Saku Thapa – Sahuliyat Card [Nepali Laghu Katha]

हरेक दिन झैँ आज पनि म आफ्नो निश्चित समयमै कार्यालय तर्फ लाग्छु । सदा झैँ गाडी खचाखच नै थियो तर पनि समयमै कार्यालय पुग्नु पर्ने भएकोले खचाखच भरिएकै गाडी चढ्छु,, मसंगै अरु पनि चढ्कै हुन्छन् । भनिहालेनि सबैलाई ढिलै घर निस्केर भएपनि समयमै कार्यालय पुग्ने अभिलाषाले गाडी खचाखच नै भरिएको छ । त्यस गाडी भित्र विद्यालय जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी अलावा अन्य काम विशेषले हिड्नेको पनि कमी छैन । खलासी भाडा उठाउने क्रमलाई निरन्तर दिइरहेको हुन्छ गाडीमा जति भिड भएपनि ।

विद्यार्थीहरू आफूले पाउने विद्यार्थी सहुलियत कटौती गराउन विद्यार्थी परिचय पत्र देखाउँदै थिए । सो सुविधालाई खलासीले पनि सहस्र स्वीकारी कटौती गरेरै दिइरहेको थियो । भिड भएबाट परिचय पत्र -कार्ड हेर्ने काम सबैमा सम्भव पनि नभएबाट विश्वासकै भरमा कटौती गर्दै थियो । उ सबैसँग समयमै भाडा उठाउनै व्यस्त हुन्छ । भाडा माग्ने क्रममा त्यो खलासी एउटी बूढी आइमाईसँग पनि पैसा माग्छ, खचाखच भरिएको गाडी भएर पनि खलासी बूढी आइमाई नजिकसम्म पनि पुग्न सक्दैन । खलासीले अलिपरैबाट भाडा माग्छ । विद्यार्थीहरूले भाडा दिँदा कार्ड छ भनेको सुनेर ती बूढी आइमाईले पनि उनीसँग पनि विरामी जँचाउने कार्ड रहेको हुँदा कार्ड छ भनेर भाँडा दिन्छिन। त्यी बूढी आइमाईले कार्डको अर्थ बुझिन कि बुझिनन् तर पनि उनीले विद्यार्थीहरूको बाक्यलाई हु-बहु बोलिदिइन् । त्यो खलासीले पनि कुनै प्रतिकार नगरी सहुलियत अनुसार नै भाडा कटायो । यसबेला खलासीले बूढी आइमाईलाई प्रत्यक्ष रूपमा देख्न सक्यो सकेन थाहा भएन, अनि ती बूढी आइमाईले पनि कस्तो कार्डलाई सहुलियत प्रदान गरेको हो भन्ने अर्थ बुझिन कि बुझिन त्यो चाहि थाहा हुन सकेन । तर भाडा सहुलियत पाएकोमा ती बूढी आइमाई प्रफुल्ल देखिइन् ।