Komal Malla – Timi Nai Hau Mero Manchhe

कोमल मल्ल – तिमी नै हौ मेरो मान्छे

एउटा मनमा सयौं मान्छे सयौं मान्छे, सयौं मान्छे
त्यही मनको मिठो साथी तिमी नै हौ मेरो मान्छे
छैन छैन मेरो मन दुख्दै दुख्दै जीउन सक्ने
छाती चर्के, कहाँ हुन्छ मन पनि सिउन सक्ने

कति सुन्छु मन पालुवा फूल जस्तै कोमल हुन्छ
सत्य सत्य नढाटु त आकाश जस्तै निर्मल हुन्छ
त्यस्तै निर्मल त्यस्तै कोमल माया पे्रम हुनु पर्छ
सम्झनाको हातहरुले, हृदय नै छुनु पर्छ
एउटा मनमा सयौं मान्छे ……………

भइ दिए है सङ्लो सङ्लो अमृत सरी पानी जस्तो
परेलीले छोप्दा पनि ब्रम्ह देख्ने नानी जस्तो
मनमा सजाइ गहिरिए भने मोती पनि भेटिन्छ रे
मन फक्राइ उठे भने पियास पनि मेटिन्छ रे
एउटा मनमा सयौं मान्छे ……………

मन परेको मान्छेलाई बिदाई दिन सकिन्छ र ?
अगाध स्नेह मिठो माया कहाँ त्यसै मेटिन्छ र ?
बिदाईको मुहार बाट आसुँ थोपा पुछी आज
राखी देउ है हाम्रो माया सधैं सधैं तिम्रो साथ
एउटा मनमा सयौं मान्छे ……………

तिम्रो मनको मान्छेलाई सम्झाई बुझाई माया दिए
विश्वासको दियो बाली हामीलाई संझिरहे
गरी दिनु पुजा सधै तिमी भित्र देबताको,
चढाइ दिनु फूल नैबेद्य चोखो अमर मित्रताको
एउटा मनमा सयौं मान्छे ……………

बिस्र्यौ भने पाप लाग्छ साथीभाईको आतलाई
बढाइ रहनु जहाँ हुन्छौ पिरतीको हातलाई
हाम्रो पनि भक्ति भाव आमालाई चढाई देउ है
आर्षिकबाद बटुलेर हामीलाई पठाइ देउ है
एउटा मनमा सयौं मान्छे ……………

Tekab Koirala – Dauntari

टेकब कोईराला – दौंतरी

बुटो–बुटोमा चाहार्दै
कट्मेरो बेलौती टोकेर
आधा तिमी खान्थ्यौ
आधा म खान्थें

ब्याङ्ग–ब्याङ्गभित्र लुक्दै
ऐंसेलुको मसिना टोपी टिपेर
कसको सोली ठूलो
प्रतिस्पर्धामा तिमी जित्ने गर्थ्यौ
म हारिदिने गर्थे

हाँगा–हाँगामा लम्कँदै
काफलगेडीहरु बटुलेर
पोल्टा–पोल्टामा भर्थ्यौं
कसको बढी मीठो
मेरो काफल तिमी टोक्थ्यौ
तिम्रो काफल म टोक्थें

कठैबरी आज
तिमी गयौ नौ डाडापारि
म गएँ नौ खोला तरी
बालबयका ती सम्झनाहरु
सपनाभरि सलबल सलबल
आँखा वरिपरि झुल्किँदै बिलाउँदै

चाहेर पनि बिर्सन नसकिने
बर्सेर पनि बिर्सन नसकिने
यो कस्तो दौंतरी

Basanta Mohan Adhikari – Jasko Lagi Banchthen Marthen (Nepali Gajal)

बसन्त मोहन अधिकारी – जसको लागि बाँच्थे मर्थें

जसको लागि बाँच्थे मर्थें उही आज पराई भयो
उसको बाटो पर्खिबस्दा चितामाथि सुताई भयो

उसको माया संगालेर मिठो सपना सजाएथेँ
सपना जली आज मेरो दागबत्ती खुवाई भयो

गाँउमा हल्ला फिजाएर बदनाम गराई छाड्यौं
जिउँदै मारी जलाउँन तिम्रो माया सलाई भयो

सपना जली देह बल्दाँ हाँस्छौ अरे दुनियाँमाझ
चोखो जीवन यो नारीको सधैं तिम्रो रजाई भयो

लिएर दोष बदनामी मैले मात्र जिउनु पर्यो
आज जिउन नसकेर जीवन आगोलाई भयो

Bhojraj Baral – Byawasaya

भोजराज बराल – ब्यवसाय

पाँच रुपैयाँको एउटा गेडो स्याउ,
सफा पानीले धोएर,
दश टुक्रा पारेपछी,
एउटा सुन्दर खोलमा,
यसमा यती भिटामिन छ
र उती प्रोटिन छ,
श्वस्थ जीवनको लागि,
कम्तिमा
दिनको एक पोका खानै पर्छ,
इत्यादी,
उस्तै उस्तै लेबल राखेर,
दश रुपैयाँमा बेच्न सक्न पर्छ!

– London

Sagar Kafle – Kanchuli Fernu Parchha

सागर काफ्ले – काँचुलि फेर्नु पर्छ

अब माटोबाट खुशी उब्जाउनु पर्छ
हिमालबाट चाँदी भित्र्याउनु पर्छ
जँगलबाट बैध्य जन्माउनु पर्छ
पानी बाट डलर झिक्नु पर्छ

धोति र सुरुवालले मित लागाउनु पर्छ
मँगोलले आर्यन, आर्यनले मँगोले भित्राउनु पर्छ
मन्दिरमा कुरान अनि मस्जितमा बेदले स्थान पाउनु पर्छ
्ुॐ भुरभुव् स्वस््ु र ्ुॐ मानेपेमे्ु मिसायर
्ुअल्लाहो अकबर्ु र ्ुगुरु ग्रन्थ साहिब्ु मिसायर
मूल मन्त्र कथ्नु पर्छ

(हामि सबै मिलेर नेपालको काँचुलि फेर्नु पर्छ)

Anju Subedi – Chetanshil Manchhe

अन्जु सुबेदी – चेतनशील मान्छे

सदरमुकाम खलंगाको उकालो काट्दै गर्दा
पीपल चौपारीमा बाबा र म ।

“धेरै पढ्नुपर्छ छोरी,
मानिस मात्र त एक चेतनशील प्राणी हो।”
बेसीमा भर्खरै रोपिएका हरीया धानहरु
फाट भरि, डोकोबोकेर घास खोज्दै आमाहरु ।
एउटा चरो भुर्र उडेर आई हागामा बस्यो,
मेरा बालशुलभ जिज्ञासाले प्रश्न कस्यो ।

“बाबा त्यो चरो कि चरी ?”

“खै बा ,चरो नै भन्छौं
चरोको कुनै जात हुंदैन
चरोको कुनै भात हुंदैन
चराहरु पनि स्त्रिलिंग र पुलिंग हुन्छन
तर सबै चरा नै देखिन्छन ।”

“बाबा !
चरा होस् वा चरी उत्तिकै उड्छन् है आकासमा?”

“हो बाबा”

“चरी पनि उड्छे?
के उनीहरुको पनि आफ्नो सस्कार हुन्छ?
के उनीहरुको पनि आफ्नो समाज हुन्छ?”

“चराहरु स्वतन्त्र छन् छोरी”

“बुझें बाबा हामीहरु चेतनशील मान्छे!”

Yogendra Raj Sharma – Shahar, Mrityu Ra Ma

योगेन्द्र राज शर्मा – शहर, मृत्‍यु र म

आज मृत्‍युलाई भेट्नु छ
यो बन्द कोठाभित्र जीवनका
दुर्गन्धित संवेगहरुसगँ
सतरंज खेलको घोडा हुन
सिक्दासिक्दै हारेको अनुभुती हुन्छ
उफ् यो मिनेटमिनेटमा कत्रो अन्त्य
पेट्रोल नहुँदो हो,
के ले पोल्दा हुन् हँ लास
शहरका मान्छेहरु ?

मलाई मध्यरात
मसानघाट हुँदै कोठामा पुग्न डर लाग्दैन
यहाँ बस्तीसँगै हुन्छन् घाटहरु
गाउँतिर त…ल खोलामा हुन्थे
यहाँ प्रत्येक मान्छे
आफुसगै मसान लिएर हिंड्छ
यता घाटहरु भुस्याहा कुकुर जस्तै भेटिन्छन्
यता मसानहरु मान्छेसँग डराउँछन्
जस्तो भुस्याहा कुकुरहरु मसँग डराउँछन्

घाटमा मृत्‍यु हुँदैन
त्यहाँ मृत्‍युको पनि मृत्‍यु हुन्छ
हस्पिटलहरुमा मृत्‍युको सुगन्ध हुन्छ
ईमर्जेन्सी वार्डहरुमा मृत्‍यु टड्कारो हुन्छ
मृत्‍यु वासिङ्टन डि. सि. भित्र हुन्छ
थाहा छैन, मृत्‍यु कहिले मेरो मित्र हुन्छ ।

सबैभन्दा पहिले
यो शहरको मृत्‍यु होस् न !
म सबैभन्दा पहिले गाउँ जान्थें
थाहा छ ?, मलाई किन गाउँ जान डर लाग्छ ।
मलाई मान्छेहरु एल्गी भन्छन् ।

Kshetra Pratap Adhikari – Lako Maya Laina Nabhana

क्षेत्रप्रताप अधिकारी – लाको माया लाइन नभन

लाको माया लाइन नभन
थाहा पत्तो पाइन नभन
बिपनी मा हासे पनि सपनीमा रुन्छु
औंलाहरु चुमी हेर म त तेतै हुन्छु

बैगुनीले मारी भन्यो रे
दोधारैमा पारी भन्यो रे
तिम्रो बारे कताकता कुनि के के सुन्छु
औंलाहरु चुमी हेर म त तेतै हुन्छु

सँगै बस्ने बाचा नभुले
गोदावरी अन्तै नफुले
सिंदुर लाउने सधैं मुटुभरि बुन्छु
औंलाहरु चुमी हेर म त तेतै हुन्छु

दियो कलस पुजे पनि लौ
चोखो माया हुन खोजे नि लौ
म पनि त जता छोयो उतै तिमी छुन्छु
औंलाहरु चुमी हेर म त तेतै हुन्छु

शब्द – क्षेत्रप्रताप अधिकारी
स्वर – राजु लामा, सुनिता सुब्बा
संगीत – मदन दिपबिम
एल्बम – के भूल भयो प्रिया

Bikram Subba – Timro Man

विक्रम सुब्बा – तिम्रो मन

… कस्तो बलियो रहेछ तिम्रो मन
हरेक चुस्त-दुरुस्त-जवान अंगहरूलाई
ठीक-ठीक आदेश दिन सक्ने तिम्रो मन
जसले अह्राएपछि
बाटो लाग्ने पाउहरू छम्छमाउँछन्
र मसम्म पुग्ने तिम्रो महान यात्रा पूर्ण हुन्छ
तिम्रो मनकै हुकुम मुताबिक
हाम्रो हरेक एकान्तमा तिम्रा जोर हत्केला
आकाशतिर तरवारझैँ जुरुक्कै उठ्छन्
र मेरो काँधमा वरमाला हाल्ने साइत छोपिन्छ
तिम्रो मनकै निर्देशनमा
नजरका पखेटा हालेर
तिम्रा आँखाहरू क्षितिजतिर उडान भर्छन्
तर हर साँझ धर्ती-आकाशको मिलन नियाल्दै
मेरै छातीको बाँसझ्याङमा बास बस्न आइपुग्छन्
त्यसो त तिम्रो मनले आदेश दिएपछि
जिन्दगीको सुन्दर सपनाजस्तो
जवानीले उम्लिरहेका तिम्रा पाखुरा ममा बेरिन्छन्
अनि गुन्गुनाउँन थाल्छन् तिम्रा अधरहरू
र मेरै ओठका नोटेशन मुताबिक चुम्बन गाउँछन्
पत्तैबिना तिमी लहराझैँ हल्लिँदै बेरिन्छौ
म रुख, बेस्सरी तिम्रो कब्जामा कैद हुन्छु
वतासमा सुखैसुखको सुगन्ध मग्मगाउँन थाल्छ
आकासमा मेघ मडारिँदै गर्जिन थाल्छ
अहो ! क्या गजबको नाता हाम्रो
महाकाव्य र त्यसभित्र रगतझैँ बग्ने कथाजस्तो
जहाँ छन्द र सर्गको लय भएर बगिरहन्छौ तिमी
ढुकढुकीसँग मिलाएर ताल ठोकिरहन्छु म
र छटपटिको आदिम हरफमा बर्सिन्छन् चट्याङहरू
हामी एकपछि अर्को प्रहारले अनेक पल्ट मृत्यु वरण गर्दै
चरम चुली भीरबाट खस्दछौँ र गर्ल्याम्मै झरेर मीठो मर्छौँ
जसरी ध्वस्त भएर मृत्यु अँगाल्छन् विउहरू – नौलो उमार्न
जसरी फतक्कै गलेर सकिन्छन् फुलहरु – नयाँ फलाउँन
यत्तिबेला, शरिरभरि चलेको आँधी पुराणको
एक अध्याय इतिश्री भएपछि
पल्टाएरै राखेको ग्रन्थको दुई फ्याकझैँ
हामी लामो लामो सास फेरिरहेछौँ
र अर्को अध्याय थाल्ने तैयारी गरिरहेछौँ
यस्तो आत्मीय महा-अनुष्ठानको कुशल आयोजक
… कस्तो शान्त तर कति विशिष्ठ तिम्रो मन

Anup Joshi – Manchhe

अनुप जोशी – मान्छे

मान्छेलाई थाहा छ–
आकाशको रङ
थाहा छ– सगरमाथाको उचाई
झरनाको शिर
मौसमको जादुले रुखमै पाकेको फल
उसलाई सबै थाहा छ–
बादलले कस्तो गीत गाउँदा वर्षात हुन्छ,
चट्याङ् पर्छ
थाहा छ–
हाँगा छाडेर भुर्र उँडेको चरा
बादलभित्र गायब भएको जहाज
जूनको आकार
ताराको धिपधिप ।
टाउको उठाएर
मान्छेले सबै–सबै देख्न सक्छ ।

तर साँच्चै, मान्छेलाई थाहा छैन–
आफु टेकेको धर्ती
भर्खरै पाइला बढाउँदा कुल्चिएको कमिलो
वैलिएर भुँइमा झरेको फुल
थाहा छैन–
यौटा नवकवि प्रकाशन गृहमा अल्मल्लीरहेको
हिंड्दा–हिड्दै
आफ्नै जुत्ताको तुना फुस्किएको पनि थाहा छैन
मान्छेलाई केहि पनि थाहा छैन
तेसैले त मान्छेलाई जीवनमा
सबैभन्दा बेसी ठेस लाग्छ
सबैभन्दा बेसी मान्छेले ठक्कर खान्छ
उसलाई थाहै छैन माटोको गन्ध
थाहा छैन–
भुइँफुलको योवन
खोला छेऊ बालुवाको प्यास
किनभने यौटा स्वभिमानी मानिसलाई निहुरिन
उसको नैतिकताले दिँदैन ।

Indra Kumar Sunuwar – Man Jhaskinchha

ईन्द्र कुमार सुनुवार – मन झस्किन्छ

तिमी छौ वारी म छु पारी बिचैमा साउने भेल
न परिवार न त समय कसैले गराएन हाम्रो मेल
मायाको डोरी फुकाउनु पर्ला गाठो नै नकसी
मेरो मनको ढोका गर्दैछु बन्द तिमी नै नपसी

जूनी Continue reading “Indra Kumar Sunuwar – Man Jhaskinchha”

Bhimnidhi Tiwari – Adha Chha Anga Mero Ardhangini Timi Hau (Nepali Gazal)

भीमनिधि तिवारी – आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ

आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ
सिन्दूर हुँ म तिम्रो सौभागिनी तिमी हौ

यो स्नेहको बिरुवा कैले पनि नसुकोस्
फूलबारीको म माली मधुमालिनी तिमी Continue reading “Bhimnidhi Tiwari – Adha Chha Anga Mero Ardhangini Timi Hau (Nepali Gazal)”

Komal Bhatta – Bharosha Garethen Dhalyo Aaja Feri (Gajal)

कोमल भट्ट – भरोषा गरेथेँ ढल्यो आज फेरी

भरोषा गरेथेँ ढल्यो आज फेरी
खरानी भएरै बल्यो आज फेरी

दियौ घात धोका कसम बिर्सनाले
विचारेर मष्तक गल्यो आज फेरी

उडाएर स्वप्ना अधिक शून्य पार्दै
मनैमा हुरी पो चल्यो आज फेरी

कपटले सबै चीज निखारेर लुट्दै
अधर्मी निठुरले छल्यो आज फेरी

विषाद धेर बढ्दा खुबै नम्र यो मन
दुखाएर”कोमल”जल्यो आज फेरी

 

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Rakesh Karki – Gas Station

इन्जिनियर राकेश कार्की – ग्याँस स्टेशन

कल्पनामा धेरै धेरै फुल फुलाएथेँ
सपनाको रंगीचंगी दुनियाँ बसाएथेँ
आज पनि हतार हतार गरेर आएँ
उही ग्याँस स्टेशन पुगेर ठिँग उभिएँ

कहिले तेलमा डुबे झैँ लाग्छ
कहिले जेलमा थुनिए झैँ लाग्छ
उफ्रीन्छु कहिले ठानी हरीयो बन
पुछ्दै बढार्दै उही ग्याँस स्टेशन

घंटी पछि घंटी गिज्याउँछ भित्ते घडी
तेल हाल्दै गुड्कीदै थरीथरिका गाडी
घरी घरी बजाउँछु झर्को लगाउने रजिष्टर
लाग्छ यही ग्याँस स्टेशन नै हो मेरो घर

हिउँ भन्दा चिसो कुलर भित्र कहिले
डोको भन्दा गह्रुँगो उचालेर जहिले
घंटामा घंटा थपेर बटुल्नु छ धन
जुन होस् या घाम उही ग्याँस स्टेशन

पालो दिने त्यो साथी हतार गर्दै होला
यसो लन्च कुम्लाएर प्लाष्टिकको झोला
ड्याँग पडका पड्किदानी झसँग हुन्छ मन
फेरी झिस् मिसेमै आउँछु है ग्याँस स्टेशन

लस् एन्जेलस्

Dev Pathak – Ram Ra Hanuman Haru

देव पाठक – राम र हनुमानहरु

म यो युगको मर्यादा उल्लघन राम हुँ
यो त्रेता युग होईन जहाँ म मर्यादा पालक बनु
हो म त्यहि राम हुँ
त्रेतायुगमा १४ बर्ष बनबास बस्ने राम
अहिले कलियुगमा पनि बसेको छु बनबास
पूरा ११ बर्ष
त्यसैले त म कलियुगको राम हो
मर्यादा उल्लघंन राम

त्यही राम झै मेरा पनि प्रशस्त छन् वानर सेना
अनी प्रशस्त छन् राम भक्त हनुमानहरु
त्यो कालमा रावणले पुच्छरमा आगो लगाउथ्यो
अनी रामभक्त हनुमान सुनको लँका जलाउथ्यो
तर
यहाँ म आफै मेरा हनुमानहरुको पुच्छरमा आगो लगाउदै भन्छु
“जाओ देशमा आगो लगाओ”
मेरा भक्त हनुमानहरु
मेरो हुकुम शिरोधार्य गर्दै
बुर्कुशी मार्दै
देश जलाउदै हिडेका छन्
मेरा हनुमानहरु कमजोर छैनन्
ती नाथे हनुमान भन्दा पनि तगडा
मेरा भक्त हनुमानहरु
आजपनी पुच्छरमा आगो लिएरै बसेका छन्
जुन आगो जहाँपनी,
जतिबेलापनी
अनी जो सुकै माथि पर्न सक्छ
किनकी
यो उद्दन्ड रामका
उद्दन्ड वानरसेना हुन्

त्यसैले होशियार
यो कलियुगी मर्यादा उल्लघन रामको बानरसेना उद्दन्ड छ
घमन्डी छ
तर महान छ
त्यसैले त म कलियुगको महान राम हुँ
मर्यादा उल्लंघन राम

Ashank Upadhyaya – Kaso Gari (Nepali Gajal)

आशांक उपाध्याय – गज़ल – कसो गरि

नाङ्गो तन छ-फोहोरी, लुकाउनु कसो गरि ||
यी आँखाका बर्खे झरी, सुकाउनु कसो गरि ||

न कसैको आफ्नो भएँ, न कसैको माया पाएँ,
पुत्ला सरि ठाडोपन, झुकाउनु कसो गरि ||

गल्ति गरि जन्माएर, आफैंबाट पन्छाएर,
जाने आमा सम्झी सुक-सुकाउनु कसो गरि ||

जताततै स्वार्थ मात्र, आफु नै हो मुख्य पात्र
भन्ने जमातमा दु:ख, फुकाउनु कसो गरि ||

सडक नै आफ्नो घर, कुकुर कै लाग्छ भर,
अमुल्य यो जिन्दगानी, चुकाउनु कसो गरि ||

Hari Ghimire – Stan

हरि घिमीरे – स्तन

सृजनाको पूर्वाधार
जीवनको आधार
बैंशको प्रकटीकरण
सौन्दर्यको आभा
आकर्षणको केन्द्र
म लजाउँछु / तिमी लजाउँछ्यौ
तर सृष्टि हाँस्छ।

सुमेरु पर्वत!
देवता-दानवको मधानी
गोबर्द्धन पर्वत!
जीवनरक्षाको प्रत्याभूति
मातृत्व-कलश!
बाल-अमृतको भण्डार
हिमाली टाकुरा!

शुभ्र-स्निग्ध अजस्र प्रवाह
प्रकृति लजाउँछ / ईश्वर हाँस्छ
तर ‘म’ जीवन पाउँछु
ममतामयी जननी उजागर हुन्छिन्
धन्य सृष्ट्रि!!
म नमस्कार गर्छु।

Komal Shrestha Malla – Bhogai (Muktak)

कोमल श्रेष्ठ मल्ल – भोगाई

भोग्नै नपर्ने कति कुरा
भोग्नै पर्ने रहेछ
यो रहेछ कस्तो रहस्य ?
धेरै ठुलो रहेछ
मोल कहाँ आँसु रगतको ?
तेसै बग्दो रहेछ
देख्छ कस्ले दिल जलेको ?
बुझ्ने हुन्न रहेछ
यो रहेछ कस्तो रहस्य ?
हृदय संगै रहेछ ॥

Asha Gurung – Bishwash Euta Yatri Ko

आशा गुरुङ – विश्वाश एउटा यात्रीको

म एउटा यात्री जिन्दगीको,
हिड्दैछु अझै पनि समायन्तर संगै निरन्तर-निरन्तर
कुनै दिन त्यो पर क्षितिजमा पर्खिरहेको
उदेश्यको देउरालीमा बिसाउने आशाहरुमा
हो सुरुवात त निकै अगाडि भइसकेको थियो
तर बिडम्बना !कतै आँफै होस् गुमाउन पुगेछु
पाइलाहरु त रोकिएको थिएन
केबल मडाँरिदै थिए समयको आबेगमा

गन्तब्ये नभएको पनि होइन
तर लाग्छ दासी हुन पुगेछु ती असाहाय हालतहरुमा
म आँफैमा कम्जोरी पनि त कहाँ थियो र
समर्पण गरेछु आँफैलाई त्यो विवसताको हुरीमा
अझै हिड्दै थिए बेहोशी झै
तर बलबान समयले
ल्याइपुरायो जिन्दगीको अर्कै मोड्मा
अनि बिउँझाइदियो र छडिदियो उही सपनाको संसारमा
उस्तै सपनाहरु छचल्किएकै छन
आज पनि मेरो मानसपटलमा
सपना देखनु गलति होइन न त अधर्म नै
फेरि आज एउटा पाइला अघि सारे जिबनको गोरेटोमा
जति हावा हुरी आए पनि जे-जस्तोले तगारो हालेपनि
अब हल्लाउन अनि दबाउन सक्दैन
मेरो अटुट विश्वाश अनि अपूर्ण सपनाहरुमा
म हिँद्छु र हिँडिरहनेछु
त्यो मेरो सपनाको चौतारी नभेटेसम्म
मेरो आत्माले तब सम्म शान्ति पाउँदैन
जब सम्म मेरा यी पाइलाहरुले
अनि सपनाहरुले गन्तब्यको छात्तीमा सास नफेरेसम्म …

Shyam Dahal – Laasai Laas haru

श्याम लम्साल – लासैलासहरू
(मधुपर्क जेठ, २०६८)

मलामीहरू लास बोक्न विवश नै थिए
लासैलासका चाङहरू देखेर
कसैले सोध्यो
‘यो कसको लास हो ?’
मानवीय समवेदना र संस्कृतिको
मानवीय मूल्य र मान्यताको
अबोध शिशुहरू जस्तो रोइरहेको
नेपाल आमाका उनका सन्ततिहरूको
मलामीहरू लास बोकिरहेका नै थिए
फेरि कसैले सोध्यो
यो कसको लास हो ?
‘तिम्रो आफ्नै अस्तित्वको
आफ्नै जीवनको
तिम्रो हाम्रो नाममा जन्मने भावी पिंढीहरूको
हामी सबै मानव जातिको’
लासैलासको थुप्रोभित्र आफ्नो मृत्युलाई हामी आफैँले देख्ने भए
सृष्टि कति सुन्दर, कुशल हुन्थ्यो होला ?
सृष्टि सुन्दर मात्र भएर
मृत्यु नजिक नभैदिएको भए
संसार कस्तो हुन्थ्यो होला ?
तर हामी सबैले बुझ्नै पर्ने हुन्छ कि
सृष्टिका प्रत्येक पाइलाहरू
मृत्युको घुम्टोभित्र लपेटिएकै हुन्छन्
मलामीका लास बोकाइसँगै, हामी आफँै लास हुन्छौं ।

दमक, झापा