Sirjana Dahal – Prem Sagar Ka Lahar Haru

आयुष्मा सुन्दर र सरल छे । पाश्चात्य सभ्यताको प्रभावले उसमा देखिँदैन । साधारण परिवारमा हुर्के बढेकी आयुष्मा सामाजिक परिवेश र रीतिरिवाजमा बाँधिएकी छे । नारी जातिमाथि समाजले लगाएको लक्षमणरेखाभित्र उ बसेकी छ त्यसैले उसका केटा साथीहरू छँदै छैनन् भने पनि हुन्छ । जति छन् ती पनि ‘हाइ-हेलो’ मै सिमित छन् ।

स्कुलको पढाइ पछि नौलो जोश-जाँगरसँगै उ कलेज भर्ना भएकी छे । केटी साथी पनि थोरै छन् उसका । थोरै तर आत्मीय साथी बनाउन मनलाग्छ उसलाई । घरदेखि कलेज, कलेजदेखि घर उसका दिनहरू यसैगरी बितिरहेका छन् । कलेजमा भर्खरै एसएलसी दिएर आएका नवयुवायुवतीहरू स्कुलको अनुशासित वातावरणबाट मुक्त भएर होला उनीहरूको हाउभाउ निकै फेरिएको छ । कलेजमा पढाइ भन्दा गफगाफ, क्यान्टिन, पिकनिक, रमाइलो गर्ने तर्फ नै धैरैको मन गएको छ । तर, आयुष्मा भने यस्तो वातावरणमा घुलमिल भएकी छैन । त्यसैले एकान्त वा पुस्तकालयमा बसेर पुस्तक पढ्छे या घर फर्कन्छे ।

एकदिन कलेज जाँदा उसले कार्ड किन्नेहरू धेरै देखी । कलेजमा पनि निकै चहलपहल थियो कार्ड साटासाटगर्नेहरूको । विषेश गरी केटाहरूले केटीहरूलाई कार्ड दिइरहेका थिए । उसले साथीलाई सोधी आज के रहेछ भनेर । उसको साथीले अचम्म मान्दै भनी – तिमीलाई थाहाछैन आज भ्यालेन्टाइन डे अर्थात प्रेमदिवश हो नि ! आजको दिनमा प्रेमप्रस्ताव राख्यो भने सफल हुन्छ रे । त्यसैले आफ्नो मनको कुरा राख्न आज प्रेमी प्रेमिकाहरू फूल या कार्डले एकअर्काको मनको कुरा राख्ने गर्छन् । तिमीलाई पनि कोही मनपरेको भए प्रस्ताव राख्न ढिला नगर नि ! तिमीलाई दिने चाहीँ छन् कि छैनन् ?

साथीको कुराले उसको मन के के सोच्न बाध्य भयो । त्यसदिन क्लास पनि भएन। त्यसैले उ चाँडै नै घर फर्की । बाटोमा उसले साथीका हुराहरू सम्झिरही – तिमीलाई कार्ड दिने छन् कि छैनन् ? यही कुरा उसको कानमा तरङ्गित भइरह्यो । उ सुन्दर छे, स्कुलमा पनि कति केटाहरूले मनपराउँथे । उसले तर कसै प्रति चासो देखाइन । कसैका आँखाले उसलाई आकर्षित पार्न सकेन । तर, कलेजमा आएपछि उसको आँखा कहिलेकाहीँ आभुषणसँग जुद्धा भने मन नै सिरिङ्ग हुन्थ्यो । किनकिन उसको मनले नहेरौँ भनेपनि आँखाहरू आभूषणको सिटतिरै दौडन्थे । मानौँ त्यहाँ कुनै जादु थियो । आभूषण पनि निकै रसिले स्वभावको थियो । सबैसँग मिल्ने, हाँसेर बोल्ने गर्थ्यो । आयुष्मासँग पनि ऊ ‘हाइ-हेलो’ भन्दै बोल्थ्यो । लजालु स्वभावकी आयुष्मा पनि मीठो मुस्कान छोड्दै उसँग गफगर्न मनपराउँथी । उसलाई आभूषको बोल्ने शैली असाध्यै राम्रो लाग्थ्यो ।

प्राय: साथीहरू त्यसदिन कलेज आएका थिएनन् – डेटिङ गएका थिए । बाटोमा पनि आयुष्माले थुप्रै युवायुवतीहरू प्रेमालाप गर्दै हिँडेको देखी । आज उसको मन पनि चञ्चल भइरहेको छ । सोच्दै छे मलाई पनि मनपराइदिने कोही भएको भए कार्ड साटासाट गर्न, मनको कुरा पोख्न अनि टाढा कतै एकान्तमा घुम्न जाँन कति रमाइलो हुन्थ्यो होला । यस्तै सोच्दै उ हिँडिरहेकी हुन्छे । अचानक बाटोमा उसको भेट आभूषणसँग हुन्छ । उ झसङ्ग हुन्छे र भन्छे – हाइ । आभूषण पनि हाइ भन्दै एउटा कार्ड दिन्छ र अरु केही नबोली आफ्नो बाटो लाग्छ । उ छक्क पर्छे । उसको मनमा कौतुहल भइरह्यो । हत्तपत्त घर पुगेर कार्ड हेर्छे । कार्डमा प्रेम प्रस्ताव थियो । आयुष्माको तन-मन सिरिङ्ग हुन्छ । जाडो भए जस्तो गर्मी भएजस्तो खै कस्तो कस्तो हुन्छ । उ केही सोच्नै सक्तिन मन कहाँ कहाँ उडेजस्तो हुन्छ । उसलाई के गरूँ के गरूँ जस्तो हुन्छ र थचक्क बस्छे । त्यो प्रस्तावको के उत्तर दिने – उ सोचमा डुब्छे । एक मनले भन्छ यो उमेर प्रेममा फस्ने होइन आफ्नो व्यक्तित्व बनाउने हो । तर, अर्को मनले भन्छ यो उमेरमा प्रेम नगरे कुन उमेरमा गर्ने ? जसलाई उसका आँखाले उसैलाई छक्याएर हेर्छन् । जसको अनुहार उसको मनको कुनै कुनामा कुँदिएको छ उसैले प्रेम प्रस्ताव राख्दा किन नाइ भन्नु । उसको मनमा अनेकौँ प्रश्नहरूको ज्वारभाटा उठ्छ । बाहिर जान्छे, त्यहाँको वातावरणमा रमाउन खोज्छे तर मन कता कता उड्छ । फेरि भित्र जाँन्छे कहिले उठ्छे , कहिले बस्छे, यताउति गर्छे , मन स्थिर छैन । के सोच्ने के नसोच्ने अलमलमा पर्छे । बाथरुम जान्छे र चीसो पानीले नुहाउँछे । ऐना अगाडि आफूलाई नियाल्छे । कताकता लाज लागेर आउँछ । आफैँ मुस्काउँछे र कोठामा फर्किन्छे । फेरि कार्ड हेर्छे र दङ्ग पर्छे । कार्डमा आभूषणले यदि तिमीलाई मेरो प्रेमप्रस्ताव स्वीकार भएमा बेलुका पार्कमा आऊ भनेर लेखेको थियो । त्यसैले आयुष्मा ऐना अगाडि बसेर आफ्नो मुहार सुन्दर बनाउन थाल्छे । जसलाई आफूले मनपराकी थिइ उसैले प्रेम प्रस्ताव राख्दा त सोच्नु पर्ने कुनै कुरा थिएन । निकै हर्षित थिइ आयुष्मा । त्यसैले सजिएर उ बेलुका पार्कमा जान्छे ।

पार्कको गेटमा आभूषण उभिइरहेको हुन्छ । आयुष्मा त्यहाँ पुग्नासाथ म तिमीलाई नै पर्खिरहेको, तिमी आउँछौ भने मेरो हृदयमा पक्का थियो भन्दै उसले आयुष्माको हात समाउँछ । आयुष्मा मुस्काउँछे । आभूषणले उसको हात समातेर पार्क भित्र लैजान्छ । त्यहाँ उसका साथीहरू आदित्य, राजन, अनि रेखा थिए । आयुष्मालाई हात समातेर ल्याएको देखेर सबै हाँस्छन् । मुखामुख गर्छन् । एकले अर्कोलाई धापमार्दै हाँसेको देखेर आयुष्मा छक्क पर्छे । केहीबेरमा अब आभूषण पनि मुर्छा परेर हाँस्न थाल्छ । सबैजना हाँसेको देखेर आयुष्मालाई नराम्रो लाग्छ । उ जिल्ल परेर उनीहरूको अनुहार हेरिरहन्छे । केहीबेर पछि आभूषणले साथीहरूसँग भन्छ – देख्यौ त केटीहरूलाई फसाउन कस्तो सजिलो हुन्छ । आयुष्मा झसङ्ग हुन्छे । राजनले भन्छ – हो यार तिमीलाई त मान्नै पर्छ । आयुष्मा जस्तो केटीलाई पनि फसाउन सफल भयौ । आयुष्मा झन् झसङ्ग हुन्छे । आभूषण फेरि भन्छ – मैले एउटा पत्र के पठाएँ तिमी त पछि लागेर आयौ । के म तिमी जस्तो केटीलाई आफ्नो गर्लफ्रेन्ड बनाउँछु होला । मेरो गर्लफ्रेन्ड त रेखा हो रेखा । उसैले आज तिमीलाई झुक्याउन सक्तैनौ भनेर बाजी राखेकीले तिमीलाई कार्ड पठाएकी हुँ बुझ्यौ तिमीलाई उल्लु बनाउन । तिमी जस्ता केटीहरूलाई म कति सजिलै फसाउन सक्छु । देख्यौ त मेरो जादु । ऊ झन् अट्टाहाँस गर्न थाल्यो । सबैजना हाँस्नथाले । आयुष्माको आँखाभरि आँसु आयो । सोध्न मनलागेको थियो – तिमीहरूले हाँस्ने अरु कुनै बहाना भेटेनौम, अरुको मुटुदुखाएर हाँस्नु पर्छ ? तर फेरि लाग्यो यस्तै हो यहाँ अरुलाई रुवाएर आफू सफल भएँ भन्ठान्नसँग, अरुको दुखमा हाँस्नेसँग के लाग्छ । उ फरक्क फर्किएर गई । उनीहरूको हाँसो परसम्म गुञ्जिरहेको थियो । कानथुन्दा पनि त्यो हाँसो प्रतिध्वनित भइरह्यो उसको अन्तरमनमा । छियाछिया परेको मुटुलिएर उ घर फर्की ।

रात भरि उनीहरुको आवाज उसको मनमा गुञ्जिरह्यो । सिरानीले कान थुन्दा पनि त्यो अट्टाहास, ती शव्दहरू बारम्बार तरङ्गित भइरहे । भोलिपल्ट उ कलेज नै गइन । टाउको दुखेको बहाना बनाएर सुतिरही । मनमा अनेक कुराहरू खेलिरहे । उनीहरूले के पाए मलाई उल्लु बनाएर । एकछिन हाँस्न त अरुकुराले हाँसेको भएपनि हुन्थ्यो नि । मेरो मुटु टुक्रयाउनु पर्थ्यो त ? मान्छेहरू खै किन अरुको दुखमा रमाउन थालेका होलान् ? अर्काको मुटु दुखाएर के के न गरे जस्तो लाग्दो हो । यस्तै यस्तै सोच्छे । उसलाई कलेज नै जान मन लाग्दैन ।

मन नलागी नलागी केही दिन पछि उ कलेज जान्छे । सबैले आफूलाई हेरेर हाँसे जस्तो लाग्छ उसलाई । कसैको अनुहार हेर्दिन उ । सरासर कक्षाकोठामा गएर बस्छे । पढाइतिर ध्यान थिएन । उसको साथीले भनी – आयुष्मा हिजोअस्ती किन कलेज नआएको ? उसले त्यसै भनेर टारी । त्यतिनै बेला राजेश सबैको अगाडि आएर भन्यो – साथीहरू म अब यस क्यामपसको केही दिनको पाहुना मात्र हुँ । म छिटै अमेरिका जाँदैछु । आजको साँझ सबैजनालाई मेरो तर्फबाट पार्टी ! सबैजना बेलुका मेरो घरमा आउनु है । राजेशको खुसीमा सबैजना रमाए । सबै साथीहरू बेलुकाको पार्टीमा जाने भए । तर आयुष्मालाई पार्टी-सार्टीमा जान मन लागेन, उ गइन पनि।

भोलिपल्ट उसको साथीले भनी – आयुष्मा तिमी हिजो पार्टीमा किन नआएको ? कस्तो रमाइलो भयो । थाहा छ तिमीलाई राजेश केही दिनमा उड्दै छ नि । अनि उसले जीवनसाथीलाई पनि अमेरिका लान पाउँछ रे । पार्टीमा तिमी बाहेक सबै साथीहरू थिए । आभूषण र रेखा पनि हातमा हात राखेर डान्स गर्दै थिए । पार्टी निकै रमाइलो भयो । पछि के भयो तिमी सोच्न पनि सक्तैनौ । राजेशको बिहे नभएको कारण उसले पार्टीकै दौरान रेखासँग एकैचोटी विवाहको प्रस्ताव राख्यो । राजेशको बेहुली बनेर अमेरिका जान पाउने भएपछि रेखा पनि आभूषणको हात छोडेर राजेशसँग अङ्कमाल गर्न पुगी । सबै साथीहरू हेरेको हेर्यै भए । आभूषणको अनुहार देखेको भए तिमी कति हाँस्थ्यौ होला । उसको मुख त खुलेको खुल्यै भयो । ऊ रेखालाई एकटक हेर्दै थियो । पछि नशाले चुर भएर घर फर्केछ । साथीको कुराले आयुष्मा छक्क पर्छे । रेखा, जसको कारण आभूषणले कति केटीहरू, स्वयं आयुष्मालाई पनि त्यस्तो ब्यवहार गर्यो । त्यही रेखाले अमेरिका जान पाउने लोभमा आभूषणलाई छाडी । हे भगवान, कति स्वार्थी छ यो संसार । यहाँ मायाको कुनै मुल्य छैन । केवल स्वार्थ छ ।

त्यो दिन घर फर्कँदै गर्दा बाटोमा उसले आभूषणलाई भेटी । आभूषण उसैलाई पर्खेर बसेको थियो । आयुष्माले उसको वास्तै नगरी आफ्नो बाटो लागी । आभूषण पछ्याउँदै आयो – आयुष्मा मलाई माफ गर । मैले तिम्रो मन दुखाएँ । सायद त्यसैको फल मैले रेखाबाट पाएँ । प्लिज मलाई माफ गर । मलाई विचलित हुनबाट रोक । मलाई तिम्रो खाँचो छ । तिम्रो मायाको खाँचो छ । मैले बुझ्न सकिँन पहिला तिम्रो मायालाई । आजकल तिमी जस्तो निस्वार्थ मायागर्ने मान्छे कहाँ पाइँदो रहेछ र । मलाई माफ गर । आयुष्मा प्लिज मेरो हात थामिदेऊ । आयुष्माले फर्केर हेरी । आभूषणको आँखामा आँसु थियो । तर त्यसले आयुष्मालाई छोएन । यो पनि कतै उसको उल्लु बनाउने नौलो तरिका त होइन ! उ केही नबोली बाटो लागी । आभूषण पछि लाग्दै – प्लिज आयुष्मा मेरो कुरा त सुन, मलाई माफ गर भन्छ ।

आयुष्मा फर्कन्छे । आभूषण कुन मुटुले तिमीलाई माया गरौँ, जुन मुटुले तिमीलाई माया गर्थेँ, त्यो मुटु त तिम्रो व्यवहारले छियाछिया भइसक्यो । तिमीलाई माया गर्न मसँग अब अर्को मुटु छैन । यति भनेर उ सरासर बाटो लाग्छे । आभूषण टक्क उभिएर उ गएको हेरिरहन्छ कतै फर्केर आउँछेकी भनेर । तर आयुष्मा फर्केर हेर्दिन । उ सोच्दै हिँड्छे यो समयले चालेको गोटी हौँ हामी । म, आभूषण, रेखा, राजेश एक-अर्कालाई धोका दिलाएर समयले हामीसँग यो कस्तो खेल खेल्यो । बुझ्नै नसकिने । आभूषणले रेखाको लागि मेरो मुटु दुखायो, रेखाले अमेरिका जाने स्वार्थले आभूषणलाई माया मारी । त्यसतै धोका रेखाले नपाउली भन्न सकिन्न । तर रेखाले धोका नपाओस् । कसैबाट उसको मुटु नचुँडियोस् । टुक्रिएको मुटु लिएर जिउन साह्रै गाह्रो हुने रहेछ । यस्तै यस्तै सोचेर उ ओझेल परी । आभूषण हेरेको हेर्यै भयो ।

Srijana Dahal – Parkhai

पर्खाइ
त्यो गाउँ गरिबी र अशिक्षाले ग्रस्त छ । नारी शिक्षाको त कुरै छोडौँ पुरुष शिक्षा पनि कमै छ । अधिकांश पुरुषहरू घरको कामकाजको लागि आफू भन्दा जेठी र परिपक्व केटी विवाह गर्छन् । जसले गर्दा घर व्यवहार गर्न सजिलो पर्छ । अनि उनीहरु पढ्ने गर्छन् । त्यही गाउँको केटा हो – घनश्याम । आफ्नो ८ कक्षा सम्मको पढाइ जसोतसो सकाएर थप पढ्नको लागि सदरमुकाम जान चाहन्छ ऊ । तर घर बा-आमा हेर्ने कोही नहुँदा ऊ त्यसै बेकार रहन्छ ।

केही समय पछि गाउँकै केटी राधासँग भेट हुन्छ । राधाले उसलाई पढेर गाउँको लागि केही गर्न हौसला दिन्छे । उसको घर, बा, आमा हेर्न राजी हुन्छे । उनीहरूको विवाह हुन्छ । विवाह पश्चात घनश्याम पढ्नको लागि सदरमुकाम जान्छ । राधा घनश्याम भन्दा उमेरमा मात्र होइन कामकाजमा पनि निकै परिपक्व छे । उसले घरको सम्पूर्ण कामकाज गर्दै बा-आमाको हेरचाहको साथसाथै मेलापात पनि धाउँछे ।  विवाह पश्चात लोग्ने तथा सासु-ससुरा नै देवता मान्छे ।

घर व्यवहारबाट मुक्त भएपछि घनश्यामले पनि पढाइमा निकै प्रगति गर्दछ । हरेक क्षण ऊ मिहिनेत गरिरहेकै हुन्छ । फलस्वरुप उसले एसžएलसी प्रथम श्रेणीमा पास गर्छ । यो सफलतामा घनश्याम र उसका परिवार निकै खुसी हुन्छन् । त्यस पछि अझ पढ्ने विचारले ऊ काठमाडौँ आउँछ । काठमाडौँमा बसेर सानोतिनो काम खोज्छ र पढाइ खर्च पुर्याउँछ । खाना खर्च जसोतसो गाउँबाट आइपुगिहाल्थ्यो । जसले गर्दा घनश्यामले आइएस्सी पनि सक्छ र एमबिबिएसमा प्रयास गर्छ । मिहिनेति घनश्यामले इन्ट्रान्स परिक्षा सहजै पास गर्यो । तर, पढाइ खर्च धेरै लाग्ने भयो । घर सल्लाह अनुसार खेतबारी धरौटी राखेर अनि आफूले पनि काम गरेर उसले पढाइ खर्च जुटाउने भयो ।

घनश्यामले धेरै मिहिनेत र परिश्रमका साथ पढ्यो । ऊ अब डाक्टर बन्यो । यो अवधिमा उसका बा-आमा दुवैको निधन भइसकेको थियो । राधाले जसोतसो मेलापात गरेर घर चलाइरहेकी थिई ।

आज घनश्याम सक्षम भएको छ । उसले आफ्नो लक्ष प्राप्त गरेको छ । आज ऊ समाजको प्रतिष्ठित व्यक्ति भएको छ । उसले आफ्नो छुट्टै पहिचान बनाएको छ । अब उसले राधा आफूलायक नभइको ठान्छ र सहरमा अर्कै केटीसँग विवाह गर्छ । अब राधा उसको लागि कोही भइन । हिजो जब उसलाई सहायता र आधारको खाँचो थियो त्यति बेला राधा नै सबथोक भई । आफैँले प्रस्ताव राखेर राधासँग उसले विवाह गर्यो । आज जब ऊ सक्षम भयो राधा जेठी भई, असुहाउँदी भई । जुन हौसला र प्रेरणा दिएर राधाले उसलाई पढ्न पठाई, उसको घर र बा-आमालाई आफ्नै सम्झेर स्यहार-सुसार गरी आज त्यही राधा घनश्यामको लायक भइन, गाउँले भई, अनपढ भई । त्यो राधा घनश्यामको मुटुको कुनै कुनामा छैन । राधाको त्यागको कुनै मुल्य रहेन उसको लागि । अब उसले एउटा चिठी लेख्नयो राधालाई – सहरमा मैले अर्को विवाह गरेँ अब फर्केर आउँदिन, तिमी आफ्नो बाटो लागे हुन्छ मलाई पर्खनु पर्दैन … यस्तै यस्तै भनेर ।

चिठी राधाको हातमा पर्यो । बिचरी अनपढ राधालाई के थाहा चिठीमा के लेखेको छ भनेर । उसले त सम्झन्छे सायद घनश्यामको पढाइ सकियो होला । अब छिट्टै गाउँ आएर गाउँकै लागि केही गर्छु भनेर लेखेको होला । राधा घनश्यामको बाटो हेरिरहन्छे । खेतबारी त घनश्यामको पढाइको लागि धरौटीमा थियो । त्यो सानो घरमा नै बडो मुस्किलसँग उसले आफ्नो एकमुठी ज्यान जोगाइरहेकी छे अनि त्यो चिठी छातिमा टाँस्दै आज पनि घनश्यामको बाटो हेरिरहेकी छे ।