श्याम लम्साल – लासैलासहरू
(मधुपर्क जेठ, २०६८)
मलामीहरू लास बोक्न विवश नै थिए
लासैलासका चाङहरू देखेर
कसैले सोध्यो
‘यो कसको लास हो ?’
मानवीय समवेदना र संस्कृतिको
मानवीय मूल्य र मान्यताको
अबोध शिशुहरू जस्तो रोइरहेको
नेपाल आमाका उनका सन्ततिहरूको
मलामीहरू लास बोकिरहेका नै थिए
फेरि कसैले सोध्यो
यो कसको लास हो ?
‘तिम्रो आफ्नै अस्तित्वको
आफ्नै जीवनको
तिम्रो हाम्रो नाममा जन्मने भावी पिंढीहरूको
हामी सबै मानव जातिको’
लासैलासको थुप्रोभित्र आफ्नो मृत्युलाई हामी आफैँले देख्ने भए
सृष्टि कति सुन्दर, कुशल हुन्थ्यो होला ?
सृष्टि सुन्दर मात्र भएर
मृत्यु नजिक नभैदिएको भए
संसार कस्तो हुन्थ्यो होला ?
तर हामी सबैले बुझ्नै पर्ने हुन्छ कि
सृष्टिका प्रत्येक पाइलाहरू
मृत्युको घुम्टोभित्र लपेटिएकै हुन्छन्
मलामीका लास बोकाइसँगै, हामी आफँै लास हुन्छौं ।
दमक, झापा