्कँदै थियो प्रज्वलनशील ग्याँस
जो कुनै भयानक बिजुली चम्कदा सल्किएको हुनसक्थ्यो ।
देखेर– दंग परे समस्त जनावर ।
समुन्द्रको मायाले खिंचेर
फर्के केहि गोहि, दुईचार बाघ
र सबै डाइनोसर पहिलेकै रुपमा
तर फर्केन मान्छे ।

लिएर आगो अनि बचेका जनावरहरु
मान्छे– पुग्यो जंगल,
लगाईदियो डढेंलो
मारिए वनदेवता
रुखहरु बनाइए बन्दी
आक्रोशले गडे रुखका खुट्टाहरु जमिनमा
र शोकमा गरे चीर मौनधारण ।
अरु जनावरलाई खटाएर वनपाले
मान्छेले काट्यो रुख
बनायो घर
लिंगधारी कहलियो सर्वश्रेष्ठ ।

मान्छे–
यसरी सुक्ष्म चेपागाँडाबाट
बन्यो विश्व शाषक ।

Rajab – Sadak Garbha

राजव – सडक गर्भ

फेरि हलचल गर्दैछन्
सब सडक ।
सहर गाउँ
गाउँ सहर
पहाड पर्वत
पर्वत पहाडका
सब सडकहरुको यो हलचलमा
बाहानहरुको निरंकुशता पल्टँदैछ ।
सानो, ठूलो, छोटो लामो
सब सडक अब
प्रत्येक साल निरंकुश गतिको
पतनोत्सव मनाउने छन् ।
सडकहरु र पथहरु
पथहरु र सडकहरु
सब आप्mना निरंकुश नामहरु फेर्दैछन् ।

Rabindra Nath Thakur – Rakhi Ko Dori [From Geetanjali]

मेरो अंग–अंगमा रोमांच भइरहेछ, आँखामा उन्माद छाया,
मेरो ह्दयमा कसले रातो राखीको डोरी बाँधिदियो ?
आज आकाशको मनि जल–थल, फूल–फलमा तिमीले मेरो मनलाई
आकर्षित पार्यौ ?
आज तिमीसँग मेरो राखीको खेल यति राम्रो कसरी भयो !

अझ पनि, मलाई जसले बोलाएको छ उसँग भेट हुनेछ,
अथवा उसको खोजी गर्दा यातना सहनुपर्ला,
यस विषयमा केही थाह छैन !
आज मेरो आनन्द किन हो कुन्नि आँखाको पानीको रुपमा झर्नको
लागि व्याकुल भइरहेछ ।
आज विरहले मधुर रुप धारण गरेर मलाई विह्वल पारिरहेछ !

Suwas Khanal – Bancheko Samaya

सुवास खनाल – बाँचेको समय

स्वभाविक छ
भत्किनु
तर अस्वभाविक छ
भत्किनु , भत्किनु र भत्किरहनु

प्रश्न जाहेज छ
भत्काइरहनु मात्र ठीक हो भने
निर्माण किन आवश्यक छ ?

अहिले पत्रिकाहरू
भत्केका तस्विर छापिरहेका छन्
टेलिभिजन
भत्किनु ठीक वा बेठीक बहस चलाइरहेछ
कोलम्निस्टहरू
भत्किनुकै पक्ष, विपक्षमा
विचार विमर्श गरिरहेछन्
चित्रकार
कोरिरहेछ भविष्य भत्किरहेको
भयावह चित्र
फोटो पत्रकार सबभन्दा बिकाउ
फोटो खिच्ने धुनमा छ –भत्काइकै

फरक फरक भत्काइका
आयोजक ,समर्थक
नेताहरू
कार्यकर्ताहरू
कुन भत्काइ ठीक
कुरा उठाइरहेछन्

हो सबैसबैसँग
भत्काइकै आग्रहहरू छन्
हो सबैसबै अलापिरहेछन्
भत्काइका
ससाना साम्प्रदायिक धुनहरू

हो भत्किनुनै ठीक हो भने
बन्नु किन आवश्यक थियो ?
हो चर्किनु नै सुन्दरता हो भने
कुरुपता के को अर्थ हो ?

यो अहिलेको युग
बेचिरहेछ संवेदना
जोगाइरहेको छैन
यो अहिलेको समय
टुक्रिरहेको छ क्षणक्षण
जोडिइरहेको छैन

तर एउटा घर
पूर्ण निर्माणले राम्रो देखिन्छ
न कि एकएक इँट्टा इँट्टामा ।

Komal Shrestha Malla – Maato Bhairahechha Baluwa

कोमल श्रेष्ठ मल्ल – माटो भै रहेछ बालुवा

पुज्नु पर्नेले नपुजेर, माटो भै रहेछ बालुवा,
भक्त नभए माटोमा, के पलाउछ पालुवा ।

गार्है हुन्छ अब यो मन्दिरलाई चम्काउन,
भक्ती मरेकाहरुले सक्तैनन् माटो फुलाउन ॥

पुज्नु पर्नेले नपुजेर, माटो भै रहेछ बालुवा,
भक्त नभए माटोमा, के पलाउछ पालुवा ।

छन जो बचेकाहरु, माटोमा जिउंदै मरे सरी,
हेर हेर माटोको टिलपिल आसु गह भरी ।।।

पुज्नु पर्नेले नपुजेर, माटो भै रहेछ बालुवा,
भक्त नभए माटोमा, के पलाउछ पालुवा ।

Krishna Bause – Afnai Paribhasha Mathi Prashna Chinha

कृष्ण बाउसे – आफ्नै परिभाषामाथि प्रश्न चिन्ह
(मधुपर्क २०६६ मंसिर)

जब म बाटोमा ओहोरदोहोर गर्छु
मेरो स्पर्शमा आउँछ
एकातिर
सधैँ सबैलाई जीवन बाँड्दै हिँडिरहेको निश्चिन्त हावा
र अर्कातिर
सधैँ चिन्तामा डुबिरहेको एउटा मान्छे ।
जब म बाटोमा ओहोरदोहोर गर्छु
मेरो कानमा पर्छ
एकातिर
मनै रमाउने चराको चिरबिर
र अर्कातिर
अनुरागीलाई पनि
वैरागी बनाउने
घरघरमा घन्काइएको
क्रन्दनको गीत ।
जब म बाटोमा ओहोरदोहोर गर्छु
मेरो स्पर्शमा आउँछ
एकातिर
भर्खरै चरनतिर लागेका
वस्तुले छाडेको तातो श्वास
र अर्कातिर
आत्मघातको बारुद बोकेर हिँडिरहेको
आफ्नै चिसो लाश ।
तब म यो सोच्दै अवाक् बन्छु-
कसरी गर्ने मैले
अब मान्छेको रूपमा आफ्नो परिभाषा !
पानी, पतङ्ग र चेतना नभएका प्राणीका ढकहरूमा
तौलँदै
मान्छेको रूपमा
आफ्नै
विक्षिप्तता !

-पोष्ट बक्स नं. ४५२५, काठमाडौँ

Bhojraj Baral – Basekai Thaun Swarga Banaune Ho Bhane

भोजराज बराल – बसेकै ठाउ स्वर्ग बनाउने हो भने

हेर्नुस, भोलि सबेरै कुद्नु छ,
मेरो काम, आजै फत्ते हुनु पर्छ!
हेरौंला नि हजुरको दुख, काम तुरुन्तै हुन पर्छ,
मलाइ धेरै हतार छ,
हजुर, भन्नुस, क-कसलाई भन्न पर्छ!

लौन, थुनामा परेछ रे,
जाँड को सुरमा, तथानाम भनेछ रे,
एक दुइ लात ठोक्दैमा, कोची हालेछन बिचरोलाई,
निकाल्न आएको, पार्टीका साथि लिएर,
लौ भन्नुस, के गरौँ, छुटाउनै पर्यो यो मोरोलाई!

लोकसेवा दिएको छ, राम्रै गरेको छ रे
सबै पाना भरेको छ रे,
लौन, नाम निकाल्न पर्यो,
ठुलै मान्छे संग आएको छु,
जागिर मिलाउला भनेर, कसम खाएको छु!
अलिकति कोसेली ल्याएको छु!

गहुँत छर्कन पर्छ,
शुद्ध हुन्छ भान्छो, गोबरले लिप्न पर्छ,
मरेकाले दुख दिए बाबु, पितृ बोलाउनु पर्छ,
कि त धामी झाँक्री, खोज्न पर्छ,
जनावरको बलि चढाउनु पर्छ,
भाकल गरेको छु, एउटा बोको रोज्न पर्छ!

यस्तै यस्तै सोचाइ पालेर,
फेरिंदैन गाउँ र समाज,
सिर्फ भगवानको नाम मा लामो दाह्री पालेर!

समय फेरिंदै जाँदा,
पाठ्यक्रम फेरिन पर्छ,
सबैले गल्ति गर्न सक्छन,
झुठो सहि हुँदैन, गुरुले भन्दैमा,
दुइ र दुइ जोडेर पांच हुँदैन, दश पटक गन्दैमा!

जति कुर्ले पनि, जति तिर्थ नुहाए पनि,
नकाटेको चिट्ठा पर्दैन,
मन फेरिन पर्छ, सोचाइ फेरिन पर्छ,
लालचका आँखा फेरिन पर्छ!

आफू जस्तै,
सबैको पेट उस्तै हो,
अघाउँदा पनि भोको पेट देख्न पर्छ,
भोकाले पनि दिनेको मन देख्न पर्छ,
कुवा भित्रै बसे पनि,
बाहिर अर्को सन्सार देख्न पर्छ,
सबैले केहि न केहि गर्नै पर्छ,
स्वर्ग पुगेका छैनन, फलाकेरै कोहि,
बनाएरै पुगेका छन् स्वर्ग कति,
बसेकै ठाउ स्वर्ग बनाउने हो भने,

आउ तिमि केहि राम्रो गर, म उस्तै गर्छु!
तिमि मेरो चुलो बनाउ, म तिम्रो भकारी भर्छु!!

Komal Bhatta – Aafnai Desh Ka Byatha Haru

कोमल भट्ट – आफ्नै देशका व्यथाहरू

आफ्नै देशका व्यथाहरू सुनिदिने कोही छौ कि ?
च्यातिएको हृदयलाई तुनिदिने कोही छौ कि ?

अन्याय र अत्याचारले ढाकेको छ जताततै
कुकर्मका बाटाहरु थुनिदिने कोही छौ कि ?

रोग,भोक,अशिक्षा र बेरोजगारी बढ्यो धेरै
सर्वसुलभ अवसर त्यो चुनिदिने कोही छौ कि ?

रुनेहरू रोएकैछन् कोही खित्का छोडछन् सधैं
सबले हाँस्न पाउन भनी गुनिदिने कोही छौ कि ?

परस्परका भेदभाव र बैमनश्य हटाएर
एकताको एउटै माला उनिदिने कोही छौ कि ?

पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
4th March,2013