Hari Prasad Bhandari – Okhati [Nepali Laghu Katha]

गाउँमा स्वास्थ्यउपचार टोली खटिएको थियो र गाउँलेहरु शिविरमा जम्मा भएर उपचार गराइरहेका थिए ।

त्यस्तैमा पल्लो गाउँमा एक परिवारका सातैजना सिकिस्त बिरामी छन् रे र शिविरसम्म आउन पनि सक्दैनन् रे भन्ने खबर शिविरमा आयो ।

‘उनीहरु आउन नसक्ने भएपछि घरमै गएर उपचार गर्नुपर्छ।’ मुख्य मुख्य व्यक्तिहरुको उपस्थितिमा भएको छलफलले निष्कर्ष निकाल्यो । केही समयभित्रै सिनियर डाक्टरको नेत्रित्वमा एउटा टोली बिरामीको घरमा गयो ।

‘के हुन्छ ?’ मायालु शब्दमा डाक्टरले सोधे ।

‘भोक लाग्छा, खाना नापाएर पेट दुख्छा रा कामजोरी भएर उठ्न पनि साक्दैना।’ घरमुलीले बिस्तारै भने ।

डाक्टर अचम्म परे र सोधे, ‘कसरी यस्तो भयो त ?’

‘खोइ हाजुर, निमेक पाइदासाम्मा र वानमा गिठा भ्याकुर पाइदासाम्म त ठीकै थियो । पाछि निमेक पानि पाइन छाड्यो, गिठा भ्याकुर पानि साकिए आनि ता पानीले मात्रै भोक मारेना‌‌‌…….।’ उनी रुन थाले ।

‘के खान नपाएर बिरामी परेको ?’

घरमुलीले सहमतिमा टाउको हल्लाए र थपे– ‘डाङ्डर साहेब तापाईसाँग भोक नालाग्ने ओखती होला कि ?’