Bibek Dulal Chhetri ‘Damak’ – Bholi Ko Sundar Bhabisya Ko Lagi

विवेक दुलाल क्षेत्री “दमक” – भोलिको सुन्दर भबिस्यको लागि

सस्ता सिरियलहरूमा
लगाएको उस्को समय
म चोर्नेछु कुनै दिन
र लगाउनेछु ढिलो नगरी
यो देशलाई उर्बर बनाउन ।
अरुको भजन गाउन प्रयोग हुने
उस्का शब्दहरू
म बटुल्नेछु कुनैदिन
र लेख्नेछु
एउटा स्वभिमान उमार्ने
उत्साही पुस्तक।
आँफै मात्र सही र अरु होचो देख्ने
उस्को दरिद्र सोचाइ
म बदल्नेछु कुनै दिन
र भर्नेछु सबैमा
एउटा समाबेसी मुस्कान।
अब ठान्नुहोस्
यो मेरो कार्यसूची हो
तर फेरि बदल गर्न नमिल्ने
र अन्तिम भने होइन
तसर्थ यहाँको सुझाबको
अपेक्षा गरिनेछ।
किनकि मेरो मान्यता छ
यहीँबाट भोलिको सुन्दर बिहानीको
जन्म हुँदैछ यसैले।

अस्तु:

Krishna Prasai – Saalaa Pahaadiya Ke Bhanchha

कृष्ण प्रसाई – साला पहाडिया के भन्छ?

किन ढिला गर्र्छौ राजेन्दर भैया ?
ढिला गर्दै नगर !
मौकामा चौका चलाउनै पर्छ ।
कालापानीको जमिन सारे झै,
सुस्तालाई कब्जामा पारे झै,
वर्षोनी उत्तरतिर लम्किरहेको जंगे पिलर
बढाएर रसुवा सम्मै पुर्याउनु पर्छ ।
त्यसो भयो भने काठमाण्डौ पनि हाम्रो हुन्छ ।
त्यसो भयो भने हिमाललाई पनि हाम्रै भन्न मिल्छ ।
त्यो दरभंगामा भएको ससुरालाई पनि यतै डाक ।
पोहोर नागरिकता लिएका,
सालो, जेठान र जोगेन्दर मामालाई,
तुरुन्तै बोलाइ हाल बरेलीबाट ।
दिल्ली दरबार त दाता नै भए
मागे जति पैसा पनि दियाछन् ।
पटनाको लालुलाई पनि भुल्नै हुन्न
उनी हाम्रा गुरु भाइ झै हुन् ।
उनको भनाइ नमानेर कहाँ हुन्छ !
नुनको सोझो त गर्नै पर्छ हामीले,
फर्जी मत हाल्नु पर्छ भनेर,
सिट धेरै ल्याउनु पर्छ भनेर,
उनले त्यसै सिकाएका छैनन्
जिते पछि त मजा अर्कै छ उपेन्दर भैया !
दंगा भड्काउन सिपालु मानिने,
मोतिहारीको पप्पु पनि हाम्रै मान्छे हो ।
उसलाई बोलाए पछि गाउँमा,
बस लुट्न सजिलो हुन्छ ।
मान्छे भुट्न सजिलो हुन्छ ।
यता रोष्टम घेरेर गलाउनु पर्छ ।
उता हड्ताल चलाएर जलाउनु पर्छ ।
पहिला भन्दा प्रदेश मात्र भन्नु पर्छ ।
अनि विस्तारै राज्य नै छिन्नु पर्छ ।
र अन्यमा उतै मिल्नु पर्छ ।
हाम्रो गाउँको बाटो भएर,
हिड्न दिनै हुन्न पहाडियालाई ।
त्यो डोल्पा र जुम्लामा भुखमरी लाग्छ त के हुन्छ ?
त्यो कालिकोट र जाजरकोटमा महामारी फैलिन्छ त के हुन्छ ?
पहाडका सवै गाउँमा पैरो जान्छ त के हुन्छ ?
मर्यो भने त्यै पहडिया मर्छ ।
हाम्रो प्रदेशलाई फाइदै हुन्छ ।
कमसेकम भोट सँख्या त कम हुन्छ ।
लुम्विनी पनि हाम्रो भन्छ पहाडिया
लुम्विनी त हाम्रो प्रदेशकै हुन्छ नि !
बुद्घ कसरी नेपालको हुन्छ ?
साला पहाडिया के भन्छ ??

Sarita Tiwari – Nirashrit Kopila Haru

सरिता तिवारी – निराश्रित कोपिलाहरु

आँशुसंगै निदाउनु
आँशुसंगै ब्युँझनु
सङ निर्बोध आँखाभरी
आँशु सक्रिय छ

आँशु र पीडालाई नै स्वजन स्वीकार्दै
निर्विकार आँखाहरु दु:ख रोइरहेछन

कृत्रिम गमलाका फुलहरु
कोठाभरी, बैठकभरी
बार्दलिभरि सजाइएका छन्
कोठाबाहिर
खण्डहरु भू-क्षेत्रमा
निराश्रित कोपिलाहरु
असिना र आँधी खेप्दै छन्

महाशय !
हाम्रै बस्तीमा
हाम्रै शहरमा
कोपिलाहरुमाथी गोलाबारी गरिएको छ
डढेर छट्पटाउदै
आँशुसंगै अन्त्य हुन मन्जुर
कोपिलाहरुको दर्दनाक व्यथा
भो नसुनिदिनुस
मसानहरुको हूलले
जिउदै डढाईराखेको भो नहेरिदिनुस

मानवता हेरिरहोस टुलुटुलु
युग

सभ्यताको अट्टालिकाबाट चियाईरहोस
चिथोरेर
चोक्टा चोक्टा झिकेर
फुल्नुअगावै
कोपिलाहरुलाई
चपाई-चपाई निलिएको
भैगो नहेरिदिनुस
यहाँहरु त शिस्ट र शभ्य मान्छे
सुकिला मान्छे

२०५४ साउन

Abir Khaling – Budhesh Kaal

अबिर खालिङ्ग – बूडेशकाल

वैदिकताका भारले
अभिशप्त मेरा वाणीहरु
नातिको क्रिकेट क्रेजमा हराउँछ
र् उदाउँछ उदासीको जून
मेरो विचारको आकाशमा ।
स्खलित उद्देश्यले
आत्माहत्या गरिरहन्छ
बिहानको घाममा कि न्युजपेपरमा ।

अस्पस्टताको चस्माले
हेरिरहन्छ द्रिश्य
रुग्नताको कोट ओडेर शरीर
उगिँबस्छ झ्यालमा ।
जिन्दगीको ढोकाभरी
झरेका छन उमेरका पातहरु ।
टेक्दैहिँडेको एउटा नस्टालजिक
यात्राको हेङओभर ।

कति पाइलाहरु पानीमा बगे
कति बगरमा खसे
गन्दैछु खुट्टाको नङ्हरुमा ।

Chhabiraman Silwal – Tito Yathartha

छविरमण सिलवाल – तितो यथार्थ

मुहारमा हिलो पोतेर
हिलो–हिलो
पानी–पानीसँग
सम्झौता गर्न
शालीन दस्तावेजहरू
गरिबी लुकाएर
हाँस्छन्
पीडा लुकाएर
बाँच्छन्
आफूहरूका नाममा
गरिने राजनीतिले
कोल्टो फेरेको पत्तो छैन उनीहरूलाई
एउटा युग यसरी
बितिरहेछ ।
***
महलमा त्यही चामल पाक्छ
हातमा ठेला उठाइएकाहरू
युगौं–युगसम्म पिल्सिन्छन्,
भोकै–नाङ्गै
जीवन गुजारिरहेछन्
कालचक्रभन्दा माथि कोही छैन
कलियुगीन मान्छेहरू
रङ्ग फेर्दै रौनक देखाउँछन्
र,
एकदिन,
आफँैले आफ्नो
मुहारमा कालो पोत्छन्,
मुहारमा हिलो पोत्नेहरूको
हिलो पखालिन्छ,
र,
सत्यता फैलाउँछन् ।
अनि एकदिन
मुहारमा कालो पोत्नेहरू,
इतिहासमा नै कालो पोतेर
बिलाउँछन् ।

Pratima KC – Ek Swas Rahechha Jindagi (Nepali Gajal)

प्रतिमा के.सी. – एक स्वास रहेछ जिन्दगी (गजल)

भगवानको बास रहेछ जिन्दगी
आखीर एक श्वास रहेछ जिन्दगी

जन्म मरणको चक्कर त छदैछ
दुख सुखको दास रहेछ जिन्दगी

आँसु र खुसी कहाँ पर्छ थाहा छैन
खालमा फिट्ने तास रहेछ जिन्दगी

संसारका सबै सुख हारेर पनि
बाँकी त्यो एकै आस रहेछ जिन्दगी

यात्री हो मानिस अनिश्चित यात्राको
खासमा बस पास रहेछ जिन्दगी

१३ सेप्टेम्बर २०१२
बेलायत

Rabindra Nath Thakur – Rajasi Poshak [From Geetanjali]

राजसी पोशाक
राजसी रवाफ–ढाँचाका परिधान र हरिा–मोतीका हार लगाएर,
केटाकेटीका क्रीडा विनोदलाई आनन्द गर्न किन दिएनौ ?
वस्त्र र अलंकारहरुका दायित्वले तिनीहरुलई खेल्न दिंदैन ।
हाम्रो वस्त्र–भूषण जन– सम्पर्कमा नफटोस्, घूलो–पीठो नहोओस्,
यही डरले तिनीहरु आङ्खना साथीहरुदेखि टाढा बस्छन् ,

राजसी रवाफ–ढाँचाका लुगाहरु लगाइदिएर जुन किशोरलाई
सुसज्जित पार्छौ, अनि मोती–हारका मालाहरुले शोभित गर्छौ,
तिनीहरुलाई राम्ररी निहालेर हेर्दा अनेक प्रकारका डरले छोप्छन् ।

मुमा ! किशोरलाई राजा झैँ सुसज्जित पारेर अथवा हार लगाइदिएर
के हुन्छ ?
ढोका खोलिदेऊ, किशोरहरुलाई बाहिर गएर, बाटाका धूल–वर्षा,
धूलिमा विश्राम गर्न देऊ –
तिनीहरुलाई मानिसहरुसँग मिलेर नाना प्रकारका खेल खेल्न देऊ !
चारै दिशाबाट शतशः मधुर स.गीत स्वरका आवाज गुञ्जिरहेछ,
आइरहेछ : ती स्वरमा स्वर मिलाएर किशोरहरुलाई गाउन देऊ !

Jagat Nabodit – Sumnima

जगत नवोदित – सुम्निमा

सुम्निमा!
यहाँ आईपुगेर
तिमीलाई सम्झिए
भुल्न त कहिले नै पो सकेको थिए र?
तर
यो ठाउँमा आईपुगेपछि
तिमीलाई खुब सम्झिएँ

तिम्रो मायालु मुटु
कतै नदुखाई
कतै नसच्चाइ
तिम्रै मुटु जस्तो
एउटा गीत लेख्ने रहर पलाएर आएको छ
कि
दुनियाँको गलामा गुन्जियोस त्यो गीत

तिम्रो सफा मन
कतै नभाँची
कतै नसाटी
दुरुस्तै
कवितामा छिप्न जागर लागेको छ
कि
दुनियाँको भावनामा पग्लियोस त्यो कविता

हो,सुम्निमा!
तिम्रो आँखा सजिएको अनुहार
यो आकाशभरिको तारामा खोजिरहेछु
तिम्रो बिचार मिसिएको मस्तिष्क
यो धर्तिको माटोभरी सोधिरहेछु
पाईला पाईला
तिमीले छोड्दै हिंडेको त्यो-‘जननी डोब’
सवलाई एक्साथ मिलाएर
तिम्रो तस्बिर कोर्ने अन्तिम इच्छा छ
कि दुनियाँको आँखाले
तिमीलाई हेर्न पाउन
हेरुन
र हेरिरहुन….

Pratima KC – Yo Shahar Ma

प्रतिमा के.सी.- यो शहरमा

यस्तै यस्तै अनौठो हुन्छ यो शहरमा
ढुंगा पनि पग्लिइ रुन्छ यो शहरमा

गगनचुम्बी महलले एकै रातमा
खाली खाली आकाश छुन्छ यो शहरमा

नियम कानून माथि नै बन्धकी छन
असहायले ब्यथा उन्छ यो शहरमा

रगत आँशु र इमानको पसिनाले
फगत बेइमान धुन्छ यो शहरमा

कसैले हिरामोती सजाउछ गलामा
कोही टालोमा टालो तुन्छ यो शहरमा

मान्छेको भाउ घटेर त होला मान्छेले
चर्को भाउको सुन चुन्छ यो शहरमा

बेचिए राम कृष्ण खालि छ यो मन्दिर
हृदयको कुरा को सुन्छ यो शहरमा

सत्य साँचो मानबता लिलाम भयो कि
साधक षड्यन्त्र बुन्छ यो शहरमा

२७ डिसेम्बर २०११
रेडिंग, बेलायत

Hangyug Agyat – Yo Sahar

हांगयुग अज्ञात – यो सहर

यो सहर आफू मात्रै रमाई बाँचेको
धेरैधेरै गाँऊहरू रूवाई हाँसेको

बाटुलीले भुल्न थाली पँधेरीको जून
कस्ले सक्छ उस्ले जस्तो मनको पीर छुन
रानीवनको रानीचरी पिजँडामा आयो
सपनाले Continue reading “Hangyug Agyat – Yo Sahar”

Komal Bhatta – Sansar Ma Sabai Bhanda (Gajal)

कोमल भट्ट – संसारमा सबै भन्दा

संसारमा सबै भन्दा,देश आफ्नै प्यारो
मीठो लाग्ने भाषा अनि,भेष आफ्नै प्यारो

लगाएनी बिदेशका,चिल्ला चिप्ला लुगा
चोखा हातले बनाएको,खेस आफ्नै प्यारो

रङ्गाएर खैरा,सेता, राता, नीला भन्दा
प्रकृतिले देको कालो,केश आफ्नै प्यारो

डाँडा काँडा उकाली र ओरालीमा झर्दा
सधैँ भरी लागे पनि,ठेस आफ्नै प्यारो

परचक्री रीति रिवाज प्रक्रियालाई देख्दा
जहाँ सुकै पुगे पनि पेश आफ्नै प्यारो

पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Sabina Sindhu – Cup Ma Ubhiyeko Asthipanjar

सबिना सिन्धु – कपमा ऊभिएको अस्थिपन्जर

साँच्चै किताब पढ्दै थियौ नि !
कति अध्याय पढ्यौ र जाँच्यौ आफ्नै हालत ?
शुन्य – शुन्यमा निर्वाह गर् यौ शब्दको प्रहार
र चपाउँदै चेतनाहिन एकाग्रता चर्कियौ समयको छातीमा ।

बत्ति निभेको एक साँझ
धमिला मैनबत्तिमा पोख्न खोज्यौ एउटा श्रङ्खला
र जम्दै गएको धुजाधुजा शब्दलाई सोहोर्दै
सिरानमा राख्यौ मैन भन्दा धेरै पर
मेरो तस्विरमा पोखिएका रङ्गलाई ।

भिन्दा- भिन्दै थिए प्रत्येक उतारचढावका किस्ताहरु ।

तैपनि फेर् र्यौ आत्मियताको श्वास तर जित्न सकेनौं मलाई
र गन्तब्य हराएर निस्सासियौ मेरो पच्छ्यौरीको किनारमा ।
अन्ततः च्यातियौ धुजाधुजा भएर ।

वा भनौं
घिसियौ नियतिका डोबहरुमा पहिरोका छिटाहरुसँगै

……अनि गहभरी भिजायौ हगी
एक ढिक्का सम्वेदनसिलतालाई उही रैथाने आँसुमा ।

ठिक
त्यसैबेला
मेरो नजिकै डुब्यौ तिमी
मेरो…………कफिको………… कपमा
एक ढिक्का संझना भएर ।

‘उभियो’ कफिको झोलमा
………तिमी होइन तिम्रो अस्थिपाजर ।

सोचेँ यतिखेर तिमी किताब पढ्दै हौला ।

काठमाडौं

B J Bantawa Rai – Bisthapit Sapana Ra Kalpana

बि. जे. बान्तवा राई – बिस्थापित सपना र कल्पना….!

मेरो कल्पना र मेरो सपना केवल कल्पना र सपनामा सिमित रह्यो,
कल्पना र सपनामा मुर्छित मन, त्यहिं मुर्छनामा छाती पिटी रोई रह्यो।
हरेक कल्पना र सपनामा बिषमताको खडेरी अभाव बनि बर्सी रह्यो,
म अन्योलतामा रुमल्लिएको यात्री झैं बिवशता सम्हाली रहें।
मैले देखेको खुशीको काल्पनिक संसार चेरापुञ्जी झैं रुझी रह्यो, रुझी रह्यो।
क्षण-क्षणमा टुक्रा टुक्रा बनाउने अभावको चट्ट्याङ परि रह्यो,
आफुभित्र समेटिएका कोलाहल मन भुखमरीले यत्रतत्र छटपटि रह्यो,
न मेरो सपना, कल्पना र चाहनाले सागर छुएको नदी बन्न सक्यो
न मेरो सपना र कल्पनाले कसैको हृदयलाई आत्मबल नै प्रदान गर्‍यो।
म केवल खुट्टा बिहिन अपाङ्ग झै, बैसाखीको खोजीमा भौतारी रहें
न कतै ति बैसाखी रुपी छालहरु म सम्म आईपुग्न सकें।
म बग्दा बग्दै, बालुवा बिचैमा हराएको त्यो खोला खहरे बन्न पुगें
न मैले गन्तब्य पैलाउन सकें, न म हुनुको अर्थ दिन सकें
म त केवल त्यो हरियालीको सुख पाउन खोज्दा खङ्ग-रङ्ग सुकेको रुख भएछु।
सपना र कल्पनाको पछि दौंडिदा दौडिंदै हार्न पुगेको एउटा धावक भएछु।

 

Sitaram Acharya ‘Sagar’ – Kina Dinchhyou Pida [Nepali Gajal]

सिताराम आचार्य ‘सागर’ – किन दिन्छ्यौ पीडा

हुन्न भनी टार बरु किन दिन्छ्यौ पीडा
चट्टै चुँडी मार बरु किन दिन्छ्यौ पीडा

धेरै जित्यौ होला तिम्ले पिरतीका खेलहरू
मै लिनेछु हार बरु किन दिन्छ्यौ पीडा

दुख, पीडा सहुँला म रोएरै भए पनि
हर्षका आँसु झार बरु किन दिन्छ्यौ पीडा

रमाऊ तिमी आफ्नै खुशियाली रमझममा
‘सागर’ एक्लो पार बरु किन दिन्छ्यौ पीडा

Dinesh Chapagain – Dashain 2068 : Paanch Haiku Haru

दिनेश चापागाईं – दसैँ २०६८: पाँच हाइकुहरू

भिड बजार
लुगा जुत्ता किन्ने कि?
प्वाल खल्तीमा ।१।

स्वच्छ आकाश
चङ्गा चैट गर्ने कि?
झर्यो भुईँमा ।२।

रित्तो सडक
तास जुवा खेल्ने कि?
फुली स्वास्नीको ।३।

हरियो बाँस
पिङ मच्चाउने कि?
अस्पतालैमा ।४।

रसिलो घाम
जिब्रो फट्कार्ने कि?
बोकाको आँसु ।५।

Komal Shrestha Malla – Dekhchhu (Muktak)

कोमल श्रेष्ठ मल्ल – देख्छु (नेपाली मुक्तक)

तिमी भन्छौ
म सुन्छु
पीडा सोध्छौ
आँशु बहेकै छु
होला
उस्तै उस्तै अधर
तर मुस्कान
फरक फरक देख्छु ?

Durga Prasad Pokhrel – Anautho Kalakar

दुर्गाप्रसाद पोख्रेल – अनौठो कलाकार

कतै स्वप्न जस्तो कतै याद जस्तो
कतै तिर्सनाको उही म्याद जस्तो
कतै आज जस्तो कतै भोलिपर्सी
अहो! कोर्छ त्यो चित्त-संसार-फर्सी ।

कतै साधु ध्यानी कतै चोर सन्की
कुनै Continue reading “Durga Prasad Pokhrel – Anautho Kalakar”

Tanka Subba – Bipatti Ma Pareka Chhan Chara Haru

टंक सुब्बा – विपत्तिमा परेका छन् चराहरु

फूलहरु
टिपिएकाछन् विषालु हातहरुले
र कुल्चिएका छन् भूइभरि थुङ्गाहरु
चैत्र वैशाखको विकराल मौसम जस्तै
पिउदैछन् फसादी करेसावारीहरु
तसर्थ
बिताइरहेछन् संक्रामक क्षण
दिनहरु अनायस
फूलसंग रमाउने चराहरु
हिंसामा अनुवाद भएपछि
अनिदो भोग्दैछन्
आफ्नै वासस्थानमा चराहरु
व्यथित छन्
समयको प्रदूषित आचरणले
किनभने रुखहरु विरुप भएर
हरियालीबाट बिछोडिएका छन् वनपाखाहरु
उजाडिएका छन् परिवेशमा
संगिनीहरुको भाका संगीतमा नउनिए पछि
दुख्दा रहेछन् छातीहरु
त्यसैले क्षणहरु सन्त्रासमय बनेका छन्
किनकी शिकारीहरु
बन्दूक भिरेर वन पसेपछि
विपत्तिमा परेका छन् चराहरु

Hemanta Pardeshi – Nostalgia Ka Anshu Haru

हेमन्त परदेशी – नोष्टाल्जियाका आँशुहरु

खजुरको बोटको फेदमा बसेर
आँखाले भ्याएसम्मका
बन्जर रेगिस्तानका
अपरिमित दृश्यहरु नियालिरहेको
बिचरा दिलबहादुर !

सधैँ झैँ यसपल्टको दशैँमा पनि
घर जान सकेन ।
ठ्याक्कै तीनसाल भो
घर / परिवार छाडेर
मुग्लान भासिएको ऊ
अनि , त्यति नै भो
यो सुख्खा मरुस्थललाई
उर्बरभूमिमा रुपान्तरण गर्न
नुनिला पसिनाका बुँदहरु
बगाउँन थालेको उसले ।
हो,
रहर पटक्कै थिएन उसलाई
आफू जन्मेर हुर्केको गाउँ-घरलाई
चटक्कै मायाँ मारेर
सात समुन्द्रपारिको बिरानो देशमा
खेतालो / गोठालो बन्ने
तर ,
सक्दै सकेन हेर्न उसले
बाबाको शीरको फाटेको टोपी
आमाको आङ्को टालेको चोली
अनि ,
अग्नीलाई सातफेरा मारेर
भर्खरै घर भित्र्याएको
श्रीमतिको मुहारबाट
अनायसै अस्ताएको पूर्णिमाको जून ।

धेरै सोच्यो, धेरै सम्झ्यो
अनि, सोध्यो आफ्नै मनसित
र, एकदिन
समयसुनामीको छालसँगै
दिशाहीन गन्तब्यको पोको बोकेर
बाटो लाग्यो ऊ
भक्कानो फुटेको मुटुलाई
धैर्यताको तुरुङ्गमा हालेर
लुखुर लुखुर सहरतिर ।

अनपढ थिएन
त्यति अन्जान पनि थिएन ऊ
तीरमा बगाएर शीरमा खोज्ने
चलायमान यो दुनियाँदेखि
तर,
अल्मलियो बिचरा !

कथित आधुनिक सहरको
दुर्भेद्य एवं दुर्बोध्य भीडहरुमा
यता गयो उता हरायो
उता गयो यता अल्मलियो
जापान, कोरिया, अष्ट्रेलिया
सिङ्गापुर , मलेसिया, अमेरिका
इराक अनि अफगानिस्तान
कहाँ कहाँ पुगेन र ऊ ?
दलालका नक्कली कुराहरुमा l
तर पनि,
हिम्मत हारेन उसले
अर्थात, बाध्यता र विवशता
उसको हिम्मतको रक्षा कवच बनेर
ठिङ्ग उभियो ऊ सामु l
चुहिएको घरको छानो
नछाइ हुँदै भा’थिएन
धमिराले भित्रैसम्म खाएर मकिएका
घरका खाँबा र बलोहरु पनि
नफेरि पटक्कै धर थिएन
त्यसैले,
दासता र पराधिनता नै सहि
सुदुर भविष्यको सुन्दर परिकल्पनामा
झोलाभरि निला सपनाका
कलमी बोटहरु बोकेर
बालुवाको देशतिर उड्यो ऊ
हवाईजहाजमा सररर ।

हो,
आतुर थियो ऊ
आफ्नै पसिनाको जलले
मरुस्थलको बन्जरभूमिलाई
हराभरा बगैँचामा रुपान्तरण गर्न
र ,
सपनाका निला फूलहरु फूलाउँन
त्यसैले ,
दिन-रात भनेन कहिल्यै
आँधी , हुरी र खप्नै नसक्ने
चर्को घाम पनि भनेन उसले ।
तर बिडम्बना !
पिँध छेडिएको भाँडो
चुहिएको चुहियै
न कहिल्यै भरियो
न त केही अडियो नै
बरु उल्टै,
अर्थशास्त्रको नियम र परिभाषा भन्दा
बिल्कूल फरक सिद्धान्तमा प्रतिपादित
माग, आपूर्ति, बितरण र उपभोग-को
क्रय, बिक्रय र मोलतोलको जालसाँजीमा
आफैले आफैलाई बेचेको
आफ्नै मूल्यको शोधभर्ना गर्न समेत
हम्मे हम्मे परिरहेकोछ उसलाई ।

दशैँ आयो !
दशैँ आयो !
सबैको मुखबाट सुनिरहेकोछ ऊ
र ,
सुनिरहेकोछ
बा-आमा र मान्यजनहरुको हातबाट
टीका, जमरा र आशिर्बाद थाप्न
अनि,
आ-आफ्ना जीवनसङ्गिनी
र,
बालबच्चाहरुलाई
पोहोर साल दिएको
“अर्को सालको दशैँमा भेटौँला”-को
आश्वासन पूरा गर्न
परदेशीहरुको
घरदेश फर्किने कुरा ।

तर ,
विवश छ ऊ
आफ्ना सारा चाहनाहरुको
दाहसंस्कार गरेर
परदेशको साँघुरो घेराभित्र खुम्चिन
अनि, विवश छ
मुटुमा भक्कानो फुटाएर
घरदेशको हार्दिक सम्झनामा
खजुरको बोटको फेदमा बसेर
आँखाले भ्याएसम्मका
बन्जर रेगिस्तानका
अपरिमित दृश्यहरु नियाल्दै
दुई आँखाका डीलबाट
नोष्टाल्जियाका आँशुहरु तप्प तप्प खसाल्न ।

Bikram Kangbha – Shalik

विक्रम काङभा – शालिक

भो अब, तिमी ढल्नु पर्छ ।
खियाले जिर्ण तिम्रा स्तम्भहरु
तिम्रो धरोहर थाम्न काबिल छैनन ।

मान्छेहरु
जो माथि टेकिएर
तिमी ठडिएका छौ
तर जसको रक्षा गर्न
तिम्रा डुडां हातहरु सक्षम छैन्न ।
त्यसैले, शालिक ।
तिमी अब ढल्नु पर्छ ।

तिम्रा आखांहरु
जो रोशनी गुमाएर अन्धो छन् ।
त्यसैले तिमी अब तिम्रो दृष्टि भ्रममा नपर,

तिम्रा चेतनाहरु
जो जडतामा विवेक शुन्य छन् ।
तिम्रो सिङ्गो शरिर
छिया छिया भएर
प्राण बिहिन छ र मात्र तिमी
ठिङ्ग उभिएका छौ ।

अब, कुनै पनि बहानामा
शालिक, तिमी ठडिन हुन्न ।

इतिहासमा,
धेरै शक्तीशाली शालिकहरु ढलिसके
राजा- महाराजाका, बादशाहका, तानाशाहका ।
त्यसैले, शालिक ! तिमी अब ढल्नु पर्छ ।

न इतिहासले तिमीलाई टेका लगाऊन सक्छ
ना बलि चढाएर तिम्रो आयु लम्बिन सक्छ ।
किनकी, मन्दिरहरुमा अब तिम्रा
भग्वानहरु छैनन ।
त्यसैले-
भो शालिक, अब तिमी ढल्नु पर्छ ।

किनकी, मान्छे अब
आफ्नै बलि दिएर
तिम्रो शालिक ठड्याउन मन्जुर छैनन ।

र अब, तिम्रो ठाउँमा
अर्कै एउटा नयां शालिक
ठड्याउनु छ ।