Harihar Dahal – Bighatit Nahunu Parne Thiyo Timi

आशाले बाँचेका मनका भित्ताहरुमा-
झुटा आश्वासनका पर्चाहरु टाँगेर,
भाबाबेशमा-संबन्धका सर्तहरु बिर्सिएर
नयाँ गन्तब्य,
नितान्त फरक यात्रा थालिछौ।

बाटाहरुमा,
आहात् नेत्रले निर्निमेश हेरिरहेछु।
समय,ओईलिएर चाउरिरहेछ।
म त सम्झौतापूर्ण अनुक्रममा थिएँ।
किन भङगालिनु पर्थ्यो यात्रामा ?

अभाब र गरीबि मात्र,
जीवन कहाँ हुन्थ्यो होला र!
भरोशा गर्नु पर्थ्यो-मेरा कोशिसहरुमा।
विश्वाश गर्नु पर्थ्यो-मेरा परिश्रमहरुमा !
आत्मासँयमतालाई अलिकति,
बढाएकै भए पनी त हुन्थ्यो |
महत्वाकांक्षालाई थोरै,
दबाएकै भए पनि त हुन्थ्यो |

बिभक्त मनहरु- घायल छन
पुराना चोटहरु-
आलो घाऊ बनेर चर्किरहेछन्।
असम्मतीपूर्ण प्रस्थानले,
पिंडा भोगिरहेछु।

जीवन-दरिद्रतामा बाँच्ने निस्चितता नै के थियो र!
भबिस्य-उन्माद हाँसो हाँस्थ्यो होला!
भबिस्य-सफलताको उत्सब मनाँउथ्यो होला!
कती हाँसिन्थ्यो होला खुशीहरुमा-सँसगैं!

बिचलित् नहुनु पर्ने थियो बचनमा|
न भङ्गालिनु पर्थ्यो यात्रामा।
बिघठित् नहुनु पर्ने थियो तिमी जीवनमा ।

Komal Bhatta – Budhesh Kaal Le Chhoyo Aba (Nepali Gajal)

कोमल भट्ट – बुढेसकालले छोयो अब (गजल)

बुढेसकालले छोयो अब दुवै गाला चाउरी परे
आयु पनि सकियो कि सबै छाला चाउरी परे

सम्झनलाई गाह्रोभयो स्मरण शक्ति हराएर
विस्मृतिले गर्दाखेरी जीउका चाला चाउरी परे

आँखाभरी Continue reading “Komal Bhatta – Budhesh Kaal Le Chhoyo Aba (Nepali Gajal)”

Prakash Sayami – Ma Apad Ma Timi Sita Hinde [Nepali Gajal]

म आपदमा तिमीसित हिँडे
म सापटमा तिमीसित हिँडे

हिँड्नेहरु कहाँ कहाँ पुगे खै
म राहतमा तिमीसित हिँडे

नदीको वेगसरिको जवानी यो
म चाहतमा तिमीसित हिँडे

के नगद के बाँकी पिरतीमा
त्यै वापतमा तिमीसित हिँडे

घाउ दुखेसरिको पीडामा छुँ
म आहतमा तिमीसित हिँडे

Ram Prasad Prasain – Mathi Tira Bagchha Eenwa Khola

रामप्रसाद प्रसाईं “आशुतोष आंशु” – माथितिर बग्छ ईंवा खोला
(The River Eenwa Flows UPWARDS)

बादलुको घुम्टाहरूले
धुमधुम्ती धुमिइएका
धुम्म क्षितिजहरूको संयोगमा
मुसुक्क मस्किंदै
सिँहलीला, फालोट र तिम्बुपोखरीहरू
तयारीमा छन् सद्भाव चुम्बनमा
कञ्चनजङ्गा, सिदिङ्ग्मा
र पाथीभराहरूसंग


तल
तल तल
तल तल तल
बस्तीहरूमा पनि
तल् तल्
लत

लागेको छ
शिक्षाको, रोजगारीको,
म्याद गुज्रेकै भए पनि
सिटामोलको, जनजीविकाका
नाङ्ला र नाम्लाहरूको अनि ह…ह… र
होरा होराले कुहिरीमण्डल पाखा, पखेरा र बस्तीहरूमा
मानो पाथी बेसाउन हिँडेका आमाहरू, अँगेरीका
पातभरि बेरेका काँचोपातका खिलीहरू
चुरोट र बिंडीका धुँवाका
अर्धपारदर्शितामा
खि
लि

एका
श्यामस्वेत आकृतिहरू,
आवेगहरू, विश्वास र
विद्रोहका
भारीहरू
मानौं,
टारबारी दिनभरि जोत्दा
नमेटिइएका राँटाहरू हुन्
घाँसका भारीसंग रसाएका पसिनाहरू
कोदाला र गैंतीका एकहोरा विलापहरू
गाउँबस्तीमा चुलो नबल्दा,
धुरी नधुवाउँदा
घर बस्तीबाट
चियाइरहेका भोका अबोधपनाहरू
घाँटीभरि घण्टी झुण्ड्याइएका
र भाकल गरेर चढाइएका
चञ्चल बाख्राका पाठाहरू
कोक्रोमा सारा संसार
खुम्च्याइएका
बोली नफुटेका अबोध नानीहरू
मानवताको नरमेधमा परेड खेल्न
ब्यस्त घोडाका टापहरू
गड्याप्प गड्याप्प गड्याप्प
गड्याप्प गड्याप्प
गड्याप्प
गड्
याप्

उच्चताग्रन्थिले ग्रसित
सामाजिक स्वास्थ्यका ‘कोलस्ट्रोल’हरू
सत्कारक र तस्करहरू
भोका चखेवा र मुख बाइरहेका
चँचेरा बचेराहरू र टियुराहरू
अ/कथ्य
अ/लेख्य
अर्ध/ठोस
सरलताभित्रका जटिल दलीलहरू
जटिल नजीरभित्रका सरलताहरू
इतिहाँसका तमोसुकमा
न/लेखिइएका ब्याज, स्याज, सावाँ
अनि सबै हर्जानाहरूबाट
मुक्तरूपले गाँजिइएका
अ/ब्यबस्थाका
भड्खाराहरू
टुलुटुलु
हेरिरहन्छ—
मान्छेहरूको बीचमा मान्छेले श्रृजेको बाँध/बन्धनलाई
हाम्रा आशा र आस्थाका रैकरहरूको
भोगचलनमा भएका त्रुटिहरूलाई
युगको धरहरामा चेतनाको
दियाले डाँडा पिर्लिक्क
पिर्लिक्क
हेर्छ—
विरासतैबाट
शिर धसेको
इनार पीँधको
भ्यागुतो जस्तै,
समयको अन्तरालमा
चिलिम तान्न
ठीक्क परेका स्मृतिहरू
भकाभक
झ्वाम्म झ्वाम्म
झ्वाम्म
हाम फाल्दैछन्
दिलका डीलहरूबाट
मनका मिनारहरूबाट
सपनाका गजूरहरूबाट
प्रत्येक बिहानीमा
लालिमा फक्रिनु अघि
ताराहरू खसेझैं
पिलिक्क पिलिक्क
पिलिक्क
अनि
पुच्छ्रे ताराहरू
मध्याकाशमा
स्याट्ट सुट्ट बिलिन भएझैं
पवित्र प्रेमको प्रेमिल अनुभूति
अस्वीकृत
गीताङ्गे सभ्यताको
संगीत
अनन्त जीवन
अन्तहीन
युगीन वन्दना
रगताम्मे फुलेका
समयका टुक्राहरू
यस्तै यतै
अ/सामयिक पहिरन
सस्तो मूल्यमा
बेचिरहदा,
चर्को दरमा खरिदिरहेछु
जीवन
पर्खदा पर्खदै
‘गोडोत’*हरूलाई
सडक छेउमा
स्तम्भित भएका
ल्याम्पपोष्टहरू
स्त्रीका स्तनहरूमा ग्लोबहरू
अनि
ग्लोबहरूमा स्त्रीका स्तनहरू
नदी, किनार र हिमालहरू
सापेक्षताका विकर्णले
बीचैमा छेदित
दुई
त्रिभुजहरू
एक सिंगो
चतुर्भुज
ईंवा खोला
यसरी नै बगिरहन्छ
अ/मूर्त
ज्यामितिका
बक्र र सरलरेखाहरूमा
आवर्तित र परावर्तित
दुम्लाका धानखेतहरू
दोभाने मेलाका भेलाहरू र
साठी मुरेका पेटी हुँदै
मनका गोलार्ध्दबाट भूमध्यरेखामा
खग्रास र खण्डग्रास
ग्रहण लागे भने
मोतियाविन्दुहरूलाई
राखिनेछन्-—
युग र चेतनाबोधका
शल्यक्रियाका सघनकक्षहरूमा
स्मृतिका बहारहरूमा, बहावहरूमा अनि बगरहरूमा
छेलोखेलो गर्दै
ईंवाखोलाका छालहरूमा
सुस्केरा हाल्नै पर्ने भो—
त्यसैले अब महासागरहरू,
हिन्द महासागर
गंगानदीहरू, सप्तकोशी
तमोर, ईंवाखोलाहुँदै सिदिङ्गमाबाट
कुम्भकर्णहुँदै पाथीभरा भाक्तै श्रीजङ्गका प्रतापहरूले
अबईंवाखोलामाथितिरबग्दछसलललमाथिकञ्चनजंगाकाशिरबिन्दुभन्दामाथि

* Waiting for Godot by Samuel Beckett

सेप्टेम्बर ११, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल । अबुधाबी श्रमशिविरबाट।

[Sent to Sanjaal Corps via Email]

Ashok Parthib Tamang – Timro Samu

अशोक पार्थिव तामाङ – तिम्रो सामु

भन्ने र मान्ने पद्दतिको लहलहैमा
बिना कुनै अन्वेषण समाहित भएर हावा झैं उडेको भए
हजारौं चिसा कंक्रिटका मुर्तिहरूलाई आस्थाको नाममा
यदि पुज्दै म फुलमाला र खादा लाउँदो Continue reading “Ashok Parthib Tamang – Timro Samu”

Manoj Kafle (Mansoon) – Mayako Pareli Tarera Hajurle

मायाको परेली तरेर हजुरले
मनैभरी उमंग छरेर हजुरले

टोलाएर हेरे यी मेरा नयेन
बोलाउदा सम्बोधन गरेर हजुरले

फुलको थुंगा पहिलो भेटमा
दिनु भो बेशी झरेर हजुरले

सासैमा कुन्निके भनेझैँ लाग्यो
मलाइ अंगालोमा भरेर हजुरले

आँखामा आँखा जुधाउनुभो अनी
अझ करिव मेरो सरेर हजुरले

मनसुन

Gopal Prasad Rimal – Jangi Nishan Hamro

रातो र चन्द्रसुर्जे, जङ्गी निसान हाम्रो ।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो ।।
हिमालझैं अटल यो, झुकेन यो कहिल्यै ।
लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो ।।
यो जन्मँदै जगत्मा कैयौं प्रहार आए ।
साम्राज्य दुई हारे, हारेन सान हाम्रो ।।
जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन् ।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो ।।
गाईसरि छन् साधु जोजो यहाँ जगत्मा ।
सबको सरन बलियो, जङ्गी निसान हाम्रो ।।

Kshetra Pratap Adhikari – Haiku Yatra

क्षेत्रप्रताप अधिकारी – हाइकु यात्रा

थुम्का मुन्तिर-
सुरुङभित्र सानो
तामाको टुसो ।

कुरैकुरामा
तामा खाने तिर्सना
ओइलाएछ ।

ठूल्ठूला ताल –
तालमा समागम
खहरेहरू ।

अगम्य सेती –
सेतीमाथि सुकला
महेन्द्र पुल ।

गाउँलेबाला –

छातीमा चिटिक्क छ
नौगेडी माला ।

ह्याङ्जाली पाखा –
पाखामा राम्रा आँखा
आँखामा सान ।

सानको स्पर्श-
मान्छेभित्र उजेलो
नयाँ बिहानी।

सालीको भट्टी –
तातेको तिनपाने
मातेको बैंस ।

Nawaraj Subba – Chhati : Dui Abhibyakti


सबैको यो छाती भित्र
केही रहर हुनसक्छ
कस्तै हुरी बतासमा पनि
यही छाती भित्रै अँटाई दिनु
सायद यही छातीले नै
हरेक प्रहार छेक्न सक्छ ।


कसैको पीरको तीर
लागेको छ यो छातीमा
फेरि, तिमी को हौ ?
कसैको प्यारो तस्वीर
लुकाएको छु यो छातीमा ।

Tanka Subba – Ma Euta Yatri Hun

टंक सुब्बा – म एउटा यात्री हु

जन्में हुर्केर सृष्टिको श्रृखलामा
कर्तव्य बोध भए पछि
अन्तहीन सपनाको वस्तीबाट
पोख्दै रङ्गीन विचारहरु चेतनामा
गोरेटाहरु छाम्दै प्राप्तिको लागि गन्तव्यमा
सम्झौताको वेगवान नदीहरुमा
शुभमुहुर्त गरेको छु जीवन यात्रालाई
जुन यात्रा साकार पार्न
हिंडेको म एउटा यात्री

समयको तन्दुरुस्त घोडाहरु माथि
आसिन भएर
धकेल्दै जादा जीवनरथ
कहीं बग्दै जान्छ सलल पानी झै
कहीं मोडिदैं जान्छ विकट भै
कहिले उज्यालोमा कहिले अध्यारोमा
कहिले एकान्तमा कहिले समूहमा
कहिले हासोमा कहिले रोदनमा
गुज्रदैं जान्छन् ती क्षणहरु
यी क्षणहरु किन नहोस् असम्भव
चाल्न थालेको छु उत्साह वाधेर पाइलाहरु
जुनपाइला सफलतामा टेकाउन
हिंडेको म एउटा यात्री ।

असीमित यात्राहरुको दौरानमा
उभ्छन् अग्लिएर बाधाका पहाडहरु
असीम वेदनाको सागरमा
अनायस थपिनु पुग्छन् नीरका थोपाहरु
पर्खदा पर्खदैं गोधुली साझमा
अस्ताउन पुग्छन् निर्मम दिनहरु
समयको उतारचढावमा
विछोडिदै जान्छन् सहयात्रीहरु
विवशताको बज्रपातमा
टुट्दा रहेछन् धैर्यताका बाधहरु
छुट्दा रहेछन् कसम खाएका वाचाहरु
तर पनि
घाइते भएको मनलाई
घिस्याउनु पर्दोरहेछ विश्वासको वैशाखी टेकेर
असहज बन्दारहेछन् यात्राहरुमा
सहज देखिएका गोरेटाहरु
त्यसैले चपाउन थालेको छु कठिनतालाई
जुन कठिनता सहजै पार गर्न
हिंडेको म एउटा यात्री ।
बढिरहे निरन्तर यसरी निःसंकोच पाइलाहरु
टाढिने छैनन् अवश्य ती गन्तव्यका गोरेटाहरु
भङ्ग हुने छैनन् मोहमा बाधिएका मोक्षहरु
मरुभूमि बन्ने छैनन् आत्मामा बाचेका विश्वासहरु
त्यसैले बुन्न थालेको छु यावत सपना
जुन कठिनता सहजै पार गर्न
हिंडेका म एउटा यात्री ।

बढिरहे निरन्तर यसरी निःसंकोच पाइलाहरु
टाढिने छैनन् अवश्य ती गन्तव्यका गोरेटाहरु
भङ्ग हुने छैनन मोहमा बाधिएका मोक्षहरु
मरुभूमि बन्ने छैनन् आत्मामा बाचेका विश्वासहरु
त्यसैले बुन्न थालेको छु यावत सपना
जुन सपनालाई जीवन्त पार्न
हिडेको म एउटा यात्री हु ।

Mina Bantawa ‘Mridu’ – Ek Choti Aayo Yesto Mod [Nepali Muktak]

एक चोटि आयो मेरो जीवनमा यस्तो मोड!
आफूले चाहँदा-चाहँदै पनि ऊसँग भयो बिछोड!!
मैले उसलाई जीवन बलिदान दिन नखोजेको त हैन!
तर एक्कासि आयो आँधीबेहरीको ठुलो स्वर!!

Manoj Bogati – Ring Tone Ko Desh

मनोज बोगटी – रिङटोनको देश

-हेल्लो…
-क्याफेमा?
-ओके, ल ल…

***

मल्टिकलर्ड हेल्लोहरूको
माकुरी जालबीच
मच्चिँदै हल्लिरहेको रङहीन आवाजलाई
जीउ जोगाउन साह्रो
यो रिङटोनको देशमा।
गणतान्त्रिक हेल्लोहरूको कमर्सियल कलरट्यूनभित्र
बिलाइरहेछ
रायोको साग उम्रिने गाउँको सातो।
कति छिटो उभियो हँ
हेल्लोहरू कै ईंटाले
गाउँको ढुकढुकी।

बाख्रा खान पल्केको चितुवा बस्ने डॉंड़ामा
टावर बस्छ
त्यसले बाख्रा मात्र खॉंदैन
मान्छे पनि खान्छ।

कति छिटो पुग्यो निर्माण र पतनको सङ्घारमा
गाउँको अर्ग्यानिक संस्कार।

न अक्षर न आवाज
न गोर्खाको रह्यो
न बङ्गालीको, बिहारीको न अङ्ग्रेजको
हिन्दु ईशाई न शिखको।
यो ग्लोबल भाषाको रक्सी पिउन पल्केदेखि
लोकगीतहरू
शोकगीत जस्तो बज्न थालेको छ।

कसैसित रहेन आवाज
आफ्ना आवाजहरूको रङ बसेन अनुहारमा।
आवाज र अक्षरहीन संवेदना
फना उठाएर घिस्रिरहेछ
एलसीडी ग्लोबमा।

बिहानै आइपटले गाउने
भजन
गाउँभरि डुल्छ। बिजुली छ भने मात्र पूजा हुन्छ।

भजनको भॉंच्चिएको जीउभरि सल्बलाइबस्छ
उपभोक्तावाद।

घर-घरको छाना हुँदै
सर्दै आइरहेछ
असम्वेदित्‌ सलह सभ्यता
मल्टिकल्चर्ड झण्डा बोकेर।

स्कुसको जरा र फर्सिको मुन्टा
कुखुराको सुलीले बॉंचेको डल्ले खुर्सानीको सम्झना
आह!
अझ पनि
कति बल्झिन्छ शहर पसेको गाउँलाई।

आह!
कति साह्रो पर्छ अचेल
आँगनका दुबोहरू टेक्दै-टेक्दै
नागबेली बाटो ओहोर-दोहोर गर्नु
गाउँ फर्केको शहरलाई
फिता चुट्टिएको चप्पलमा।

ठूलो मल्टिकलर्ड झोला भिरेर
रिङटोनहरूको फेरी बजाउँदै आइपुग्छन्‌
अम्बानीहरू
घरै दैलोमा।

कति गाह्रो छ अहिले वेदलाई लाज राख्नु।
ग्रन्थबाट एलसीडीमा घुस्रिएका मन्त्रहरू
ट्याटु खोपेको पाखुरा देखाउँदै बस्छन्‌।

सेल्फोनिक मनको भित्ताबाट उप्किदै झर्छ र मर्छ
संवेदनाहरू
एसएमएसको लिलिपुट अक्षरहरूले लेखिन्छ जीवनको नयॉं संस्करण।

( उः अर्जुन
एसएमएस गर्दैछ।)
एलसीडीभरि पोखिएको पुरूष
थाहा पाउँछे उर्मि।

असंवेदित्‌ अनुहारको छॉंया दलेको नयॉं किताब पढ़ाउन
कसले ठड़ाएका हुन्‌
गाउँको चिसो हावा बग्ने डॉंड़ा-कॉंड़ा
टावरे स्कूलहरू?

हेर्नुहोस्‌ त
देशको माटोको रानीमासुमा नै मुख गाड़ेर
घाउ नै घाउ बनाइरहेका छन्‌।
कस्तो टोक्ने
इकोनोमिक डॉंठहरू हुन्‌ ती।

छोरीले सिकरभित्र बिस्तारोस्वरमा आइलबयू भनेको सुन्दा
बाहुनी बोजुले किन खोतलेका होलान्‌
पुराना चिठ्‌टीको त्यो पोको?

कसरी छुट्टियो नि संवेदनाको नाता पनि
ढिलो नढिलो ढुकढुकिने लामो केश पाल्ने चिठ्‌टीलाई
फर्किएर पनि हेर्दैन सबैतिर चिरिएको जिन्स लगाउने त्यो एसएमएसले।

सबै आ-आफ्नो झण्डा बोकेर बस्ने त्यो ग्लोबलभिलेजमा
कसैले मोइ पार्छ कि
यो संक्रमणको तिर्खा मेट्‌ने।

ए सॉंच्ची
पाठक तपाईं कुन दलको?
रिलायन्स कि एयरटेलको ?

Yuddha Prasad Mishra – Launa Maile Ke Garne (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – लौ न मैले के गर्ने ? (नेपाली बाल कविता)

बाबु जान्छन् दाउरा काट्न
आमा जान्छिन् मेला
घरको धन्दा गर्दा गर्दै
जान्छ मेरो बेला
लौ न मैले के गर्ने ?

मनको कुरा उर्ली उर्ली
मनैभित्र थाक्छ
ठाडै खुट्टा मुग्लान्तिर
भागौं भागौं लाग्छ
लौ न मैले के गर्ने ?

आमा भन्छिन् छोरालाई
पढाउनु पर्छ
बाबु भन्छन् आकाशबाट
बर्सिन्छ र खर्च ?
लौ न मैले के गर्ने ?

पढ्ने कुरा गर्दाखेरि
झर्को फर्को गर्छन्
मलाई र आमालाई
आँखै मात्रै तर्छन्
लौ न मैले के गर्ने ?

इस्कुल जान्छन् गाउँघरका
सबै साथी भाइ
चराउनु पर्छ मैले
जिमिन्दार्को गाई
लौ न मैले के गर्ने ?

मलाई भने सधैंभरि
पढूँ पढूँ लाग्छ
जाँचो पाँचो नमिल्नाले
मनको रहर भाग्छ
लौ न मैले के गर्ने ?

कैले काहीँ सिकाउँछन्
पुरेत बाजे आई
मनैमनले क ख भन्छु
चराउँदै गाई
लौ न मैले के गर्ने ?

बारखरी पढ्ने मेरो
सार्है ठूलो धोको
तर मैले बोक्नु पर्ने
सधैंभरि डोको
लौ न मैले के गर्ने ?

Krishna Bahadur Chhetri – Meri Dharti Lai

आरामदायक निद्राको सपनामा पनि
मेरी धर्तीलाई म खोज्छु
अस्थिर भएर मुटुभरि ममता सल्बलाउँछ
पातलो स्मृतिमा छुन खोज्छु

कैले हुन्छ र पानीबाट टाढा माछा !
फूलबाट सौन्दर्य सुवास खासा !
धर्ती मेरी हुन् म धर्तीको
छुट्टिन सम्भव छैन, दुई हृदयको एक भाषा

हजार जन्म मिल्छ भने पनि मलाई
मेरी धर्तीको भएर म जन्मिऊँ
पिएर आँखाले दृश्य यहींको शीतल
मानब भई म बाचूँ

के छ र दिऊँ तिमीलाई धर्ती
हृदय मात्र छ मेरो मसंग
अरु जे छ अर्काको ऋणमा अडेको
भएको हृदय तिमीलाई दिएको छु, अपनाऊ खुशीसंग

Seema Abhash – U Ishwar Futai Rahanchhe

पहिलो पटक
कुन कालिगढले उदास बनेर
भगवान कुँदयो होला ?
कुन भक्तले
कुन मितिमा
कुन फूल चढायो होला
र कस्ले राख्यो होला मन्दिरमा
चुपचाप बस्न सिकाएर,
यो निर्वासित भगवान
कहिलेसम्म
मान्छेको शरण परिरहन्छ हँ ?
रोशीको बगरमा गिट्टी कुट्ने
स्वास्नीमान्छे सोधिरहन्छे
क्षितिज नफाटुञ्जेल
सपनाभन्दा अग्लो गिट्टी थुपार्छे
थुप्रोको आडमा
अढाइ बर्षे नानी हुर्काइरहेकी छे,
बामे सर्दै रमाएर नानी पुतली पछ्याईरहेछ,
आमालाई छोडेर टाढा पुगेको छ
उस्ले गिट्टी कुट्दा बुन्ने सपना
रोशीको पानीमा झर्दै गरेको
चन्द्रमाभन्दा सुन्दर छ,
उस्को धरातल
मन्दिरको देउताभन्दा शालीन छ,
उस्को नानीले पछ्याउने बाटो
इन्द्रेणीभन्दा लामो छ ।
हत्केलाका ठेलाहरु हेरेर
फूल जस्तो कल्पनामा हराउँछे,
गिट्टी कुट्दाको टकटकसँगै
काब्य रच्छे र झयाउरेमा भन्छे
कायर बनेर ढुङ्गामा लुक्ने
यो भगवान गिट्टी बनेको छ ।
पिठ्युँमा नानी
काधमा घन लिएर
रोशीले बगाउन नसकेको
ढुङ्गा फूटाउने उ
दुनियाले पुज्ने भगवान फूटाउँछे,
दुनियाले तिरस्कार गरने
बाउ नभेटिएको नानी
भगवान मानेर हुर्काइरहेकी छे,
घरबाट निकालिएकी
गाउँबाट खेदिएकी
बिस्थापित उ
सिन्दुर इन्द्रेणीलाई बुझाएपछि
मन्दिर बनाइने ढुङ्गा गिट्टी बनाउँछे
भगवान पुजिने ढुङ्गा गिट्टी बनाउँछे
घर बनाउने ढुङ्गा गिट्टी बनाउँछे
गिट्टी बेचेर नानी पाल्ने उस्लाइ
भगवान पुजिने धेरै ढुङ्गा फूटाएपछि
यो निर्जन दुनियाँले भन्ने गरछ
उ इश्वर फूटाइरहन्छे ।

Pratima KC – Parai Ko Mato Mathi (Nepali Gajal)

प्रतिमा के.सी. – पराईको माटोमाथि

आज भोलि पर्सि भन्दै भाका सरिराछ
पराईको माटो माथि आँशु झरिराछ

अग्लो थियो आदर्शको सगरमाथा
घरि घरि ठेस लाग्दा मन मरिराछ

बाध्यताको हुरीले प्रदेशमा धकेल्यो
गाउँघर Continue reading “Pratima KC – Parai Ko Mato Mathi (Nepali Gajal)”

Sabitra Kafle – Asthipanjar Pahad

साबित्रा काफ्ले – अस्थीपन्जर पहाड

ग्लेसीयरमा रेटीएर
पत्थर बनेको मन
दिनहूँ जुवारी खेल्छ
आफ्नै ऊल्झनहरुसँग।
बुनेर बैसका रङहरु,
आँखामा खेल्छन्
ईन्द्रधनुसी छाया,
सुन्य सँघारमा
बएली खेल्छन् सपनाहरु।।
क्याक्टसमा रोपेर,
फ्यान्टेसी भाब
प्रेमीला साँझहरुमा,
नजन्मदै मर्छन्
बबुरा ईच्छाहरु
अर्गाज्ममा पुगेर।
निस्तेज मनको
सुषुप्त चाहनाहरु,
पोखिन्छन् अनायसै
जुनेली रातको
अधर भएर,
अनिदो अनुभूतीमा
लुकामरी खेल्छन् तिर्सनाहरु।।
रातो घाम ओडेर,
ब्युँझन्छ बिहान,
सुनौला बुँदहरुमा
प्रतीबिम्बीत हुन्छन्
रङ्गीला दिनहरु।
घुम्टो खोलेर आकाश
अँगालो मार्छ
प्रेयशी पहाड
बिर्सेर सारा ऊल्झनहरु।

Bimal Giri – Yo Dhukdhuki

यो ढुकढुकी रहेसम्म तिम्रै गाथा गाइरहुँ
बादलपारी रहे पनि नेपाल भन्न पाइरहुँ

प्राकृतिको प्रतिक तिमी मेचीदेखि कालीसम्म
हत्केलामा श्रम रोपी फलाउ फल लटरम्म
साझ बिहान आमा भन्दै तिम्रै गाथा गाइरहुँ
बादलपारी Continue reading “Bimal Giri – Yo Dhukdhuki”

Taranath Sharma – Nawa Barsha 2065

नववर्ष झुलुक्क उदाइसक्यो
जनताबिच झ्याम्मिन आइसक्यो
सब कष्ट र पीर बढारिदियो
मनभित्र उमङ्ग फिँजारिदियो

झगडा अनि फूट कतै नचलोस्
अब राष्ट्रिय मेल फुलोस् र फलोस्
धनसम्पतिले जनता सजिऊन्
सुखशान्ति बढेर सुरक्षित हुन्

Biplav Dhakal – Chyau Ko Jungle

विप्लव ढकाल – च्याउको जङ्गल

यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा
र बनाउँछु रोटी !
त्यही रोटीको गोलाकार सुरुङबाट
बाहिर निस्केर
म उड्छु अब यो नीलो आकाशमा !
तिमीहरुले
चामलको दानामा लेखेछौ
मेरो इतिहास !
सागको पातमा लेखेछौ
मेरा गीतहरु !
मेरै विचारलाई सिक्री बनाएर
पशुको तबेलामा बाँधेछौ मलाई !
मेरै हड्डीलाई मुरली बनाएर
आवाजको विपक्षमा बजाएछौ मलाई !
म गर्छु अब समुद्रमन्थन
र पिउँछु हलाहल विष !
म खोस्छु कृष्णको हातबाट मुरली
र उठाउँछु सुमेरु पर्वत !
विष्णुलाई जमिनमा ओरालेर
म चढ्छु अब गरुडमाथि !
महादेवको घाँटीबाट निकालेर
म लउँछु अब सर्पको मफलर !
मरुभूमिमा
पसिनाले बालुवा मुछेर खाएको छु मैले !
अफ्नै रगतको घुट्काले
भिजाएको छु घाँटी !
बाँस चपाउँदै टुकीको सलेदो चुसेर बाँचेको छु म !
मेरो खप्परभित्र केही छैन – विचारशून्य छु म !
यो च्याउको जङ्गलभित्र
एउटा निर्जीव भीडको विपक्षमा उभिएर
उखेल्छु आफ्नै टाउको
र भुइँभरि टक्टक्याइदिन्छु !
केही बिस्कुटका खोल
रोटीका टुक्रा चप्पलको फिता
मृत उडुस र पुत्लीकिराहरु
खस्छन् मेरो मस्तिष्कबाट !
यति रित्तो बनेछु म
कि यो विचारशून्यता नै मेरो शक्ति हो !
यही विचारशून्यताको हतियारले
म अब आक्रमण गर्छु
र जलाउँछु तिम्रो विचारको लङ्का !
के थाहा तिमीहरुलाई-
मभित्र कसरी उम्लिरहेको छ खरानी
के थाहा तिमीहरुलाई-
म किन निदाउन सक्दिनँ रातभरि
युद्धमा मरेका केटाकेटीहरु
उखुको राइफल बोकेर लखेट्छन् मलाई
म तिम्रो तस्विरपछाडि लुकेर सास फेर्छु !
तरबारमा झुन्डिएका टाउकाहरु
गीत गाउँदै लखेट्छन् मलाई
खरानीबाट उठेर
क्षतविक्षत कङ्कालहरु
आफ्नो जीवनको मूल्य माग्दै
लखेट्छन् मलाई
म झन्डाले मुख छोपेर आँसु पुछ्छु !
संसार बदल्न िहंडेको म
अब आफैं बदलिएँ !
यो च्याउको जङ्गलभित्र
िरंगटा लागिरहेको छ मलाई !
यो मेसिनको शरीरभित्र
तरङ्गिदै छ जीवनको कम्पन !
म तिम्रा आदेशहरुलाई अस्वीकार गर्छु-
अब मान्छेको लासमा घोटेर
खुकुरीमा धार लगाउन चाहन्नँ म !
अब मान्छेको रगतको मूल्यमा
आफैंलाई गुमाउन चाहन्नँ म !
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !!

– नयाँ बानेश्वर
काठमाडौं