रामप्रसाद प्रसाईं – काव्यदृष्टिमा अधमरा रातहरु
पारूहाङ्ग-सुम्निमालाई
मकलभरि धुप सल्काएर
मुन्धुम गम्दा
आंशु आंशु हुन्छन्
यी आंखाहरू
बोधगम्यताको अज्ञेय भेदमा
अवचेतन रेडियोधर्मिता
संजीवनी सजीऊन
मुखरित सदाबहार
छन्
बहारहरूमा
अधमरो रातसँगै
स्वपनिल घोप्टे भीरहरू
बक्षस्थलका मानचित्रहरूमा
श्रृजना र सन्त्रासका त्रिशुलीहरू
कलकल कलकल
सुसेल्दैछन्
हु/चीलका स्पन्दनहरूबाट
अ/प्र/भावहरूको बिरौटो
खलोमा बेठी ला/गाउने
अनि
रोपी रोपी मुठी
फलाउने मुरी मुरीको अनुपातमा
कृषि अभियन्ता
बिबश छन्
विडम्बनाका
मर्चा-मसला-मशाल
क्रमिकरूपले ठेलमठेल हुँदाछन्
खोयाबिर्के समयका खर्कहरूमा
फ्यात्त फ्यात्त
झरिरहेका आस्था र स्वाभिमानका
टुँडालहरू
झर्याप्प झुरूप्प
टनकपुरहरूसँगै
मेडुसाका अनुहारहरू
छल्दा छल्दै
बक्राकार बर्तुलभित्र
गर्तमय अस्तित्व
दशा-दिशा मार्गचित्र खोज्छ
‘ब्ल्याक होल’को
महाशुन्यमा
ईल्डोराडोलाई
सुनामीका छालहरूको
पीँधबाट
बल्छीको नापो
फड्कार्दा
आत्म-स्वीकृतिको बुइंगलमा
आम सहमतिको तोक्मा अचेंट्दै
अग्निदीक्षित आंशु का
महाशुन्यमा
प्रज्वलित‘इम्बार्गो’हरू।
अक्टोबर १० सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।
(Sent to Sanjaal Corps via Email)