Sarubhakta – Mutu Dhadkine Dhunga Haruko Gaun

सरुभक्त – मुटु धडकिने ढुंगाहरुको गाउं

भुगोलमा नहराएको एउटा देश
र देशमा नहराएको एउटा गाउं
जब गाउंलेहरुका मन भित्र हराउंछ
उत्तरीय क्षितिजको पर्दा
खुलेर कहिले
हिउंका चिसा चिसा फूलहरु रुन्छन्
धुरु धुरु नरोउ भन्दै
छोंगों डांडांमा

पुर्खाका आत्माहरु भतभती पोल्दै
मलाई थहा छ
त्यता कतै हराएका छन्
अंधेरी खोलाका गीतहरु
लाटो कोसेरो झोक्रीएर
भर दिन भर रात
एउटा सानो गाउं
जहां घरहरु छन्
तर मान्छेहरु छैनन्
ए, कहां हराए
भएका घरका
नभएका जस्ता मान्छेहरु ?
ए, कहां हराए
नभएका जस्ता मान्छेका
भएको घरहरु ?
लेकाली हावा
आलु गांठो कस्ले पार्ने
अनि कस्ले सुन्ने
खरबारीको अजम्बरी व्यथाहरु
उफ! तामागी
मुटु धडकिने ढुगांहरुको
एउटा सुन्दर गाउं
तिमी सेतो छाला ओढी आउनेहरुका लागी
मात्र एउटा प्राचीन संग्रहालय नबनिदेऊ !
तिमी आफ्नो अस्तित्व बिर्सेर कहिल्यै पनि
आफैलाई जीवित लास नगनिदेऊ !

रचनास्थल: तामागी, २०५५