Ashank Upadhyaya – Urath (Nepali Gajal)

आशांक उपाध्याय – ग़ज़ल – “उराठ”

चरी आयो उडी गयो पन्जा छाप मात्र यहाँ ||
हुरी आयो छाडी गयो चिसो धाप मात्र यहाँ ||

वन पनि शुन्य हुन्छ कोइलीको धुन बिना,
मृग आयो गाडी गयो खुर नाप मात्र यहाँ ||

कस्तुरीको सुगन्धमा मग मग बास्ना थियो,
शिकारीले तीर छाड्यो बोक्यो पाप मात्र यहाँ ||

उल्लु रोयो मन छोयो सुँगा, मैना डराएका,
दाउरेले हाँगा काट्यो रह्यो खाप मात्र यहाँ ||

बन्चरेले रुख ढाल्यो जंगल नै थर्काएर,
गोठालोले आगो बाल्यो आयो राप मात्र यहाँ ||

Ramkumar Shrestha – Prabhu Ashirbad

रामकुमार श्रेष्ठ – प्रभू आशिर्बाद

प्रिय,
मैले त भनेकै थिएँ नि
कुनै दिन औंसी र पूर्णिमा एकै दिन हुन सक्छ भनेर
तर तिमीले कहिल्यै पत्याइनौ
ल तिमी आँफै हेर त
कसरी आज औंसी र पूर्णिमा संगसंगै भैरहेछ
तिमी भन्छौ कस्तो निस्पस्ट अन्धकार रात
रातो पिरो दौरा सुरुवाल गुरु भन्दैछ –
टहटह जुन लागेको कस्तो रमाइलो रात
उस्को कुराले तिमी भने “मूर्ख” भन्दै अट्टहास छाड्छौ
ऊ भने झसंग झस्केर आत्मग्लानी पूर्वक
देखाउनकै लागि भने पनि सकी नसकी मुसुक्क हाँस्छ
होइन के हो यस्तो यो ?

प्रिय,
तिमीले बुझिनौ
रात र दिनको यो दिग्भ्रम कहाँबाट कसरी आयो ?
यस कारणले कि प्रभूको अपरंपार लीला बिचित्रैले छायो ,
परेवादेखि चतुर्दशीसम्मको चौध दिन नै गायब
तीन चित खाइरहेको रातो पिरो दौरा सुरुवाल गुरुको लागि
चिताउँदै नचिताएको कुरा पनि कति पायक ?,
प्रभूको आशिर्बाद पाए औंसीको रात पनि पूर्णिमा बन्ने
स्वाभिमानीको लागि औंसीको रात नै धन्य धन्य ।

देख्यौ त प्रिय,
मैले जे जे हुन्छ भनेको थिएँ त्यही त्यही भयो कि भएन
मैले साँढे ब्याउँछ भनेको थिएँ आखिर ब्याएरै छाड्यो,
गंगा उल्टो बग्छ भनेको थिएँ आखिर बगेरै छाड्यो,
यहाँ के हुन्न प्रिय
यहाँ त सबै थोक हुन्छ
संसारमा कहीं संभब नहुने कुरो यहाँ संभब हुन्छ –
रात दिन हुन सक्छ अनि दिन रात
औंसी पुर्णिमा हुन सक्छ अनि पुर्णिमा औंसी
केबल प्रभूको आशिर्बाद चाहिन्छ प्रिय
सबैको कल्याण गर्ने पशुपति र तेत्तिस कोटी देबी देबताहरुले
अल्छि गरेर के हुन्छ र
अहो रात्र दौड धूप गर्ने प्रभू भएपछि
जाबो गाइजात्राको लागि बर्ष दिन कुर्नु पर्छ र प्रिय
जुन बेला जस्तो आवश्यक पर्छ त्यस्तै गाइजात्रा मन्चन भै हाल्छ
पुन्पुरो बलियो नहुनेहरुले उजुरी हाले हाल्छ ।

लोक लाजको पनि कुनै अर्थ हुन्छ र प्रिय
यहाँ लाज त लोकलाई पो हुने भयो त
लोकको तोक शोकमा किन पर्दैन त प्रिय
चौबिसै घण्टा ब्यस्त प्रभूसंग
नारी खौंचेर लिन खोजेपछि टक्कर
आइपर्छ नि त नसोचेको अक्कर
प्रभूको आशिर्बाद पायौ भने त प्रिय
तिमी लाटो, लंगडो, खोरण्डो, कानो, बहिरो, लठेब्रो
जे भए पनि केही फरक पर्दैन नि प्रिय
जब लोकतन्त्र प्रभूतन्त्रमा परिणत हुन्छ भने
लोकतन्त्र प्रभूतन्त्रमा
औंसीको रातमा
टहटह जुन लाग्न थाल्छ प्रिय
टहटह जुन
त्यसैले प्रभू आशिर्बादको मर्म बुझ प्रिय
प्रभू आशिर्बादको मर्म ।

Shiva Prakash – Sukha Ko Paryaya

मात्तिएका यौवनहरु
पात्तिएका जीवनहरु
आधुनिकता भित्र
यौनका नवीन सँस्करण
घामजूनको पर्वाह छैन
वसन्तको उन्मादलाई जिस्क्याउँदै
छताछुल्ल पोखिन्छन्
सभ्यताको आडम्बर ओढेको
सभ्य शहरभित्र
समय
आधुनिकतको
उत्ताउलो Continue reading “Shiva Prakash – Sukha Ko Paryaya”

Bikram Subba – Euta Dantya Katha

विक्रम सुब्बा – एक दन्त्य कथा

सुनाउँने पालो आयो आमाको
र सुनाउँनु थाल्नु भयो दन्त्य कथा –
‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो’रे
उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो’रे
खान-पिन र स्याहार पुगेकोले
बच्चो औधी फूर्तिलो र रहरलाग्दो थियो’रे
एउटा चित्रकारले बच्चो देखेपछि बिर्सनै सकेन
तसर्थ, उसले बच्चोको दुरुस्तै चित्र बनायो’रे
र दंग परेर, राख्यो’रे शिर्षक – ‘देवता !’

कालान्तरमा त्यो नावालक ‘देवता’
छातीभरि अनेक महत्वाकांक्षाहरूसँगै छिप्पियो
जतिजति आकांक्षाहरू झाँगिँदै गए ‘देवत्व’ घटदै गएछ
र एक दिन सम्पूर्ण देवत्व त्यागेर ऊ राजा भएछ

ताहाँ उप्रान्त राजाले
कहलिएका सामन्तहरूलाई आफ्ना भारदार बनायो’रे
गाउँ-ठाउँका परपिडकहरूलाई प्रशासनमा नियुक्त ग-यो’रे
थुप्रै सेना र हातहतियार जोडेर उसले दसतिर युद्ध थाल्यो’रे
एकबारको जुनी पाएका मानिसहरू लाखौँ मारिए
रगतको खोला बग्यो
अनेक स्वतन्त्र राज्यका अनुहारहरू बगेर विलय भए
युद्धहरू जिते पछि त्यो राजा बन्यो’रे – महाराजा !

यी सबै ईतिहास हेर्दै पाको भएको उही चित्रकारले
महाराजाको रंगीन चित्र बनाउँदा क्यानभासमा
मानिसजस्तो लाग्ने एक क्रुर तस्बिर उत्रेछ
र चित्रकारले राखिदियो’रे शिर्षक – ‘दैँत्य !’

कथाको अन्तिम अध्याय पनि आमाले सुनाउँनु भयो –
परन्तुमा ‘देवता’ र ‘दैँत्य’का चित्रहरू सँगसँगै टाँगिए’रे
र प्रदर्शनीमा लाखौँले ती दुई चित्रलाई गजबले हेरे’रे
आफ्नो तस्विरको शिर्षकले महाराजलाई रातभरि निद्रै लागेनछ
‘शिर्षक-अपराध’मा चित्रकारलाई जेलमा कोचेछन्
आफुले बनाएका चित्रहरूको विचित्र शक्तिको सम्झना गर्दै
जेलमै एक दिन चित्रकार म-यो’रे
तर, ती दुई चित्रले भनेको कथा कण्ठ भएर
चित्र हेर्ने लाखौँ मानिसको मन-मस्तिस्कमा बसेछ ।

त्यसपछि –
त्यो कथा बा-आमाहरूले छोरा-छोरीहरूलाई,
र, छोरा-छोरीहरूले –
फेरि उनका छोरा-छोरीहरूलाई सुनाउँदै-सुनाउँदै ल्याउँदा
एक दिन मेरै आमाको पनि पालो आयो
आमा बितेर गइसके पछि अब मेरो पालो आएकोछ –
‘दैँत्य’हरूबाट मानिसलाई मुक्त गर्नेभए
यो कथा धेरैलाई सुनाउँनु पर्छ
जस्तो कि तपाईँलाई म यो कविता सुनाउँदैछु ।
एक पुरानो कथा/मिथमा आधारित

Laxmi Prasad Devkota – Kamjori

क.

कमजोरी हुन् दुःखकी बहिनी,
श्रमकी छोरी !
दिनभर, दिनभर मन्थन गर्दै मानव स्नायु
फींज सोहोरी,
विधिले रचे रे कमजोरी !
इन्द्रधनुषको रङ्ग क्यै जोरी !
साँवली छन्, छैनन् गोरी !
तैपनि छन् फेनील हुरी Continue reading “Laxmi Prasad Devkota – Kamjori”

Komal Shrestha Malla – Sawari Chalaunchhan

कोमल श्रेष्ठ मल्ल – सवारी चलाउँछन

जून भुलेर
रात रमाउने
घाम छेकेर
दिन जन्माउने
मनुवा यज्ञमा
ढुङ्गा, मुढा, टायरका चरुहरु
सडक सहन्छ

लासका बिस्कुनहरू
सडक बोक्छ
अनि रगतको अभिषेकमा
मात्र मृत्यु उमार्दै उमार्दै
सडक आधुनिक ताण्डप गीत नृत्य भोगेर
खरानि,तिलक उत्सवमा
विजय महशुस गर्छ ???
उफ !
माउतेहरु
तहस नहस सडक चढेर
बिदुर,बिधवा,बालक
बृद्द ….. मा कोर्रा ठोक्दै
नोट खान्छन
मान्छे चपाउँछन
महल सजाउँछन

रक्त रंगीन सडक,
चहार्छन ?
लतार्छन ?
र डकार्छन ??
नपुगेर
सडक उचाल्छन
सडक उमाल्छन
सडक गाल्छन
र बिनासका चक्रब्यूह बुनेर
स्वनासका
सवारी चलाउँछन ???

Baidyanath Upadhyaya – Samaya Ka Dob Haru

वैद्यनाथ उपाध्याय – समयका डोबहरू

अनुहारभरि कुँदिएका छन
समयका डोबहरू-
पीडाका भूगोलहरूमा
पहाडको दुर्गम उँचाई लम्कँदैंछ
मेरो समय
इच्छाहरूको पहिरो लागेर
थिचिएकाछन मेरा खुसीहरू
नदी नाला र खहरेहरूमा
विराग अलापदै
बगिरहेका छन
धेरै चाहनाहरू
अतृप्त, असंगत
भावनाहरूको भूमरी चलेको
यो अपांग क्षणमा
तिम्रो अनुहारभरि
दौडिएका उदासीका धर्साहरूमा
विचलित छन एकाएक
मेरा कयौं चाहनाहरू !
कालको बैशाखी उभिएर
नियालिरहेछु निस्पृह, निर्लिप्त
दोबाटोमा उभ्याइएको
निर्जीव सालिग सरह..

Pramod Snehi – Salla Jhain Susaundai

प्रमोद स्नेही – सल्लाझैँ सुसाउँदै
(मधुपर्क पुस, २०६७)

जीवनको लय सधैँ
एउटै गतिमा नबग्दो रहेछ ।
मृगतृष्णा बोकेर आँखामा
वर्षौ भयो ।
यो वृद्धआश्रमको आँगनमा
पहार ताप्दै
आफैलाई झूठो आश्वासन दिएर
पर्खिरहेछु
कोही Continue reading “Pramod Snehi – Salla Jhain Susaundai”

Prem Binod Nandan – Baschhu Ma Ta Himalko Chhayama

प्रेम विनोद नन्दन – बस्छु म त हिमालको छायाँमा

बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा

कहीं छैन यो हसिलो हिमालझैं हाम्रो
कहीं छैन यो रसिलो नेपालझैं राम्रो
जहा जाऊँ अति लाग्छ यो नेपाली Continue reading “Prem Binod Nandan – Baschhu Ma Ta Himalko Chhayama”

Biwash Bipra – Ho ! Sanchhai Ma Harayeko Chhu !

बिवश बिप्र – हो ! साँच्चै म हराएको छु !

यि हरित-लतीका बिचैबिच
रङ्गको बासना मगमग छर्दै,
कोमल परागहरु
माटोका कण-कणमा सेचन गरेर
कल-कल गरी सुसेली हाल्दै,
यात्राको माधुर्यता नाप्दै,
आफ्नै गतिमा
उनि बहिरहेछिन !
अनि बहिरहेछिन !

गुप्तेस्वर भित्र
एक्लो म…
उनको गुन्जन कानका भित्ता भित्तामा ठोकिएर

छङ ! छङ !छङ !छङ !छङ !छङ ! छङ ! छङ ………..

कहाँ हो कहाँ …………???
म भन्दा धेरै तल
पातल भन्दा धेरै मुनी

म पुग्न सकिन….
कहिल्यै पुग्न सकिन….

माटोकै भित्ता त होलान नी ??
मैले देखेका जस्तै ढुंगा त होलान नी ??
ओहो !ति ढुंगाहरु त सार्है भाग्यमानी पो होलान ….
न डर….
न चिन्ता ..
न पिर …
न बेदना…

उनि बस्ने स्थान भरि
यता….
उता….
जता…
ततै….
कति स्वतन्त्र होलान …. ??
तिनिहरु ….

वा,
त्यो छङ ! छङ ! गर्ने आवाज
ति ढुङ्गा र माटोको गुन्जन पो हो कि ?
अथवा उमङ्गको मन्चन पो हो कि ?

यसरी,
मनको एक्लो दर्शक बनेको म
आज हाँसेको छु !
साँच्चै म हराएको छु !
हो साँच्चै म हराएको छु !

कहाँ कहाँ……………..?????

(Sent to Sanjaal Corps via Email)

Kshetra Pratap Adhikari – Bhariya Jyami Ityadi

क्षेत्रप्रताप अधिकारी – भरिया, ज्यामी, इत्यादि

डोकोमा गाउँ बोकेर
उकालो लागेको धनमान
ठाँटी पाटीमा कतै
एक बर्को शान्ति ओढेर
निर्धक्क
थकाइ निदाउँछु भन्छ
भरियाले चाहेको त्यत्ति हो ।

डल्ला फर्काइफर्काई घाममा
अधियाँ जोतिरहेको हर्षबहादुर
सुस्केरा रोपेर टारीमा
जीविका फलाउँछु भन्छ
ढिँडो खाने बेलामा अलिकति
शान्तिको सितन चाहियो
हलीको इच्छा त्यत्ति हो ।

खसीको आँखामा
खुसी हुर्काएर
दसैँ पर्खिरहेका केटाकेटी
पारि पाखातिर
चितुवा कराएपछि
हारगुहार मागिरहेछन्
गोठालाको अनुनय त्यत्ति हो ।

औँला रोपेर असारमा
सहकाल कोरलिरहेका
रोपाहारहरू भन्छन्-
असिना आएन भने
पसिना फल्छ
सुरक्षाको छाता चाहियो
खेतालाको विनय त्यत्ति हो ।

दिनभरि
ढुङ्गा फुटाएर गिट्टीमा
जीवन खोजिरहेकी
द्वन्द्वपीडित विधवालाई
टुहुरा छोप्न रातभरि
एक मजेत्रो शान्ति देऊ
ज्यामीले मागेको त्यत्ति हो ।

नेपाल साप्ताहिक १३६

Yogendra Raj Sharma – Gothalo Drishti

योगेन्द्र राज शर्मा – गोठालो दृष्टि

यो समय
आहाल बसिरहेको भैँसीमाथि
बसिरहेछन् भ्यागुताहरु
र कुरिरहेछन् भैँसीको भव्य प्रस्थान ।

केही समयअघि
यही घोलमा
कुरिरहेका थिए आन्द्रो सुकेका जुकाहरु
भैँसीको Continue reading “Yogendra Raj Sharma – Gothalo Drishti”

Rabindra Nath Thakur – Biraha Alok [From Geetanjali]

प्रकाश : प्रकाश कहाँ छ र ?
विरहको आलोकले प्रदीप प्रदीप्त गर !
जलिसकेको प्रदीप राख, विरहको नयाँ आलोकले त्यसलाई बाल !

‘यस्तो नै भाग्मा लेखिएको छ,’ यसो भन्नु भन्दा मर्नु असल हो :
विरहको अग्निले आङ्खनो प्रदीप बाल !

वेदनारुपी दूती गाइरहेकी छ,
‘ऐ प्राण !’ तिम्रो निम्ति भगवान् जागरुक भएका छन् :
त्यो रातको अँध्यारोमा साथी–सङ्गीका निम्ति तिमीलाई पुकार
गरिरहेछन्,
तिमीलाई दुःखी देखीकन उनीहरु तिम्रो प्रेम गौरवान्वित ठान्दछन् :
तिम्रो तिम्ति भगवान् जागरुक भएका छन् !

अम्बर प्रांगण मेघले परिपूर्ण छन्,
वर्षाको पानी झर–झर–झर झरिरहेछन् :
जलिसकेको प्रदीपलाई विरहको आलोकले बाल :
यो तिमिराछन्न रात्रिमा म एक्लै कसैको प्रतीक्षामा जागृत छु ?
वर्षाको पानी झर–झर–झर झरिरहेछन् :
बिजसलीको ज्योति क्षणभर मात्रको लागि न हो, नाउ निस्पट्ट
अन्धकारले घेरेको छ :
कसले जान्दछ र कि कति टढादेखि रात्रिको गम्भीर सङ्गीतको
स्वर आइरहेछ ?
त्यो सङ्गतिले मेरो सम्पूर्ण आत्मालाई उपट्टि खिचिरहेछ !
प्रकाश कहाँ छ ? प्रकाश कहाँ छ र ?
अब विरहको अग्निले नै प्रदीप बाल, जगाऊ, प्रेमी ! जगाऊ ।

मेघ गर्जिरहेछन्, वायस मन्द मन्द बहिरहेछ :
वेला भइसकयो, अब कहीँ जानु असम्भव होला :
निस्पट्ट निशा आबनूसको कालो ढुंगा झैँ कालो छ,
यस्तो रातमा प्राणलाई प्रेमको प्रदीपले प्रकाशित गर !
आङ्खनो प्रदीपलाई विरहको अग्निले नै प्रदीप्त गर !

Bhim Darshan Roka – Nepal Dekhda Katai Dekheko Jhain

नेपाल देख्दा कतै देखेको झैँ,
बिहान कतै आँगन टेकेको झैँ,
यस्तो लाग्यो हृदयमा मेरो,
सपनामा कतै भेटेको झैँ,
नेपाल देख्दा कतै…।
टाढा टाकुराबाट गाएको झैँ,
पहराबाट गोरेटो आएको झैँ,
यस्तो लाग्यो हृदयमा Continue reading “Bhim Darshan Roka – Nepal Dekhda Katai Dekheko Jhain”

Khagendra Giri Kopila – Samjhana Ka Chhayan Haru (Nepali Gajal)

खगेन्द्र गिरी ‘कोपिला’ – (गजल)
(Source: मधुपर्क जेठ, २०६८)

सम्झनाका छायाँहरू सम्झिर’न पाए पुग्यो
जूनकीरीझैँ अँधेरीमा चम्किर’न पाए पुग्यो

सँगालेर पीडाहरू अँगालेर खुसीहरू
हृदयको गोरेटोमा लम्किर’न Continue reading “Khagendra Giri Kopila – Samjhana Ka Chhayan Haru (Nepali Gajal)”

Dr. Gopal Bhandari – Ananta Bramhanda

डा.  गोपाल  भण्डारी  – अनन्त  ब्रम्हांड

धेरैलाई सरम लाग्छ–
आजभोलि नेपालबाट आएको भन्दा
अनपेक्षित फन्दामा फसिने डरले
अन्तर्राष्ट्रिय क्षेत्रमा जातै गए जस्तो लाग्छ,
नेपालीले नेपालीलाई
बिना कसुर हत्या Continue reading “Dr. Gopal Bhandari – Ananta Bramhanda”

Yagyesh Dhwoj Karki – Aama Timro Yaad Aayo

यज्ञेशध्वज कार्की – आमा तिम्रो याद आयो

आमा तिम्रो याद आयो,
तिम्रो मायाको सम्झना आयो,
धेरै टाढासम्म आयो
र यसरी आयो कि
तिम्रो ममताको आभासले मेरो मन भरी आयो
आखाँमा आँसुको झरी ल्यायो
यी बन्द नेत्रले पलभरको लागि तिम्रो दर्शन पायो
र यो शिशुले
तिम्रोलागि शब्दै मात्रको यो गीत गायो,
आमा तिम्रो साह्रै नै याद आयो।

Bhairab Aryal – Karinda

भैरव अर्याल – कारिन्दा

उठ्
पुछ्
खा
चुठ्
दुगुर्–दुगुर्
स्वाँ–स्वाँ
बस् धस्
हस् हजुर
लुखुर–लुखुर
स्याँ–स्याँ
तिहुन तमाखु थप
पापाको संसार
ऐजन ऐजन लम्पसार ।

Abir Khaling – Maane Kaaka

अबिर खालिङ्ग – माने काका

बारीको डीलमा उभिएको उत्तीसको रुखसंग
माने काकालाई बह पोखाउन
मन लागेको छ ।

डब्लु डब्लु डब्लु डट कम मानबहादुर कार्की लग अन गर्दा
किन नपाएको होला उसको पेज ?
एउटा चोली र गुन्युको मात्र सपना देखने
आफ्नी स्वास्नीको अरु केही सपनाहरु थिए कि ?
हातमा समयले थमाईदिएको ल्यापटप बोकेर
बुढो उत्तीसको रुख हेर्दै
माने काका डुली रहन्छ साइबर जंगलमा ।

कुवैतको सम्पन्न बलौटे माटोबाट
छोरोले फेसबुकमा लेखेछ
घरबारी उकास्ने कुराहरु / देखेका सुख सपनाहरु ।
बुहारी नाती जन्माएपछि
शहर पस्छु भन्दैछे
कुखुराहरू / बाख्राहरू कोही हुँदैन शहरमा
एक्लो हुनुको भयले सार्है त्रस्त छ ।

उत्तीसको बुढो रुख रोपिदिने
बराज्यूको सपनाहरू किन सुरक्षित छैन ?
डाटाको महा जंगलमा पनि
किन भोको छ हाम्रो प्यास?
माने काकाको चार कोरी उमेर ले सोधेको छ –
‘खोई कहाँ छन हाम्रा चेप्ज्यूका ओभानो गीतहरु?’

फेसबुकमा देखेको छ उसले
छोरोको अनुहारको किताब /
कति रंगहीन ।
अब को तीन बर्षमा छोरो आउँछ कि आऊंदैन घर
गुगल र याहू चुपचाप छन।

समयको ल्यापटप बोकेर
उत्तीसको फेदमा
उडिरहेछ माने काका
साइबर जंगल डुल्दै।

(Sent to Sanjaal Corps via Email)

Prashanta Kharel – Aagaka Filungaharu Tekera

प्रशान्त खरेल – आगाका फिलुङ्गाहरू टेकेर

हृदयभरि अनगिन्ति चोटहरू बोकि
समयको निशा भित्र
इतिहासलाइ मुक प्रश्न गर्दै
वर्तमानले अचेट्न नसकेका सपना समेट्न खोज्दै
आमा, मुटुभरि ज्वाला बोकि
आगाका फिलुङ्गाहरू टेकिरहेको छु म
बाँच्नु मात्र जीवनको सार्थकता होइन
तर यथार्थनै बाँच्नु भएपछि
कल्कलाउँदा पालुवाहरू खङरङ्ग सुकेको हेर्दै
राताम्य फूलहरूमा बाक्लै जमेका
सेता हिउँका पत्रहरू सुम्सुमाउँदै
जीवनको परिभाषा खोज्दैछु
आमा, मनभरि अनगिन्ति रहरहरू बोकि
आगाका फिलुङ्गाहरू टेकिरहेको छु म
इतिहासले कहिल्यै जवाफ दिएन
वर्तमान निशब्द टोलाइरहेछ
पट्पट् फुटेको बाँझो धर्तिमा
मरूभूमीको तातो वालुवा खनाउँदै
भविष्य ङिच्च हाँसिरेको छ
चिरा परेको समयलाइ नियाल्दै
मातृभूमीको नक्सा खोज्दैछु म
आमा, शरीरभरी माटो धसि
आगाका फिलुङ्गाहरू टेकिरहेको छु म
खुला आकाशमा वाजहरूको मेला भित्र
सेता परेवाहरूको चिच्याहट कान थाप्दै
पृथ्वीको जुनसुकै दिशाबाट पनि
सुर्योदय हुन सक्छ भनि
विहानिको पर्खाइमा निश्पष्ट रातमा
एकोहोरो प्रतिक्षामा बसेको छु म
आमा, तिम्रा सेता केशहरूमा सुन्दर चन्द्रमा नियाल्दै
आगाका फिलुङ्गाहरू टेकिरहेको छु म

गौरादह ४, झापा