Madhab Sayapatri – Moha Bhanga

माधव सयपत्री – मोहभङ्ग

म मूढजस्तो बनेको शरीरलाई ओछ्यानमा यताउता पल्टाइरहेको थिएँ । शरीर जीर्णजीर्ण बन्दैथियो । औषधिले समेत काम गर्न छाडेको थियो । छोराछोरी हुर्काएर मर्ने मेरो इच्छा मर्दैमर्दै गएको थियो । ओछ्यानले पनि रिस गर्न थालेको थियो । त्यसैले त होला नि बिझाएको ! श्रीमतीले पनि त्यति वास्ता गर्न छाडेकी थिइन् । तिनको झर्कोफर्को र कर्कश निकै बडेको थियो । मेरो कति स्याहारसुसार गरून् ! मलाई रुङ्न नपरे तिनी ढुक्कले खेतपानी र वस्तुभाउ गर्दी हुन् । त्यतिखेर कमरेडहरूले मलाई लैजान ठूलै प्रयास गरेका थिए । छापामारदस्तामा लागेको भए मरे पनि सहिद हुइन्थ्यो । बचाइँ अर्थपूर्ण हुन्थ्यो । पार्टी र राज्यले सम्मान गथ्र्यो । परिवारले राहत पाउँथे ।

छिमेकीहरू पनि मेरोमा आउन छाडेका थिए । ‘यो सधैँको थाङ्ने बिरामी त हो नि’ भनेर होला । छापामार नबन्नुको पीडाले मलाई पोलिरहेको थियो । किन गइन हुँला ? पश्चातापले मलाई खङ्गार्दै थियो । थुक्क मेरो बुद्धि ! मलाई थाह थियो –भूमिगत पार्टीमा लाग्दा खतरा मोल्नुपरे पनि आत्मसन्तुष्टि मिल्छ । कमरेड क्यास्त्रो, चे ग्वेभारा, गोञ्जालोको आत्मसंस्मरण पढ्दा युद्धभन्दा उत्तम बाटो अरू छैनजस्तो लागेको थियो । देश र जनताको लागि मर्न पाएको भए मेरो पनि सालिक बन्थ्यो होला ।

सुनेथेँ, सल्लेरीको लडाईंमा सहादती हुनेहरूको सालिक बन्ने भएको छ रे ! त्यो लहरमा मेरो पनि जिउँदोजाग्दो सालिक ठडिन्थ्यो होला । मेरो घाँटीमा माला पहिर्याइन्थे होलान् । मेरो परिवार सहिद परिवार हुन्थ्यो । थाङ्निएर मर्दा कस्ले वास्ता गर्ने ! ‘सधैँको रोगी थियो, मरेछ । दुखै बिसाएछ, जानुपर्ने गएछ । परिवारलाई पनि सञ्चै भयो ।’ यस्तै सोचे होलान् गाउँहरूले ।

सन्तानब्बे सालका सहिदको कत्रो मान सम्मान छ । उनीहरू मान्छेका अन्तर्आत्माभित्र बाँचिरहेका छन् । यता म जिउँदै मर्दै थिएँ । कमरेड इशानले मलाई दुईदिन फकाएका थिए । गलाउन प्रयास गरेपनि म गल्दैगलिनँ । ‘शत्रुको चौगिर्दमा को छिर्छ ! न भनेको बेलामा खान पाउनु न सुत्न ।’ छापामार देखेपछि गाउँलेहरू पनि तर्केर हिँड्थे ।

इशानले मलाई आश्वासन दिँदै भनेका थिए, ‘सर, हाम्रो गौरवशाली युद्धदस्तालाई तपाईंजस्ता विचारशील मान्छेको खाँचो छ । परिवारको जिम्मा पाटीले लिन्छ, होलटाइमर भएर हिँड्नुस् । उपचार पनि पार्टीले नै गरिदिन्छ । हामीलाई तपाईंले डोर्याउनुपर्छ सर !’
मैले ठाडै ‘हुन्न’ भन्न सकिनँ । इशानको अनुनयलाई बल्लबल्ल टारँे । उनले हस्तक्षेपै गरेपछि भनिदिएँ, ‘तिमी ढिपी नगर । खुरक्क जाऊ । तिमी आफ्नो बाटो हिँड, म आफ्नो बाटो हिँड्छु ।’

इशानले सल्लेरीको दोहोर भिडन्तमा सहादत प्राप्त गरे । पार्टीले सम्मान गरी उनको सालिक निर्माण गर्ने भयो । बाटो हिँड्नेहरू अब सालिकअगाडि पुगेपछि नतमस्तक हुँदै श्रद्धा अर्पनेछन् ।

मलाई रोगले च्याप्दैलग्यो । देश सेप्m ल्यान्डिङ्गतिर लाग्यो । छिट्टै यस्तो परिवर्तन आउँछ भनेर सोचेको पनि थिइनँ । इशानको सहधर्मिणी मृदुला मलाई हेर्न आउँदा उनले भनेका चोटिला कुराले म शतचूर्ण भएको थिएँ । अहो ! कति साहसी महिला ! श्रीमान्को मृत्युको पीडालाई कसरी लुकाउन सकेकी ! उनले भनेकी थिइन्, ‘दाइ, उतिबेला हाम्रो गौरवशाली जनयुद्धलाई नजरअन्दाज गर्नुभो । त्यतिबेलै युद्धमा लागेको भए तपाईंको उपचार पार्टीले गथ्र्यो । अब हामीले सिफारिस गर्ने कुरा भएन ।’

‘मृदुला ! पति विछोडको पीडालाई हृदयको कुन कुनामा केले छोपेर राखेकी छ्यौ ? आइमाईलाई कमजोर सम्झन्थेँ । अहँ, होइन रहेछ । उनी इशानभन्दा पनि आँटिली रहिछन् ।’ इशानकी रक्तकणिका सानी छोरीको सुन्दर अनुहारमा म इशान देख्थेँ । छुट्नेबेला मृदुलाले भनिन्, ‘दाइ, श्रीमान्को वीरगतिले मलाई झन् कठोर बनाएको छ । समयले घाउको खाटा पुर्दैल्याएको छ । अहिले त मलाई कमरेड इशान मेरै साथमा हुनुहुन्छ जस्तो लाग्छ । दाइ, तपाईं छिटै निको हुनुस् । मेरो शीध्र स्वास्थ्यलाभको कामना । युद्धमा नहिँडेपनि तपाईं हाम्रै मान्छे हुनुहुन्छ ।’

मैले निरास भएर भने, ‘बैनी मृदुला, पार्टीको युद्धमोर्चामा सरिक हुन सकिनँ । तपाईं र इशानले भनेको मानिनँ । मेरो शरीर गल्दैगएको छ । धेरै दिन बाँच्दिनँ होला । विजयको शुभकामना ।’ मैले यसो भन्दा मृदुलाको अनुहार मलिन भएको थियो । हामीबिच एकछिन मौनता छायो । मृदुलाले मसित बिदा मागिन्, ‘दाइ, म तपाईंलाई हेर्न आएकी । सहिदहरूको सालिक निर्माणबारे मिटिङ्ग हँुदैछ । छिट्टै पुग्नुछ । सक्नुहुन्छ भने जाऊँ ।’ मैले भने, ‘मृदुला, म जान्नँ ।’ उनी हिँडिन् । म उनलाई हेरिरहेँ ।

— — — — — — — — — — — —

हतियार बिसाएर पार्टी शान्ति प्रक्रियामा आयो । नयाँ सरकारमा पार्टी गयो । गैह्रीखेत बेचेर श्रीमतीलाई साथ लिई म उपचारका लागि काठमाण्डु गएँ । मेरो मुटुको उपचार खेत बेचेको पैसाले मात्र सम्भव थिएन । पार्टीमा लागेका गाउँकै साथीहरूलाई सम्पर्क गर्न खोजेँ । तीनचार दिनपछि केही साथीसँग सम्पर्क भयो । विशाल, क्रान्ति, प्रहार, एटम, चट्टान र हुङ्कार अस्पतालमा आए । डाक्टरले रगत, दिसा, पिसाब, खकार परीक्षणका लागि स्याम्पल लिए । परीक्षणको रिपोर्ट आएपछि अस्पताल भर्ना आवश्यक परेमात्र गर्ने भए । केही पत्ता औषधि दिएर तीनपछि मुटुको परीक्षण गर्न बोलाए । अब अस्पतालमा बस्नु आवश्यक थिएन ।

तीन दिन कता गएर बिताउने होला, सोचिरहेको थिएँ । श्रीमती पनि मेरै मुखमा हेरिरहेकी थिई । काठमाण्डुमा खासै नजिकका आफन्त थिएनन् । भए पनि कसलाई दुःख दिनु ! साथीहरूलाई हप्पती भन्न सकिनँ । विशालले सदाशयता देखाएर भन्यो, ‘आज हाम्रोमा जाऊँ न त ।’ क्रान्तिले थप्यो, ‘हैन आज हामीकोमा जाने । हुँदैन त भाउजु ?’ प्रहार झनै आदर गरेर भन्यो, ‘तिमीहरूकोमा भोलिभोलि जानुहुन्छ । आजचैँ म लान्छु ।’ एटम चट्टान र हुङ्कारले पनि कर गरे । कस्कोमा जाने मैले तत्काल निर्णय गर्न सकिनँ । श्रीमतीको अनुहारमा हेरिबसेँ । उनले पनि मेरै मुख ताकिन् । साथीहरू डेरा साँघुरो होला । बिरामी राख्न गाह्रो पनि हुन्छ । पानीको समस्या होला । यस्तै त हो काठमाण्डुको हाल । यी साथी पनि डेरै गरी बसेका छन् । काठमाण्डुमा बाँच्न यिनीहरूलाई कति गाह्रो होला । झन् बिरामी पाहुना लाग्दा कति अप्ठेरो हुन्छ, मलाई पनि थाहा छ ।

विशाले नै जित्यो । त्यो दिन हामी विशालकोमा जाने भयौँ । अरू साथी बिदा भए । विशालले ट्याक्सी बोलायो । गंगालालबाट निस्केर ट्याक्सी चत्रपथ आइपुग्यो । दाँया मोडिएर त्यो चाबेलतिर हुँइकियो । भित्रीबाटो छिरेर ट्याक्सी विशालनगर पुग्यो । हामीलाई चोकमा ओरालेर ट्याक्सी हिँड्यो । विशाल हामीलाई लिएर केहीपर पुग्यो । एउटा भव्य महलको मुलगेट खोल्यो । लाग्यो –विशालले डेरा त राम्रै घरमा लिएको रहेछ । हामीलाई बैठकमा पुर्यायो । बैठककोठाको डेकोरेसन देखेर मलाई सकसक लाग्यो । ‘हैन, विशालले कति पैसा कमाउँछ हँ ? केमा जागिर खान्छ विशाल ?’ भित्रैबाट आएको सकसकीलाई मैले रोक्न सकिनँ । सोधिहालेँ, ‘विशाल, तिमीले त कोठा राम्रो लिएका रहेछौ, कसरी खर्च म्यानेज गरेका छौ हँ ?’ विशालले भन्यो, ‘यो घर मेरै हो सर । भूमिगतकालमा उठाएको चन्दाले किनेको । क्रान्ति, प्रहार, चट्टान, एटम, हुङ्कार सबैले घर बनाएका छन् । तपाईंलाई बेलैमा हामीले भन्दा टेरपुच्छर लाउनुभएन । मौकामा चौका नहाने कहिले कमाउने ! सेनाप्रहरीले भेटेको भए हाम्रा हड्डी मक्किसक्ने थिए । सोझो औंलाले ध्यू कहाँ आउँछ र ! ज्यान हत्केलामा राखेर पार्टीमा लागेको प्रतिफल यै हो । मैले एउटा मास्टरबाट एकलाखसम्म उठाएको थिएँ । खुद्रामसिना चन्दा त कति हो कति ? हामीले धम्क्याउँदै सफायासम्मको कार्वाही गर्ने चिठी पठाएपछि पैसा बुझाउन उनीहरू नै आउँथे । पार्टीलाई चन्दा दिएनन् भनिदियो, टन्टै साफ ।’
म छाँगाबाट एकैचोटि चट्टानमा बजारिँएँ । जनताको मुक्तिका लागि लडेका छापामारहरूको यस्तो करतुत ! भित्रबाट विशालकी श्रीमती आइन् । नमस्ते गरिन् । केटाकेटीले पनि ‘नमस्ते अंकल’ भने ।

गैहालियो, त्यो रात त्यहीं बिताउनु बाध्यता थियो । आठबजेतिर हामीलाई खाना खान बोलाए । मेरी श्रीमती लजाइन् । हामीसँगै भित्र पस्यौँ । विशालको घरको भोजन परिकार देख्दा लाग्यो –ऊ प्रधानमन्त्रीको भोजन गर्छ ।

सुत्ने कोठा देखाइदियो विशालले । भनिसाध्ये छ र ! झकिझकाउ । रातभरि मनमा कुरा खेलिरह्यो । ‘अचम्म ! मनपरि चन्दा उठायो, आपूmखुसी राख्यो । न पार्टीलाई बुझाउनुपर्ने न सरकारलाई चन्दाको कर तिर्नुपर्ने । नेपालीको रगतपसिनाले कति सराप्ला यिनीहरूलाई ?’

भोलिपल्ट झिसमिसेमै उठ्यौँ । त्यहाँ एकमिनेट पनि बस्न मन लागेन । चिया खाएपछि विशाललाई भनिदिएँ, ‘विशाल राम्रो प्रगति गरेछौ । खुसी लाग्यो । अभैm प्रगति होस् । हामी फुपूकी छोरीकोमा जान्छौँ । त्यहाँबाट अस्पताल पनि नजिकै पर्छ । भोलिलाई सजिलो हुन्छ । ल त हामी जान्छौँ है !’
हामी मन भारी पारेर हिँड्यौँ । साम्यवादको लक्ष्य लिएको पार्टीका कार्यकर्ता यति भ्रष्टाचारी ! छापामारप्रतिको मेरो मोह भङ्ग भयो । छापामार नबनेर मैले शतप्रतिशत ठिक गरेँछु । श्रीमतीले मलाई डोर्याएर टेम्पु लाग्ने ठाउँसम्म पुर्याइन् । मेरो मनले हिसाब सोध्यो, ‘पार्टीले देशभरिका कर्मचारी, शिक्षक, व्यापारी र सर्वसाधारणबाट कति अन्नपात र पैसा उठायो होला ? राज्य र विद्रोहीले मारेका नेपालीको ज्यानको मूल्य त केले नै चुकाउन सक्ला र ? ध्वंश भएका विकास संरचनाको के हिसाब ?’ मैले अड्कल गर्न पनि सकिनँ । हामी नारायणगोपाल चोकतिरै लाग्यौँ । आकाश धँमिलिएर रन्चे भएको थियो ।

फुलासी, रामेछाप ।

– आईतबार, 23 मङ्गसीर, 2070

Bishwambhar Chanchal – Bismriti

विश्वम्भर चन्चल – विस्मृति

शनिश्चरवारको दिन । एकाबिहानैदेखि मलाई के बिर्सेँ, बे बिर्सेँ भने जस्तो लागिरहेछ । मलाई थाहा छैन मैले के बिर्सेँ भनेर । तैपनि मैले कुनै कुरा बिर्सेको छु, आजको लागि । कतै जानु छ ? छैन । कसैलाई केही भन्नु छ ? छैन । कसैसँग लिनु–दिनु केही छ ? छैन । अघिपछि विदाको दिनमा गरेको जस्तो लुगा–सुगा केही धुनु छ अथवा नुहाउनु पर्ने कुनै काम छ ? त्यो पनि आजलाई छैन । यो पनि छैन, त्यो पनि छैन । आखिर, छ के त ? भनेर कत्ति सम्झिने कोशिश गर्छु तर केही छैन मैले बिर्सेको । यद्यपि छ, केही अवश्य छ जुन कुरालाई मैले बिर्सेको छु र त्यो कुरा अनिवार्य पनि छ ।

कोठाभित्रको कुनै काम गर्नु छ कि भनेर पनि निकै बेर सम्झिन्छु । केही छँदै छैन त्यस्तो गर्नु पर्ने काम । अझ केही हराएको पो छ कि भनेर एक एक सामानलाई यहाँबाट त्यहाँ र त्यहाँबाट यहाँ पारी धुइँधुइँती गर्छुँ । सामान केही हराएकै छैन न त यहाँबाट त्यहाँका कुनै कुरा कतै हेरफेर भएर नै रहेको छ ! आपूmले लाउने केही बिर्सेँ कि भनुँ भने उही सधैँ बिदाको दिनमा घर बस्दा लगाउने पहेँलो पुलओभर र कटराइजको पाइन्ट, त्यत्ति हो । भित्रपट्टि गन्जि छँदै छ, अन्डरवेयर छँदै छ । बाहिरपट्टिको लुगा लगाउँदा सम्झिइने कुरा हुन् यी ।
कोठामा बस्दा जुत्ता लगाउने चलन छैन न त टाउकोमा टोपी नै । तिनीहरूको कुनै आवश्यकता नै परेन । लगाउने कुरा जति सब यथावत लगाएकै छु । अब बाँकी रह्यो के त ? केही खान बिर्सेको जस्तो पनि लाग्दैन । बिहान उठ्नासाथ बूढीआमाले हात पोल्दै चूल्होमा अगुल्टो ठोसी–ठोसी पकाइदिएको चिया घुट्क्याइहालियो । बाहिर निस्कँदा चुरोट खाने बानी भए तापनि घर बस्दा खाने तमाखुमा भतिजाहरूलाई हपार्दै तमाखु हाल्न लगाई तानिहालियो । त्यसपछि दिसा–सिसा बसेर मुख–सुख धोइ–वरि भात–सात खानु थियो, खाइहालियो । र, फेरि भात–सात खाइ–वरि खानु पर्ने तमाखुको हकमा उनै भतिजाहरूले हो कि अथवा भाइहरूले हाली–वरि अगाडि ल्याएर हुक्का चिलिम तेस्र्याइदिइहाले । राम्रै सम्झना छ त्यो पनि । अब बाँकी रह्यो खाजा खान । त्यो पनि दुई तीन बाजि खाने होइन दिनमा । त्यसको लागि समय भएकै छैन । भए पनि र आपूmले बिर्से पनि अरूले नसम्झेलान् नै भनूँ । तर त्यति विधि माया गर्ने आमामाथि त मैले कुनै हालतमा पनि पाप चिताउनु हुँदैन । आमाले त पक्कै सम्झिनुहुन्छ । नभए घरमा अरूले खाएको देखेर पनि आपैmँले सम्भुmँला । वेला भएपछि पेटको भोकले पनि थाहा दिन्छ नि आँफै !

“ए बाबा ! कसको थाप्लोमा हिर्काउँ मैले के बिर्सेँ भनेर ? आमालाई बोलाउँछु र सोध्छु, “आमा ! के बिर्सेँ मैले आज, तपाईँलाई याद छ ?”

“के कुरा गर्दो हो यो मान्छे पनि ! तैँलै के गर्नु थियो र के गर्न बिर्सिस् मैले कसरी थाहा पाऊँ हँ ? कि, मलाई हिजो नै भन्नुपथ्र्यो यो कुरो सम्झाइदिनुहोला भनेर । त्यसै मेले कसरी थाहा पाउने, लौ भन् त ?”

“भैगो, भैगो जानोस्,” आमाको बाह्र सत्ताईस कुरा गर्ने ढाँचा देखेर बहिनीलाई बोलाउँछु । भाइलाई बोलाउँछु । भतिजा भतिजी सबलाई बोलाएर कोठामा थुपार्छुँ । उनीहरू सबै जिल्ल परेर र केही डराएर पनि मेरो अनुहारमा मात्र हेरिरहन्छन् । त्यस बखतसम्ममा ममा रिस पनि चढिसकेको हुन्छ ।

“ल भन मैले के बिर्सेँ आज ?” एकदमै उनीहरूलाई झम्टिन पुग्छु । कोही केही बोल्न सक्तैनन् । भाइले भने दुई आँखा मास्तिर पल्टाउँदै मलाई नै डराउँला भने जस्तो गरी मतर्पm हेरिरहँदा मैले भन्छु, “के हेर्छस् त्यसरी मैलाई नै खाउँला भन्या झैं गरी…. । लाज लाग्दैन तँलाई यति पनि विचार गरी भन्न नसक्दा ? तैँले पढेको बुध्दि यही हो ?”

“के थाहा त हामीलाई तिमीले के बिस्र्यौ भनेर ?” उसले जवाफ फर्काइहाल्छ ।

“ए ! अभैm मुखमुखै पो लाग्दो रहेछ कुजात ! यो घरको कुरा तँलाई थाहा नभए कसलाई हुन्छ ? कि कालो कुकुरलाई ?” यसो भनी के उसलाई गाली गर्न पुग्छु कि, “आओ, सबै जना जाऔँ । आज सान्दाइ बहुलाउन लागे क्यारे,” भन्दै ऊ सबैलाई लिएर कोठाबाट निस्कन्छ । म भने टाउको र निधार थिच्दै कोठामा रइँर्याइँती रिङ्न थाल्छु र भट्याउँछु,

“यिनै असत्तिहरूले गर्दा हो मलाई बहुला तुल्याएका । नत्र म के भनेर बहुलाउँथेँ नचाहिने कुरामा…. !”

मलाई यो पनि सम्झना छ– त्यो कुरा जरूरी नै छ आजको लागि हुनै पर्ने, अथवा गर्नै पर्ने, अथवा जानै पर्ने अथवा के के त्यस्तै । मनको एक कुनामा कता कता त्यो कुरा सम्झे जस्तो पनि लाग्छ । तर होइन, सम्झेकै छैन चाहिने कुरा । दिमाग त्यसै त्यसै खोक्रो जस्तै अथवा धोत्रो जस्तै नै छ । अनि मन ? छालाको खाली थैलो जस्तो मात्र । त्यसभन्दा बढी केही लाग्दैन आपूmलाई । लागेर पनि त्यसभरि केही हुनै सक्तैन…. ।

यत्तिकै अवस्थामा कति बेर बित्छ र दिउँसो कुन वेला हुन्छ बहिनीले कोठामा खाजा लेराउँदा भाँडो–साँडो मिल्काइदिन्छु एकातिर र, धुम्धुम्ती परेर झ्यालमा अडेस लागेर उभिइरहन्छु ।
बहिनी गएको उत्नीखेर भाइ आएर सुनाउँछ, “को हो एक जना मानिस तल आएको छ रे” भनेर त्यही पनि दुई तीन चोटि कराउँदा मात्र सुन्छु उसको कुरालाई । ध्यान आफैंमा केद्रित बनिरहेको वेला, “को हो त्यो पठाइदे माथि” भने जस्तो मात्र लाग्छ । राम्रो सम्झना त अझै छैन ।

भाइ जान्छ । तुरुन्तै उक जना मानिस कोठामा पस्छ र भन्छ, “ए ! के गर्न लाग्या छौ हँ तिमी ?

”केही होइन…, ” भन्दै उसलाई बसाल्छु र आपूm पनि बस्दै कुरा सुनाउँछु, “हेर मैले आज गजव गरी एउटा कुरा बिर्सेको छुँ ।”
“के ?” उसले सोध्छ ।

“त्यही त म भन्न सक्दिनँ के के…. । ‘यसो’ भन्न सकेको भए त बिर्सेँ भन्नै पर्दैनथ्यो नि ! क्या तिमी पनि….,” भन्दै म हाँस्छु । ऊ पनि हाँस्छ आप्mनो मुख्र्याइँ प्रश्नमा ।
हामी कुरा गर्न थाल्छौँ आपसमा– घर व्यवहारको, जागिरको,, स्कूल कजेजका वेलाको, हाम्रा बितेका दिनहरूको । तैपनि मेरो ‘बिर्सिनु’ को ‘बिर्साइ’ हुनै सक्तैन र साथीसँग कुरा गर्दैछु एकतिर, अर्कोतिर भने मेरो मन कहाँ कहाँ पुगेको छ त्यो कुरा सम्झिनलाई ।

दुनियाँभरिको कुरा सम्झिसकेँ तर त्यो कुरा भने मरिगए सम्झिन सकेको होइन । न त त्यस कुराको एक छेउ पैल्याएर नै विचार गर्न सक्छुँ ।

साथीलाई खाजा ख्वाउँछु फेरि बहिनीलाई बोलाएर । बहिनीले पनि भन्न किन बाँकी राख्थी, भनिहाली ‘अघिन घुर्की लगाएको होइन’ भनेर । साथीले थाहा पाउला भनेर ‘चुप लाग, चूप लाग’ भनेर इशारा गरे पठाउँछु ।

बेलुकी हुन लाग्छ । साथीले उठ्न खोज्दै भन्छ, “हिँड जाऊँ, अबेर भइसक्यो ।”

“कहाँ जाने र अबेर हुन्छ भनेको ?” उसको त्यस प्रकारको हतारमा मैले आश्चर्य मान्दै सोध्छुँ ।

“कहाँ अब ! झन् त्यतिमाथि हिजो मात्र सल्लाह गरेको होइन यो ठाउँमा जाने र म तिमीलाई घरमा लिन आउँछु भनेर ? अनि तिमीले म पर्खिरहुँला भनेको कुरा बिस्र्यौ अहिले ?”

लौ खा ! तीन पुस्ताको सपना बल्ल पो देख्न पुग्छुँ मैले । जुन कुरा सम्झिनको लागि बिहानदेखि घरभरिमा यति धुम मच्चाएथेँ– त्यही साथी आउँछु भनेकोमा पर्खिनु पर्ने कुरा पो रहेछ…. !

हत्तेरीका ! बिर्सिनुको पनि हद हुन्छ नि !

Purna Munankarmi – Sarpa Udhhyog

पूर्ण मुनंकर्मी – सर्प उद्योग

एकजना सपेरा गाउँमा चटक देखाउन आएको थियो । उसले विभिन्न जातका थरिथरिका सर्पहरूलाई नचाउँदै गाउँलेहरूलाई मनोरन्जन गराइरहेको थियो । सर्पमध्ये सबै भन्दा राम्रो देखिने गोमनको महत्व र आर्थिक तथा औषधिय गुण बारे पनि जानकारी दिएको थियो ।

‘गोमन हाम्रो शत्रु होइन मित्र हो’, सपेराले चटक हेरिरहेका सबैलाई विश्वास दिलायो । एउटै गोमनको मूल्य लाखौँ पर्ने र गोमनको खेती अरू सबै खेती वा ब्यावसाय भन्दा आर्थिक दृष्टिले उच्च रहेका पनि जानकारी दिए । मनोरजन र आर्थिक दुबै दृष्टिले दर्शकहरू नजानिँदो रूपमा गोमन प्रति आकर्षित हुन पुग्यो । सपेराले गोमनलाई आफ्नो हात, घाँटी र जीउमा बेर्ने चलाउने आदि पनि गरी दर्शकको भरपूर मनोरन्जन गराइरहेको थियो । दर्शकमध्ये केही साहसीहरूलाई पनि गोमन जीउमा बेर्न प्रोत्साहित गरे र एक दुई जनाले आफ्नो जीउमा लगाए पनि ।

गोमनलाई जीउमा बेर्ने युवा त्यस गाउँमा ‘नामी’ भए, ‘बहादुर’ कहलाइए र गाउँका ‘अगुवा’ भए ।

सर्पले डस्न सक्छ भन्नेहरू पनि निस्किए, दर्शकमा । तर ती बहादुर अगुवाहरूबाट ‘कायर’मा गनिए, सपेराले पनि तिनिहरूलाई ‘डरपोक’को संज्ञा भिडाए । उनिहरू धपाइए ।
गाउँमा सर्प प्रति राम्रो धारणा बन्यो र गोमन जीउमा बेर्ने युवा अगुवाको नेतृत्वमा सर्प उद्योग गरी गाउँलाई सम्पन्न बनाउने योजना बन्यो । छिट्टै नै गाउँलाई धन र नाम दुवैबाट प्रख्यात बनाउने संकल्प गरियो । सर्पदेखि डराउने ‘डरपोक’हरूलाई गाउँलेहरूबाट बहिस्कार गरायो । र उनिहरू विस्थापित भए ।

सर्पको बानी ब्यहोरा खानपान तथा वातावरण थाहा भएका सपेरालाई नै सर्प उद्योगको सल्लाहकारमा नियुक्त भए । केहि सर्प सल्लाहकारबाट पनि अनुदानमा प्राप्त भयो । विदेशी पाहुना समेतलाई निम्त्याएर भव्यताका साथ सर्प उद्योग संचालन भयो ।

सर्पको संख्या बढ्दै गयो । सपेरा र ‘बहादुर’ ‘अगुवा’हरूको पनि आय तथा मान दुवै बढ्दै गयो । गाउँका मानिसलाई सर्पसँग परिचित गराए । गाउँमा सर्पहरूको व्यापक जनसंख्या बृद्धि भयो । सर्प उद्योगमा गाउँलेहरूले आफ्नो लगानी बृद्धि गर्दै गए ।

सर्पलाई गाउँलेहरूले अब ‘मित्र’ भन्ने निर्णय भयो । नागपंचमीमा जस्तै सर्पलाई हरेक दिन दुध खुवाउने गर्न थाले ।

सर्पले पनि गाउँलेलाई गुन तिरे । अन्न खाएर दुःख दिने सबै मुसा सर्पको शिकार भए । गाउँलेहरू दङ्ग भए । मुसा बिहीन गाउँको घोषणा भयो । सर्प उद्योगको नेतृत्व लिने सपेरा र ‘अगुवा’हरूको भव्य सम्मान भयो, धेरै खादा बुने र फूलको धेरै माला गांसे ।

सर्पको जनसंख्या बृद्धिले गर्दा गाउँमा मुसा मात्र होइन अन्य साना पशुपंक्षी सबै शिकार भए । गाउँमा कुनै कुखरा र चराचुरुंगी रहेनन् । बिराला र साना पशुहरू पनि सर्पको खानामा परिणत भयो । विस्तारै-विस्तारै ठूला घरपालुवा पशुका पाडाहरू पनि सर्पको शिकार भए । गाउँका सबै पशुपंक्षीको वंश लोप भयो ।

गाउँलेको प्रमुख आय आर्जन खेती किसानीमा यसले निकै ठूलो नोक्सानी भयो । चराचुरुंगी नहुँदा किरा फट्यांग्रा र ढुसीको प्रकोप बढ्यो । खेतमा लगाइएका सबै बाली रोगले सखाप भए । गाउँमा भोकमरी भयो । खाने कुनै जनावर पंक्षी नभए पछि सर्पले मानिसलाई पनि डस्न थाल्यो । सर्पको डरले गाउँलेहरू गाउँ छोडी अन्यत्र पलायन भयो ।
* * *
कथामा वर्णित सपेरा र अगुवाहरू कहाँ छन् र उनिहरू को हुन् मलाई थाहा छैन । गाउँ छोड्न बाध्य पारिएका ती गाउँले दाजुभाइहरू कहाँ छन् ? कतै तपाइहरू त पर्नु भएन ? वा ती ‘अगुवा’हरू तपाईँ कै छिमेकमा त छैनन् ? यदि तपाइहरू मध्ये कसैलाई थाहा भए त्यस पछिको कथा पनि लेख्ने मौका हुने थियो । कृपया जानकारी दिए अनुगृहित हुने थिएँ ।

Rashi Pande – Nikah

राशि पाण्डे – निकाह

अब्व्दुल अस्पताल भर्ना भएको थियो । रजिया दुई महिनादेखि दिनरात उसको सेवामा खटिरहेकी थिई । आफ्नो जिल्लामा उपचार हुन नसकेपछि ऊ राजधानीको यस सुविधासम्पत्र अस्पतालमा थप उपचारका लागि आएको थियो ।

बिरामीको हेरबिचार गर्न उसकी औरत रजिया पनि सँगै आएकीले केही महगो भए तापनि क्याविन मै बस्ने निधो गरेको थियो अब्दुलले । बिरानो ठाउँ, आफ्नो जात, विरादरीको कोही चिनेका मानिसहरू थिएनन् । डाक्टरसँग सल्लाह गर्ने, औषधि किन्ने, एक्स–रे गराउने, रिपोर्ट ल्याउने अनि रातभरि जागेर बिरामी रुँग्ने सबै काम रजिया आफैँ गर्दथी । ऊ दिनरात केही नभनी लोग्नेको स्याहारसुसारमा तल्लिन थिई । राजधानी बसेर पढ्ने, व्यापार गर्ने वा जागिर खाने गाउँतिरका मानिसहरू पनि कहिलेकाहीँ सञ्चोबिसन्चो सोध्न आउँने गर्दथे ।

रजिया लोग्नेको गोडानिर बसेर पैताला सुम्सुमाई रहेकी थिई, कतिबेला आँखा झिमिक्क भएछ होसै पाइन । जब ऊ झल्याँस्स भई । आँखा खुल्दा ओच्छानभरि, कपडामा, अब्दुलको जीउभरि रगतैरगत थियो । ऊ आत्तिएर रुन थाली । नर्सहरू दौडिएर आए, ड््युटिको डाक्टरलाई पनि बोलाइयो ।

बिरामी निदाएको बेला छटपटाएर, सलाइन् दिएको निडल थुतिएर रगत बगेको रहेछ, “आत्तिनु पर्दैन, केही हुत्र” नर्स र डाक्टरले आश्वासन दिँदा पनि रजियाको आँसु थामिएन् । ऊ आफूलाई धिक्कार्न थाली, कोस्न लागी । आफूबाट भएको गल्तीका लागि अल्लाहसँग माफी मागी, घुँडा टेकेर धरतीलाई ढोक्दै आफ्नो गल्तीमा पश्चात्ताप गरी । अनि मक्काको काबातर्फ मुख फर्काएर कलमा पढ्न, प्रार्थना गर्न थाली –ला इलाही इल्लिल्लाहो, मोहम्मदुर रसुलल्लुह७ । उसले अब्दुललाई चाँडै बिसेक गरिदिन अल्लाहसँग दुआ मागी ।

रजियाको आलापविलाप सुनेर अब्दुलका पनि आँखा रसाए । उसले आँखाभरि आँसु गरेर सम्झाउने कोसिस गर्यो – अर्रहमनिर रहिम ! नरोऊ, तिम्रो गल्तीले गर्दा यसो भएको होइन, म आफैले बिराएर हो । सलाइन दिएको ठाउँबाट अलिकति रगत मात्र बगेको छ, यति रगत बगेर केही हुन्न । आफ्नो सानो गल्तीले बिरामीको शरीरबाट त्यति रगत बग्यो, रजियाको रुवाई रोकिदैँ रोकिएको थिएन ।

अब्दुलले रजिया तिर हेर्यो– ऊ धेरै दिनको अनिदोले बिरामीजस्ती देखिई । गाउँमा बूढा आमाबुआ मात्र, जान्नेसुन्ने इष्टमित्रहरू सबै कमाइका लागि विदेश गएकोले आफन्तहरूमध्ये केही पढेलेखेकी उही रजियामात्र थिई । अनि उसैलाई साथीको रूपमा लिएर काठमाडौँ लैजाने घरसल्लाह भएको थियो ।

गोडा मिचिरहेकी रजिया अति माया लाग्दी देखिएकी थिई । ‘यसलाई बिहा गरेर मैले पापै गरेँछु, अल्लाहले मलाई माफ गर्ने छैनन्’, अब्दुल मनमनै सोच्न थाल्यो र आफूले बिहेका लागि स्वीकृति दिएकोमा पश्चात्ताप गर्न लाग्यो ।

उनीहरूको बिहा भएको पनि ६ महिनाभन्दा बढी भइसकेको थियो । रजिया दुलही बनेर आएपछि, गाउँघरमा सबैकी चहेती बनेकी थिई । सबैसँग हाँसेर बोल्दथी, सबैलाई सकेसम्म सहयोग गर्दथी । मदरसा इस्लामियामा पढ्ने केटाकेटीहरूलाई ऊ अरबी भाषामा लिखित पवित्र ग्रन्थ कुरान सिकाउँथी । सरकारी स्कुलमा पढ्नेहरूलाई अङ्ग्रेजी र हिसाब गर्न मद्दत गर्दँथी । आइमाई बूढीहरूलाई इस्लामिक धार्मिक गीत मिलाद सुनाउने गर्थी । के केटाकेटी, के बुढाबुढी सबैले रजियालाई मन पराएका थिए ।

अब्दुलको परिवार गाउँभरिमा सम्पत्र थियो । दसदस विघा जग्गा थियो, गोठभरि गाईभैँसीहरू थिए, किराना पसल थियो । अब्दुल घरको एक्लो छोरो, उसका दुई बहिनीहरू बिहे गरेर छिमेकीे गाउँमा घरजम गरिरहेका थिए । अब्दुलको परिवारले गाउँमा मदरसा, मस्जिद बनाउन पाँचपाँच कट्ठा जग्गा दान दिएका थिए । समाजमा उनीहरूको परिवारलाई मान, सम्मान, इज्जत सबै प्राप्त थियो ।

अब्दुलकी आमालाई अब एउटी बुहारीको मात्र खाँचो थियो । उसले वरपर छरछिमेक वल्लोपल्लो गाउँ सबैतिर बिहेयोग्य केटीहरू हेरिरहेकी थिई, तर अब्दुल बिहा गर्न राजी भएकै थिएन । अम्मा, अर्काकी छोरीको जीवन किन बर्वाद गर्ने ? म बिहा नगरी त्यसै बस्छु । बिहाको कुरा चल्दा ऊ आमालाई सम्झाउँदै भन्ने गर्दथ्यो ।

छोरा ! खुदाले हामीलाई सबै थोक दिएका छन् । तर समाजमा इज्जत राख्नैको लागि पनि तिम्रो बिहे गर्नुपर्दछ । मानिसहरूले दसथरी कुरा काट्न लागिसके । बरु दुःख पाएकी, गरिब केटीसँग बिहा गर, अन्धी, लुलीसँग बिहा गर, जोसँग गरेपनि मलाई एउटी बुहारी ल्याइदेऊ । आमा हरतरहले अब्दुललाई बिहेका लागि राजी गराउने, फकाउने कोसिस गर्थी ।

ऊ आमालाई सम्झाउन खोज्दथ्यो, “अम्मी! तपाइँलाई सबै कुरा थाहा छ र पनि किन मेरो बिहेका लागि यति जिद्दी गर्नुं हुन्छ ? म बिहे गर्नै सक्दिन, म कसैलाई स्वास्नी बनाउन सक्दिन ।”
चुप लाग, यस्तो कुरा गर्ने होइन । आइमाईहरू सहनशील हुन्छन्, बिहे गरेपछि सबै सहन्छन्, आआफ्नो नसिब हो । उसकी आमाको आग्रहअघि अब्दुल लाचार बन्दथ्यो । अनि जब अब्दुलकी बहिनीले रजियासँग बिवाहको प्रस्तावलिएर आई । उसले रजियाको फोटो हेर्ने मौका पायो । अनि अब्दुलले आफ्नो बिगत, वर्तमान सबै बिर्सेर बिहा गर्ने स्वीकृति दियो । ओहो ! यो त इदको चाँदजस्तै मोहक रहिछ – सुन्दर, सुशील ।

बङ्गाली मुसलमान रजिया गरिब परिवारकी थिई । रजियाको सुकुम्वासी परिवार बङ्लादेश पाकिस्तानकै अधिनमा रहेको बेला दङ्गाबाट विस्थापित भएर नेपाल पसेको थियो । जाती, धर्म, रितीरिवाज एउटै भए पनि नेपाली मुसलमानहरू बङ्गाली मुसलमानलाई आफू भन्दा सानो र निम्नस्तरका मान्दथे । आफ्नो चेली उनीहरूलाई दित्रथे तर उनीहरूको छोरी, बहिनीलाई बुहारी बनाउँथे ।

रजियाको जन्म यहीँ नेपालमै भएको थियो । पहाडे हिन्दू केटाकटीेहरूसँग खेल्दै, हुर्केकी, रजिया नेपाली, हिन्दी, उर्दू सबै भाषा राम्रै बोल्दथी । उसले झापाको सरकारी विद्यालयमा कक्षा पाँचसम्म पढेकी थिई । अनि आफ्नो काकासँग घर मै अरबी भाषा पनि सिकेकी थिई । ऊ पाएसम्म धर्मग्रन्थका पुस्तकहरू पढ्ने गर्थी, रोजा राख्दथी, नमाज पढ्थी । प्रत्येक शुक्रबार हुने जुम्माको नमाजका लागि मस्जिदमै जाने गर्थी । दीनदुःखीहरूको सक्दो सेवा र जकात गर्थी ।
सुरुमा भद्रपुरमा बसेको रजियाको परिवार केहि वर्षपछि कोसीछेउको यस बस्तीमा दुई कट्ठा जग्गा किनेर बसाइँ सरेको थियो । यस गाऊँमा तराईबासी छ््यासमिसे हिन्दू परिवारका साथै पुस्तौँदेखि बस्दैआएका नेपाली मुसलमाहरूको बाक्लो बस्ती थियो । रजियाको बुबा किसान मजदुरी गरेर परिवार पाल्थ्यो । ऊसँग पैसा नभएकोले उमेर नाघिसक्दा पनि छोरीको बिहा गर्न सकेको थिएन ।

रजियाजस्ती गरिब, दुःख पाएकी केटीसँग बिहे गरे धर्म हुन्छ, परोपकार हुन्छ भन्ने विश्वासका साथ अब्दुल बिहे गर्न राजी भएको थियो । अनि केही दिनभित्रै रजिया बुहारी बनेर अब्दुलको घर आएकी थिई । रजियाको व्यवहार, आफूभन्दा मान्यजनहरूलार्ई गर्ने आदरसम्मान, सासूससुरा तथा परिवारका अन्य सदस्यहरूप्रतिको माया र सेवाबाट सबै प्रशत्र थिए । तर अब्दुल एउटा चिन्ताबाट पिल्साइरहेको थियो । ऊ रजियासँग एक्लै भएको बखत बडो दुखी भएर भन्थ्यो, “रजिया ! मलाई माफ गर । मैले तिमीलाई ठूलो धोका दिएँ । अन्धकारमा राखेँ, तिम्री जीवन बर्वाद बनाएँ । मैलै एउटा कुरा तिमीलाई थाहा दिएको छैन । तिमीजस्ती राम्री, ज्ञानी र सुशिल केटीले राम्राराम्रा लोग्ने पाउने थियौ, अझ पनि पाउन सक्छौ ।”

“यो के भत्रुभएको मेरो आका ! मलाई तपाइँले बिहे गरेर कत्रो उपकार गर्नु भएको छ, नत्र हामी जस्तो गरिब केटीसँग कसले बिहा गर्ने थियो ? अल्लाह दयालु छन् । तपाईले यस्तो कुरा गर्नु हुत्र । लाइलहा इल्लालाहुल अलियुल अजिम, अल्लाहको नाम लिनोस् । यस्तो पाप नबोल्नुहोस् । तपाइँ किन यस्तो सोच्नु हुन्छ ?” ऊ अब्दुलको गोडा समाएर रुने गर्दथी ।
रजिया, अब्दुलको गोडा मिचेर बिगतका कुराहरू मनमा खेलाइरहेकी थिर्ईं । नर्सहरू आफ्नो नियमित ड््युटिका लागि आएको बेला अब्दुललाई अझै जागै र चिन्तित देखेर निद्रा लगाउने इन्जेक्सन दिएर गएका थिए । अब्दुल आँखाभरि आँसु लिदै लट्ठ भएर निदाएको थियो ।
रजियाको मन फेरि विरक्त भयो । मनमा विभित्र शङ्काउपशङ्का जाग्न लागे । ऊ बिगतमा हराई । बिहा गरेर ऊ अब्दुलको घर भित्रिएपछि, उसले घरव्यवहार समालेको देखेर अब्दुल झन्झन् उदास देखिन्थ्यो । ऊदेखि टाढाटाढा जाने, केही पश्चात्ताप, केही गल्ती गरेजस्तो उसको व्यवहार बुझीनसक्नुको थियो । ससुरा प्रायः दिनभरि पसलमै बस्थे । सामान बिक्री गर्नु, फुर्सत भएको बेला हुक्का तात्रु, नियमित रूपले नमाज पढ्नु, मस्जिद जानु रोजा, बकरिद पर्वहरू धूमधामसँग मनाउनु, उनी एक आदर्श मुसलमान थिए । सासूससुरा दुवैले रजियालाई आफ्नी छोरी जस्तै माया गर्दथे । रजियालाई कुनै चिजको कमी थिएन । उसलाई एउटै कुरामा आश्चर्य लाग्दथ्यो बिहा भएको ६–६ महिना बितिसक्दा पनि अब्दुल एक रात ऊसँगै सुतेको थिएन । धेरैजसो ऊ घरबाहिर बस्ने औसर खोज्दथ्यो र घरमै बसेको रात एउटै कोठाभित्र सुत्दा पनि ऊ सन्चो नभएको, तवियत खराब भएको बहाना बनाउँथ्यो । ऊ अब्दुलको गोडा मिचीदिन्थी, तेल लगाइदिन्थी । भो, भो तिमी थाकेकी छौ भन्दाभन्दै ऊ निदाएर घुर्न लाग्दथ्यो । रजिया उसको बलिष्ट पाखुरा र चौडा छाति हेर्दै छटपट गरेर धेरै रातसम्म अनिँदै रहन्थी ।

पसलका लागि सामान कित्र, घरका लागि केही सामान ल्याउन इनरुवा वा सीमा पारिको शहर विरपुर जानु पर्दा रजियालाई पनि सँगै लिएर जाने आदेश अब्दुलकी आमाले दिन्थी, “बुहारी दिनभरि एक्लै बसिरहन्छे, भटभटियामा पछाडि राखेर दुलहीलाई पनि लिएर जा, उसको मन बहलिन्छ ।”

सामान कित्र धरान वा विराटनगर जाँदा रजिया अन्य स्वास्नीमानिसहरू जस्तै साडी वा सेरवानी मात्र लगाउँथी तर सीमापारि भारतको विरपुर बजारमा सस्तो सामानहरू कित्र जाँदा रजिया बुर्का पनि लगाउँथी । बुर्का लगाएकी महिलालाई मानिसहरू इज्जत दिन्थे, बुर्काले उसलाई लोग्नेमानिसहरूको उत्ताउलो नजरबाट पनि जोगाउँथ्यो, ऊ आफूलाई सुरक्षित ठान्दथी र मनलागेको कुरा निर्धक्कसँग बुर्काभित्रबाट हेर्न पनि सक्थी ।

रमदान पर्व नजिक आइरहेको थियो । घरयसी सामान कित्र उनीहरू मोटरसाइकलमा बसेर वीरपुरतिर जाँदै थिए । डुमराही नजिक एक्कासि एक हूल नापाक जन्तु (सुँगुर) च्वाँच्वा गर्दै बाटो छेक्न अगाडि आइपुगेको थियो । या अल्लाह, त्यहि अपवित्र जन्तुबाट बच्न खोज्दा उनीहरू दुर्घटनामा परे । संयोगले रजिया लडेर एउटा बलौटे खाल्डोमा खसी तर अब्दुल अगाडिको रूखमा ठोक्किन पुगेको थियो । गाउँलेहरूले उनीहरूलाई नजिकैको हेल्थपोष्टसम्म बोकेर पुर्याएका थिए ।

घाउ त्यति गहिरो छैन भनेर उनीहरू स्थानीय स्वास्थ्य केन्द्र मै उपचार गराएका थिए तर घाउ झन्झन् बल्झिएर सेप्टिक भएको थियो । अनि उनीहरू लाचार भएर काठमाडौँ आएका थिए– थप उपचारका लागि ।

रजिया अल्लाहसँग बिलौना गर्दथी, “किन यो घाउ मलाई लगाइदिएनौ, अब्दुललाई किन यति दुःख दिएको ?” ऊ अल्लाहसँग प्रार्थना गर्दथी । ऊ विगतमा हराएर कति बेला निदाइ पत्तो नै भएन ।

“बेगम, बेगम”! अब्दुल उसलाई बोलाइरहेको थियो, उसलाई पिसाब लागेको रहेछ । युरिनलमा पिसाब फेराउन लाग्दा ऊ जहिले पनि रजियालाई अर्कैतिर हेर्न, भित्तातिर फर्कन भन्ने गर्दथ्यो । रजिया अचम्म मान्दथी कस्तो लाज मान्ने लोग्नेमानिस हो, आफ्नी स्वास्नीसँग पनि यति धेरै लाज मान्छन् र ? ऊ छक्क पर्दथी ।

अब्दुललाई हेर्न, उसको सञ्चोबिसन्चो सोध्न उनीहरूकै गाउँको हमिद कहिलेकाहीँ आउने गर्दथ्यो । हमिद, अब्दुल भन्दा करिब तीन, चार वर्ष जेठो थियो । तर एउटै गाउँ, एउटै ठाउँ, सँगै गाईभैँसी चराउँदै, कोसीमा पौडी खेलेर हुर्किएका थिए । अचेल ऊ माझीहरूले मारेको कोसीको माछा काठमाडौँमा ल्याएर बिक्री गर्दछ । राम्रो आम्दानी हुन्थ्यो । गाउँघरतिरका मानिस काठमाडौं आएको बेला, आवश्यक सहयोग उसैले गर्दथ्यो । अब्दुलको लागि पनि गाउँबाट पैसा ल्याइदिने उनीहरूको हालखबर आमाबुबासम्म पु¥याउने काम उसैले गर्दथ्यो । हमिदकी स्वास्नी केही वर्षअघि कोसीको भङ्गालो तर्न लाग्दा डुबेर मरेकी थिई । त्यसपछि उसले अर्को बिहा गरेको थिएन । हमिद, रजियालाई हेरेर जिस्काउँने गर्दथ्यो, “बेगम साहिवा ! आफ्नी स्वास्नी त अल्लाहकी प्यारी भई, मलाई तिमीजस्तै राम्री एउटी खोजिदेऊ न ।”

हमिद अस्पताल आएको दिन अब्दुल पनि निकै खुसी हुन्थ्यो । उसको अनुहार हँसिलो हुन्थ्यो । उनीहरू धेरैबेरसम्म हाँसीहाँसी बाल्यकालका कुराहरू गर्दथे । बसको पछिपछि झुन्डिएको, कोसीटप्पुमा चराको सिकार खेलेको, कोसीमा माछा मारेको, पौडी खेल्दा डुबेर पानी खाएका कतिकति कुराहरू हुन्थे । अनि अब्दुल, हमिद र रजियालाई सँगसँगै बस्न लगाएर कस्तो सुहाएको जोडी भन्दै जिस्काउँथ्यो । जब हमिद जान्थ्यो, अब्दुल थकान र कमजोरीले लस्त भएर अलसतलस बन्दथ्यो ।

डाक्टरको उपचारले, रजियाको सेवासुसारले अब्दुललाई धेरै बिसेक हुँदै गएको थियो, गोडा काट्नु परेन, उसका घाउ भरिदै आएको थियो । जब अब्दुल आफैँ केही हिँड्डल गर्न सक्ने भएको थियो उसले हमिदसँग अनुनय गरेर रजियालाई काठमाडौँको घन्टाघर स्थित जामेमस्जिद, दरबारमार्ग स्थित पञ्च कस्मिरी, बौद्ध धर्मावलम्बीहरूको स्वयम्भू, हिन्दूहरूको पशुपति आर्यघाट, विदेशी पर्यटकहरूको थलो ठमेल, किनमेलको बजार न्युरोड सबैतिर घुमाउन लगाएको थियो ।
रजिया पराया लोग्नेमानिससँग एक्लै घुम्न जान मान्दिनथी । अब्दुल उसलाई फकाउँदै भनेको थियो, “हमिद त आफ्नै परिवारको सदस्य हो, ऊसँग के लाज मात्रु, फेरि यहाँ परदेशमा ऊ बाहेक हाम्रो को छ र ? तिमी अल्लाहसँग दुआ माग्न मस्जिद जान लागेकी हौ, पाप लाग्दैन, जाऊ, काठमाडौँ आएको बेला, जानुपर्छ । अहिले हामी मक्का जान नसक्नेहरूका लागि यही जामेमस्जिद हाम्रो लागि मक्का हो, मौका गुमाउनु हुन्न ।”

रजिया लोग्नेको लागि दुआ माग्न पनि मस्जिद जान राजी हुन्थी । उनीहरू फर्केर आएपछि अब्दुल, हमिदको खुब तारिफ गर्दथ्यो, “बडो असल मानिस छ । आर्थिक रूपले सम्पत्र छ, आफ्नी स्वास्नीलाई एकदम माया गर्दथ्यो ।” अनि उदास भएर भन्ने गर्दथ्यो, “रजिया म गुनहगार हुँ, मैले नापाक काम गरेकोले अल्लाहले मलाई यो दुघटनाले एउटा सजाय दिएका हुन्, सचेत गराएका हुन् । अखिरत का दिन दोखज जानुपर्नेछ, म नरक जान चाहात्र । अल्लाह मियाँ, मलाई माफ गर ।”

यस्तो कुरा नगर्न रजिया ऊसँग अनुनय, गर्दथी, बिन्ती गर्दथी । तिमीलाई पाएर म एकदम सुखी छुँ, खुसी छुँ भन्थी । तर किन हो किन अब्दुल भित्रभित्रै जलिरहेको हुन्थ्यो ।
अब्दुललाई डिस्चार्ज गर्ने समय आउन लागिसकेको थियो । रजिया पनि अचेल निकै खुसी देखिन्थी अल्लाहले कृपा गरे– रहम गरे भनेर । अल्लाहको लाखलाख शुक्र३७ छ, धन्यवाद । आफ्नो लोग्ने, आफ्नो हरम बिसेक भएकोमा ऊ अल्लाहलाई मुरीमुरी धन्यवाद दिन्थी ।
रमजानको महिना चलिरहेको थियो । मुसलमानहरू रोजामा थिए, दिनभरि निराहार भएर व्रत बस्थे । आज पनि हमिद, अब्दुललाई भेट्न आएको थियो । अब्दुलले रजियालाई सेवई र खजुर किन्न बाहिर पठाएर हमिदसँग कुरा गर्न लाग्यो ।

अब्दुलले हमिदको हात समातेर विनित स्वरमा भन्यो, “हमिद मियाँ मलाई पैगम्बरबाट एउटा इलहाम प्राप्त भएजस्तो लाग्छ । मलाई अल्लाहले हजगर्न जाऊ, मक्का जाऊ भन्ने आदेश दिनु भएको छ । म अब यो साँसारिक मायामोहबाट छुटकारा चाहान्छु । म तिमीलाई एउटा परोपवारको काम सुम्पन चाहान्छु । यो पवित्र महिना हो, तिमीले मलाई सहयोग गर्ने बचन दिनुपर्छ । एक सच्चा मुस्लिमले धर्मको कामबाट नाइँ भत्र मिल्दैन, मलाई बचन देऊ ।”
हमिद बडो दुविधामा पर्यो । ऊ पनि एक सच्चा मुसलमान थियो, फेरि रमदानको महिना । सिकिस्त बिरामी भएर थला परेको बाल्यकालको मित्र, उसले सक्दो सहयोग गर्ने बाचा गर्यो । हमिदबाट आश्वासन पाएपछि अब्दुल भत्र लाग्यो, “हेर ! हाम्री रजिया अहिले पनि उस्तै पवित्र छ, जस्ती बिहा गर्नु अघि थिई । तिमीलाई थाहा नै छ, जब म तीनचार वर्षको थिएँ, मेरो मुसलमानी गर्दा खतना गरेको ठाउँमा बाँसको कर्चिले घोचिँदा संक्रमण भई पाकेको थियो । पछि त्यो घाउ बिसेक त भयो तर जननेन्द्रियका नसाहरू गुँडुलो परेर बडहरको फल जस्तो गुजुल्टो परेको छ । अब त्यो अङ्ग एक पिसाप फेर्ने प्वालको रूपमा मात्र बाँकि छ । तिमी भन यस्तो अवस्थामा मैले रजियासँग बिहा गरेर महापाप गरिन् ? के लाई अल्लाहले माफ गर्छ्न् ? तिमी मलाई यो पापबाट उन्मुक्त्ति देऊ, तिमी रजियासँग बिहा गर ।”

अब्दुलसँग छलफल भएपछि हमिदले रजियालाई आफूले पनि बिहा गर्ने कुरा सुनायो । केटी पनि फेला परिसकेकी छ तर उनको स्वीकृति लिनमात्र बाँकी भएको भन्दै उसले रजियालाई रोजाएर काठमाडौँमा थुप्रै लत्ताकपडा किन्यो, गहनाहरू बनायो ।

अस्पतालबाट डिस्चार्ज भएपछि अब्दुल, रजिया र हमिद एउटै बसबाट सँगै आफ्नो गाउँ रहिमपुर आए । घर पुगेको केही दिनपछि अब्दुलले गाउँमा एक भोजको आयोजना गर्यो, इफ्तारीको आयोजना गर्यो । इष्टमित्र, मौलवी, हाजी सबै निमत्याइए । भोजको कार्यक्रममा रजिया सहित अन्य महिलाहरू पर्दा पछाडि बसेर सहभागिता जनाइरहेका थिए । उपस्थित भद्र भलादमीहरूको बैठकमा अब्दुलले रजियालाई पनि निम्त्यायो । ऊ लजाउँदै, डराउँदै पर्दा पछाडि आएर बसी ।
अनि केही गम्भीर भएर उपस्थित भलादमीहरूको ध्यान आफूतिर आकृष्ट गर्दै अब्दुलले रजियातिर हेरेर भत्र सुरु गर्यो, “रजिया एकदम नेक कन्या हुन् । उनले मलाई, मेरो परिवारलाई र मेरो सेवा स्याहारमा कुनै कमी राखेकी छैनन् । उनमा कुनै खोट छैन, तर म एक योग्य पति हुने क्षमता राख्दिन, म उनको योग्य छैन । म रजियालाई स्वतन्त्रता दिन्छु, उसलाई आफ्नो बन्धनमा बाँधी राख्न चाहन्न । उसँग सम्बन्धविच्छेद गर्न चाहान्छु । हाम्रो सम्बन्ध लोग्नस्वास्नीको रूपमा नरहेतापनि हामी सधैँ एक असल मित्र रहने छौँ ।” अनि उसले इस्लामी सरिअन अनुसार तीन पटक भन्यो –
“तलाक!”
“तलाक ! !”
“तलाक ! ! !”

“रजिया अवाक् भई, ऊ रुन लागी । यो के भयो, उसले के र कहाँ के गल्ती गरी, किन अब्दुलले यसरी तलाक दियो ? उसले केही थाहा पाइन ।
मानिसहरू खासखुस गर्न लागे । केही युवाहरूले विरोधको स्वर उठाउन चाहे । अनि मानिसहरूलाई शान्त पार्दैं भीडबाट उठेर हमिदले भन्यो, “इहदिनास सिरातल मुस्तकिम, अब्दुल एकदम नेक मानिस हुन् । उनी अल्लाह र उसका रसुलमा विश्वास राख्छन् । रजियासँगको तलाक पनि अल्लाहको रसुल हो । तपाइँहरूलाई थाहै छ, मेरी बेगम मरेकी पनि आज तीन वर्ष भयो । म एक्लो छुँ– म पनि परिवार बसाउन चाहान्छु । घरजम गर्न चाहान्छु । रजियाको स्वीकृति पाए म ऊसँग निकाह गर्छु । म उनलाई जीवन साथी बनाउन चाहान्छु ।”
उसले मौलाना तिर हेरेर हात जोड्दै निकाहका लागि स्वीकृति माग्यो । उपस्थित जनसमुदाय तर्फ हात जोड्दै समर्थन चाह्यो, अनि पर्दा पछाडिकी रजिया तिर हेर्दै सहयात्राका लागि याचना गर्न लाग्यो ।

गाउँका पाका मानिसहरू अब्दुलको प्रशंसा गर्न लागे, “क्यावात, क्यावात अब्दुल ! तिमीलाई हाम्रो शुभकामना छ ।” ंअब्दुल र हमिद आपसमा अङ्कमाल गर्दै एकअर्र्कालाईं बधाई दिए । पर, पर्दा पछाडि बसेकी रजिया एकै पटक मिलन र बिछोडको भुमरीमा परी । हर्ष र बिस्मातको भँगालोमा भासिई । उसको अनुहार भूपिको ‘मैनबत्तीको शिखा’ झैँ भयो–
एकातिर धप्पधप्प बलिरहेछ अनुहार !
अर्कातिर तप्प तप्प ढलिरहेछ अश्रुधार !!

Raju Sharma – Television

राजु शर्मा – टेलिभिजन

“के हो रमेश बाबु आज त सखारै पाल्नु भएछ नि” छिमेकीको घरमा टेलिभिजन हेर्न गएका रमेश बाबु प्रतिको व्यङग कस्न उनले किन चुक्थे र !
“आज कार्यालयबाट छिटटै फर्किएं कोठामा त्यसै बुिुसराख्न पनि मन लागेन त्यसैले काका कहां आउदा काका सगं भेटघाट पनि हुने टेलिभिजन पनि हेर्न पाईने हैन त काका” उस्ले पनि लाचारी ब्यक्त गर्यो ।
“ छोरा छोरीको जांच निजिकिदै छ त्यसैले आज टि, भि नखोलौं की ?” छिमेकिको आशय उस्ले प्रष्ट बुझयो ।
पैताला देखि टुप्पी सम्म रिस दौडियो । जुरुक्क उठेर वाहिरीयो । एउटा टि, भि किन्न सकेको भए यी नालाएक मिेकिको यसरी बेज्जत खप्नु पर्ने त थिएन् । मुटुबाट मुख सम्म आएको रिसलाई धुटुक्क निल्यो । अनुहार भरि एउटा मुस्कान दल्ने असफल प्रयास गर्यो ।
भोलि पल्ट कार्यालय जान घरबाट निस्कियो । खल्ति छाम छुम पार्यो । उसको एउ६ा तल तल छ भात खाए पछि सुपारी चपाउनै पर्नै । आफनो पहिरनको सम्पूण खल्तीहरु छाम छुम पार्दा पनि एक टुक्रा सुपारी भेट्टाउन सकेन् । एक टुक्रा सुपारिको लागि आशा रामको पसल तर्फ आंखा फाल्यो । पसल अगिल्तिर गएर ठिङग उभियो।
“ अफिस तिर हो कि कसो हो बाजे ” । आशा रामको जि१ासामा उस्ले मुन्टो हल्लायो ।
“ दुई टुक्रा सुपारी देउ त ।” एक रुपैंयाको नोट पसार्यो ।
आशा रामले शिशि भित्रबाट दुई टुक्रा सुपारी उस्को हातमा थमाई दीयो । एक टुक्रा मुख भित्र हुल्यो । अक्र्राे एक टुक्रा पाईन्टको खल्ति भित्र छिरायो । ङिच्च दांत देखाएर पलाएन हुन खोज्यो ।
“ बाजेको छोरा छोरी कति वटा छन् ?” आशाराम साहुले कुरा कोट्टयायो ।
आशा रामको प्रश्नमा छाति फुलाएर “दुई छोरा दुई छोरी” गर्भले फुक्यो ।
“बाजे मात्रै हेर्दा खेरी सोझो जस्तो ? तर छोरा छँेरी त स्मार्ट रहेछन् नि ?” आशारामले कुरा कोटयायो ।
उस्को शरीरमा शंकाको सानो छिद्रा पर्यो । शंकैं शंकामा सोध्यो “तिमीले के आधारमा भनेका हौ ?”
“आ बाजे पनि बाजेको छोरा छोरी मेरै पसलबाट त फोन गर्छन नि । फोनमा भएको कुरा म बुझदीन र ?”
आशा रामको स्पष्टोक्तिले उस्मा शंकाको बादल मडारीन थाल्यो । आशा रामको बोलिबाट निस्किएको प्रत्येक शब्दले उस्लाई च्वास च्वास घोच्न थाल्यो । कतिखेर उस्ले दात ङिच्च पार्यो र त्याहांबाट पलाएन भयो उस्लाई पत्तै भएन ।
“एउटा जाबो फोन हालिदिन सकेको भए छुसि साहुले ब्यङग कस्न त पाउने थिएन् ?“
उस्ले बा६ोको छातिमा एक्कासि अफुलाई लुरुलुरु हिडिरहेको महसुस गर्यो । आफनो नालाएकी पनमा उस्को लोग्ने मान्छे नजानिदो किसिमले जाग्यो , रिसले दांत चपायो । कल्पनामा नै भए पनि उस्ले छोरा छोरीको गालामा कस्सेर एक एक ठप्पड बजायो । “एउटा टेलिफोन र एउटा टेलिभिजन किनेर राख्न नसक्ने छुसिले हैकम लादन खोज्नु हुट्टि टयांउले आकाश थाम्ने प्रयाश गरे जस्तो त न हो“ उस्लाई आफै प्रति धृणा उर्लिएर आयो । “यस्तो छुसि नालाएक मान्छेले महानगर पालिकाको छातिमा गल्र्याम गल्र्याम बुट बजार्ने अधिकार पनि छैन् ।“ उस्ले आफंैलाई धिक्कार्यो ।

राति सुत्ने बेलामा श्रीमतीको अर्को घोषणा जारी भयो “घरमा एउटा टेलिभिजन हेरुं भनेको जिन्दगी त्यसै बित्यो ।”
उस्ले फकाउदै भन्यो “छोरा छोरी पढदैढन टेलिभिजन लेराए पछि उनिहरु टेलिभिजनमा बढि पढाईमा कम ध्यान दिन्छन् , पढाई बिग्रन्छ , बरु उनिहरुको पढाई सकिए पछि लेराउंला नि हुन्न् ।”
उ किन फक्किन्थि र ? झन मुख बंगाई “नाच्न नजान्ने आंगन टेडो , छिमेकिका घरमा बढेमानका टेलीभिजन छन् कोठै पीच्छे । टेलिफोन छन् तलै पिच्छे । तैपनि उनिहरुका छोरा छोरी राम्रो श्रेणिमा पास हुन्छन् । खाने मुखलाई जुंगाले छेक्दैन ।” श्रीमतिको धारा प्रबाहा रोकीएन ।
घुप्लुक्क मुख छोपेर सुत्नुमानै कल्याण सम्झीयो ।

भोलि पल्ट सबै सगैं बसेर भात खांदै थियौं । श्रीमतीले कुरा कोटयाई हालि “आज त बिर्सिने होईन नि ?”
“दुई चार दिन पखन” अझै सम्झाउने प्रयत्न गर्यो ।
“अबत ढाटन पाईन्न है ?”अबत झन श्रीमती सगैं हो मा हो मिलाउदै छेरा छोरी सबै एकै ढिक्का भैदिए । छोरा छोरीहरुलाई उठेर एक एक लात र दुई दुई चडकन चडकाउने ईच्छा भयो…., तर सधैं झै परिस्थितिको अगाडि लत्रक्क संग गल्यो । हिजोको घटनालाई उग्राउन थाल्यो ।

सालीको घरमा निम्ता मनाउन स–परिवार गएको ।

भर्खरै तयार भएको आघुनिक बंगला ।

बगंलाभित्र सजिसजाउ बेडरुम , डाईनिङरुम ।

बेडरुम भित्र बिस ईन्चिको कलर टेलिभिजन दराजमा थुनिएर हामिहरु प्रती ब्यङग कस्तै हांसिरहेको ।
मन भित्र गुम्सीएको श्रृष्या र लाचारी पनको वेदना बोकेका बाह् जोर आंखा एकै पटक झिलिक्क झील्कीएर त्यस टेलिभिजनमा गएर घस्सियो । मेरो कान्छी छोरी आफुलाई थाम्न नसकी त्यस आधुनिक संसारको जादु सम्म पुग्न सफल भई र लामो सास लिई । त्यसलाई छाम्ने दुषप्रयास गर्न थालि । त्यसको दुर्लब स्नेहले आफनो तिर्खाएका आंखाका नानि भित्र सजाउन थाली , अनायास सुकोमल ओठ उघारी “आहा कस्तो राम्रो टेलिभिजन ?”
उस्को कन्सीरीको रौ तात्यो । मुटु पट्ट फुटला जस्तो भयो । छटपटि बड्यो । कान्छी छोरीले टेलिभिजन उचालेर मेरो टाउको माथि गल्र्याम्म बजारेको अनुभब भयो ।
अब पालो आयो मेरो कान्छो छोरोको उ पनि के कम टेलिभिजन हेर्न हतारियो र बिस्तारै मुख बायो । उस्को आसय टेलिभिजन खोलिदिय हेर्न पाईन्छ भन्ने थियो । मेरी श्रीमती झन के कम हुन्थी र बहिनीको सामु बड बडाइ हालि “एक पल्ट टेलिभिजन खोलन् ?”
बहिनी पनि किन कम हुन्यी र “भान्छाको काम त्यसैछ पहिला भान्चाको काम सकुं अनि टेलिभिजन खोलांैला ? हिडनुस भान्चामा” मेरो श्रीमतीको अनुहारमा चुक छरेको प्रष्टै देखियो । बाध्यताको सामु उ पनि लुत्रुक्क परी ।
उस्को अभीभाबकत्व मुर्छा पर्यो ।

एक वर्षको अन्तर द्धन्द पछि उस्ले कठोर संकल्प लियो । ब्रम्हान्डै धुलो पिठो भए पनि । आकाशै खसेपनि , दशैंको पेश्की र तलब जोडजाड गरेर भए पनि एउटा टेलिभिजन नकिनी छाडदिन् ।

आखिर दशै पेश्की र तलब पाउने दिन पनि टुप्लुक्क आयो । घर परिवारहरुका आंखामा उमङग छायो । स्वास्नीको अनुहार भरी उषाको लाली चम्कीएको देख्न पाईयो ।
“भोलि त दशैं पेश्की र तलब दुबै हातमा थाप्ने दिन हैन त ?”
“हो ?”
“एक बर्ष पछिको पर्खाई विर्सनु होला नि ? सम्झनुभा छ हैन् ? फेरी कुनै छुटटै बहानाको अबिस्कार गरिसक्नु भएको त छैन् ? यस पालि त यता उता भन्न पाईन्न ।” श्रीमतीले बिर्सेकि रहिनछ । दिन रात यसैको सपना देख्थी की ? कसो ।
“बिर्सैको छैन किन बिर्सन्थयें ? वरु पुग्ने हो वा होइन” अलीकति शंका ब्यक्त गर्यो ।
“थप थाप….. सर सापट गर्नु पर्छ नि…. । अब छोरा छोरीले पनि रहर गरिरा छन् त्यसै उम्कन कहां पाईन्छ र ?” श्रीमती अली नरम भई ।

उस्ले खल्ति अलि उकास्सीए जस्तो अनुभब गर्यो । यो दिगभ्रमित त पक्कै होईन् । जेहोस पक्कै उस्को खल्ति आज एक बर्ष पछि अलिकति बढि रकमले भरीएको थियो । सधैं स्याप्रीएर चाउरी परेको खल्ति आज पुष्ट भएर उकासिएको देख्दा उस्को आत्मा आनन्दको भुंमरीमा पौडिन थाल्यो । गर्भले छाती फुलेर आयो ।
दशैंको आगमन सगैं कार्यालयमा रौनकता छाएको त छदैंथियो । यो प्रत्येक बर्षको नियमिततानै हो । प्रत्येक दशैंमा झै यस दशैंमा पनि सरकारले एक महिनाको तलब बोनसको रुपमा सबै कर्मचारीलाई बांडेकै थियो । त्यसैले होला ? कर्मचारीहरु प्रसन्न देखिएका थिए ।
कार्यालयमा सखारै सुन्यता छाउन थाल्यो । सबै कर्मचारी धमाधम तलब थाप्दै एउटा न एउटा बहाना बनाउदै कार्यालयबाट वाहिर जान थाल्य । उस्को पनि आज बहुप्रतिक्षीत दिन भएकोले गैर्वान्वित हुनेनै भयो । उस्को पनि आज ठूलै आबश्यकता पुरा गर्नु छ । आत्मा सन्तुष्टिको छुटटै परिकार छान्नु छ अनी कपा कप आफु पनि खांदै अरुलाई पनि खुवाउनु छ । घडिले तिन बजेको संकेत दियो । पांच बजे सम्मको जागिर आज तिनै बजे छोट्याएर हिडने बिचार लियो । त्यसैले उ बाहिरियो । बाटामा निकैनै चहल पहल बढेको देखिन्थ्यो । हरेक दशैं ताक यस्तै हुने गर्दथ्यो ।
उ सरासर न्यूरोड तिर हानियो । बाटोमा उस्को हात धेरै पल्ट पाईन्टको खल्तीमा गएर टांस्सिन्थयो । नोटको सुरक्षको खातिर उस्ले खल्तीको सुरक्षामा पुरै ध्यान दिने सोचाई वनाई रहेकै थियो । त्यसैले उ कुनै जोखिम नलिई नोटको सुरक्षमा मात्र आफुलाई केन्द्रीत गराएको थियो ।
हिसाब किताब गर्ने फुर्सत उस्लाई आज कहां छ र ? उस्को मानस पटलमा सलाइड बनेर टेलिभिजन भित्रका दृष्यहरु यता उता सलबलाएको मात्र महसुस भैरहेको थियो । उस्ले ठम्माएको र बुझे सम्मको सम्मपूर्ण अक्कलहरु प्रयोग गर्दा पनि उस्को खल्तीको नगदले ठुला ठुला सपनाहरु खरिद गर्नै हिम्मत जुठाउन उस्ले सकेको थिएन् । उस्ले केबल एउटा ज्ञद्ध ईन्चीको चाइनिज टेलिभिजन किनेर काखी च्याप्ने जमर्को गर्यो । उस्को बर्षौ पछिको धोको पुरा गर्ने मनसाएले न्यूरोडका गल्ली गल्ली चाहार्यो । चोटाकोठा घुम्न भ्यायो । संम्पूणर््ँ डिलर , सबडिलर , खुद्रा सबै पसलका कोठाचोटाहरुमा चियाउन पुग्यो । मोल मोलाई गर्यो ।
बिना परिश्रम बिना मूल्य धेरै पल्ट उस्ले चाहंदा नचाहंदै पनि साथि भाईको मुखबाट टेलिभिजन को बारेमा कथा ब्यथाहरुको पोको फोएर सुन्न भ्याएकै थियो । उस्ले धेरै अधि देखि सांचेर राखेको ति सब कथा ब्यथा र अनुभबलाई एक पछि अर्को गर्दै फुकाएर उगराउन थाल्यो । त्यसैको निचोड स्वरुप उ महांबौद्धको गल्ली भित्र चियाउन पुग्यो । चिनियां उद्धार निति र नेपालको खुल्ला ब्यापारबाट मौलाएर छुटटै न्वारण गरिएको बजार खासा बजारलाई लम्बाई चौडाई उचाई र गहिराई सम्पूर्णँ परिबेशबाट छाम्न थाल्यो । बजारको निरिक्षण पश्चात उस्ले एउटँ १४ ईन्चीको रंगिन टेलिभिजन खरिद गर्ने निचोडमा आफुलाई पुर्यायो ।
धेरै शंका उपशंका विच वल्ल एउटा १४ ईन्चिको रंगिन टेलिभिजन छान्यो । मोल मोलाईमानै उस्ले धेरै समय खर्च गर्यो । उस्को खल्तिको नगद नाराएण मध्यबा६ अझै केही नगद नारायण उब्रने हिसाब किताब देखिन आएकोले उ अझ हसिंलो बन्यो । आफुसंग भएको रुपैयां मध्य तिन चौथाई ठयाम्मै साहुलाई सुम्पीएर उस्ले एउटा बाकस छान्यो । समाजको बुझरुक कहलिएको , जान्ने सुन्ने भएको , सरकारी कर्मचारीे उ आफुलाई निकै जान्ने सुन्ने भएको ठान्थ्यो । त्यसैले त बुज्रक वनि धेरै सोध खोज र परीक्षण पश्चात एउटा ठूलो बाकस आफनो भागमा छुट्यायो ।
आफनो भागको एउटा ठुलै कागजको बाकस च्यापेर फुत्त बाहिर निस्कने असफल प्रयास गर्यो । वाकस ठूलै भएकोले उस्को प्रयास सफल हुन सकेन् । भरियालाई खोज्न उ बाहिरीयो । धेरै बेरको मोल तोल पछि भरियाको ज्यालामा उस्ले सहमती जनायो । भरीयालाई लिएर पसल भित्र छिर्यो । भरीयाको ढाडमा बाकसलाई वोकाएर उ पसलबाट वाहिरीयो । भरीयाको पछि पछि लाग्यो ।
यो बाकश बोकाएर घर सम्म पुग्न त सकिन्न भन्ने निषकर्ष निकाल्यो । चौबा६ोमा लगेर भरीयाले बोकेको वाकस विसायो । “हात्ती छिर्यो पुच्छर अडक्यो“ गर्न पनि त भएन नि ! त्यसैले उ टयाक्सी खोज्न थाल्यो । राजधानिमा डेरा जमाएको धेरै बर्ष बितिसक्दा पनि उस्ले कुनै दिन पनि टयाक्सी चडन पाएको थिएन् । त्यसैले उ अल्मलियो । जता हेर्यो उतै टयाक्सी नै टयाक्सी……! टयाक्सी टयाक्सी बिचबाट उस्ले एउटा पनि टयाक्सी छनोट गर्न सकेन् । उ दिग्भ्रमित भएर टवाल्ल परेर हेरी मात्र रहयो । उसैको सामुन्ने आएर एउटा टयाक्सी टक्क रोकियो । उ टयाक्सी तर्फ बडयो । यत्तिकैमा एउटा अधबैंशे आईमाई टयाक्सीको ढोका खोलेर भित्र छिरी । टयाक्सी अगाडी बडयो । उ नतमस्तक भएर हेरिरहयो । एउटा निरीह सरकारी कर्मचारी हुनुको पिडा उस्ले भोग्यो ।
उस्को महिनाभरको तलबले छाक टार्न मात्र पनि हम्मे हम्मे पर्ने अबस्थामा उस्ले टयाक्सी मात्र नभै कुनै पनि सार्बजनिक सबारी साधन चडने कल्पना पनि गर्न भ्याएकै थिएन् । त्यसैले उ घर र कार्यालयको दुरी लाई आफना पाईतालाले नै नापेर भ्याउने गर्दथ्यो ।
अनेक प्रयास बाबजुद बल्ल बल्ल दोब्बर भाडा दिने सर्तमा एउटा टयाक्सीलाई मनायो । आफनो प्रयासलाइ ठुलै बिजयको रुपमा लियो । सकी नसकी बाकस उचालेर टयाक्सी भित्र छिरायो ।
बिस्तारै बिस्तारै टयाक्सीले आफनो गति बडाउन थाल्यो । उस्ले डाईभरको अनुहारमा आंखा नचाउन भ्यायो । कालो चुक छरेको अनुहार भित्र ड्राईभर रुपी मानबता नियाल्ने प्रयास गर्यो । मोल मोलाई गर्दा उस्को र ड्राईभर बिचमा एकै छिन तनाब सिर्जना भएको थियो । त्यसैले ड्राईभर रुपि मानबलाई दानबको रुपमा रुपान्तरीत गर्ने जमर्को गर्यो ।
“अलि विस्तारै हाकन भाई खाल्डा खिल्ीको जोल्ठीनले मेरो टेलिभिजन ाएल बन्न के बेर ।” बाकस दरो गरी च्याप्यो ।
“किन डराउनु भएको दाई केहि हुदैन ” । डाइबरले अश्वस्त पार्यो । ड्राईभरको नरम ब्यबहारले ड्राईभर प्रतिको उस्को सोचाई गल्र्याम्म ढल्यो ।
“तै पनि होसियार हुनु नराम्रो पनि होइन नि ?” उसको जबाफमा ड्राईभरले गेर बदल्यो । टयाक्सी झन हुत्तीएर हुंईकियो । उस्को मुटुको ढडकन बढयो । दुबैहातले बाकसलाई कस्सेर समायो । टयाक्सी भित्र पनि उसले चैनले सास फेर्ने फुर्सत पाउन् । एउटा घुम्तीमा गएर डा्रइभरले घयाच्च ब्रेक थिच्यो । डाईभरको सिट पछिल्तीरको भागमा गएर उस्को मुन्टँे ठोकियो । तैपनि उस्ले बाकसलाई हल चल गर्न दिएन् । बाकसको हेर बिचारमा आफनो दुखाई पनि बिर्सियो । डाइभर नबुझीने भाषामा फत फताउन थाल्यो ।
“के भयो र भाइ ?र्” बिनम्र भाबमा सोध्यो ।
“के हुनु नि ? घुस ख्वाएर लाईसेन्स लिन्छन सालाहरु….? अनि जथा भाबी चलाउछन् ?” उस्ले आक्रोस ब्यक्त गर्यो ।
अगाडि पछाडि गाडिका तांतिहरु लइृन लागिसकेका थिए ।। सबै गाडिका हर्नहरुले बाताबरण गुन्जाय मान भयो । सबैलाई हतारो छदैथियो । उस्को आंखा भने आफनो सामुन्नेमा रहेको मि६रमा गएर ठयाम्मै ठोकियो । उ हेरेको हेरे भयो । मिटर नेपालको गरिबी जस्तै गरेर छिटो छिटो बडदै थियो । “नेपालको बिकाशको गतिमा किन हिडन सक्तैन यो मिटर” उ मुर मुरीयो ।
उस्को टयाक्सी डेराको मुखैमा आएर थ्याच्च रोकियो । टयाक्सीको घयार ….घयार…आबाजले उस्की श्रीमती झयालबाट फुत्त देखा परीन् । उनको मुहारमा कान्ति छाएको खुट्टयाउन उस्लाई कुनै कसरत गर्नु परेन । “ये के हेरीराखेको छौं ?” उस्ले मद्यतको लागि गुहार्यो ।
सबै एकै पल्ट टयाक्सीलाई छोप्न आई पुगे ।
“बिस्तारै निकाल है ?फुटला ?” उस्ले सतर्क पार्यो ।
उस्ले घरको रौनक , ईज्त र प्रतिष्टा निकै बडेको महसुस गर्यो । गर्भले छाति फुलायो । वरीपरी छर छिमेकिका घर आंगनमा एउटा गर्भको आंखा फाल्यो । सबै छिमेकीहरु आंगनमा आउन र उस्लाई हेरुन्….. । उ संग टेलिभिजनको बिषयमा कुरा गरुन् । उस्ले जे चाहेको थियो त्यो भएन् ।
विहानै उस्ले उर्दि जारी गर्यो “बेला न कुबेला टेलिभिजन खोल्ने होईन नि ? वेलुका दुई घण्टा मात्र खोल्नु ? काम न काजका हिन्दी सिरियल नहेर्नु …….ज्ञयान गुनका …समाचार मुलक कार्यक्रम मात्र हेर्नु ?”

वेलुका सखारै कार्यालयबाट घर फर्कियो । उस्ले तनलाई कार्यालयमा टिकाई राख्न सकेन । उस्को मन र मष्तिस्क घर र घरमा भएको टेलिभिजन प्रति मात्र केन्द्रित भैरहेको थियो । वेचैनिले उस्को शरीर तातिएर फुटला जस्तो भयो । टाउको तातेर टन्किन थाल्यो । ह्दयमा ब्यथा , मनमा कैतुहलता अनि शरिर आलश्यमा डुबेको जस्तो अनूभुतिले गर्दा उ कार्यालय समय भन्दा अगावै घर भित्रीयो ।
कोठाको दृष्यले उस्को मुटुको धडकन बडयो । छोरा छोरी , श्रीमती सबै टेलिभिजन अगाडी झुम्मीएर हिन्दी टेलिसिरीयलमा आफुलाई रुपान्तरण गर्दै गरेको देख्यो । त्यो दृष्यले उस्ले दांत चपायो । उस्को कन्सीरीको रौं तन्किएर ईलास्टिक बन्यो । मस्तिष्कमा ज्वला बल्यो । उस्ले कति गर्दा पनि रीसलाई दबाउने हिम्मत जुटाउन सकेन् । टेलिभिजन बन्द गरेर रीसलाई साम्य पार्यो ।
एकछिनको लागि घर भरी सन्नाटा छायो । सबै आ आफनो कोठा तर्फ पलाएन भए । उ पनि ओच्छयानमा गएर लम्पसार पर्यो । श्रीमती फत फताउदै बाहिर लागी ।
जुन उदेश्यले उ घर फिरेको थियो ।

टेलिभिजन सामुन्ने बस्ने ।

श्रीमतीलाई मिठा मिठा परीकार बनाउन लगाउने ।

मिठा मिठा परीकार खादैं टेलिभिजन हेर्ने ।
कोठाको बाताबरणले उस्को उदेश्यमा पूर्णबिराम लाग्यो । जुन कौतुहलताले उस्लाई सताएको थियो । त्यहि बाताबरण कोठामा देख्दा उस्को कौतुहलता सत्य साबित भएर झुलुक्क झुल्कियो । निमेष भरमै उस्ले निभाई दियो । उस्ले आबेशमा आएर टेलिभिजन बन्द गर्यो । यो उस्ले ठिक गर्यो या गरेन् ।
यकछिनको मौनता पछि पल भरमै उस्ले गल्ति महसुस गर्यो । “हेर्न लेराएको हो हेरेर के भयोत ?बिथ्यामा बन्द गरेछु । हेर्न लेराएको नहेरेर त्यसै राख्नु पनि त भएन नि ! उमेरमा नहेरेर कैले हेर्नु त ? बिचरा छोरा छोरी बिचरी श्रीमती …।“ परिवार प्रति मायां ओर्लिएर आयो । आफनो गल्तिमा पश्चाताप महसुस गर्यो ।
विस्तारै उ साधारण अबस्थामा फर्कियो । उस्मा कौतुहलता त छदैंथियो । टेलिभिजन हेर्ने उत्कण्ठ अभिलाषले गर्दा त उ सखारै कार्यालयबा६ घर फर्कियो । जुन उदेश्यले उ फर्किएको थियो । त्यो उदेश्य पुरानभए पछि निस्चयनै उस्को मन र मष्तिस्क घायल बन्न पुग्यो । बिस्तारै हात लम्काएर टेलिभिजन खोल्यो । टेलिभिजनको पर्दा भित्रको दृष्यमा आफुलाई हराउने प्रयास गर्यो तर उस्को प्रयास सफल हुन सकेन् । मन र तनमा उ बिरामी बन्दै जान थाल्यो । कोठाको वातावरणमा उ र उस्को सामुन्नेमा टेलिभिजन एकोहरो फत फताई रहेको थियो । उस्लाई केहि नपुगे जस्तो , केहि अपुग भए जस्तो महशुस भयो । केहि कमि त भएकै हो भन्ने अनुमान लगायो । कोठाको बाताबरण सुनसान र उजाड जस्तो लाग्यो
उसले कण्ठ फुलाएर चीच्यायो “ए तिमिहरु कहां छौ ? आवो ? ” सवैलाई एक मुस्ट निम्तो दियो ।
पल्लो कोठाबाट कुनै जवाफ र प्रतिकृया आएन । उस्ले पुन प्रयास दोर्यायो । “ठूले …ठूली….साने…..सानी….” सबैलाई छुट्टा छुट्टै सम्बोधन गर्यो । अझ उस्को प्रयास सफल हुन सकेन । उताबाट कुनै जबाफ फिरेन । घरी टेलिभिजनमा ३री वल्लो पल्लो कोठामा उ आफुलाई केन्द्रित गरीनै रहयो ।
वेचैनिले उ छटपटाईनै रहयो । टेलिभिजनमा देखा परेको दृष्यमा उस्को ध्यान जान सकिरहेको थिएन । उस्को क्षेणिक आबेशले उस्लाई घायल बनाउदै लान थाल्यो ।
श्रीमती च्याठिदै भित्र छिरी “हेर्नु नि ! आफु मात्र मन लागेको ” अब छोरा छोरी हेर्दैनन टेलिभिजन । आफैं एक्लै हेर्नु भै हाल्यो नि ? ” श्रीमतीको रिस साम्य भैसकेको थियन् ।
“भैहाल्यो ….अब आएर हेर्नु नि ? मैले मात्र हेर्न लेराएको हो र ? जे पायो त्यो पो नहेर्नु भनेको ” परिस्थिति सामु सिर निहुर्यायो ।
“जेपायो त्यो भनेको के हो…….?जे राम्रो लाग्छ त्यो हेर्न पनि पाउनु पर्यो नि ?” श्रीमती किन कम हुन्थि र ।
“ल भैगो जे मन लाग्छ त्यहि हेर्नु” बाक्य पनि पुरा भएको थिएन् । वल्लो कोठा पल्लो कोठाबाट छोरा छोरीहरु हुरीदै आएर टेलिभिजन वरी परी झुम्मीए ।
अब उनिहरुको फर्माइस बडन थाल्यो । जाबो एउटा टेलिभिजनले उनिहरुको छुट्टा छुट्टै फर्माईस पुरा गर्न सक्ने कुरै भएन् । जेठो आफनो फर्माईस पुरा गर्न च्यानल फेर्न थाल्यो । जेठी के कम हुन्थी र ? उ पनि आफनो इच्छामा च्यानल यता उति नचाउन थालि । त्यो सबै हेरेर बसीरहेकि कान्छी मात्र किन कम हुन्थी र ? उ पनि च्यानललाई यता उति नचाएर घुमाउन थाली । कान्छो त अझै बाकी छदै थियो । उ त झन के कम हन्थ्यो र ? च्यानललाई अन्तै फर्काई दियो । एउटा रिमोटकन्ट्रोल आठ हातमा यता उता तानिएर घाएल बन्यो । आठ हातको थिचाइले रिमोटकन्ट्रोल थिल थिलो भयो ।
श्रीमती कुर्लन्थी “त्यो घर परिवार सम्बन्धि सिरीएल आउने बेला भएन् ?”
मेरो समाचार हेर्ने अभिलाषा परिवारको आ आफनै फर्माईसमा ३ाएल वन्दै जांदै थियो ।
सबै जना वेलुकाको खाना खाईवरी ओरीपरी झुम्मीएर टेलिभिजनलाई गुरु थाप्दै यकलब्य बनि ध्यान मग्न थियौं । जेठि छोरीले आफनो ईच्छामा च्यानल फेरी । जेठो छोरोले पनि त्यसै गर्यो । श्रीमती के कम हुन्थी र ? हुत्तीएर रिमोट थुति अनि जानि नजानि च्यानल घुमाउन लागि । कान्छी छारीलाई आमाको कृयाकलाप पाच्य भएन । हातैबाट रिमोट थुतेर आफनो माग पुरा गरी । कान्छो छोरो केकम हुन्थयो र ? दिदीको हातबाट रिमोट छिनेर च्यानल धुमाउन थालिहाल्यो । यि सब दृष्यहरुले मेरो पाईताला देखि टुप्पी सम्मको भागमा रीस डौडिएर कुदन थाल्यो । अभिभाबकत्वले दाह ङिच्याएर जिस्काउन थाल्यो । धैर्यको बांध फुटयो । वाजले चल्ला झम्टीउझै रिमोटमा मेरो हातले झम्टा हान्यो । समाचारको च्यानलमा गएर टक्क रोकियो । छोरा छेरी श्रीमती सबेै मेरो अनुहारमा एकोहरो टोलाई रहे । म गर्भले छाति फुलाएर आफनो बिजय उत्सब यकोहरो टेलिभिजनमा केन्द्रित भएर मनाउन थालें ।
एकै पलमा टेलिभिजन फिस्स फुस फुसायो । टेलिभिजनको ढाडबाट अलि कति धुंवाको मुस्लो उडयो । टेलिभिजनले बिश्राम लियो । सबै मिलेर रिमोट थिच थाच पार्यौं । टेलिभिजनलाई चारै तिरबाट सुम सुमायौं । यता हल्लायौं , उता हल्लायौं , टेलिभिजनले सासफेर्ने लक्ष्यणै देखाएन् । सबैको आखा टेलिभिजनमा केन्द्रित छदै थिए । ……..सबै टोलाएर हेरीमात्र रहयौं । ……….टेलिभिजन चिर निद्रामा समाधिस्थ भयो । हामी अबाक टोलाई रहयौं ।