Durga Prasad Pokhrel – Gainda

दुर्गाप्रसाद पोख्रेल – गैडा

खाग भएर के भो गैडा !
धूर्त शिकारीले लाने भो
जुन जंंगलमा घाँस चरे नि
दुःखले जीवन जाने भो ।

गैंडा भेट्दछ शत्रु मात्रै
इष्टमित्र छैनन् बनमा
आज मार्लान् भोलि मार्लान्
सुख शान्ति छैन मनमा ।

दिन दिनको वन फडानी
डढेलो त्यस्तै फैलिएको
बाहिर लाग्दछ सभ्य जस्तो
मन मान्छेको छ मैलिएको ।

गैडा खोजिरहेछ जीवन
जीवन मास्नेहरुकै बीच
दया धर्म खै मारिरहेछौ
तस्करहरू हो ! बनेर नीच ।

गैडा मारी बनी शिकारी
चोरी जीवन बाँचिरहेछौ
हरे! मानव रुप लिएर
दानव कोही नाचिरहेछौ ।

मानवताको खाग लिलामी
भइरहेछ दिनका दिन
विचरो गैंडा खाग उचाली
मरिरहेछ छिनका छिन ॥

९ अक्टोबर २०१२ वेल्स