लिखत पाण्डे – आगाका फिलिंगाहरु
तुषारोले पुरेको चुलामा
आगो सल्काउँदा
उत्साहले रक्तिन्छन्
नौलो ओठहरु,
अँध्यारोले पोतेको संघारमा
राँको उदाउँदा
डरले तर्सिन्छन्
काला रातहरु ।
कति प्रिय हुन्छ आगो
ठिहिराएका औँलाहरुलाई
कति प्यारो हुन्छ उज्यालो
बादल परेका नयनहरुलाई।
करविरको ओत मुनिबाट
मान्छेको हाड चाट्नेले
आगाका फिलिंगाहरु उठाएर
चिसो हिउँमाथि थुपार्ने गरे,
कहिले सुखानीको जङ्गलमा लगेर
तिनले आगाका फिलिंगाहरुको
छात्ती चर–चरी चिरे,
कहिले भिमानको झारीमा पु¥याएर
आगाका फिलिंगाहरुको घाँटी निचोरे,
छिन्ताङ र पिस्करमा लोहोराले पिसिए
आगाका झरिला जोवनहरु ।
वीर प्रसुता धर्तीको कोखमा
शहीदका रगतले गर्भाधान गरेपछि
करविरका दूदूहरुले निभाउँदैमा
किन ओइलिन्थे र आगाका फिलिंगाहरु
इतिहासको अजायव घरमा थन्किएको
पुरातात्विक जिवाष्म
अर्थात् फाटेका लुगाहरुको
एउटा भुल्लो अवशेष
डढेर खरानी नबनुञ्जेल
आगो दन्किएर बलिरहन्छ
यस ठाउँमा ।
हो अहिले आगो जन्माउने हातहरु
हत्कडीमा सजिएका छन्
आगो हिँडाउने गोडाहरु अहिले
नेलकडीमा बाँधिएका छन्
उज्यालो चाहने सारा आँखाहरु पनि
अहिले त्रासको धारिलो सङ्गिनभित्र
उनिएका छन्
मेरो आँगन हिरोसिमा र नागासाकी
बनेर रहिरहन सक्तैन यतिखेर
नवजात ओठहरु हिउँमाथिबाट नै
ज्वालामुखी जन्माउन
कालो झण्डाको जुलुश हिँडाइरहेछन्
उज्यालोको निम्ति झुप्राहरु
बिस्तारै आप्mनो ठाउँबाट
आगो सल्काउने प्रयास गरिरहेछन् ।
हातमा झुलो चकमक र दर्शन ढुङ्गा लिएर
म सडक र गल्लीहरुमा उत्रिएको छु
शस्त्रास्त्रसहित सुसज्जित हुनु पर्ने बेला छ यो
आगोको निम्ति पहिले बाजा उठाउनेहरुले
अहिले आप्mनो सारङ्गीहरुमा
फलामे तार फेरेर खिया पार्नु हुँदैन
आप्mनी जननीको मुहारमा
पूर्वी अरुणिमा झुल्काउन
आकाशको अगेनामा सबै मिलेर
सगर उठाउनु पर्छ
पर्खिएका छन् नजरहरु गोरेटा गोरेटामा
नजरभरि रगतले रचेको दिन भर्न
एक मुरी शाहस बटुलेर
हिमाली आँगनबाट
एकै चोटी आगोका फिलिंगाहरु उठ्दै
ज्वालामुखीको शीखा उठाउनुपर्छ।