लक्ष्मी प्रसाद देवकोटा – संकल्प हाम्रो फलोस
संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ,
लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ,
आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्,
भावै मात्र फिंजे तथापि ‘सबको सङ्कल्प हाम्रो फलोस्’ ।
नेपाली कविता को बिशाल संग्रह
लक्ष्मी प्रसाद देवकोटा – संकल्प हाम्रो फलोस
संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ,
लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ,
आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्,
भावै मात्र फिंजे तथापि ‘सबको सङ्कल्प हाम्रो फलोस्’ ।
सुलोचना मानन्धर धिताल – जाजरकोट
सिङ्गो पोखरीमा
विष घोलेपछि
के ठूलो माछा
अनि के सानो माछा
सबैलाई मर्नु नै त छ !
कसैलाई कहीँ पर्खाएर
म यहाँ यसै अल्मलिइरहेछु
वाध्यताको झरीमा रुझिरहेछु
खुट्टा थाकेका छैनन्
ईच्छा मरेका छैनन्
यात्रा टुङ्गेको छैन
कुहिरो नहटुन्जेल
आफैमा ओत लागेको छु
सम्झ झाडी पन्छाउदैछु
गोरेटो Continue reading “Nawaraj Subba – Ma Naharayeko Suchana”
आशा गुरुङ – एउटा संकल्प
म हिंड्न खोजिरहेकी छु तर कतै बिच बाटोमा आफू हराएजस्तो
म पोखन चाहन्छु आत्मबाटै तर म सकिरहेकी छैन
म आकाशमा खुल्ला सयर गर्ने प्रयास गर्छु
तर चुम्बक झै एकैठाउँ टाँसिरहेजस्तो म चल्नै सक्दिन
म आँफैलाई थाहा छैन के भैरहेको छ मलाई
कसैले अठ्याइरहे जस्तो, कसैले घाँटी निमोठिरहे जस्तो
म आँफैभित्र उकुसमुकुस हुन्छु तर ब्यक्त गर्न असमर्थ छु
म केहीसँग अल्झिरहेजस्तो,कसैको सहाराको पर्खाइमा छु
तर वास्तबमा म आँफैभित्र अल्मलिरहेकी छु
त्यसैले आँफैसँग भित्रभित्रै आफ्नै लागि लँडाइ गरिरहन्छु
म चाहँदिन म त्यही दोभानमा बाँचिरहुँ
म चाहँदिन त्यही त्रिबेणीहरुमा आफुलाई घोचिरहुँ
म निस्किन चाहन्छु त्यो भयाबहबाट
र राख्न चाहन्छु आफुलाई बिशाल आकाशको छातीभित्र
जहाँ म केबल सिमित हुँदिन म भित्रै जसरी म थिएँ
त्यसैले सकिनसकी धकेल्छु आफुलाई सकारात्मक सोचहरुसगैँ
अन्तत बिजयी पनि हुन्छु आशाहरुको नौलो किरणहरुसगैँ
जहाँ म फुल्न सक्छु,फक्रन सक्छु बिस्तारै भएपनि
म पोख्न सक्छु मेरा भावनाहरु स्वतन्त्र रुपले
जसरी चराहरु उड्छन निस्चिन्त आफ्नै वेगमा मनपरी
म बग्न सक्छु अबिरल नदीजस्तै एकैमासमा
जसरी यसको कसैलाई कुनै प्रश्न छैन,गुनासो छैन न त प्रतिकार नै
फेरी पनि मैले घचेटेँ आँफैलाई त्यो कल्पनाको संसारमा
जहाँ सपनाहरुको बास छ, जहाँ सिर्जनाहरुको भण्डार छ
जहाँ म डुबिरहन सकुँ,घोत्लिरहन सकुँ र ब्यक्त गरिरहन सकुँ निरन्तर
लीइ सुन्दर्,सभ्य अनि सन्तुष्टिको पाठहरु अबका बाँकी दिनहरुमा
बिचलित नहुँ म कहिले त्यो अन्धकारको बाटोहरुमा
म हुनेछु मेरो विश्वाशहरुको साथमा हरेक मोडहरुमा
जसरी यसले मलाई साथ दिरहनेछ,
जिउने हिम्मत म भित्र जगाइरहनेछ ।।
इजरायल
प्रवीण राई जुमेली – एउटी आमाको स्मृति
जीवन र जगतमा विमर्श गरिने सफलता र सभ्यताका हजार थोकहरु छन्
आफ्नै सन्तानका कुकृत्यहरुको लेखाजोखा गर्दै हिंड्ने अनेकौं मुखहरु पनि छन्
हतार पैसा अहँकार र आत्मालापहरुले Continue reading “Pravin Rai Jumeli – Euti Aama Ko Smriti”
नारद बज्राचार्य – भविष्यवाणी
सुन
म भविष्यवाणी गर्न गइरहेछु
म भविष्यवाणी गर्न गइरहेछु
म भविष्यवाणी गर्न गइरहेछु
चर्का आवाजहरु
कतै गायब हुनेछन्
उठेका हातहरु
सम्म्याइने छन्
दगुरेका पाइतालाहरु
ताछिनेछन्
मन्दिरमा मात्र
पुजारी पुजिनेछन्
सुन
तिमी जो हुनुपर्छ भन्थ्यौ नि
त्यो हुन्दैन
जो नहुनु पथ्र्यो भन्थ्यौ नि
त्यहि हुनेछ
र, लामो समयसम्म
त्यो नहुनुपर्ने
भएर – फैलिने छ
फैलिने छ
फैलिने छ
र,
फुट्नेछ ।
कुलेश्वर, काठमाडौं
बिष्णु नन्द चाम्लिङ्ग – पाखुरी सीपमा हल्हली जिन्दगी (गजल)
पाखुरी सीपमा हल्हली जिन्दगी ।।
आतुरी मातमा तल्तली जिन्दगी ।।
बातमा प्यासले खोज्दथे पोखरी,
सम्झियो माथले कल्कली जिन्दगी ।।
माधुरी मातमा Continue reading “Bishnu Nanda Chamling – Pakhuri Sipma Halhali Jindagi (Nepali Gajal)”
भूपिन ब्याकुल – शब्दकोश
मृत्युले कला भरेको तुइनमा अल्झिएर
कर्णाली पारि पुगेपछि
सबैभन्दा गरिब महसुस गर्छ – शब्दकोशले
कर्णालीमा शब्दकोश
केहि पानाहरु खाली छोडेर
प्रकाशित कुनै वैरागी किताबजस्तो लाग्छ
जहाँ नछुट्नुपर्ने धेरै कुराहरुसंगै
छुटेको छ कर्णालीको नाम
अथवा कर्णाली
त्यही वियोगीकविजस्तो लाग्छ
जसले आफ्नै आँखाअगाडी
कविताले आत्महत्या गरेको देखेको छ
अथवा त्यो समयजस्तो लाग्छ
जसले देशलाई अश्लील गालि गरिरहेछ !
यो शब्दकोश
जसमा अर्थको चमक हराएका शब्दहरुमात्र छन्
यो शब्दकोश
जहाँ प्राण उडेका खालीखाली पृष्ठहरु छन्
कसरी थाह पाउँछ
कि कर्णाली
कति ज्यालामा भोकभोकै कालापहाडमा भारि बोक्छ ?
कसरी ज्यान दाउमा राखेर
विलासीहरुको लागि यार्सागुम्बा टिप्छ ?
कति लामो लाइन लाग्छ खाद्य डिपोमा
सात किलो चामल वा एक पोका नुनका लागि ?
कसरी दशैं मनाउँछ
रित्तारित्ता मदुसहरुबाट हावा झिकेर ?
यो शब्दकोश
जहौँ अर्थको टलक हटाएर शब्दहरुमात्र छन् !
निश्चित छ
शब्दकोशको कुटिल सम्पादक
उसलाई कर्णालीको गीत सुनेर कुनै खतरा छैन
अझैसम्म लागिरहेकै छ उसलाई
कर्णाली एउटा असफल गायक हो मुक्तियुद्धको
र उसको सफलता
केवल करुण रसका उदास गीतहरु गाउनुमा सीमित छ !
कर्णाली
के तिमी चाहन्नौ
कि तिमीले गाइरहेको दुक्खको गीत
पृथ्वीले सुन्ने अन्तिम शोक्गीत बनोस्
र अब त्यस्तो शब्दकोश लेखियोस
जहाँ तिमीले
जीवनका किनाराहरुमा
भोकका लहरहरु लेख्नुनपरोस
अभावका लहरहरु लेख्नुनपरोस
विक्रम सुब्बा – दाहिनेशक्ती
भ्यालेन्टाइनको रातो थुंगाका ओँठले
मेरो निँधारको स्वाभिमान चुमेर
तिमीले मायाको वीउ छरिदिएपछि
मेरा मनका पातहरूमा टेकेर
जीवनमा मायाको भुवैभुवा फुलेकोछ
मेरो ओँठका किरणहरू चुमेर तिमीले
मुस्कानमा प्राण हालिदिएपछि
दुई अधरका तरंगहरूमा
मनमोहक रंगीन ईन्द्रधनुष फलेकोछ
चुमेर तिमीले मेरा आँखाका भञ्याङहरू
सुन्दर दृष्टिका वेर्नाहरू सारिदिएपछि
मेरा हरेक नजरका हाँगाहाँगामा
पिपिरी पात बजाउँदै प्रेमपालुवा हल्लिरहेकोछ
मेरा कानहरू सरगम सप्तकले चुमेर
तिम्रो बोलीको भायोलिन-तार रेटिदिएपछि
मेरो रगतमा लिखित नोटेशनका धूनहरू
सिम्फोनीको भाषामा प्रेमसागर उरालिरहेछन्
मेरा हत्केलाका भाग्यरेखाहरू चुमेर
तिमीले पिरतीको उर्जा हालिदिएपछि
मेरो शरिरको हरेक आलो अंगप्रत्यंगमा
माया नै मायाको विजुली दगुरिरहेकोछ
मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्
हर मोर्चामा मेरो अजेय तागत भन्नु
मभित्र तिमीले भरेको प्रेमशक्ती रहेछ
यही शक्ती मेरो दाहिने भएपछि
हरेक मोर्चामा हाम्रो प्रेमको
विजयी ध्वजापताका फर्रफराईरहेछन् ।
सयवर्ष अघिदेखिको इतिहासमा
यो देशमा कहिल्यै
इमान्दारिताको कदर हुन पाएन
यो देशमा कहिल्यै
देशभक्तिको कदर हुन पाएन
प्रभूहरूको इशारामा
सत्ता–संघर्षको काटमारमा
हरेक दिन यहाँ भिमसेन थापाहरू सेरिएका थिए
हरेक दिन यहाँ माथवर सिंहहरू मारिएका थिए ।
रगतले रंगिएको एउटा शताव्दिभरि
हरेक दिन हामी मध्येका
कोही न कोहीले जेल जानु पथ्र्यो
हरेक दिन हामी मध्येका
कोही न कोहीले गोली खानु पथ्र्यो
एउटा जंगेलाई स्थापना गर्न
एउटा खरीको बोट उमार्न
हामी नागरिकहरूलाई मूला झैं काट्न लगाइएको थियो
हाम्रो कोतमा रगतको खोलो बगाइएको थियो ।
त्यस शताब्दीको इतिहासमा
हामी जनताहरू कहींकतै
गर्वपूर्वक बाँच्न पाएनौं
हामी जनताहरू एकछिन पनि
मन फुकाएर हाँस्न पाएनौं
हाम्रै रगत र पसिनामा
हाम्रै जीवनको बलिदानमा
केवल एउटा जंगबहादुर बाँच्यो
केवल एउटा खरीको बोट बाँच्यो ।
खरीबोटे शासन रहँदासम्म
हामीले निडर भएर
एक आखर पनि बोल्न पाएनौं
गुम्सिएका बेदनाहरू
कहीं कतै खोल्न पाएनौं
बन्द मुख खोलेको आरोपमा
साँचो कुरा बोलेको अभियोगमा
हामी लखन थापाहरू मनकामनामा बली चढाइएका थियौं
हामी सुब्बा कृष्णलालहरू आजीवन जेलमा सडाइएका थियौं ।
अन्धकारमय त्यस युगमा
हामी एक निंद पनि
सञ्चोसंग सुत्न पाएनौं
हामीले एकपटक पनि
सुविस्ताको सुस्केरा हाल्न पाएनौं
त्यो खरीको बोट समक्ष
उर्दी र हुकुमहरू समक्ष
हामीले आफ्ना मुस्कानहरूको बली चढाएका थियौं
हामीले आफ्ना चाहनाहरूको बली चढाएका थियौं ।
त्यो खरीको बोटलाई मार्न
हामी धर्मभक्त र शुक्रराज भई
राजी–खुशी फाँसी चढेका थियौं
हामीले दशरथचन्द र गंगालाल भई
हाँसी–हाँसी गोली खाएका थियौं
घाँटीमा फाँसीको माला लाएर
न्यायको निम्ति गोली खाएर
हामीले अत्याचारी शासनको गर्दन रेटेका थियौं
हामीले इतिहासमा लागेको दाग मेटेका थियौं ।
हाम्रो छातीको टुंडिखेलमा
झांगिएको एउटा खरीको बोटलाई
हामी आफैंले यसरी मारेका थियौं,
एक युगपछि त्यो खरीको बोटको मृत्यु
हामी आफैंले देखेका थियौं
तर हाम्रो छातीको उही टुंडिखेलमा
अर्कै रंग तर उस्तै रूपमा
फेरि पलाएको छ उस्तै खरीको बोट
फेरि झांगिएको छ उस्तै खरीको बोट ।
यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसोमा लुटाइदिन्छु आफू आँसुमा डुबी
यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
भीड छ म भीडमा आफूलाई बिलाईदिन्छु
बिर्सिदिन्छु आफुलाई होशमा हराईदिन्छु
कि त लुकी यतै कतै रोईदिन्छु सुस्तरी
हाँसोमा लुटाई दिन्छु आफु आँशुमा डुबी
च्याती दिन्छु आफुलाई बालिदिन्छु साँझमा
फालिदिन्छु आफुलाई दिनहरुको माझमा
गाईदिन्छु गीत आफ्नो आफैलाई नै पिई
हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी
शब्द – कालीप्रसाद रिजाल
स्वर, संगीत – नारायण गोपाल
एल्बम – प्रेमको माला
क.
उषा चढिन् रे सल्लो !
स्वर्ग भयो आकाश उपल्लो !
त्यसको मछाया,
ताल धरामा, तल्लो !
सुन्दरताले झस्केको, वायुमण्डल
हाल्यो !
प्रतिस्पर्शले क्या बादल बल्लीे ,
फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो !
बिशेष गुरागाईं – बिस्थापित
सोचाइका फाँटहरु
धाजा फाँटेका गराजस्तै
किन पत्र पत्र चिरिएका छन् तिम्रा
छिमेकीले मिचेको साँधजस्तै
किन साँघुरिएकोछ
किन फैलन सकेनन पंख फैलाउँदै
उढ्ने चराका एक हुल बथान जस्तै भएर
हाम्रा रहर बिगत भन्दा चुलिएका छन्
हाम्रा सपना हिजोका भन्दा स्वदिला भएका छन्
ईच्छा फैलिएर सगरमाथा जित्ने होडमा लागीसके
तिमी उही पुरानो सोचको धरहरा उभिइरहेकाछौ
आजको आजसँग बेमेल भएर
समयसँगै नजर फेरिनुपर्ने
परिष्कृत हुनुपर्ने बिचार
चुलिनु पर्ने ईच्छा
अवतरित हुनुपर्ने नौलो आयाम रहरको
भुमंडलिकरणको रहस्य भित्र
साँघुरिएको समयले
डायनोसोर र साङ्लोको किम्बदन्ती पछ्याउँदै
अर्को इतिहास स्थापित नगरोस्
आजको आजले तिमीलाई बिस्थापित नगरोस् ।
बस्तीको साझा चौतारीमा
अर्को तुल झुण्डयाउन नपाईने चेतावनी लेखेर
भर्खर झुन्ड्याइएको छ
सहअस्तीत्वको नाममा एउटा अर्को नयाँ तुल
गिट्टीसँग कुटिएका हातहरूले
चियाका मुनासँग चटक्क टिपिएका यौवनहरूले
भोकमरीले थाकेका पेटहरूले
कहिल्यै भेटन नसक्ने उचाइमा
झुण्डिरहेका हुन्छन्
हात, यौवन र पेटका पक्षमा लेखिएका तुलहरू
भोकाहरूको पक्षमा टाँगिएका महँगा रङ्गनि तुलहरू
लेखिन्छन् पेट काटेर दर्जनौ भोकाहरूकै
शहरका तुलहरू
भोकका कुराहरू मात्र उठाउछन् माथिसम्म
भोक मेटाउनका लागि भोको मान्छेको
लेबि, कर वा रोयल्टी तिर्दैनन् तुलहरूले
यी सत्ताका तुलहरूको विरूद्ध
यी तुलका सत्ताहरूको विरूद्ध
किन बोल्न पनि पाईँदैन हाकाहाकी
गुनासो पनि छ वस्तीहरूको
द्रौपदीको पक्षमा लेखिएका अग्निवर्षी तुलहरू बनाउन
थाहा छैन कहिलेसम्म नाँगिरहनु पर्ने हो
थप कति पारिजातहरूले
लेखेर छात्तिमा नागरिक सर्वोच्चता
हरेक वस्तीका चोकहरूलाई
आफ्ना टाँगमुनि हाल्नुमा
गौरव गर्छन यी राता पहेँला तुलहरू
किन कसैले बोल्ने साहस गर्दैनन
यी तुलका कलाहीन नाटकको विरूद्धमा
क्यामेराका अगाडि पर्छन यी तुलका अक्षरहरू
छेकिन्छन् अक्षरभित्रका दृश्यहरू
झुण्डिएर प्रायोजित डोरीहरूमा
तुलका अक्षरहरूमाथि पर्छन
तल पर्छन अक्षरका भावनाहरू
तुलले जोड्छन् बाटोका दूई किनाराहरू
किन जोड्न सक्तैनन् फुटेका एउटै मन पनि
मैले सोध्न सक्तिन
शहरबाट तुलमा भिज्यो
अथवा तुलबाट शहरमा चुहियो
यो असंगतीको माधक झोल
मैले सोध्न सक्तिन
साँझ पार्न भट्टीमा पसेका घामहरूलाई
यी घामका तुलहरूबाट मात्र
सम्भव छैन
भोलिको विहान निर्माण गर्न ए राता तूलहरू !
फर्केनन् भने ती घामहरू
के जवाफ छ तिमीसंग
सुलोचना मानन्धर धिताल – जीवन र मृत्यु
कठिन छ जिउन
थाहा पाउँदा-पाउँदै पनि
कति मूर्ख म
फेरि जीवन नै रोज्दै छु
मृत्युको साटो !
गीता क्षेत्री – दुलही साथीलाई
साथी विवशतालाई बिर्सिदेऊ
पीरहरुलाई पन्साइदेऊ
ह्दयका व्यथाहरुलाई
एक-एक गरी हटाइदेऊ ।
साथी घरको सम्झनाले सताइदिए
हठात हाँसोमा साँटिदेऊ
विगतका दिनहरु बल्झिदिए
विरानो कथा सम्झिदेऊ ।
नत्र साथी,
तिम्रो मूल्यवान आँसुलाई
पानीसरह मान्नेछन्र
बिदाइको हिक्कालाई
मिलनको खित्का ठान्नेछन् ।
शुभकामना राख्छु युगयुगान्तरलाई
अन्धकारले नछेकोस् बिचैमा
सम्झना आलो ह्दयमा
उज्ज्वल भविश्यको शुभकामना ।
भोजराज बराल – स्वयम्भुको बादरले पनि घर बसाउथ्योकी
जोतेरनै लालपुर्जा पाइने भए
डाँडा पाखा नै किन रत्न पार्क नै जोत्थे होलान्
पोतेरनै दैलो आफ्नो हुने भए
मुखियाको किन नारायणहिटी नै पोत्थे होलान्
जोतेर, पोतेर वा गोदेर, चिथोरेर
चोरेर वा कुनियो फोरेर मात्रै आफ्नो बनाउनेहरुहो
अनी
लुटेर, भुटेर वा कुटेर
छेकेर वा टाउकामा टेकेर मात्रै अधिन चलाऊनेहरुहो
त्यो डकैतिलाई पसिना र पाखुरामा
अनी
त्यो पागलपनलाई बिबेकको टाकुरामा
एकपल्ट पुर्याइ हेरत
यो माटोको त के कुरा
तिमीले टेकेको चट्टान पनि रसाउथ्योकी
स्वयम्भुको बादरले पनि घर बसाउथ्योकी
– London
मणिराज सिंह – सतीले सरापेको देश
टेक्दै मसानका ढिस्काहरू
खेल्दै रगतका फाल्साहरू सित
झण्डा उचालेर वीरताको
फर्कदै थिए जब भीम मल्ल
आफ्नै आमाको काखमा
साँगुरो सुरुङ्गभित्र
कोलाहलका विक्षिप्ततामा रन्थनिएका
प्रताप मल्लहरू
पिचासझैँ भौँतारिएर
घृणाका काँडाहरू उमारेर आँखामा
टाउको छप्काएर आफ्नै भाइको
विद्रुप हाँसो हाँसिरहँदा
सतीले सरापेको
शोकमग्न बस्तीझैँ
अभिशप्त जीवन बाँचिरहेको छ यो देश
टिलपिल टिलपिल चम्किरहेका
ताराहरूका असह्य पीडाबीच
रणबहादुरको बौलेहट्टीपनको
कुरूपतामा रगताम्य
बहादुर शाहको बलिदानको
गर्जनमा उन्मत्त
कङ्कालमय यो देश ।
हुरी बतासको चर्को सुसेलीमा हल्लिएर
भूँइचालोको सम्भावित खतरामा आतङ्कित
अपमानको पीडा सहन नसकेर
भीमसेनझैँ आत्महत्याको प्रयास गर्दै
गोसाइकुण्डतिर भौतारिन्छ
दुर्घटना, अन्र्तघात
र आतङ्कको छायाँमा
लोडसेडिङ्गले गतिहीन र निरर्थक
चौबाटोमा हाहाकार गर्दै
चकमन्नताको मैलो च्यादर ओढेर
दिउँसै आँखा तिर्मिराउने उज्यालोमा पनि
लाटोकोसेरोझैँ झुण्डिएको छ
घरको मूलढोकामा
समयको झापड खाँदाखाँदै
थिलथिलो भएको
सतीले सरापेको देश ।
चकेद्र राई “कैदी” – म एक्लो छु
म
माटो भएर ढुङ्गा सँगै
टाँसिन जानिन ……।
किनार भएर नदी सँगै
गाँसिन जानिन……।
अन्यायको जातोमा मकै सरी
पिसिन जानिन……।
आकाश भएर क्षितिज सँग
मिसिन जानिन……।
त्यसैले….
म एक्लो छु , नितान्त एक्लो !
न बुढो राजनीतिक
इतिहासको खोल ओढेर
यथास्थितिमा लम्पसार परी
काग्रेस बन्न सकेँ…………।।
न म
दोबाटोमा दोधार दोमन लिएर
ठिङग उभी रहने दुई जिब्रे
ए.माले बन्न सके ……।
न त
मिठा मिठा सपना बाँड्दै
आशै आशाको स्वर्ग दिलाउँदै
धमासको खेती गर्ने
ए.माओवादी बन्न सकेँ ……।
त्यसैले…
म एक्लो छु , नितान्त एक्लो !!
मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले…
म एक्लो छु , नितान्त एक्लो !!!
मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!!
आज सोच्छु
भाग्य पनि कस्तो कस्तो ?
कोही दरबार बाट एकान्त कुना तिर बसाइ सरे
कोहि कल्पनाको आकश बाट यथार्थको धरतिमा झरे
नहुने जति नेपालमा नै हुदो रहेछ हरेकाहरुले नै चैन गरे
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!!!
हाम्रो छाती कत्रो ? हिमालजत्रो
हाम्रो बारीको नाउँ के ? नेपाल
हाम्रो गाउँको नाउँ के ? नयाँ नेपाल
त्यसको सेरोफेरो कति ? ब्रह्मपुत्रवारि, इन्दसवारि, गङ्गावारि
हाम्रो देशको नाउँ के ? खसमीर, खुशी, खसियाशैल ।
हाम्रो उचाइ कत्ति ? नोर्के थुम्कोजति ।
हाम्रो आदर्श के ? गोरखा—
तर गाई र ब्रह्माले जस्तै ढाँट नबोलेर
बलभद्रले जस्तै साँचो बोलेर ।
हाम्रो जुक्ति के ? सकेसम्म छलफल
अनि छल
दामोदरको, भीमसेनको, जङ्गबहादुर खसको जस्तो ।
हाम्रो धर्म के ? लडाइँ—
पृथ्वीनारायण शाहको जस्तो
बहादुर शाहको जस्तो
रणबहादुर शाहको जस्तो ।
हाम्रो कला कस्तो ? अर्निकोको जस्तो
हाम्रो कैदी कस्तो ? भगवान् अरविन्दजस्तो
हाम्रो मुक्ति कस्तो ? त्रिभुवनजस्तो ।