Manoj Bogati – Ghau Ka Rang Haru

… अझसम्म पनि
सिञ्चेलले
आफ्नो अनुहारको रङ देख्न सकेको छैन।
त्यहॉं टल्किएको छ
कान्तिहीन घामको पुरुषत्व।
तरूणी चियाका पातहरूका
फैलिएका अङ्गालो देखेर पनि
उत्तेजित हुन नसकेका
घामका जुङ्घाका रेखीहरू जस्ता लाग्ने युवा किरणहरू
निभ्दै गइरहेछन्‌।
आँगनमा गजधम्म बसेको छ
खड़ेरी।
*
•युवाहरूको माथ्लो ओंठमा
जुङ्घाका जस्ता किरणहरू प्रष्ट छन्‌
जसले बोकेका छन्‌
बलजफ्ती
गह्रौं स्वाभिमानको नरकंकाल ।
रातो माटोमा चिप्लिने खेल्दा-खेल्दै
हुर्किएका ती युद्धहरू।
प्रत्येक युद्धको अनुहार माटोसित मिल्छ।

माटोले जो लुकाएको छ
युद्धहरूका उज्याला ती सपनाहरू
छातीमा।

खेत जोत्दा-जोत्दै ढलेका
ती पसीनाहरूको सम्झनामा
हल्लिबस्ने लुङदरको टुप्पोमा
बस्न सजिलो छ गिद्धलाई।

खड़ेरीको मौसममा
सपनाहरू
गर्भपात गर्दै बस्छन्‌।

माटोको आँखालाई
रतन्धो सङ्गीत सुनाउँदै बस्छ
समय।

•अझसम्म पनि
झरेका ती टोपीहरूको सम्झना लुकाएर बॉंचेको
देउरालीमा
ब्वॉंसोहरू आउँछन्‌
नन्दीग्रामको निम्ति कुन्नी के-के लेख्छन्‌
दार्जीलिङतिर फर्किएर।

त्यहींबाट शब्दहरू
आफु लुटिएको वैराग गाउँछन्‌।

त्यो गीतलाई विद्रोह हुरीले आङमा बोकेर
गाउँ पुर्‍याउँछ।

सबैले नै सुन्छन्‌
मृत्युवाचकले सुनाएको
आफ्नै अनुहारको समाचार।

छाम्दै बस्छन्‌ गाउँहरू
सिमाना लुटिएको अनुहारको डील डॉंड़ा।

औंलाहरूले छाम्छन्‌
भॉंच्चिएका घाउका टुक्राहरू
जो
अक्षरहरूका पाप्रा भएर छन्‌ निधारमा।
कस्तो कहाली उठेको छ
गाउँहरूको गाउँमा
अँट्‌दैन त्यो
देशको चश्मामा।
*
•नयॉं जिल्दमा आएको छ अहिले
छातीहरूको संस्करण
जसको पृष्ठैपिच्छे
कालो अनुहार पारेर बोल्नै नसक्ने गरी बसेका छन्
‌लुते शब्दहरू।
आफ्नै अनुहार थेग्न नसकेको पीड़ा गाउँदै
सर्कस देखाउन सधाइएको हात्ती जस्तो
कुन्नि कुन इमान्दारिता देखाइबस्छन्‌ शब्दहरू।

अझसम्म
के के भन्न नपाएको
गाउन नपाएको
के के खोल्न नपाएको
मादलको धिङताङ थुनिएको छ
छात्तीमा।

कस्सैले देख्दैन त्यो(?)।

शब्दहरूका ती काला अनुहार पछिल्तिर लुकेको अँध्यारो विम्ब
अझसम्म झरेको छैन
भूँइमा।
अहो!किन फर्केनन ‌ एकसाथ
क्राइष्टलाई अङ्गालो मार्दै हाम्रो कृष्ण?
*
•कृष्ण जस्तै काला रातहरू जो
कालै काफन ओढ़ेर छन्‌
अन्धकारबाट आफुलाई बचाउन।
सन्त्रासित छन्‌
असुरक्षाको साइरन बजिरहने
झॉंक्रीहरूको देशमा
हाम्रा उज्यालाहरू।

कुनै जोखाना टिप्न नसकेको बाध्यता
बल्झिबस्छ जहिलेसुकै
चुहुने छानुमुनि बॉंच्दै आएका
बोनबोहरूको गाउँमा।

उज्यालो जति चुहिसकेको कागज जस्तो सेतो
उभिन्छ
कञ्चनजङ्घा
समयको साक्षी दिन।

किन टिप्न सकेनन्‌ त्यसलाई क्यामेरामा
कालो गगल्स टाउकोमा झुण्डाएर आएका
आफ्नै राज्यका टुरिष्टहरूले?
*
•आतंगवादी अन्धकारहरूबाट लुकाएर अचेल
घाम जस्ता सयपत्रीहरूले
पर्चा बॉंड्न थालेका छन्‌
गाउँमा।
(घाम लाग्छ अब ?)

के के लेखेका होलान्‌
घाउहरूले
जब दुख्नै छोड़ेपछि।
रगतले लेखेको देश
मुट्ठीमा बोकेर
बॉंच्दै आएका ती कोपिलाहरूले
जब हॉंस्नै पाउँदैन।

धेरै वर्ष ओथ्रा बसेका सपनाहरू
अब फुट्‌ने हुन्‌ कि!

जब देश हिँड़ेर गाउँ आउन सक्तैन
तब देश विकलाङ्ग कि गाउँ?
जब कि गाउँले बाटेको दोरीले नै
बॉंधिएको छ देश।
*
•सुनाखरीको छातीमा लागेको
धोकापूर्ण कॉंड़को तीखोबाट
चुहिरहेको छ
इतिहासको रङ।

त्यही रङ छालामा दलेर
बॉंचेको छ
लालुपातेको पातमा आमैको आँशु।
*
अन्धकारको सुरूङ खन्ने
मिर जफरका औंला काट्‌न
हातमा लिएका छन्‌ सिरूपाते
शब्दहरूले।

शब्दहरूको पनि धार पलाएको छ।
धेरै वर्षको भूमिगत यापन पछि
कविताको पाखुरामा पनि बल पलाएको छ।
कविताले त्यो कोमलतालाई गालेर
तयार पारेको
चट्टान छाती
अहिले
गाउँका सबै युवाहरूको कमिजभित्र लुकेको छ।

उज्यालिँदै आएको छ
गर्भवती हिमालको निष्कलंक अनुहार।

आँगनको डीलबाट नै टॉंगिएको तारमा
पहरा बसेका फाटेका चौबन्दी-फरियाहरू
गाउँदैछन्‌
अनुहारको नयॉं गीत
…. आइज घाम यो माटोको घाउ सुकाइदे
रोइरहेको टिस्टाको पीर गहमा लुकाइदे।

चुल्ठोमा गुरॉंसका सपनाहरू खिलेर
हत्केलाका घाउहरू कोट्याइरहेका छन्‌
बस्तीका फुटेका खालीखुट्टाहरू।
ओंठको रातो रङ त्यो
लिपिस्टिकको हो र
लालुपातेको?
केशको त्यो पहेंलो-सेतो रङ
गार्नियरको हो र
चमेलीको?
(मल्टिकलर्ड विज्ञापनहरू गाउँ चढ़ेकै थिएन जब।)

जतिबेला चियाका पातहरूले
आफ्नो मौसम मागेको थियो
सुन्दरता मागेको थियो देशलाई।
कुलैनका फुलहरूले
वसन्त मागेको थियो देशलाई।
पहाड़को ओंठमा जुन खड़ेरी झरेको थियो
एक लहर मुस्कान मागेको थियो।
बड़रको रूख अनि दार्मी गाईको थुनले
ती ओंलाहरू मागेका थिए
जसले लेख्न सक्थ्यो
नेपाली अक्षरमा माटोको सुवासलाई।

माटोको सुवास जो
बज्न चहान्थ्यो शिरको टोपी हल्लाउँदै
मचुङ्गाको धुनमा।

-त्यो सपना मात्र थिएन
आँखाहरूले अनिंदो बसी-बसी ओथ्राएको
विपनाको एक-एक चिङ्‌ना थियो।
हुन त सपनाको कुनै भूगोल हुँदैन
इतिहास हुँदैन।
सपनाको रङ पनि हुँदैन, आकार पनि हुँदैन
त्यसैले सपनाको घर पनि हुँदैन।

एवोर्सन गरिएका सपनाहरूको पनि
एउटा पहाड़ै छ।

जहॉंबाट बग्छ
एउटा आत्महारा दुर्गन्धको विरक्त गीत।

पर्खिरहेछन्‌ अझ्झ
सड़कहरू
टोपीहरूका कलिला पदचिह्नहरू।
वसन्तहरू
गुप्तवासमा छन्‌
सुनाखरीहरूलाई रातो फरिया सिउँदै।
शिशिरहरूले आँगनको डील-डील
रोपेका छन्‌
बाबरी फुलको बोट।
( कुन पर्व आउँछ अब ?)

लाटा गाउँहरू भने
खबरकागज लिन शहर पसेका छन्
‌बुढ़ी आमालाई
उसको अनुहारको समाचार सुनाउन।
(अखबारका शब्दहरू जो
कॉंपिरहेका छन्‌।
खाममा थुनिएका
जवान छोरोको मृत्युको सूचना हातमा बोकेर।

शब्दहरू
यसरी कठोरिँदै आएको कति भयो?

गाउँहरूको सपना
कति चोटी खसिसकेको छ गुलाबको फुलबाट
भुईंको धूलोमा।

अलिखित छ सपनाको इतिहास।
(किन गाउटग्रस्त छन्‌ शब्दहरू?)

लुती चियाको पात
ओड़ेको घुम अलिकति उचालेर हेर्छे
कञ्चनजङ्घामाथि चिच्याइरहेको
कालो बादलको अनुहार।

क्रोध हो कि त्यो
ग्लानि हो कि!
नबुझेर चियाका फुलहरू अलमल्ल पर्छिन्‌
छोरा-छोरीलाई
त्यही अन्योलता सुनाएर
सुताउँछिन्‌।
चियाका फुलहरूले सपनामा देख्छन्‌
आँगनसम्मै आइपुगेको घामलाई।
मलेरिया लागेको कुलैनको पहेंलो पात
रातभर आमा1 पढ़ेर बस्छन्‌।
उज्यालो भइसक्दा सुकिसकेको हुन्छ
हत्केलाको रगत।

खण्डहर जस्तो कुलैन फ्याक्ट्री
लेखोकेको एकोहोरो आवाज
रातभरि फैलिबस्छ
चेतनाको सिमाना छुन।

पुनारावृत भइबस्छ
यो कथा
गाउँले सभाहरूमा।

बस्तीहरू सब्जी बेच्न शहर झर्दै गर्दा
बन्दको चपेटमा परेका सपनाहरूको बिल्लिबॉंठ
बाटैमा सुनाउँछ
आधा बाटोबाट नै फर्किएका लुते विपनाहरूले।

खेत, बारीको आङमा
कतिवर्षदेखि खोप्दै आइरहेको छ
आतंककारी राजनीतिको शिलालेख।

हात्तीको खुट्टा जस्तो बलियो हुकूमको डरले
भुटेका मकै र डल्ले खोर्सानीहरू गुनासो साट्‌छन्‌
खेतालापातमा।

गाउँलाई सेप्टिक जस्तै दुख्छ लाटो घाउ।
नदुख्ने घाउको त भाषा नै हुँदैन।2

लाटो हुनु भाषा नहुनु त हो।
दुख्दा-दुख्दै पनि नदुखेको हुनु
कसले सिकायो घाउहरूलाई?
घाउ हुनु दुख्नु हो र?

घाउहरू फुटाएर निस्किएका छन्‌
अक्षरहरू। अहिले।

घाउका रङहरू टल्किएको छ
रगतको उज्यालोमा।
घाउ फुटेको आवाजले
ब्यूँझिएका छन्‌
शहीद वेदीहरू

शब्दहरू
घाउ च्यातेर आएका छन्‌ बाहिर।
आमाको काख भोग्न नपाएका ती बालखा सपनाहरू
यसरी चर्किएको छ
निस्कन तयार छ विपनाको अनुहार।

त्यो शब्दको अनुहार
सयपत्रीसित मिल्छ
चौबन्दीले पोको पारेर राखेको मानचित्रसित मिल्छ

जुन मानचित्र फाटेको चौबन्दीबाट
निस्कन खोजेको युगौं भयो।

27 जुलाईहरूले चुटेका नीलडामहरूसित नै
बॉंचेको
बाजेको धुलो लागेको सपना
शहीदवेदीलाई ढोगेर जो निस्किएको छ अब।

त्यो प्रत्यागमन
बाइबल, महाभारत वा कुरानको
कुनै स्वैरकल्पना होइन।

टिस्टाको पानीले अनुहार धोएर आएको सपनाको विम्ब
शहीदको आमाको मनको गॉंठोसित मिल्छ।

भर्खर उम्रन थालेको मकैको बोट
छोएर आएको हावाले
के को सुगन्ध छर्छ?

अब मैदान उत्रेका शब्दहरूले लेख्छन्‌ यसलाई।

दिनहरू अहिले
अँध्यारो ज्याकेट खोलेर बसेका छन्‌
टिस्टा-सुनकोशको बगरैबगर।
रातहरू
मनभरि पीरको रङ दल्दै बसेका छन्‌
समयको क्यान्भसमा
टल्किएको कञ्चनजङ्घा लेख्न।

एकान्तमा
सितार बजाउँदैछ
गाउँहरू सुन्छन्‌।

माटोको सतहबाट बगेर आउँछ
अनुहारको गीत।

सुकेका खेतका ओंठहरूमा भन्किएका
हरिया झीङ्गाहरूको जुलूस छ।

घाउहरूको पीढ़ागीत सुन्दै अझ पिउँदैछन्‌
मीरजफरहरू
चियाको पातबाट चुहेको गाउँको रगत?

गाउँका घाउहरू टेक्दै आउने
पर्यटकहरूको ह्याण्डिक्यामले समात्न नसकेका जीवनका विम्बहरू
एक्लै फुल्छ, झर्छ। यो जङ्गलमा।

टिस्टाले दुवैतिर बाटेकी किनाराबाट
मग्मगाएर आउने
इन्द्राणी र गङ्गामायाहरूको काखीको गन्ध
मीठा मात्र लाग्छन्‌ बजियाहरूलाई।

बिहानै कचेरा पुछ्‌दै पहरामा बसेको
कञ्चनजङ्घाको बाङ्गिएको टोपीको फोटो खिच्छन्‌ मोराहरू।

आफ्नो दूधको मूल्य तोक्न नसकेकी
बज्यैहरूका चाउरीहरूमा
लुकेर बसेका लाटा शब्दहरू
चौरस्तामा बज्ने घोड़ाको टापबाट निस्कन्छ
अनि बतासेको लुपमा हराउँछ।

कति राम्रो कथा हगि यो?

वद्माश गणतन्त्रले पट्टी बॉंधेको छ टाउकोमा
युग जस्तै लामो पालेको छ केश
र बगलीमा छ छुरी।

निर्धाहरूको आङमा नीलडामहरूको घर बढ्दै जान्छ
घाउहरूको गाउँ बढ्दै जान्छ।
सातो हराएका छिप्पट शब्द
चुपचाप बारी खनिबस्छ
हातमा बीऊ नबोकी।

अहो!
किन उज्यालिँदैन शब्दहरूको झोपड़पट्टी?

डॉंड़ामा समय खपेर बसेको चिलाउनेको रूखपछि
लुकेर हेर्छ जुनघाउहरूको लुब्दो इतिहासको वंश।

जुन इतिहासमा युद्ध छैन
माटोको सुवास पनि छैन।

खुकुरीले लेखेको तासपत्ताको इतिहास
भत्किँदो रहेछ हगि?

हुरीहरू आफ्ना नहुँदा रहेछन्‌
हुरीको विश्वास नहुँदा रहेछन्‌।

हुरीमा विश्वासको कुरा नै पो के कुरा र हगि?

जब घाउ फुटाएर बाहिर आए शब्दहरू
छातीको आँखामा चमक आएको छ।
कानून लगाउन सकेन सरकारले
शब्दहरूलाई।

सरकारले
हिमाललाई टल्किनबाट रोक्न सकेन
टिस्टालाई बग्नबाट छेक्न सकेन।
पहाड़हरूको बीच भएर बग्ने कुइरोलाई
गोली ठोक्न सकेन।

हिमालबाट झर्ने झरीमा
जहिले पनि मुसा जस्तो भिज्छ सरकार।
च्यातिएको अस्तव्यस्त चियाबारीको चोली
पसीना पुछ्‌दा रङ हराएको कुलैनबारीको टोपी
भोक्कै टोयट्रेनमा ओहोर-दोहोर गरिरहने
तिनीहरूका सपना भन्दा ठूलो
हुनै सकेन
सरकारको राजनीति।

1986 को हातबाट लगाइएको कोर्राको दागसितै
जवान भएका घायल ती कलिला अक्षरहरूसित
किन आह्रिस गर्छ सरकार?

गोलीले भेटेका शहीद अक्षरहरूको सपना फुलेको
किन रिस्‌ गर्छ सरकार?
आखिर
हिलोमा झरेको बीऊ उम्रन्छै-उम्रन्छ
हिलो खुनकै होस्‌ न चाहे।

बले-बिरेको अनुहारको चाउरीमा
घाम लागेको
मन नपराउने सरकारको त्यो कालो अनुहारको ब्ल्याकबोर्डमा
चमेलीले जुन मानचित्र कोरी
त्यसलाई नै अनुत्तीर्ण किन बनाइयो मुख्यमन्त्री?

वार्षिक परीक्षा नजिक पठाइएका पाठ्य पुस्तकबाट नै बटुलिएका अक्षरहरूले
जुन आवाज लेखियो
अब त्यसलाई मेट्‌न सक्छौ र राज्य सचिव?

चियाका पातहरूले गीत गाएको
मन पर्दैन सरकारलाई
भाइचुङ भोटिया मादलमा नाचेको
मन पर्दैन सरकारलाई।

टोपीले
पसीना होइन
भाग्य पुछ्‌दै बॉंचेको इतिहासले
घर बनाएको मन पर्दैन सरकारलाई।

सरकारले हिमाललाई सपना देख्न त रोक्न सकेन
विपना देख्न पनि रोक्न सक्तैन।

आमाको फरिया च्यातिन्छ, तर
फरियामा लुकाएर राखेको सपना च्यातिन्न।
हिमालको मन
पैह्रो पीढ़ितहरूलाई बॉंड़िने प्लास्टिक होइन
जो सरकारको षड्यन्त्रले च्यातियोस्‌।

हिमालको मन हिमाल नै हो जहॉं
सबैभन्दा पहिले चुम्छ
इमानको घामले।

सरकार सयपत्रीको फुलसित हारेको छ
सुनाखरी र धुप्पीसित हारेको छ
अरू त के
कुइरो र जाड़ोसित हारेको छ
खोल्साको पानी र रूखसित हारेको छ।

सरकार त डॉंड़ा जत्रो अग्लो पनि छैन
झर्ना जस्तो सङ्लो पनि छैन।

…. हुन त सपनाको कुनै रङ हुँदैन
सिमाना र आकाश पनि हुँदैन।

शहीदले भन्दा पनि धेरै मृत्युलाई
छातीमा सहेकी आमाको सुकिसकेको स्तनले मागेको सुरक्षा
शहीदले भन्दा पनि धेरै रगतआँखाबाट झारेकी
उजाड़ सिउँदोमा कञ्चनजङ्घा थामेकी
बुहारीको अपुताली कोखले मागेको मूल्य
सपनाका यी नै रङहरूले त लेखेर राखेको छ
आँखामा।

बॉंच्ने उत्साहमा नै त
सपनाहरू अस्तित्वमा छन्‌।
मृत्युको सपना हुँदैन।
सपना आफैमा कति घायल छ।
सबै घायल सपनाहरूले
बुद्धको काख पाउँदैनन्‌।

सपनाको कुनै कविता नै हुँदैन
आकार र आयतन हुँदैन।

कविता नै नभएको
आमाको अनुहार
र सिउँदो कस्तो हुन्छ?
शब्द नै नभएको
बाबुको छाती कस्तो हुन्छ?
नाती-नातिनीको निधार कस्तो हुन्छ?

कारागारमा बसेका
सपनाहरूले
झेलेका छन्‌
विपनाको तिर्खालाई।
(माटो नहुनु, कारागार भन्दा ठूलो हो र?)

निधारले उन्यू फुलाएको धेरै भयो।
बुढ़ो कृषकको आँखा फुला परिसकेको छ।
पसीना फुलेको छैन।

पसीनाले पनि माटो पायो भने मात्र
उम्रन सक्छ फुल्न सक्छ।

पसीनाको सुवासको लोककथा
पसीनाको दुःखहरूको आदिकथा लेख्ने
कविलाई पनि त चिहान चाहिन्छ।

जसको आँगनमा पसारिएर युगौंदेखि पुरानो इतिहासको घाउ
अझ चाट्‌दैछ
कुकुर समय।

घामखैनी माड्दै बस्छ
चिसोमा कक्रिएर मरेको अँध्यारो छेउमा।
अन्धकारको निम्ति
जुनकिरीहरू आए, गए।
आफै लाई मात्र बाटो देखाउने जुनकिरीहरूको
विश्वासमा
औंसीहरूले कहिल्यै देखेनन्‌ रामको उज्यालो अनुहार
न देखे उज्यालोको रामराज्य।
अँध्यारो भनेको
कालो मात्र होइन।

कालो र सेतोबीच युद्ध नै हुँदैन।

दुख्न जान्यो भने मात्र
घाउ, घाउ हुन्छ।
नदुख्नेलाई छाती के हो?
दुख्नु भनेको मर्नु होइन
दुख्नु भनेको
सम्हालिएर बॉंच्नु हो
हिँड्नु हो।

लड्यो भन्दैमा लक्ष्य भाग्दैन।
लड्नुहरूको अधिकार हो लड्नु
जीवनमा।

जीवनमा लड्दै नलड्नुलड्दै नलड्नु के हो जीवन?

रून जान्यो भने मात्र
आँशु, आँशु हुन्छ
हार्नु जान्यो भने मात्र
युद्ध, युद्ध हुन्छ।

दुख्न घाउ चाहिन्छ
घाउलाई छाती।

घाउका रङहरूले टल्किएको हिमालले
साउँ अक्षरले लेख्न थालेको छ आफ्नो अनुहार।
(यो इतिहासमा गन्हाउने रगत
ती नै कलिला अक्षरहरूका हुन्‌।)

घाउहरूले भाषा पाएको छबोल्न सक्छन्‌
अब संविधानलाई सिकाउने छन्‌ अधिकारको पाठ।

आँगन-आँगनमा भेला भएका छन्‌
गाउँभरिका ठेलाहरू।

धेरै वर्ष नबोलेका गन्हाउने सासहरूले

रङ पाएको छ।
भुकुल्ले बिहानी खेलिरहेछ माटोमा।

अहिले कमसेकम शहीदवेदीको टुप्पोमा बसेर
काग कराउन त छोड़ेको छ।

अहिले जुन तरङहरूको भेल उर्लेको छ
त्यसको कुनै सिमाना छैन।
त्यो भेल मुट्ठीमा बोकेको गीतले
के-के भत्काउँछ अब।

गीतलाई रिस्‌ उठ्‌दा
कत्रो भूकम्प हुन्छ भने
देश पनि ढल्छ।

बॉंध नै फुटेपछि
शब्दको आँधी उठ्‌छ।

शब्द फुट्‌दा
कस्तो पैह्रो चल्छ भने
कारागार नै पुरिदिन्छ।

त्यो आँधीले मुट्ठीमा बोकेको आवेगले
के-के बिगार्छ अब।

माटो नहुनेलाई
कृष्णचुँढ़ाको बिजनको माने हुँदैन
न कॉंस फुलेको थाहा हुन्छ।

जब गीत लाटो बन्छ
गाउँ लाटो हुन्छ
लाटा गाउँहरूको हात समातेर
कति माथि उठ्‌छ र देश।

देशको माया अझ बजाउँछ रामसिंह
अनि गाउँछे लता।

नलेखिएका इतिहासको दस्तावेज बोकेर
शब्दहरूले
ती नै गाउँहरूको गाथा सुनाइरहेछ अहिले
देशलाई।

अहिले आफ्ना अनुहारको मानचित्रमा
छर्किरहेछन्‌ विद्यार्थीहरू
घाउका रङहरू।

Narayan Tiwari – Madhesh

नारायण तिवारी – मधेस
(मधुपर्क २०६५ चैत)

मधेसले मलाई गाली गर्छ
म भन्छु-
जसले सधैँ अँगालोमा राख्यो
उसलाई किन गाली
जसले गर्छ तिमीलाई गाली
उसलाई पो गर्नुपर्ने हो
तिमीले गाली
सायद मधेसलाई थाहा छैन
उसलाई र मलाई एकैपटक सराप्ने
गाली गर्ने
कालो रात थियो
‘निरङ्कुश’ जसको ‘जात’ थियो
मधेसलाई सायद थाहा छैन
स्नेहको,
आत्मियताको कुनै जात हुँदैन
प्रीति गाँसेपछि
त्यहाँ कुनै घात हुँदैन

-विराटनगर-७, ममतामार्ग

Rakesh Karki – Mandir Ko Khoji Ma

इन्जिनियर राकेश कार्की – मन्दीरको खोजीमा

आफू भित्र मन्दीर छोपी
कुन मन्दीरको खोजीमा
पण्डित हुन कि भक्तजन
बरदान खोज्छन् गोजीमा

फकाइ फुल्याइ काँध चढी
मन्दीर छुने आशामा
युधिष्टिर पनि भुलिन सक्छन्
मामा शकुनिको पाशामा

महाकवि तिम्रो यात्री हामी
तिम्रै कवितामा बग्यौँ
देवपुरीकै खोजतलासमा
नवदेश विराना पुग्यौँ

कडा मेहनत पसिनाले
मुछ्दै एकगाँस पिठो
जिवनको सन्तुष्टी नै
मन्दीरको प्रसाद मिठो

चेतनाको इश्वर उज्वल
फुकाले अभिमानको श्रीपेच
सबै हृदयमा मन्दीर होला
होमीए रिसराग दाउपेच

ऐश्वेर्यको महान मन्दीर भित्र
नचराओस् कसैको घाउ
आफ्नो मनको मन्दीर खोल
आफु भित्रै इश्वर जगाउ

– लस् एन्जेलस्

Bhanubhakta Acharya – Ek Man Chitta Lagai Chakari Garya

एक् मन् चित्त लगाइ चाकरि गर्याँ
खूसी भया छन् हरि।
मान्पाथी पनि भुक्तमान् थपिदिया
कैल्यै नछुट्न्या गरी।

रोज् रोज् दर्शन पाउँछू चरणको
ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी
ठूला Continue reading “Bhanubhakta Acharya – Ek Man Chitta Lagai Chakari Garya”

Komal Shrestha Malla – Dukhnu Parthyo Ra?

कोमल श्रेष्ठ मल्ल – दुख्नु परथ्यो र ?

मनमा राखु
मुटु काट्छौ
राखु आखामा
आँसुमा साट्छौ
सुन्छ र ताराहरु ?
बरु जुन लुकाउन खोज्छ
घामको नियती
के बदलिन्छ र ?
हाँस हाँस सके जती
रोक्छ कस्ले ??
अभाव खड्की रहन्छ
देख्छ कस्ले ?
मुटुमा खेल्न पाए
धुकधुकी झै बोल्न पाए
र हराउन पाए
दुख्नु परथ्यो र ?

Tanka Subba – Mero Desh

टंक सुब्बा – मेरो देश

अहमता बोकेर जलभण्डारको
व्यर्थै बगिरहेछ मेरो देश
खोलानाला र नदीहरुमा
ऐलानी बढिरहेछ
जल प्रवाह अङ्गालेर
घाटी सुकिरहेछ मेरो देशको तिर्खाहरुमा
नागबेली आकारले अग्लिएका
महाभारत र चुरे Continue reading “Tanka Subba – Mero Desh”

Lakshmi Mali – Sarangkot

सारङ्गकोट
पोखरा बिउँझिन्छ
तिम्रै मधुरो मुस्कानको आभाषसँगै
तिमी कुहिरोसँग लुकामारी खेल्दै
न्यानो आतिथ्यमा ढोका उघार्दै
पोखराका पाहुनाहरुलाई
माछापुच्छ«े र धवलागिरीहरुको संघार बनी
सूर्योदयको प्रतीक्षामा
सधैं–सधंै मायाप्रितिका लहरहरु बोकेर
तरेलीहरुमा
मुसुक्क मुस्काएर
पाहुनाहरुको विश्वास सँगालेर
पर्खिरहेकी छौ
प्रकृतिका सौन्दर्य सिर्काहरुले
हार्दिकता पस्किरहेकी छौ ।
सारङ्गकोट
शरद ऋतुमा पनि
चिसा–चिसा सिरेटोहरुले
पाहुनाहरुलाई ढपक्क ढाकेर
एउटा जीवनलाई ताजापनमा घोलेर
सुन्दर भावना छर्किरहेजस्तो
न्यानो सत्कारमा तल्लीन छौ
सूर्योदयको शाश्वत सत्यको नमूना बनी
उभिरहेकी छौ ।
सारङ्गकोट
तिमी पोखरामा हराएर
फेवा र माछापुच्छ«ेसँग माया साटेर
हाँसिरहेकी छौ
तिम्रो माया र सद्भावलाई
न्यानो आतिथ्यको स्पर्शलाई
सम्झिँदै, तरङ्गित हुँदै
तिम्रो सुन्दर सेरोफेरोलाई बिर्सन नसकेर
तिमीसँग फेरि भेट्ने धोको छ ।
सूर्योदयको किरणसँगसँगै,
एउटा ताजापनको आभाष भएको क्षण
हिमालहरुले रुप फेरेको दृश्य
स्वप्निल तरङ्गहरुझैं
कताकता रङ्गहरु भरेको क्षण
ए सारङ्गकोट !
कसरी बिर्सन सकिन्छ तिमीलाई ?

Ratna Shamsher Thapa – Bainsh Futi Rahechha Dhungako Kaai Ma Chiplera

रत्नशमशेर थापा – वैंश फुटी रहेछ ढुंगाको काईमा चिप्लेर

टक्टकिएर बकुल्ले बादलको
प्वाँख-प्वाँखको दूधे जराबाट
केशदेखि खुट्टाको बुढी औँलासम्म
ओढाउन सेतो बर्को हरियालीलाई
अर्घ चढाउँदै सूर्यलाई
आरती उतार्न बालिएका
मन्दिर, आँगन र चोक चोकमा
कातेका बत्तीहरू निलेर सलक्क
फुलिरहेछन् हिउँका फूलहरू झपक्क

चहुरका जाँघ भरी
नर्सरीका झ्यांग भरी
पाखा र भन्ज्यांग भरी
फुसफुसाउँदै बेसुरा राग फुकेर ।

नियालेर प्रतिविम्ब
बैँश ।
निलो पोखरीमा
फुटी रहेछ
ढुंगाको काईमा चिप्लेर ।

Gopal Prasad Rimal – Timi Ra Ma

भैगो भन्या’ भैगो;
तिम्रो दया मलाई चाहिन्न;
बरु तिमीले दिएको जहर सिनित्तै म रित्याइदिउँला
तर तिम्रो दयार्को क थोपा पनि मलाई ताहिन्न ।
जब संसारबाट उप्केर मेरा आँखा
आकाशतिर हेर्न लागेका हुन्छन्;
जब Continue reading “Gopal Prasad Rimal – Timi Ra Ma”

Basanta Biwas Acharya – Maile Chadhnu Chha Euta Ajanga Ko Pahad

बसन्त “विवश”आचार्य– मैले चढ्नु छ एउटा अजंगको पहाड

विस्तारै विस्तारै अँध्यारो अत्याचारवाट
उज्यालो न्यायतिर वामे सर्दै गरेको
शरणार्थी समयलाई
विषाक्त विचारको कोर्राले हिर्काउँदै
बेईमान परिवेशको धुमिल छाँयामा
किशोर उज्यालोको हत्या गर्नेहरुसंग
म विजयको वाँसुरी वजाउन सक्तिन

रित्तोपेट,स्वतन्त्रताका फुलहरु
मनभरि फुलाउदै
जीवनको जोड घटाउ वास्तै नगरि
फाटेको कछाडमा
सडक थर्काएर
बालेको यो आगोले
जबसम्म,रोल्पा र रुकुम जलाएर
काठमाण्डौलाई न्यानो दिईरहन्छ
म कसरी मेरो यात्रामा
पुर्णविराम लगाउन सक्तछु ?
सकिदैन, दरिद्र मानसिकताको भारि वोकेर
क्लियुगका कुम्भकर्णहरुसंग
काँधथापेर नयाँ युगको जग वसाल्न
त्यसैले त,
अब एक्लै गर्नु छ यात्रा
हरेक पाईलाहरुवाट नयाँ डोवहरु बनाउदै
मैले चढ्नु छ एउटा अजंगको पहाड

वासिङ्गटन र दिल्लीको गीतमा नाँचेर
वसन्त क्रान्तिको ताल नै भुल्ने
सत्ताको ललिपपमा ¥याल चुहाउदै
महान् यात्राको गन्तव्य नै तुहाउने
सुद आवरणका
अंगारे मनहरु छिचोल्दै
वेहोस युगलाई व्युताएर
मैले वाल्नु छ ,
डोल्पा र हुम्लालाई न्यानो हुनेगरि
फेरि अर्को क्रान्तिको आगो

वुद्ध आँखाहरुमा
त्रासदिको चश्मा लगाएर
समयका अक्टोपस हातहरुले
ज्तिसुकै,
किशोर युगको चित्र कोरेपनि
म रङ्ग पोत्न सक्तिन
दुईपाईला अगाडि वढ्दैमा
अहमताको फुल सिउरिएर
गन्तव्य भेटेको उत्सव मनाउने सुकिला निरोहरुसंग
हजार जँघार तरेर पनि
यात्रा आरम्भको महसुस नगर्ने
मेरो सोचाईसंग समिकरण हुन सक्दैन
विध्वँश र विद्रोहको बैरागी वादलले
सारा धर्ति अँध्यारो पार्दा पनि
बुढानिलकण्ठको मुर्ति झै
ट्वालट्वाल्ति हेर्ने
बगरे मनहरुमा
नयाँ युगको नयाँ दीप सल्काउदै
आँखा अगाडि लम्पसार सुतेको
निलो बाटो काटेर
मैले चढ्नु छ अजंगको पहाड

होसियार ,
छद्मभेषी तिम्रो परिवर्तनले
मेरा पाईलाहरु तान्न नखोज
विरक्त समयलाई
उर्जा दिने तिम्रो निजी क्रन्दन
भो, मलाई चाहिदैन
आसुँले भरिएको पोखरीमा
कमलका दीयोहरु वोकेर हिडिसके
म चढ्नलाई एउटा अजंगको पहाड ।

तुलसीपुर, दाङ्ग

Manu Lohorung – Jiundo Murda Ko Atmosarga

मनु  लोहोरुंग – “जिउँदो मुर्दा”को आत्मोत्सर्ग

उकालो मसानघाटबाट
सगरमा बदलिँदो
निलिमाको उद्बोध हेरेर
अब “जिउँदो मुर्दा”
आत्मोत्सर्गको
संजीवनी पिउँदैछ l

उसले उद्घोष गर्दैछ…..

म आत्माभिमानी हुँ !

उदयगिरिबाट
मृतसंजीवनी बोकेर
युग उन्मेषको लागि
गाउँको गौंडा-गौंडा हिन्छु l
जहाँ अतिक्रान्त पसिना
अझै लुटिईएका छन्,
अभावको कोर्राले
बिनाकसुर चुटिएका छन्
तिनीहरुको मोचनको निम्ति
युग क्षेपक ओकाल्दै हिड्नेछु l

शहरको कोलाहल छिचोल्दै
गगनचुम्बी भवनहरुमा पस्छु l
जहाँ लालची आँखाहरु
झुण्डमा झुण्डमा
यश भजाउदै गरेका छन् l
तिनीहरुको बिचैमा पसेर
भूतल भोग-चलनको
किराय असुल्नेछु l

मातृबलात्कारको अभियोगमा
नाङ्गो सडकमा उभ्याएर
सद्धामको मृत्युवरण अंगाल्न
बाध्य नहून् !
बिचराहरु………!!!

सडकको छातीमाथि
यामिक पहरेदार भएर
आध्यांत सम्म हिंडी रहन्छु l
अतीव उदासिनताको
खापैखापमा च्यापिएर
उच्छवृतिमा “जिउँदो मुर्दा”
रहन दिन्न, कसैलाई पनि !

यो सामरिक मरुथलका
जीवित मुर्दाहरुलाई
पैशाची प्राकृतबाट उम्काएर
सह अस्तित्वको खल्यानमा
जीवनको धिप्कोमा
दिप्ती भरण गर्न
सम्मोहित पुष्प शैय्यामा
रश्मीसंग जीवन सटाउँछु

Basanta Mohan Adhikari – Ama Ko Bani (Nepali Gajal)

बसन्त मोहन अधिकारी – आमाको वाणी

वसन्तको पासमा लाली गुराँस सधैं
हिमाल र हिमचुलीको सुनगाभा सँगै

रहेसम्म मेरो प्राण यही देह सँगै
सबै जना बास बस म नेपालसँगै ।

घैया कोदो जौ फापर तीन महिना सधैं
हिमालका नेपालीलाई जोड तराई सँगै ।

गर्मी बढ्यो मन डढ्यो खेल हिउँसँगै
दुःख पीडा हर्ष आँशु साट सँग-सँगै ।

जन्म हाम्रो मानवको मानव धर्मसँगै
बुद्ध सीता भृकुटीलाई राख मनमा सधै ।

हिमालको स्याउ टिप्न आऊ साथ-साथै
धान चामल स्याउ साट साट आफ्नो सँगै ।

तराईको गर्मी छल्न उक्ल चामलसँगै
जडीबुटी औषधी लिई झर तराईतिरै ।

दूध दही बाख्रापालन गर पहाडसँगै
जलस्रोत र पर्यटनले हुन्छ विकास सबै ।

ऐंचोपैंचो आफूभित्र तिनै जनासँगै
हिमाल पहाड तराईको नाता गाँस सधैं ।

प्रकृति र कला कृति संरक्षणमा सधैं
मेल मिलाप गरी बस जन्म दातासँगै ।

चेतनाको प्रयोग गर मानव धर्मसँगै
स्वर्ग सरी बस्न पाउँछौ नेपाल आमासँगै ।

Biplav Pratik – Birodh

बिप्लव प्रतिक – विरोध

तिमी बारम्बार
हाँस भन्छौ मलाई
तर, यता म आफू हाँस्नुको कुनै महत्व देख्तिनँ ।
म आफू आफैँलाई पोलिरहेछु
आफ्नै नङ्ग्राहरू चिथोर्दैछन् आफ्नो छातीलाई
कति बीभत्स हुन्छन् हगि रगताम्य Continue reading “Biplav Pratik – Birodh”

Kusum Gyawali – Shauchalaya 2

लुछेर वस्तीका हजारौं
कुमारी युवतिका कोमल अंगहरू
बटुलेपछि धार्नीका धार्नी अवैध सून
बनाउँछन् बादशाहहरूले सुनैसुनका शौचालय
अनि पार्टी कार्यालय जस्ता घरका मालिकहरू
निस्कन्छन् हरेक दिन पूजा गर्न त्यो शौचालय
सकेपछि Continue reading “Kusum Gyawali – Shauchalaya 2”

Laxmi Prasad Devkota – Hami Nepali

क.

एशियाली जागृति–युग–शिशु
हामी उषासुत नयपाली
हामी हिमालय–तनय पिपासु
चढेन चुचुरा करमाली ।

ख.

हामी बुद्धका भूका उद्भिज
जानकी–फूलका मधु–आली,
अरनिकोका अङ्गुल–ज्योति,
पृथिवी–नारायण बाली ।

ग.

त्रिभुवनका हौं स्वप्न सुनौला,
महेन्द् उपवन पौधाली
बाघहरुका जोरी–पारी हुँ,
प्रजातन्त्रका पहराली ।

घ.

मानवताका ढुक्कुर–कुर्लन,
कल्पन डाँफे–रङ्गजाली,
मुनिका समाधिहरुको कुसुमको
सुगन्ध लहर हुँ हैमाली ।

ङ.

घनी विपिनका चिडिया हामी,
प्यार कुर्लिंदा जगडाली,
मानवताका पर्वत–मन्दिर,
स्थायी शान्तिका सञ्चाली ।

च.

भारत–पोषक हिमगिरि–उरिका
उदार द्रव हुँ नग–जाली,
हामी पूर्वका देवदूतका हुँ,
प्रथम रश्मिका देशाली ।

छ.

भूमण्डलका गोल–सदनका
अंशियार हुँ, एक थाली
न्यौछावरका पुजारी हुँ
विश्व–मानव नयपाली ।

Manoj Bogati – Gaun Naayeko Sadak

मनोज बोगटी – गाउँ नआएको सडक

गाउँ पुग्दैन सड़क।

गाउँमा जहिलेसुकै चिप्लो बाटो पुग्छ
सॉंघुरो र खाल्डाखुल्डी भएर।

लड्दै हिँड्छ सह त्यहॉं।

सड़क गाउँ पुगेको भए त बिल्डिङ पुग्थ्यो होला।
बिल्डिङ Continue reading “Manoj Bogati – Gaun Naayeko Sadak”

Digesh Raut – Ma Ani Mero Fursad Ko Kabi

दिगेश राउत – म अनी मेरो फुर्सदको कवी

भाग-दौडको मेरो जिन्दगीबाट
एकैछिनको बिस्राम लिन पाँउदाको कवी म
एकान्तमा बस्दाको बेला कहिले-काहीँ
अफैँ सँग गरेका भलकुसारी कोर्ने गर्दछु।।
जीवनका तिता-मिठा भोगत्याइँका
देखासिखी Continue reading “Digesh Raut – Ma Ani Mero Fursad Ko Kabi”

Rajeshwor Karki – Dantya Katha Ko Rakshas

राजेश्वर कार्की – दन्त्यकथाको राक्षस

उहिले-उहिलेको दन्त्यकथामा
पहाड उखेल्दै
नदी सुकाउँदै
सखाप पाथ्र्यो रे
यस धरतीको राक्षसले
तर अहिले
यी सबै गर्नेकै बस्तीमा उभिएर
म कविता पढिरहेछु
र कवितामा आफ्नो परिचय खोजिरहेछु…।

Manoj Bogati – Naak

मनोज बोगटी – नाक

यसपालि पनि कुहियो त्यसको नाक।

त्यसको वरिपरि उडिबस्ने झीङ्गाहरूले
वर्षौंदेखि देख्दै आएको सपना
त्यसको नाकैमा बसेर फुल्यो।

दुर्गन्धदेखि रमाउने झीङ्गाहरू
हेर न गिज्याउँदै गाइरहेको
बिजय गीत।

गीतले त वर्ग छुट्याउँदैन भन्थे
तर झीङ्गाहरूले जुन गीत हातमा बोकेको छ
त्यसले उनीहरू कै झण्डा बोकेको छ।

त्यसको नाकमाथि बसेर
तिनीहरूले गाउने गीतमा
हाम्रो मादल छैन
त्यसैमा सन्तोष छ त्यसलाई।

त्यसको कुहिएको नाकलाई छोएर आउने हावा
हतियार बोकेर गाउँ पसेको छ।
दुर्गन्धहरूको सेनापतिले
रूख छप्कायो, खोला छप्कायो, पहाड नै छप्कायो
टोपी छप्कायो, टोउको छप्कायो र झर्‍यो इतिहासको सिरान गाउँमा
अनि पालैपालो अक्षर छप्कायो।

टाउको गेंडिएका अक्षरहरू, विचरा…!
वाक्यविहीन भए
त्यसपछि ध्वनिले पनि छोड्यो साथ।
हन, एउटा युगै पो लडिबस्यो मूर्दा जस्तो
सयपत्रीको पेदमा।

निक्कै समय ह्वास्स ह्वास्स आइरह्यो
औपनिवेशिकता।

खडेरी लाग्यो
बीऊ पनि बॉंचेन।

त्यत्तिबेलै गयो बिजुली
निक्कै ढियो घर पस्यो त्यो।

त्यो आउँदा
अक्षरहरू फेदैबाट टुसाउँदै थिए
नाकमा मासु भरिँदै थियो।

अचानक गयो पैह्रो
डॉंडा नै झर्‍यो
कता पुरियोपुरियो नाक।

कस्तो हॉंस उठ्‌दो हुन्छ नी यो
नाकको फेन्टसी?

Gopal Prasad Rimal – Dantya Katha

दन्त्यकथाकी राजकुमारी र एक गरीब
कसरी तिनका ठूला लाम्चिला आँखाहरु
एक जोडी ताराझैं माथिबाट तल झरे
र त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए ?
फेरि कसरी हिलोको कमलमा परेका
दुई थोपा शीतजस्ता गरीबका आँखामा
स्वर्गले आफ्नो छाया देख्यो ?
ताज्जुबको कुरा छ,
तर यो मीठो कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ
दन्त्यकथा खालि यत्ति भन्छ
उनीहरुको प्रेम प¥यो !
हो, पानीझैं प¥यो होला
अनि आगोझैं बल्यो होला ।
राजपथको छोटो हेराहेरमा
मर्यादाशीला राजकुमारीको हेराइ, चलाइबाट तेरो भोक मेट्न
जलन सेलाउने के कुरा पाउँछस् र तँ
स्वर्गको ढुकुटी नै पाएझैं गरेर शरद्को बादलझैं
शिर उच्चा गर्दै हिँड्छस्, ए गरीब !
के तँ फेरि साउनको बादलभैmँ निचोरिन्नस् ?
भेटको असम्भावनाले पत्थर भएर तेरो मुटु किच्तैन ?
आँधीको बिजुली भएर
तेरो बादलझैं बर्सने छातीलाई कोपर्दैन ?
यस्तो मीठो दर्दको कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ ।
कथाको गरीब गम्भीर छ,
जादूले अर्कै भएजस्तो छ
ऊ हावाजत्तिकै हलुका भएर राजकुमारीको खोपीमा पुग्दछ
उनीहरुको बिहे हुन्छ ।