Manu Brajaki – Pachhyaute Agragaman

मनु ब्राजाकी – पछ्यौटे अग्रगमन

गणतान्त्रिक नयाँ नेपालको थाप्लोमाथि पुरानो साबिक सूर्य उदायो ।

वाग्मती भनिने ढलमतीको एउटा किनारमा पौराणिक भए पनि उत्तरआधुनिक देब्रे ढल्किएको शिवलिङ्ग पूजा प्राप्त गर्न ठडिएको छ । साबिक सूर्यको धूमिल गुलाफी प्रकाशमा कतैबाट एउटा भुस्याहा र लुत्याहा कुकुर प्रकट हुन्छ ।

अनि, त्यस पौराणिक कम, उत्तरआधुनिक बाङ्गो शिवलिङ्गमाथि आफ्नो र आफ्ना गणको क्षेत्र निर्धारण गर्न बलैसँग एक मानोजति मूत्राभिषेक गर्छ । लुतोग्रस्त स्वानको स्वानमूत्रले त्यस बाङ्गो शिवलिङ्गको योनिसदृश्य खोबिल्टे भाग मूत्रमय हुन्छ ।

ठीक यसैबेला त्यहाँ हातमा पूजाको थाली बोकेर अग्रगमन गर्दै सिर्जना शर्मा आइपुग्छे । कम्मरभन्दा एक कुरेतमाथि फ्याल्फ्याले गन्जी हल्लिँदैछ, तल प्यान्टी अड्याउने ठाउँमा प्यान्ट झुन्डिएको छ । नाभीको खोबिल्टो तेस्रो नेत्रझैँ तलतिरै कतै हेररिहेछ, माथि उसका नाभीको खोबिल्टोभन्दा पनि ठूलठूला आँखाले बाङ्गो शिवलिङ्गतिर अपलक हेररिहेछन् ।
अब भने सनातन सूर्य अलि उज्यालो भयो । हाँस्यो कि हाँसेन, थाहा भएन ।
सिर्जनाले सोची आज बेफर्ुसती छु । डग… सरी, डम डेब्लर शर्मासित भेट्नुछ । उसैसित ‘अग्रगमन र नयाँ नेपालमा युवाहरूको भूमिका’ भन्ने गोष्ठीमा जानु छ । वीरेले जुत्ताको फित्तँ सिएर ल्याइपुर्‍याउँछ कि पुर्‍याउँदैन । अस्ितर् इतिकाले डमतिर हेर्दै मेरो स्यान्डल कुल्चिदिएकी थिई…अनि मलाई खिसी गर्दै कानेखुसी गरेकी थिई, क्रिस्िचयनसँग लभ परेछ कङ्ग्राच्युलेसन! ए ज्या, अब तेती टाढा पशुपति को जाओस्! त्याँ पनि लिङ्गै हो, यो पनि लिङ्गै हो । अँ, अग्रगमनमा, नयाँ नेपालमा क्रिस्िचयनसित लभ गर्नु हुँदैन र –
यो प्रश्न सम्भवतः ‘राप्रउ पोखरेल’का लागि थियो ।
सिर्जनाले फोहरी वाग्मतीछेउ ठडिएको बाङ्गो लिङ्गलाई श्रद्धापूर्वक ढोगी । फूलपात छरी । तामाको पुन्टे अमखोराबाट एक तुर्को जल चर्ढाई । अनि, लिङ्गगर्भित योनिको खोबिल्टोबाट एक मुठी स्वानमूत्र शिवाम्बु ठानेर घुटुक्क पारी ।
नाक/मुख खुम्चिएको मुहार प्रदीप्त भयो । प्रसन्न भयो, डमको दीर्घआयु र सफलताको कामना गरेर । यस्तो अनुहार कस्तो भयो होला – नयाँ नेपालजस्तो – पेडाको प्रसाद पाएर लुते कुकुरले पुच्छर हल्लायो ।
परम्परागत सूर्य झन् उदायो ।
सिर्जना घर पुग्दा ८ बजेछ । बाटोमा नयाँ नेपालका कुण्डले/मण्डलेसित भेट गर्दा गर्दा अनि वीरबहादुर मिजार नाम्नी वीरेलाई ‘मेरो स्यान्डल छिटो ल्याउनू’ भन्ने आदेश/उपदेश दिँदादिँदा समय भिड्किएछ ।
घर पुगेपछि र्सवप्रथम उसले मोबाइलबाट डमलाई पुकारी ।
“हेल्लो! ड्याम … ।”
“वेट… वेट डार्लिङ्् । आ’म नट ड्याम, आ’म डोम डेब्ललर डी ओ एम । हाउ यू फरगेट – के छ प्रेटी बेवी – बिहानैदेखि मतिम्रो फोनको प्रतीक्षामा थिएँ । बाहिर थियौ कि -”
“अँ, हेर न डग… सरी डोम! म पशुपति जान हिँडेकी थिएँ, बाटैमा त्रिनेत्र भेट भए, मैलेतिम्रो दर्ीघायु र सफलताको पनि इच्छित कामना गरेँ । यार, आज हामीले अग्रगमनको गोष्ठीमा जानु त छँदैछ, बरु यतै आऊ, आफ्टर टेन, ड्याडी र मम अफिस गइहाल्नुहुन्छ अनि अप टू इलेभन आउँदै हुनुहुन्छ, महापण्डित प्रखरप्रज्ञा प्राञ्जलेश्वर वाशिष्ठायन पाशुपत सैन्याधिपति अखिलनयनज्यू । यार, आऊ है! आ’म वेटिङ् फर अ डग…आ’म सरी, डोम! सरी, आई स्पेल डी ओ एम । ओक्के -”
“यार,तिम्रो त्यो वाशिष्ठायनको म कुरै बुझ्दिनँ ।”
“कुरा त म पनि बुझ्दिनँ … ।”
“अब भन्छ, सबै कुरा वेदबाट निस्कियो रे । मलाई त लाग्छ आइन्सटिनले वेद पढेको भए भःऋद्द को सूत्र पनि यो वाशिष्ठायनले वेदकै कुनै मन्त्रद्वारा सिद्ध गर्ने थियो । मैले त केही बुझिनँ बा! हे, होली क्राइस्ट! धन्य, आइन्सटिनले वेद पढेको रहेनछ ।
“यार, ज्ञानको सीमा छ,” सिर्जना ।
“यार, अज्ञानको सीमा छैन,” डोम ।
“यार, प्रेमको सीमा छ,” सिर्जना ।
“यार, घृणाको सीमा छैन,” डोम ।
“यार, देशको सीमा छ,” सिर्जना ।
“यार, नेपालको सीमा छैन,” डोम ।
“सीमा छैन, छेकबार छैन, रोकछेक छैन, उसो भए आज आउने -”
“अनि, सँगै जाने अग्रगमनतिर, नयाँ नेपालतिर ।”
यसका साथै मोबाइल-वार्ता बन्द भयो ।
सिर्जनाले ऐनामा हेरी र आफ्नो भ्रामक मन र सिसाको सत्यनिरूपणलाई सत्य मानी ।
धन्य, भ्रामक मनले आफूलाई मात्रै छल्छ । भ्रामक मगजले सिसालाई समेत छल्छ । अनि कुन ऐना हेर्छौ ठूल्दाइहरू हो!
“मैया साप! मैया साप! जुत्तँ ल्याएँ हजूर ।”
मूलढोकामा, कुकुरभन्दा बाहिर, एक जोर स्यान्डिल लिएर उभिएको वीरबहादुर मिजारले झ्याट्ट सम्झ्यो, मैले ‘हजूर’ त भन्नु नपर्ने, भनिहालियो । क्या बित्था गरेछु । अब ‘राजा’ छैन रे! भरे चार गिलास घुट्क्याएर राँडीलाई दर्ुइ लात गोद्छु । छोरोलाई छातीमा च्याप्छु, छोरीलाई चिसो थाङ्नामा मिल्काउँछु ।
“मै’सापद्रद्र! म …।”
“ए वीरे, ल्याइस् मेरा स्यान्डिल -”
यति भन्दा नभन्दै सिर्जना शर्मा सशङ्कित भइन् आफैँसित, ए रात्तै, नयाँ नेपालतिर जानुछ अग्रगमन गर्दै । ह्या, के बोलिछु ।
“वीरबहादुर, ल्यायौ मेरो स्यान्डिल – तीँ राखिदेऊ है । कति पैसो भो -”
वीरबहादुर रुपियाँको हिसाब गर्दै आएको थियो, यहाँ भने पैसोको कुरा हुँदैछ ।
पुछारमा कुरा टुङ्गियो ।
मोलभाउ, दलाली, बार्गेनिङ्, सुनजोखामा जे हुन्छ, विश्वव्यापी रूपमा त्यही भयो यहाँ पनि ।
“पुग्यो -”
“ज्यू, पुग्यो ।”
यसपटक ‘हजूर पुग्यो’ भनेन ।
यसले कसको मर्यादा राख्यो, कुन्नि –
वीरबहादुरले हिजो ठूलाबडाका ‘दलाली’बाट जति पाउँथ्यो, आज पनि त्यति नै पायो । तर, उसले शिर पायो । पाउ गुमायो । अबका दिनमा काँडा टेकी हिँड्न उसलाई कसले सघाउला –
“ए, एकमुठी पानी ल्याओन है, छिटो ।”
सिर्जनाकी भाउज्यूले हतारँिदै अमखोरामा पानी ल्याइपुर्‍याई ।
“हरे, भाउज्यू तपाईं पर सरेकी हैन -” अनि, यो पानी चोखो हुन्छ त –
“नानी, मलाई थाहा भएन, रसिानी माफ पाऊँ ।”
लगत्तै भुन्टे छेत्रीले एक अमखोरा पानी ल्याइपुर्‍यायो । १४ वर्षो भुन्टेको कट्टु थिएन, भोटो थियो ।
नयाँ नेपाल ।

सिर्जनाले अलिकति पानी अँजुलीमा राखेर वीरबहादुरले ढोकाको पाइटोमा राखेको स्यान्डिलमा र्छर्किई । तर, त्यो पानी मात्र थिएन, सुनपानी थियो, कानका बालामा चोपलेर र्छर्किएको ।

सुन, जसको जीवन फलामबिना छैन ।
फलाम, जसको जीवन सुनले नै धानिरहेछ ।
१० बजे बिहानीको सूर्य अलि व्यङ्ग्यात्मक भयो ।
आकाश प्रच्छन्न छ ।

डोम डेब्लर यथासमय आइपुग्यो ।

यथासमय आइपुगे महापण्डित प्रखरप्रज्ञा प्राञ्जलेश्वर वाशिष्ठायन पाशुपत सैन्याधिपति अखिलनयनज्यू पनि । अनि दर्ुइ घन्टाको धाराप्रवाह वेद मन्त्रहरूको सव्याख्या प्रवचन चल्यो । डोम र सिर्जनाले उत्तरआधुनिक मुखमुद्रासहित परम्परागत ढाँचाले मुन्टो हल्लाए । भुन्टे छेत्री प्रस्तरखण्डझैँ अविचल बसिरह्यो । भाउजू पर सरेकी हुनाले सिर्जनाले महापण्डितसामु आउन दिइन ।

भीषण वैदिक मन्त्रको भाषण सकिएपछि अग्रगमनतर्फलम्किएका प्रेमी युगल ‘अग्रगमन र नयाँ नेपालमा युवाहरूको भूमिका’ भन्ने गोष्ठीतिर हानिए ।

गोष्ठीमा मञ्चदेखि दर्शकदीर्घासम्म सामन्ती र सामन्तवादी संस्कार बोकेकाहरूको घुइँचो छ । त्यसै घुइँचोमा प्रेमी युगल डोम र सिर्जना पनि मिसिए ।

त्यहाँ पत्याइनसक्नु गरी घनघोर अग्रगमन भयो । आउन अनकनाएको नयाँ नेपाल डरले थुरथुर काम्दै भोकै-प्यासै, नाङ्गै-भुतुङ्गै आइपुग्यो ।
यति भएपछि गोष्ठी सकियो ।

अब कता जाने – यो यक्ष्य प्रश्न खडा भयो ।

तर, अग्रगमनकारीहरूका लागि यो नितान्त सरल प्रश्न थियो र उत्तर झनै सरल थियो । साँझ झमक्क परसिक्या छ । साविकको सूर्य उतिबेलै नयाँ नेपाल देख्नासाथ अँध्यारो मुख लगाएर टाप ठोकिसक्या थियो । अतः डोम र सिर्जना पनि उज्यालो मुख लगाएर डिस्कोतिर बत्तिए ।
पाठकवृन्द! कथा भने सकियो । तर, मेरो कथाचाहिँ अलिकति बाँकी छ । मेरो कथा पनि प्रश्नबाटै प्रारम्भ हुन्छ । गोष्ठीपश्चात् अब म कता जाऊँ –
निकै घोत्लिएपछि मैले एउटा समाधान निकालेँ । र, लागेँ नेपालको हृदयस्थलतिर । न्यु हेवन एन्ड हेल ब्राइट फ्युचर डान्स रेस्टुराँ ।
हामीले लाखौँलाख नेपाली चेलीहरूलाई बेचिसकेका छौँ । लाखौँलाई सकसमा पारेर ‘पैसो कमाउन’ विभिन्न देशहरूमा घोक्र्याइसक्या छौँ । अब नेपालमा बाँकी रहेका नानी-चेलीहरूलाई पनि त ‘पैसो’ कमाउने जोहो मिलाउनुपर्‍यो । अतः यो रेस्टुराँ हामीले वीरतापूर्वक नेपालको मुटुमा खोलेका हौँ ।

नेपाल नृत्याङ्गना चेलीले स्टेजमा प्यान्टी र ब्रा फुकालेर फालिसक्दा पनि मैले चिन्न सकिनँ, यो कसकी छोरी हो भनेर । कतै मेरै त होइन –
नृत्य सकियो । झलमल्ल उज्यालो भयो ।

बल्ल पो चिनेँ, सिल्कको कुर्ता-पाइजामा लगाएका, ढाकाको टोपी ढल्काएका र मगही पानको गिल्लौरी चपाउँदै गरेका महापण्डित प्रखरप्रज्ञा प्राञ्जलेश्वर वाशिष्ठायन पाशुपत सैन्याधिपति अखिलनयनज्यूलाई । आडैमा रहेछन् ।

पाठकवृन्द! लौ त अब म गएँ, नेपाल साप्ताहिकको दसैँ विशेषाङ्कका लागि एउटा कथा लेख्नुछ । धन्यवाद!