Krishna Dev Rimal – Aaran

कृष्णदेव रिमाल – आरन

हो आमा !
अब म चाँडो फर्कन्न
अचेल मैले टुँडीखेलमा
एउटा आरन थापेको छु
यहाँका थुप्रै बोधाहरुलाई
अर्जाप्न थालेको छु ।

पहेंला पत्रकारहरु
काला पसलेहरु
समय चोर अगुवाहरु
थुप्रै देखिरहेछु म
अर्जाप्न बाँकी मेरा
अनुमानका सूचीहरुमा ।
क्रान्तिले नफोरेका गाँठाहरु
मतको इज्जत लुट्ने स्वाँठहरु
रक्षकभेषी भक्षकहरु
यी सबका सबलाई
मैले नै अर्जाप्ने हो आमा
अब म चाँडो फर्कन्न ।
सासलाई बेस्करी सरापेर
लाशको प्रार्थना गर्नेहरु
यी सारा बोधा मष्तिष्कहरु
पक्तिबद्घ देख्छु यही वरिपरि
धेरै अर्जाप्नु छ आमा
अब म चाँडो फर्कन्न ।

गरीवीका बाध्यतालाई
दुखीका आँसुलाई
अन्यायका चोटहरुलाई
सर्पझैंं चिप्ला हातहरुले
सुम्सुम्याएर
बोधोपन बिस्कुन्याउने
यहाँ यथेष्ट छन्
यी अविवेकीहरु अझै
अर्जाप्न बाँकी छ आमा
अब म चाँडो फर्कन्न ।

चोइट्याएर मातृचेतहरु
चपाएर भातृचेतहरु
तपाईको मुटुमै हात हुल्ने
हुँडारहरु अझै
अर्जाप्न बाँकी छ आमा
अब म चाँडो फर्कन्न ।

चरित्रका सगरमाथाबाट
हर्दम हिउँ पगाल्नेहरु
स्वार्थतिर शिखरिनेहरु
फूललाई धूलो ठान्नेहरु
नेपाली निश्छलताको
व्यापार गर्नेहरु
देखिइसके टुँडीखेलतिर
अझै अर्जाप्न बाँकी
कति कति आमा
अब म चाँडो फर्कन्न ।

Krishna Dev Rimal – Mech Nach

कृष्णदेव रिमाल – मेच नाच

वेपर्वाह नाच
नाच्दैछन् मेचहरु
संसारकै मन तान्ने
मनमोजी नाच
वाह ! क्या रङ्गीन
यो भुईँफुट्टे नाच ।
घरी पाङ्ग्रा गुडाउँदै
कैल्हे ज्यान मर्काउँदै
छारो छर्केर आँखाहरुमा
भुलाएर दुनियाँलाई
वाह ! क्या शानले
नाच्छ यो मेच ।

पाङ्ग्रा खुस्किए पनि
खुट्टा भाच्चिएर पनि
ज्यूँका त्यूँ तन्मयता
मादकता थै थै मा
मचकता पादहरुमा
वाह क्या गजवको
कर्कान छ मेचको ।

हल्लाउँदै हर भट्टीहरु
कल्लीका छमछमीले
टक्क रोकिएला कि
ब्रम्हाण्डै भने झैँ
वाह ! क्या वेहोस छ
असरल्ल नाच यो ।

मर्काउँदै कम्मर अनि
झिम्काउँदै आँखा पनि
त्यै पारीको लुठासँग
नाचिरा’छ हाम्रो मेच
वाह ! क्या लहसिँदै
नेपथ्यको निर्देशनमा
उफ्रीरेछ हाम्रो मेच ।

जामाको फहरानमा
पगरीको फुस्कानमा
यो मोजको मेच नाच
समिपकाले सनेत्र हेरे
दूरकाले दुर्विनले हेरे
कतै हजुर चैँ
छुट्नु भो कि भन्ने
यो ज्यानलाई
यत्ति एउटा खुट्को रह्यो ।