Kusum Gyawali – Karyabahi Sifaris (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – कार्यवाही सिफारिस (लघुकथा)

एउटा राष्ट्रिय दैनिकले छापेपछि सुनुवाई भयो, चौथो अंगको दवाव शक्ति वास्तवमै प्रभावशाली हुन्छ। पत्रकारले आफ्नो मतराखे। राजधानीको एउट होटेलमा बसेर भविष्यवाणी गर्ने, सबै खाले रोग निको पार्ने र सम्पूर्ण मनोवैज्ञानि समस्या वा सामाजिक समस्या ग्यारेण्टीकासाथ समाधानको नाममा ठगी गरेको विदेशी ठग ज्योतिषलाई पुलिसले गिरफ्तार गरेपछिको प्रतिकृया दिदैं थिए सोही राष्ट्रिय दैनिकको पत्रकार महोदय।

वास्तवमा भन्ने हो भने, लोकतन्त्र भनेको यही हो। प्रेसले इस्यू सार्वजनकि गर्ने वित्तिकै सरकारले जनताको सरोकारको विषयमा गम्भीरतापूर्वक छानविन थालेको छ। देशमा देशमा जनताको शासन हुनुको एउटा उदाहरण हो। समाचार आउने वित्तिकै कार्यवाही बढाई सकेको छ गृह मन्त्रलयले। देश र जनताको हितमा हाम्रो पार्टी कटिवद्ध छ ……। सोही मञ्चमा सत्तारुढ नेताले।

हाम्रो अथक प्रयास र निरन्तर शसक्तिकरण गर्ने अभियानको सफलताले गर्दा आज यस्ता ठग व्यक्ति पुलिसको हिरासतमा वस्न वाध्य भएका छन्। गैरसकारी संस्थाका कार्यक्रम निर्देशकलैे आफ्नो एन.जि.ओ.को लोगो देखिने गरी भिडियो खिच्न खटाइएका क्यामरा भ्यानतिर फर्केर कुर्ले। प्रतिपक्षमा रहेको एउटा सानो पार्टीको पुराना नेताले सत्तासीन दलहरुलाई यस्ता जनताको सारोकारका विषयमा गम्भिर भएर काम गरेमा आफ्नो दलले रचनात्मक सहयोग गर्ने बचन दिए। टिभिमा सो रिपोर्टिङ्ग जारी नै थियो।

अर्कोतर्फ भव्य महलमा डिएस्पी सा’बले भने टेलिभिजनमा देखिएको यी दृश्य हेर रेडलेवलको रात्री चुस्को लिदैं थिए। श्रीमतीले रोष्टेड चिकेन थप्दै भनिन, किन हो। आज त निकै खुसी देखिस्या छ नि। आन्दोलनमा गोली चलाएकालाई कार्यवाही गर्ने भन्ने रायमाझीले हल्ला चलाएर टेन्सन भा’थ्यो। आज आनन्द भा’छ। डिएस्पी साबले भने! श्रीमती पक्क परेर मुखमा हेरी मात्र रहिन। हेर बुढी त्यो ज्योतिसिकोमा जाऊ भोली के होला सोधौ भन्थिस नि! आज मैले केटाहरुलाई पठाएर यही हनुमानढोका ल्याउन पठाएर मेरा हात देखाए। कारवाही हुने ग्रह दशा नै छैन रे। म त बल्ल ढुक्क भए। डिएस्सपीले टेलिभिजनतर्फ हेर्दै थपे यस्ता स्वांठ त नेता छन्। हनुमानढोका बोलाउने बित्तिकै कार्यवाही हुन्छ भन्ठान्छन् मुर्खहरु। यस्ता नेता भएपछि पनि हामीलाई कार्यवाही हुन्छ? डिएस्पीले अर्को पेग थपे।

Kusum Gyawali – Sambidhan (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – सम्बिधान (लघु कथा)

परिवार थिएनन, छोराछोरी थिएनन, नीजि आफ्नो भन्ने केही थिएन उनको। सामाजिक परिवर्तन र चेतनाका लागि उनले आफ्नो सिङ्गो जीवन अर्पेका थिए। जीवनभरको परिश्रम र समर्पणलाई उनका साथी संगी सहयात्रीले सघाएर सहयोग गरेको रकमको अक्षयकोश चल्थ्यो, त्यसबाट आज सयौं गरिब विद्यार्थीहले निःशुल्क पढ्थे, सयौं गरिबहरु उपचार गरिन्थ्यो।
उनी अक्सर पैदल हिड्थे, बस चढ्थे बढीमा। उनले अलिकति सुविधा त्यागेर समाजमा समर्पित हुन उनका आफ्ना सहकर्मीहरुलाई समेत आग्रह गर्थे। उनको समाजसेवी संस्थाका कसैलाई पनि सुख सयलको जीवन नविताउन निर्देशन दिन्थे। स्वयं त्यागका प्रतिमूर्तिका अगाडि जो पनि नतमस्तक हुन्थे। यसरी उनको गरिबी विरुद्धको सशक्तिकरण अभियानले निकै ठूलो सफलताहरु पाएको थियो।
उनले बारम्बार आफ्ना कार्यकर्ताहरुलार्य भन्थे ट्याक्सीमा नचढ्नु, बसमा चढ्नु। ती महान ऋषिका कुरा काट्न कसैले पनि सक्ने कुरा थिएन। उनले आफ्ना अनुभवहरु उपदेश ढुङ्गामा खोपेर कार्यालयमा टाँसेका पनि थिए। उनका अनुयायीका लागी यो यो अकाट्य संविधान थियो। उनको अवसान पछि त्यस संस्थाका एक जना व्यक्ति प्रभुत्व बने। व्यक्तिगत सुखसयल छोडेर सामाजिक सेवामा जुट्ने मान्छे कार ट्याक्सी नचढ्नु भन्ने संस्थाका संस्थापक गुरुका उपदेश कसैले काट्ने कुरा भएन।

संस्थाका नयाँ प्रमुख अचेल बसमा मात्र यात्रा गर्छन। तर बस भने सुविधा सम्पन्न बेडरुम र “इन्टरटेनमेन्ट रुम” सहितको बिशेष खालको छ। त्यसमा संस्थाका नयाँ प्रमुख मात्र एक्लै चढ्ने त्यो बसलाई करौडौं पर्छ र दर्जनौ कारलाई पुग्ने ईन्धन त्यो बस एक्लैलाई चाहिन्छ।

Kusum Gyawali – Shanti Chhayeko Gaun (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – शान्ति छाएको गाऊँ (लघु कथा)

शान्ति सम्झौता स्वागतमा गरिएका ठूलाठूला झाँकी र जुलुसहरुको क्रम टुङ्गी सकेको थिएन । जताततै उत्साहका वातावरण देखिएको थियो । गाउँजान नपाएका जनता गाउँ र्फकन पाएकोमा आल्हादित थिए । सबै संसदीय पार्टी कार्यकर्ताहरु गाउँ फर्कने क्रममा थिए ।
सशस्त्र द्बण्दको सास्ती खेपेर पहिलोपल्ट उत्मुक्त श्वास फेर्न पाएका ग्रामिण भेगका जनताको यथार्थ स्थिति थाहा पाउन जनयुद्धका कमाण्डर गाउँ जाने निधो गरे । राष्ट्रसंघका प्रतिनिधि पनि साथै जाने कुरा पक्का भयो । गाउँ जाने सबै जना चढेको हेलिकप्टर डाडाखर्कको चाक्ले बारीमा धुलोको कुहिरीमण्डल पारेर उत्रियो । नेताको पूर्व आदेश अनुरुप पुराना मिलिसियाहरु हातमा फूलमाला लिएर बारीको डोरामा तैनाथ भए । पल्लावारी भरी मान्छेको कुँडुलो लागेको थियो ।

“कत्राकत्रा व्यारेक एक्लै उर्डाई दिन सक्थे रे ती कमाण्डरले “एकजनाले भिडमा भन्दै थियो । कतिलाई त हेरेर मात्रै पनि ठहरै पार्थे रे ती नेताले” अर्कोले तिनै नेताका बारेमा थप्यो । यसरी दन्त्यकथाका नायक बनाइएका कमाण्डर गाउँ फर्केको हर्ेन मान्छेको ठूलो भिड जम्मा भएको थियो । पत्रकारहरुको ताँतीका साथमा थुप्रै अंगरक्षक सहित कमाण्डर थाप्लेडाँडाको ओरालो लागे । ओरालोका छेवैमा झुप्रोमा एकाएक पसे त्यो हुल सहित उनी ।

“बसम काम्रेटहरु !” गुन्द्री आँगनतर्फ हाल्दै बुढीआमाले भनिन -“हतियार झन नौला नौला पो देखिन थालियो त ! काठमाण्डुंमा कुरा मिलेन र तपाईहरुको । रिडियाले त कुरा मिल्यो भन्थ्यो ।” ट्राईपोड सहितको ठूला भिडियो क्यामेराहरु देखेर बुढीआमाले शंका व्यक्त गरिन ।

-“कुरा मिलेकै हो आमा ! यी बन्दुक हैनन् । फोटो खिच्ने क्यामेरा हो” एउटा फुच्चे क्यामेरामेनले भन्यो ।

-“आमा गाउँमा कस्तो छ ? शान्ति भा’छ हैन त ?” कमाण्डर नेताले मख्ख पर्दै कुम उचाल्दै सोधे ।

-“असाध्यै आनन्द भा’छ अचेल । यस्तै होस बाबु । मर्ने बेलामा सुख शान्ति देखेर मर्न पाइने भो ।” बूढीआमा दाँत नभएका गीजा देखाएर मुस्कुराइन ।

-“हाम्रो पार्टीले माने शान्ति स्थापना गरेर छाड्ने भएको छ । कसैले दुःख दिएका छैनन, हैन त आमा” कमाण्डर नेताले थपे ।
“हो बाबु अब त आनन्दै भा’छ नि । अलिकमै मात्र दुःख दिन्थे यस क्षेत्रका ठुला काम्रेट, मन्त्री हुन काठमाडौं गा’छन् रे, कैलेकाँही दुःख दिने जिल्लास्तरका काम्रेट सांसद हुन उनी पनि उतै गा’छन् रे । खान र वस्न दिनुपर्छ भनेर सधैं धुरुक्कै पारेर दुःख दिने मिलिस्याहरु पनि डाँडामा वसेको क्याम्पाँ छन रे । ती कोही पनि नभएपछि हाम्रो दुख हराइहाल्यो नी ! शान्ति त आइहाल्यो नि बाबु ! आनन्द छ गाउँमा अचेल ।” बूढीआमा फेरि उसै गरी मुस्कुराइन ।

Kusum Gyawali – Amurta Youn (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – अमूर्त यौन (लघुकथा)

“यो त अति भयो, कहिले जिब्रो पड्काउँदै पिछा गर्ने, कहिलै भित्तामा चाहिने लेखेर टाँस्ने अब त हुँदाहुँदा यस्तो सम्म पनि गर्न लाज नमान्ने। यस्ता कुरा सहेर एक बसिँदैन, दुई बसिँदैन, तीन बसिदैँन कन्या क्याम्पसकी युवा नेतृ लिपिष्टिक माथि ग्लस पोतिएको ओठ टोक्दै आक्रोशित भइन।”
पल्लो क्याम्पसको त्यही केटाहरूको काम हो यो। यस्तो अश्लील मूर्ति ले’राएर हाम्रो क्याम्पस अगाडि राख्ने। निर्लज्जताको पनि सीमा हुन्छ। यस्तो अश्लील मूर्तिले हाम्रो र सिङ्गै कन्या क्याम्पसको अपमान गरेको छ। सम्पूर्ण नैपाली दिदी बहिनीको अपमान गरेको छ। यसको प्रतिकार गर्नै पर्छ साथीहरू हो। मिनिस्कटमाथि सारेर अर्की नैतृ कुर्लिन। यो ल्याउने र यहाँ राख्ने दोषी पत्ता लगाएर हाम्रो अपमान गर्नेलाई कार्यवाही नगरेसम्म हाम्रो क्याम्पस अगाडिबाट कुनै गाडी चल्न दिइने छैन। स्ववियु सभापति नेतृले अडान लिइन।
मूर्ति लिएर आउनै ठेला चालक बचाऊ गर्दै थियौ। ए हजुर मलाई किन हात हाल्नु हुन्छ ? म त गरिब मान्छे पाएको काम गर्ने हौ। मैले एक छाक खान ठेला तान्न पर्छ मेरो के दोष छ र ? बिचरो ठेला चालकमाथि आफ्नो घरको लोग्नेसँग रिस समेत पोख्दै थिए कन्या क्याम्पसका विद्यार्थी ।सडक भरी इट्टा र ढुङ्गा छरपस्ट थिए। कन्या क्याम्पस अगाडिको चोकमा टाएर बालिरहेको थियो । गृहमन्त्रीको राजीनामा माग गर्दै कानमा मुन्द्रा लगाएका सधैं कन्या क्याम्पसकै सेरोफेरोमा देखिने केही केटाहरूले नारा लगाइरहेका थिए।

नीलो प्लेटको कालो चिप्लो गाडी बल्दो टायरको छेउमा रोकियो । इटालेली राजदूत गाडीबाट ओर्लिए पछि बल्ल थाहा भयो “आडम एण्ड ईभ” नामक, मेकल्याज्डोलोको प्रख्यात अमूर्त कला रहेछ । त्यो मूर्ति कन्या क्याम्पसको कला विभागलाई दिएको उपहार रहेछ।

Kusum Gyawali – Ekata Nagara (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – एकता नगर (लघु कथा)

ढुङ्गे युगमा पशुपंक्षी, मानव सबैको आपसमा खुबै झगडा परिरहन्थ्यो, एक-अर्कोबीच मारामार परिहन्थ्यो ।
मान्छेको बस्ती देखेपछि जनावर डराउँथे, बाघहरुको ओडार देखिपछि मान्छे डराउँथे । एक-अर्काबीचमा सधैँ तनाव भइरहन्थ्यो ।

यसरी एकै जङ्गलमा तनाबीच बाँच्नुपर्दा सबैलाई दिक्क लागेको थियो । बाघले प्रस्ताव राख्यो ‘कस्ले कसैलाई भेदभाव नगरौँ, के कुकुर, के भेँडा, के घोडा सबै मिलेर बसौं, तेरो-मेरोको विभाजन नगरौं, मारामार नगरौं ।

सबैको मत मिल्यो । सबैले नयाँ नगर बनाए । उक्त एकता नगरमा हात्तिले ठूलाठूला रुख ओसारेर ल्यो । बाघले नङ्ग्राले कलात्मक बुट्टा हाल्यो । यसरी आ-आफूले जानेको काम गरेर एउटा सुन्दर नगर बन्यो । उक्त नगरको काम सबैले मिलिजुली गर्न थाले ।

मान्छेले अन्न उत्पादनमा ध्यान दियो । बाघले पशुपालनमा जोड दियो । यसरी मांसहारीले प्रशस्त पशुहरुलाई खाँदा ती पशुभित्र असन्तुष्टि देखा पर्दै गयो । तर आफ्ना कारणले एकता नगर नभत्कोस् भनेर कोही बोलेनन् ।

प्रशस्त खेतीको सम्भावना बढेपछि मान्छेले एकता नगरको अझ उन्नतिका लागि भनेर मतसङ्ग्रहको नाटक रचेर पुनः नगरमा विभाजनको रेखा कोर्‍यो ।

आज नगर उस्तै भताभुङ्ग र लथालिङ्ग भएको छ । तर पनि मांसहारी र शाकाहारी प्राणी बीचमा एकताका कुरा अझै पनि ती मान्छेहरु नै गर्दैछन् ।