Sushma Manandhar – Laghukatha (Nepali Laghu Katha)

सुषमा मानन्धर – लघुकथा (लघु कथा)

लेखकहरुलाई आफूले केही लेख्न पाएको हुन्न अरुलाई सुनाउन हतार भैहाल्छ । उसले पनि हालै एउटा कथा लेख्न सकाएर साहित्यप्रति केही अभिरुचि राख्ने साथीलाई भेट्न गएको छ ।
‘ल भन्नुस् । धेरै समयदेखि भेट्न खोज्नु भएको थियो । के काम पर्यो त्यस्तो?’ साथीले उसलाई देखेर स्वागत गर्यो ।
‘एउटा ताजा रचना तयार छ । तपाईलाई सुनाउँ कि भनेर ।’ उसले ब्याग खोल्न पाएको थिएन उसको साथी आत्तिइहाल्यो । ‘ओहो अहिले नगरौं । म त भ्याउँदै भ्याउँदिन आज ।’
‘तपाईँले अहिले फुस्रद छ भनेर बोलाउनु भएको हैन र’ ऊ साथीको पारामा छक्कै पर्यो ।
‘हुन त हो तर झटटै दिमागमा अर्को कामको सम्झना आईहाल्यो ।’ साथी चैंले पन्छिन मजाले ढाँट्न खोज्यो ।
‘धेरैबेर लाग्दैन । सस्रती सुनाएर तपाईँको राय लिएर म हिँडि पनि हाल्छु ।’ उसले पनि आफ्नो अस्त्र छाड्न बाँकी राखेन ।
‘तपाईँले लेख्नु भएको नराम्रो कहाँ हुन्छ र तर यस्तो टाउको दुखेको बेला तपाईँले सुनाउन खोज्नु भए पनि दिमागभित्र केही छिर्ला जस्तो लागेन । पछि कुनै दिन बसौं हुन्न र?’
‘तपाईँले सुन्नुहुन्छ भनी कत्रो आश लिएर आएको थिएँ ।’ ऊ अलि निराश देखियो ।
‘कति पेजको छ मलाई त दश मिनेटमा एकठाउँमा नपुगी हुन्न ।’ साथीले अन्तसम्म पनि अझै पन्छिने बाटो खोज्दै थियो ।
‘जम्मा एक पेजको लघुकथा हो ।’
‘एअघि नै भन्नुपर्दैन त त्यसोभए ठीक छ । म त तपाईँले लामो कथा सुनाउँदा सुनाउँदै बुढो हुन्छु कि भनी डराएर पो । हाम्रो चिया आउन्जेलसम्ममा तपाईँको कथा वाचन सकिन्छ पनि होलालौ थाल्नुस् ।’ साथी अहिले आश्वस्त र सहज देखियो ।
समय अभावका कारण ब्यस्ततामा बाँचिरहेका मान्छेहरुवीच लघुकथाले समेत आफूलाई जीवित राख्न कति संघर्ष गर्नुपर्ने रैछ ।

Sushma Manandhar – Raat Rahe (Nepali Laghu Katha)

सुषमा मानन्धर – रात रहे… ! (लघु कथा)

जागिर खाएको वर्षौं भैसक्यो तर उसको बढुवा भएको छैन । यसबीचमा एक दुई पल्ट बढुवाको लागि पदहरू नखोलिएका पनि हैनन् तर उसले नाम निकाल्न सकेन । अब यसलाई उसको दुर्भाग्य भन्ने हो वा म्यानेजमेन्टले नै नचाहेको, यकीन भन्न गाह्रो छ । ऊ मिहिनेती र इमान्दार छ र पनि ऊ भन्दा कनिष्ठहरूले धमाधम बढुवा खाइसके । प्रभुको लीला ठान्दै उसले आफ्नो पालो पर्खेको छ ।

अहिले फेरि उसको अफिसमा बढुवाको लागि विज्ञापन खुलेको छ । साथीभाइहरू र उपल्ला केही हाकिमहरूले समेत पनि उसलाई निकै हौस्याएका छन् । “तपाईं जस्तो इमान्दार मान्छेलाई बढुवा नगरे, कसलाई गर्ने । यसपालि तपाईको जरुर हुन्छ ।” अरु कर्मचारीहरूको यस्तो टिप्पणीमा ऊ निकै आशावादी छ । यद्यपि ऊ ठूला हाकिमहरूमा “यसपालि त हेरिदिनु पर्यो हजुर ।” भन्दै बिन्ति बिसाउन गएको छैन तैपनि ऊ आफ्नो बढुवा हुने कुरामा धेरै हदसम्म विस्वस्त छ । संस्थामा यत्तिका वर्ष विना कुनै विवाद, गुनासो, धैर्यपूर्वक काम गर्नुको आखिर उसले केही पारितोषिक पनि त पाउनु पर्यो ।

हिजो साँझ पदपूर्तिको वैठक बसेथ्यो । वैठक लगत्तै हाकिमका पि.ए.ले फोन गरेर एक अर्थले बधाई झैं दिएका थिए,“भोज ख्वाउने जोरजाम छ कि छैन ?” सफल उम्मेदवारको लिस्टमा आफ्नो पनि नाम कल्पना गर्दै पुलकित ऊ, रातभरी सुत्न सकेन ।

भोलिपल्ट तरोताजा भै अफिस पुग्दा सबै जना अफिसको सूचनापाटी अघिल्तिर झुम्मिएका थिए । बढुवाको परिणामवारे उसले हिजै हल्का संकेत पाइसकेको भए पनि उसलाई सूचनापाटीमा प्रत्यक्ष हेर्न मन लाग्यो । सवै उसलाई हेर्दै थिए । ऊ तिनीहरूलाई पन्छाउँदै सूचनापाटीनिर उभियो । लिस्टमा सर्सती हेर्यो, दोहोर्याएर हेर्यो, अझै चित्त बुझेन । घरिघरि हेर्यो, त्यहाँ उसको नाम थिएन । विज्ञापन नम्बर अर्कै पो पर्यो कि भनी हेर्यो, त्यो पनि हैन । लिस्ट हेर्नेहरू गाईंगुईं गर्दै थिए । उसले केही सुनेन, कोही देखेन । उसलाई आफ्नो बढुवा नभएको मात्र हैन कि एक तह घटुवा नै भए झैं लाग्यो ।

Sushma Manandhar – Joon Timi Ra Ma … Mero Anubhuti Bhitra

सुषमा मानन्धर – जून तिमी र म…मेरो अनुभूतिभित्र

जीवन न कथा हो न कुनै कविता यो मात्र एउटा भोगाइ हो, आ-आफ्नो । देखे सुनेका त्यही भोगाइलाई मानिसहरुले गीत बनाई गाएका छन् कथा बनाई अरुलाई सुनाएका छन् । कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो लागि कल्पना हुन सक्छ कसै न कसैका विगत वा वर्तमानको कुनै अंश । कसैका भोगाइ पढ्नु एउटा कुरा हो, त्यसलाई महसुस गर्न सक्नु अर्को कुरा । अरुलाई महसुस गर्न भावुक मन पनि चाहिन्छ । अनुभूति विनाको हतारको कुनै पढाई अक्षरहरुका पहाड लाग्छन्यसको चढाई अझ उत्तिकै पट्टयांइ लाग्दो र समय लाग्ने हुन्छ । अक्षरहरुमा डुबेर जब तिमीले आत्मसात गर्न सक्छौ अरुका भावनाहरुलाई ती शब्द तिम्रो अस्तित्व बन्छ र तिमी आफै पनि त्यसको कुनै एक पात्र ।

रात जब आँखामा निद्राले डेरा सारेको हुंदैनआंखाहरुले हेरेर नभ्याइने आकाशको विशाल टापुमा एउटा छुट्टै आकर्षण मैले पनि पालेकी छु । पर… कुनै क्षितिजीय दूरीबाट उठेको तिम्रो दृष्टि पनि ताराहरुको भीड छिचोल्दै जूनलाई नै खोजिरहेको हुन्छ तिमीले कुनै दिन यही भनेका थियौ मलाई । आकाशमाथि हामीले हेर्ने तिम्रो र मेरो जून उही हो एउटै । सांच्ची हामीले यसरी हेर्दै जूनलाई खोजेका हुन्छौं या एक अर्कालाई जुन दिनदेखि थाहा पाएकी छु तिमी जूनका कुराहरु बढी गर्छौ भन्ने जूनलाई हेर्ने आकांक्षा र जूनलाई पाउने अदम्य लालसा मभित्र पनि अझ बढी गाढा हुन थालेको छ ।

हरेक रातको विशाल कालो पर्दाभरि सितारा टाँसे जस्तै चम्किएका लाखौं ताराहरुबीच म प्राय चिरपरिचित र विज्ञानमा पढिएका ताराहरुले बनाउने अनेकौं आकृतिहरु खोजिरहन्छु । ती अनुहार र आकृतिहरु माथि आकाशमा आज त्यहाँ हुन्छन् भोलि हुन्नन पछि फेरि केही अन्तरालमा अन्तै देखिन्छन् । समय आफ्नै गतिमा घुमिरहेको के यो एउटा प्रमाण हैन र यी ताराहरुसंग उदाउंदै हरेक पन्ध्र दिनसम्म फेरिदै जाने आकाशमाथिको त्यो मनमोहक जूनपूर्णिमाको रात जब आफ्नो पूर्ण यौवनमा हुन्छ नियालेर कहिल्यै अघाउँदिन म । दुधिलो शान्त स्निग्ध र शीतल रश्मी यति कोमल कि मानौं सेता गुलाफका कोमल पत्रहरु सुस्तरी वर्षिएका हुन्छन् ।

के तिमीले सम्झेका छौ अस्ति पानी परेर निख्री सकेपछिको सगर नीलो आकाशमाथि कनिका झैं छरिएका पिलपिल बल्ने ताराहरु सम्मोहक जून त्यो संगै अलि मास्तिर एउटा चम्किलो तारा अनि जूनलाई आधै छेल्ने गरी एक थु्रपो सेता बादल … …। जूनका कुरा त्यो पनि गाढा रात तारा र सेता काला बादलका हल्का रेशमी थुम्काका प्रसंग बिनापूर्ण कहाँ हुन्छ र पक्कै तिमी मग्न भएर हेर्दै थियौ त्यो जूनलाई एकटक लाएर । म पनि त्यही बेला त्यो जूनलाई हेर्दै थिएँ । हामीले हेरेका थियौं एकै समयमा त्यो जूनलाई…! जूनले हामीलाई … जूनभित्रबाट हामीले एक अर्कालाई । सेता पातला बादलुको खास्टो ओढी ताराहरु टिम्टिमाएको म आज नियास्रो आकाश नियाल्दैछु र ती सम्भावित दिशाहरुमा पनि खोज्दैछु जूनलाई जुन ठाउँबाट तिमी यति बेला जून देखिन्छ भन्ने गथ्र्यौ । तर आज यथास्थानमा छैन जून । त्यसो त यो संधै एकै ठाउँबाट मात्र देखिने कहाँ हो र समय ऋतु फरक अक्षाँश र देशान्तरभित्र जूनले पृथ्वीलाई परिक्रमा गरिरहन्छ हामी घुमिरहन्छौं । यही परिक्रमाभित्र तिम्रो मेरो जूनले एउटा वृत बनाइरहन्छ झिनो रेखाबाट फेरिंदै एउटा सग्लो वृतमा । औंसीको कालीमाबाट बढ्दै एउटा मादक जुनेली रात आउँदासम्म मैले धेरै पर्खाई भोगिसकेकी हुन्छु ।

ऊ हेर…भर्खरै माछाको कत्ला जस्ता बादलसंग लुकामारी खेल्दै झुलुक्क देखापरेको जून फेरि विलायो बादलको ओतभित्र । किन छेकियो जून? अनायसै मन दुख्छ लाग्छ शायद तिमी रिसायौ । जून नहुँदा तिमी देखिन्नौ शायद छेलिन्छौ थुप्रै बादलका परतहरुले । म पर्खिरहन्छु पुनः जूनको आगमनको जब यसले मेरो जलनलाई शीतल गर्छ र मलाई सम्मोहित पनि । म चाहन्छु जून सिर्फ मेरै आँखा अगाडि रहोस मेरै आकाशमाथि तर हेर्दा हेर्दै जून मेरो आँखा अगाडिको आकाशबाट सर्दै ओझेल हुन्छ हर रात । म विवश रोक्न सक्दिन उसलाई । न त मेरो चाहनाले जून अडिन्छ । शायद त्यही भएर होला आफ्नो निरीहपना लुकाउनयो मदेखि लुकिरहन्छ बारम्बार । तिमी खिन्न हुन्छौ आफूलाई पनि परेको यही अनुभव मलाई सुनाउँदा हाम्रो साझा पीडा । जुन नहुंदाको हाम्रो दुखाइ।

साँझ आकाशको कुनै पनि छेऊबाट उदाएदेखि तिमी जूनलाई सम्पूर्ण सम्मोहनले तानिरहन्छौ किन स्पष्ट भन्न सक्दैनौ तिमी त्यो जूनलाई हैन मलाई भनेर । अंध्यारो गाढा हुन पाएको हुन्न अचेल आंखाहरु अनायसै आकाशमा उठछन् र जूनलाई खोज्न थाल्छन् । कैलेकांही घण्टौंको प्रतिक्षापछि पनि जब जून देखिंदैनधमिलो बाक्ला बादल मुनि लुकेर के यसले मेरो धैर्यताको परिक्षा लिंदै छ या तिमीले बादल नलागेको खुला रातमा टुट्दै गरेका ताराहरु…तिमीले पनि त्यहीबेला आंखाले देखुन्जेल हेरेका होलाऊ मनमनै केही मागेका होलाऊ । शब्दमा अव्यक्त तिम्रा इच्छाको कम्पन मैले तिम्रो ओठमा देखिरहेछु । त्यो तातो नरम र आमन्त्रण गर्ने ओठमा कुनै नाम थियो तर कसको?

झ्याल माथिको आकाशमा आइपुगेको छ अहिले जून ठीक त्यहींनिर जहाँ विछ्यौनामा पल्टेरै म त्यो जून र त्यसको सुन्दरता हेर्न सक्छु । सफा नीलो आकाशमा कपास झैं हल्का रेशमी बादलका धर्काहरुमा बग्दै उत्रंदै गरेको मोहक जून कति मादक छ ! सम्पूर्ण प्रेम वर्षाएर जून मलाई हाउभाउमा सम्मोहित गरिरहेछ । कल्पना गरिरहेछु, अनिंदा आँखाहरुले तिमीले पनि हेरिरहेछौ जूनलाई कि जून छिचोली मलाई?

जूनको शीतल किरण नरम न्यानो र मादकता के यो मात्र मेरो सोचाइ हो सिर्फ एउटा भावुक अनुभूति काला टाटा भैकन पनि किन जूनको त्यो सौन्दर्य औधि राम्रो लाग्छ मलाई किन थाक्दैनन् र अघाउंदैनन् यी आँखाहरु हेरेर उसलाई । शायद जूनमा मन र मायाको अभिव्यक्ति भएर होला । कोही भन्छन् जूनप्र्रतिको आसक्तिमा मानिस भावुक बन्छ रे मन त्यसै द्रवित र उदाश उदाश हुन्छ रे । के त्यसो भए तिमी पनि भावुक छौ त जून खोज्नेजून रोज्ने र जून नियाल्ने म जस्तै सम्वेदनशील मान्छेको मन जून जस्तै कोमल हुन्छ भन्छन् । त्यो हृदय जहाँ आँखा हैन अनुभूति हुन्छ त्यसले देख्दैन तर छुन्छ । मन मुटु र भावनाको प्रतिक जून तर जून आफैभित्र के छ त त्यहाँ केही र कोही छैन सिवाय ठूला साना खाल्डाहरु विज्ञान यही भन्दछ । तर म त्यहाँ धेरै देख्छु । त्यहाँ विश्वास र आस्था देख्छु पर्खाइ र प्रेम देख्छु व्याकुलता र पीडा देख्छु । यस्तो लाग्छ जून मलाई संधै अव्यक्त भाषामा केही भनिरहन्छ कि जून भएर तिमीले जब जब छट्पटिन्छु जूनलाई हेर्न पुग्छु…अनि जूनबाट तिमीलाई । तिमी पनि समर्पित जून हेरिरहेछौ र मलाई ।

तिमीलाई राम्रो संग थाहा छ तिम्रो र मेरो आकाशमा दोस्रो अर्को जून छैन र हुनै सक्दैन । एउटा कुरा स्पष्ट छ चाहे तिमीले जहाँ कहींबाट पनि हेर त्यो जूनलाई त्यो निश्चित समयमा… सधैं नै मैले पनि हेरिरहेकी हुन्छु मेरो जूनलाई । त्यो जून मात्र एउटा जून नभै एउटा माध्यम पनि बनेको छ तिमीलाई हेर्ने । तिमी छौ त्यो जूनको पाश्र्वमा जून हेर्दै जून भएर मलाई । तिमी संधै जून हेर्न चाहन्छौ म चाहन्छु अनि निसन्देह हामीले एक अर्कालाई ।

तिमी हर रात जून भएर आउँछौ । जूनको आगमनमा मलाई तिम्रो आउनुको अनुभूति हुन्छ । म जान्दछु यो रात पनि तिमी जुनको टहटहमा जून पढिरहेछौ । म आज अहिले पनि यहाँ निस्तब्ध रातमा कोठाभित्र झ्यालका पारदर्शी पर्दा हटाई ती बग्रेल्ती मसिना ताराहरु त्यो ठूलो चम्किलो तारा र बादलको थुप्रोनिर आधा छेलिएको जूनलाई तिमीले झैं नियालीरहेछु । जून भएर तिमीलाई नियालिरहे छु ।

आफ्ना भाग लगाइने समयहरुलाई उबारेर एकै छिन भए पनि कौसीको डीलमा बसी कोठाको भित्तामा अडेसिएर बरण्डामा वा झयालको पारदर्शी सीसाभित्रबाट सुकोमलसुकुमार त्यो जूनलाइ एकोहोरो नियाल्दै जूनको समय सम्वेदनशील भएर जिउन पनि कम्ती मीठो हुँदैन । मधुरो प्रकाशमा तिम्रो कोठाको झ्यालको पर्दा सुस्तरी हल्लिएको छ भर्खरै फेरि चियाएका छौ तिमीले जूनलाई र जूनवाट मलाई । अझैं पनि आफूलाई खोल्न नसकेका तिमीशायद तिम्रै मन अभिव्यक्तिको आकर्षणमा बांधिएर मेरो जून म पनि तिमीलाई हेरिरहेछु । यहां अहिले यो जमेको निस्तब्ध रातमा हामी वीच बनेको समिकरणभित्र सिर्फ जून छ अनि तिमी र म । मेरो जून… सिर्फ तिमी र म ।