Shiva Prasad Gautam – Desh Banaun

शिवप्रसाद गौतम – देश बनाऔँ
(Source: Madhuparka मंसिर २०६५)

नेपाली नेपाली बीचमा नबनौँ हामी विकल
मेची-काली हो हाम्रो जन्मभूमि नेपाल ।
यो देश रहे मात्र हाम्रो रहन्छ शान, गौरव
देशकै लागि बाँच्ने नै बन्छन् सच्चा सपुत ।

जन्मजातमै मान्छे ठूलो-सानो हुँदैन
श्रम र सीपको योग्यताले बन्छ मान्छे महान्
सङ्कीर्ण कर्मवादले बन्दैन मुलुक असल
एकताको शान भुली नबनौँ कौरव-पाण्डव ।

आमाको छाती चुस्नेहरू नबन्नु पराई सुखमा
पराईको ओझेल मोह हुन्छ ओस समान ।
नठानौँ तुच्छ देश आफ्नो देखेर पराई मोहमा
दूधै पिलाए पनि सापले छोड्दैन कसैलाई डस्न ।

-स्यूचाटार-८, काठमाडौँ