Dipendra KC – Euta Rahar Chha

दीपेन्द्र के.सी. – एउटा रहर छ

धेरै रहर त्यागिसकियो
त्याग्न नसकेको
एउटा रहर छ ।

दशगजामा-
उताबाट यतातिर सारिएको
जँगे पिलर
सुगौली सन्धिकै पालाको
दक्षिण डोवमा
सार्ने रहर छ,
त्यति गर्दा बरु
दक्षिणबाट आएको
तातो गोली खाएर
मर्ने रहर छ ।।

धेरै रहरहरु त्यागिसकियो

सीमाका
चेलीवेटी र पोकापन्तुरामाथी लाग्ने
गिद्धे आँखाहरु निकाल्ने
साँस्कृतिक रहर छ,
जवर्जस्ती
यता फर्काइएका बाँधहरु फोडेर छ्यालव्याल
दुष्टहरुका वस्ती
बढार्ने रहर छ,
त्यति गर्दा बरु
त्यही भेलमा मिसिएर
हराउने रहर छ ।।

धेरै रहरहरु त्यागिसकियो

षडयन्त्र र कमजोरीमा
खेलिएका सन्धिहरु
खारेज गर्ने रहर छ,
२१ औं शताव्दीको नयाँ सन्धि
दिल्लीमा होइन
काठमाडौंमा वसी
गर्ने रहर छ
त्यति गर्दा बरु
मुक्ति युद्धमा
शहीद हुने रहर छ ।।

धेरै रहर त्यागिसकियो

त्याग्न नसकेको
अर्को एउटा रहर छ
पूर्व, पश्चिम, उत्तर, दक्षिण
जताततै
बराबरी हुने रहर छ .

खै किन हो
यी रहर त
जसरी पनि
पुरा गर्ने रहर छ ।

बागलुङ, हाल ः ओस्टण्डे बेल्जियम ।

Kumar Simkhada – Tan Ke Gardai Chhas Yahan

कुमार सिंखडा – तँ के गर्दैछस् यहाँ?

उशाका शीतका लहरले रातका चारै प्रहरले
आफैंलाई सोध्छन् सधैं आफ्नै हजार रहरले
तँ के गर्दैछस् यहाँ?

यो वर्षात पनि छ बढो पक्षपाती
भिजाउँछ यो ज्यान सुख्खै छोड्छ छाती
हरपल उर्लिएर आँधी दिन्छ चुनौती
उसै त टुक्रा मन खडा छ करौंती
अनकन्टार एक्लो रातिले निर्बल आफ्नै छातीले
एकै प्रश्न सोध्छन् सधैं मेरा नौला साथीले
तँ के गर्दैछस् यहाँ?

यो अपरिचित भीड़ एक्लै छिचोल्न
मन त कहाँ थियो र इच्छा आफ्नै चिथोर्न
आडम्बर बोकी हिंड्छु दोषी अरू देखाउँछु
मनमा बार बाँधेर कमजोरी छेकाउँछु
पराई रूखा भाकाले निर्जीव सुखा पाखाले
बिहानीमै सोध्छन् सधैं भीडका हजार आँखाले
तँ के गर्दैछस् यहाँ?

उकालोमाथिको एकलास चौतारी
मेरै बाटो हेरी बस्छन् मेरा शैशव दौंतरी
आँखा चिम्ली हेर्दा चरी झैं छ यो मन
आँखा खोल्दा देख्छु उही उराठ जीवन
घरखेत गोठ टौवाले गाउँका पाटी पौवाले
एकनास सम्झाइरहन्छ ठुटे काले कौवाले
तँ के गर्दैछस् त्यहाँ?

Saroj Dhital – Dharahara: Laas Haru Ko

सरोज धिताल – धरहरा—लासहरूको

उसलाई त मैले चिनेको छु
विगत पाँचहजार वर्षदेखि ।

हरेक युगमा ऊ यसैगरी
आफ्नो स्मारक बनाई रहन्छ
लासहरूको धरहरा ठड्याएर
आफ्नो लिप्साको लिउन लगाइरहन्छ ।
(उसलाई त मैले चिनेको छु
विगत पाँचहजार वर्षदेखि)

तर तिमी चाहिँ को हौ ?

आँखाको नानीभित्र
आफ्नो प्यारो सुन्दर सपना लिएर
यता–उता हिँडिरहने
मृदुभाषी सुकोमल सुन्दर मान्छे !
किन सघाइरहेछौ उसको त्यो स्मारक निर्माण गर्न ?

नियालेर त हेर !
तिम्रो त्यो प्यारो सपना
गजुर भएर उभिसक्यो
लासहरूको त्यो धरहरामाथि !

गृष्म, २००३

Rajendra Shalav – Aanshu


राजेन्द्र शलभ – आँशु

जब अचानक तिमी
मेरो अंगालोमा कस्सिएर रुन थाल्यौं
मैले केही सोच्नै सकिनँ ।
मैले केही गर्नै सकिनँ

कुनै पुरानो घाऊ बल्झियो कि
अतीतको कुनै पल याद आयो कि
मेरै कुनै कुराले दुख्यो कि
बुझ्नै सकिनँ मैले ।

तिम्रो आँशुले छाती भिजीरह्यो
भित्रभित्रै धेरै थोक भत्किरह्यो
न म तिमीसँगै रुन सकें
न तिमीलाई चुप लगाउन सकें

अवाक तिमीलाई हेरिमात्र रहें
रोएर तिमी हलुका भयौं
र जब पानी खाँदै
मुस्कुराएर म तिर हे¥यौं

बल्ल मैले बुझें–तिम्रा आँशु
मेरा आँखा पनि रसाए
र म तिम्रो अंगालोमा कस्सिएँ ।

Rajendra Shalav – Malai Samau Ra Rang Bhara

राजेन्द्र शलभ – मलाई समाउ र रंग भर

थाहा छैन
तिम्रा आँखाको सम्मोहनले
सम्मोहित छु म
या ओठको मुस्कानले ।

पहिले – पहिले त
तिमीलाई देख्दा मात्र
म सम्मोहित हुन्थेँ
आकर्षित हुन्थेँ
तर , अचेल त
तिमी नहुँदा पनि
तिम्रो सम्मोहनले
सम्मोहित बनाउँछ
तिम्रो आकर्षणले
आकर्षित बनाउँछ ।
मलाई त ,
यो पनि थाहा छैन
यो सम्मोहन
यो आकर्षण
माया हो वा स्नेह हो
मलाई त यत्ति मात्र थाहा छ
तिम्रा हातमा कुची
र छेउमा रंगहरू मलाई मन पर्छन्
तिमीले बनाएका
पेन्टिंगहरू मलाई मन पर्छन् ।

अनुहारभरि निराशा ओडेर
जब तिमी भन्छौ –
अब के पेन्टिग गर्नु र ?
त्यो चाहिँ मलाई पटक्कै मन पर्दैन
तिम्रो मनभरि
अहिले उदासी छ भने
तिमी त्यही निराशा र उदासीको
चित्र बनाऊ !

मेरो आग्रहमा कुनै स्वार्थ छैन
मेरो चाहना कतैबाट पनि विषाक्त छैन
कसैले लेखेको
कसैलाई मन पर्नसक्छ
कसैले बोलेको
कसैलाई मन पर्नसक्छ
त्यस्तै , तिम्रा हातहरूले
ब्रस चलाएका हेर्न
मलाई मन पर्छ ।

उमेरसँगै
धेरै जिम्मेवारी बढे होलान्
म तिमीलाई
ती जिम्मेवारीहरूबाट भाग
भनिरहेको छैन
समयसँगै
धेरै घाउहरू लागे
र खाटा परे होलान्
म तिनीहरूलाई
उप्काउन पनि भनिरहेको छैन
एकान्तमा आउने
अतीत र वर्तमानका
अनेकौँ सम्झनाहरू होलान्
बस् ! ती सम्झनाहरूलाई
केवल ती आनन्दी –पीडाहरूलाई
कुचीले क्यानभासमा कोर्ने गर
आफ्ना जिम्मेवारीहरूबाट
अलिकति समय उबारेर
भावनालाई रंगभर्ने गर ।

धेरै पछि ,
जब तिमी बूढो भइसक्ने छौ
तिम्रा हातहरूले राम्ररी
ब्रस पनि समाउन सक्ने छैनन्
त्यतिबेला
हो , त्यति बेला
तिमीलाई मेरा यी शब्दहरू
याद आउने छन् ।

Rajendra Shalav – Ustai Dukhchha Desh Yaha Pani

राजेन्द्र शलभ – उस्तै दुख्छ देश यहा पनि

कसैले सोध्नु अघि म आफ़ै भन्छु,
दिक्क लागेर नै बिदेशिएको हो म
खानै नपाएर होइन
तिमीले गरिखान नदिएर
देश छोडेको हुं मैले ।
कसलाई मन हुन्छ र
पराई देश्मा पसिना बगाउन
को चाहन्छ र आफन्तहरूबाट टाढा बस्न
तर, तिमीले बस्नै दिएनौ
र म देश छोडेर हिंडे ।

परदेशमा नि कहां देश बिर्सिन सकिन्छ र?
देशमा अझै अंध्यारोको शासन छ
सुरछा भन्दा बढी डर छ
सुबिधाको साटो आश्वासन छ
सम्रिध्दिलाई स्वार्थले छोपेर
अझै सांढेहरू जुधी नै रहेका छन
अझै लठीको हैकम चलिरहेको छ
यस्तो कुशासनका बेला
गणतन्त्रका नाममा मणतन्त्र भएका बेला
मैले केही दिन अझै किन पर्खिन
भन्ने पनि लाग्न छोडेको छ ।
तिमीले सोध्नु अघि म आफै भन्छु
अझ बढी सताउंछ भूगोलले
झन पिरोल्छ सम्झनाले
यहां पनि घरि घरि
अनिश्चितताका पर्खालहरू ठडिन्छ्न
अन्यौलका बाटाहरू पसारिन्छ्न
तर तिमीले जस्तो खुट्टा तान्दैनन यिनीहरूले
अझ वास्तै गर्दैनन यिनले त
र घरिघरि आभाश हुन्छ- देशमा नभएको
देश बांउडिएर आंउछ मनभरि
म यहां परदेशमा छु
तर उस्तै दुख्छ देश यहां पनि ।

-July 21, 2011
मेरीलेण्ड, अमेरिका

Saraswati Shrestha Saru – Mrityu Utsav

सरस्वती श्रेष्ठ ‘सरु’ – मृत्युत्सव
(मधुपर्क २०६६ जेठ)

किन भोगिरहेछौ हामीले
जताततै मृत्यु-मृत्यु जिन्दगीहरू.
किन बाचिरहेछौ हामीले
जताततै मृत्यु-मृत्युका जिन्दगीहरू
एकोहोरो स्यालहरू हासेका बेसुरा धुनहरू
किन बिलिन हुदैन बस्तीबाट ?
जताततै त्राहिमाम ! त्राहिमाम !! मृत्यु बाच्न
विवश-विवश मान्छेहरू
मृत्यत्सव मनाउन अभ्यस्त छन्
सडक/सडकमा मृत्युका ट्राफिकहरू
मृत्युकै साइरन बजाउछन्
चोक/गल्ली/सडकहरू
अभ्यस्त छन् मृत्यु धुन बजाउन ।
साना-साना नानीहरू
पुतलीसाग मृत्यु उत्सव मनाउछन्
जीवन भोगिरहेका तिनै नानीहरू
स्कुल-स्कुलमा मृत्यु गान गाउछन्
गुरु गुरुआमाहरू मृत्युकै पाठ घोकाउछन्
पालेहरू घण्टी बजाउछन् मृत्युकै ।
गुम्बाका लामाहरू
मृत्यु-शान्तिका नाउमा
मौन भएर बौद्ध ध्वनि बजाउछन् ।
चकमन्न सूर्यकिरण,
घुडा टेकेर मृत्युको
रातभर निदाउछ
तम्तमाउदो मृत्यु सपना बोकेर ।
सिंहहरू किन देख्दैनन्
आफ्नै अगाडि मृत्यु खाडलहरू

दुखाउछन् अरूलाई
अत्याउछन् अरूलाई
र अन्तमा
जीवन अट्टहास रच्दै
स्वयं हामफाल्दछन् मृत्यु खाडलमा
मृत्यु-मृत्यु बनेर

Bhuwan Thapa – Timro Aagaman

भुवन थापा – तिम्राे अागमन

खै तिमी कहिले आउँछौ
तिमी आउने बाटो भरी
दियो बालेर पर्खी रहेछु म
सुनाउँदै छोराछोरी लाई
गाउँ खाने कथाहरु
निरासाका ब्यथाहरु
अनि
बिछोडका पीडाहरु
हिजै मात्र छोरीले
फुक्लिएको दाँतलाइ तकियाले थिच्दै
बाबा आउने पुकार गर्थी
छोराले पनि आफ्नाे झरेको परेला हातमा राख्दै
बाबा आउनुहोस् भन्दै फू गरेथ्यो
म पनि दियोमा तेल थप्दै
तिमी आउने आश गर्दै
दियो कुरेरै बसेको छु
खै तिमी कहिले आउछौ ?
पोहर पनि तिमी आए पछि टिप्छु भन्दा भन्दै
घिरौलाहरु घोकृएका थिए
भिन्डीहरु छिप्पेका थिए
खैर
घिरौलाहरु फेरि फलाउँदैछु
सयपत्री फूल फूल्दै छ वारि भरी
राती गार्इ पनि
फेरि बच्चा जन्माउदै छे
बिन्ती मेरो
तिमी फर्की आउ
मेरो यो तीस बर्से उमेर
फेरि फर्केर आउने छैन
तिम्रो लागि भनेर
खै तिमी कहिले आउछौ ?
सिंगारिने रहर पनि त्यसै त्यसै मर्न थाल्यो
गाजल र टीकाले नि गिज्याए झैँ लाग्न थाल्यो
तिम्रै लागि साचेको छु
सिन्दुरको बट्टा पनि
एक दिन तिमी अाएर
भर्छौ मेरो सिउँदो भनी
कोहि हस्या सुन्दा पनि
खिस्याए झै लाग्न थाल्यो
आँखा फर फर गर्दा पनि
ढुक ढुकी यो बढ्न थाल्यो
आशै आशमा बर्ष बिते
बित्न लाग्यो जवानी पनि
खै तिमी कहिले आउँछौ ?

– शुक्रबार, 14 कार्तिक, 2071

Diyesh Ratna Shakya – Smart Khushi

दियेश रत्न शाक्य – स्मार्ट खुसी

हान्यो सेल्फी
छान्यो फोटो
सजायो फेसबुकको भित्तो
समाउँदै लाइक र कमेन्टको फित्तो
नाप्यो यो नयाँ जमानाको
स्मार्ट खुसीको मिटर

जरुर म यो बुझ्न
अलमलमा परेको छु
यो सामाजिक सन्जाल हो
वा साँघुरो सन्जाल
हिजोसम्म आफू जन्मी /हुर्की बढेको
कोशौ परसम्मको समाजलाई
आफ्नो ठान्ने मन
किन आज सधैंभरि
एउटा घरको केही फीटको
चौघेराभित्र
र एउटा मोबाइलको केही इन्चको
परिधिभित्र
आफ्नै खुसीले
कैद हुन बाध्य छ
संकुचित हुन बाध्य छ

के यो नयाँ जमाना
डिजिटल साथी
डिजिटल आफन्त
डिजिटल परिवार
जोडेर
स्मार्ट खुशी किन्नको लागि हो र?
(शारदामा प्रकाशित )

Bishwa Sigdel – Andhyaro Ma Basanta

विश्व सिग्देल – अँध्यारोमा वसन्त
(मधुपर्क बैशाख, २०६७)

हामीले सिर्जेको अँध्यारो
हाम्रा कुमकुमसम्म आइपुगेको छ
र आइपुगेको छ भर्खर
खर्पनभरि प्याजका बेर्ना बोकेर
वसन्त बूढो !

बाल्टिनमा पानी ओसार्दा-ओसार्दा
चाउरी फुलेको
डल्लेठोले माटाका डल्ला फुटाउँदा-फुटाउँदै
आफैँ क्रमशः
माटामा घुलेको
वसन्त बूढो
मट्टतिेलको लाइनमा एक मान्छे थप्न
आइपुगेको छ भर्खर
र आइपुगेको छ हाम्रो हातमा
टाढाबाट अनदाने झारी
पानी पटाउन जूनकीरी फूलमा
र झलमल्ल पार्न घर

सदा झैँ,
आङभरि उज्यालो उमारेर बग्दा-बग्दै
हाम्रो पानी
अन्धकारमा बिलिन हुन्छ
र समाप्त हुन्छन्
हाम्रा घर गोठका वसन्तमा फल्ने चाहना
हाम्रा आँखाका नानीका बल्ने चाहना

…………..र पनि
कसलाई प्यारो हुन्न र सिर्जना !

हामीले सिर्जेको अँध्यारो
हाम्रा कुमकुमसम्म आइपुगेको छ
र आइपुगेको छ भर्खर
खर्पनभरि प्याजका बेर्ना बोकेर
वसन्त बूढो !

हालः देहरादुन

Love Gaunle – Surya Grahan

लव गाउँले – सूर्यग्रहण

सूर्यग्रहण हेरिसकेपछि
मैले सूर्यलाई इमेल पठाएँ ?
“हे सूर्यदेव !
तपाईमाथि समय समयमा ग्रहण लागिरहन्छ,
यस्बारे तपाईको अनुभव र प्रतिक्रिया के छ प्रभू?”
सूर्यले तुरुन्तै टेलिफोनबाट जवाफ दिनु भयो ?
“हे नेपाली मनुवा !
मलाई नेपाल भन्ने देशमा उदाउनु पर्दा
सँधै ग्रहण लागेको अनुभव भइरहन्छ !”

Tej Bikram Karki – Aarambha

तेजविक्रम कार्की – अारम्भ

मैले मानिसहरूलाई पहिले
यस्तो कहिल्यै देखेको थिईन

भिडमा एक्ला एक्लै सुस्ताइ रहेको
हिउँ झै चिसो
या घाट झै सुनसान

मानिसहरू
जस्तो कि रित्तो पाखो बारी पल्टिए झै
या तारा नउदाएको रात जस्तै
आँधीमा बाटो भुले झै
या तरेलीमा बगर पल्टिए झै
मानौ मुटु भित्र निदाएको लहरहरू जस्तै
मानौ गहिराईमा दबिएको अवशेष जस्तै

मैले मानिसहरूलाई पहिले
यस्तो कहिल्यै देखेको थिईन

निस्तब्ध जङ्गलमा निथ्रुक्क रूझे झै
या मध्य रातमा सुनसा…न चौतारी झै
जस्तै की पहिरोमा सबै आफन्त गुमाए झै
या जन्मने बित्तिकै प्लाष्टिकमा बेरी
फालिएको शिशु जस्तै वेवारिस
मानौ बादल भित्र हराएको उडान जस्तै
मानौ हरियो निचोरिएको जङ्गल जस्तै
या रहरहरूमा चिसो सिरेटो चले झै

मैले मानिसहरूलाई पहिले
यस्तो कहिल्यै देखेको थिईन

धुलो झै फुङ्ङ उडेर
या निभेर उडेको एक धर्को धुवा झै
जस्तै की कतै निभ्नुछ एक निमेष अब
या डुब्नु छ एक आकाश गहिराई
मानौ पारिजातको फुल झै पहिलो बिहानी मै
खुत्रुक्क झरेको सौन्दर्य जस्तै
मानौ मुस्कानमा कतै लेक लागे जस्तै
मैले मानिसहरूलाई
यस्तो कहिल्यै देखेको थिईन
तर
मलाई थाहा छ
यस्तै यस्तै केही नभई मानिसले
आगोको आविष्कार गरेन

– मगलबार, 4 कार्तिक, 2071

Basu Dhakal – American Dream


बासु ढकाल – अमेरिकन ड्रीम

हाय मेरो अमेरिकन ड्रीम
भदौमा आँखा फुटेको म गोरु
जता हेर्यो उतै हरियै हरियो देख्छु
म जिंदगी हाड घोटेर फोक्सो फुकाई फुकाई
रगत सुकाई सुकाई
दिन रात हरूमा र रात दिनहरुमा रूपांतर गर्दैछु,
प्लास्टिकका क्रेडिट कार्डहरुसंग जिंदगी साटेर
सपनाका महल ठडयाउन तल्लीन म
यही जन्मको सहज ऋण तीर्न ओवर टाइम गर्दै छु
र प्रत्येक दिन अलि अलि मर्दै छु,
हाय मेरो अमेरिकन ड्रीम
हरिया पात हरु बटुल्दै हरियो पत्तो हात लाउने धुनमा
मेरो कपाल फुल्यो मन फुलेको छैन,
थुकक जिंदगी
कहिले त फर्किएर जाऊ जाऊं लाग्छ
गएर के गर्नु र
देश आक्रांत छ बिभाजित मनहरुमा
फेरि भोलि पल्ट यतै फर्किएर आऊं आऊं लाग्छ

क्यालिफोर्निया, अमेरिका

Sudhir Chhetri – Kaksha 2007

सुधीर छेत्री – कक्षा-2007

लुगा सिलाउने मसिन जस्तो एउटा लुइरे शिक्षकले
दशपल्ट उध्रिरहने लास्ट-बेञ्चरहरूको दिमागलाई
खुटिरहन्छ।
यो कक्षाको ज्यामिति-बाकसभित्र
स-साना कम्पास र चॉंपहरू
बेमेलको बक्ररेखालाई
तन्काई-तन्काई
तेर्सो पार्ने प्रयासमा छन्।

मेरो श्रेणी कक्षा
राधाकृष्णन् र
कृष्णमूर्तिले टालेका कोटेसन चाखेर
जिब्रो पड्काइरहन्छ अनि दिनहुँ
दिमागको छानाबाट चुहिरहने
विचारका तप्कनाहरू
समयको भूईंमा पछारिइरहन्छ।
समय-तालिका चपाएर
अनुशासनको वान्ता गर्छ
उज्यालोले लाटिएका
पोल्ट्री फार्मका पङ्क्षीहरू।
जुनकिरीको रॉंको बोकेर
उमेरभन्दा अघि-अघि हिडिरहेछन्
दुबोहरू।

काठको टेबलले
आफ्नो संवेदनशीलता बचाउन
छातीभरि कोर्नदिइरहन्छ अङ्ग्रेजी गीतका स्थायीहरू।
हतास फलामका बेञ्चीहरू पनि
कनाइबस्छ ढाड
ग्रफाइटको पेन्सिलले।

इतिहासको किताबबाट
पिरियडैपछि निस्कनचाहने योद्धाहरू
भूगोल र विज्ञानको बीचमा चेप्टिएर
समय-कटनीको लागि
टिफिनको गन्ध सुँघ्दै
मुख मिठ्याइरहेछन्।

बाहिर देखेँ,
बयेरका टफी चुसेर चराहरू
मसीनका आवाजबाट
कर्कशता छिलेर
साङ्गीतिक लेप लाउनलाई
भुर्र-भुर्र हावा हम्किरहेका रहेछन्।

Basanta Mohan Adhikari – Jiwan Bhitra Ra Bahira

बसन्त मोहन अधिकारी – जीवनभित्र र बाहिर

यि आँखाहरु
यो संसार
देख्छु भन्छन्
हेर्छन्
लोभ, मोह, डाहमा
हाँसो खोजेर
आँशु दिन ।

कानहरु
बाहृय ध्वनीलाई
विश्वास गर्दै…
प्रतिफल
आँशु, रोदन र चित्कार ।

यो मुख,
आँखा र कानको प्राप्तीमा
घमण्डी भै
क्रान्ति र जेहादसंग
प्रजातन्त्र, गणतन्त्र र धर्म देखाउँदै
युद्ध, हत्या र हिंसा गर्न
चर्का आवाज निकाली रहेछ ।

यो बुद्धि
यिनै, देख्ने, सुन्ने र बोल्नेसंग
समागन भै
प्रतिष्प्रधामा
उच्च र निच देखाउदै
संसारमा हैकम राख्न
स्वयम आफ्नो र संसार विनासको लागी
बम, बन्दुक र मिसाएल बनाईरहेछ ।
सम्पुर्णको यो प्राप्ती,
जीवनको अन्त्य र
संसारकै विनास ।

बिचरा सोझा, सिधा र निरीह
जिर्बो, छाला र नाक
मिठो खाने
न्यानो पाउँने
र सुगन्धको आशमा
देख्ने, सुन्ने र बोल्नहरुसंग
हातेमालो गरिरहेछन् ।

बिगत देखी आगत सम्मको
यो यात्रामा,
आशा राख्नेहरु
उहि र उस्तै
हिजो अस्ति झैँ
भोकै,
हैजा र दुर्गन्ध बिच
चिसो सीरेठोमा
कठ्ठै,
अकाल अगालिरहेछन् ।

Narendra Raj Paudel – Purana Ti Rangamanch (Nepali Gajal)

नरेन्द्रराज पौडेल – पुराना ती रङ्गमाच उठाउँदै म आएँ (गजल)

पुराना ती रङ्गमाच उठाउँदै म आएँ
नयाँ नौलो रोदीघर बसाउँदै म आएँ ।

यौवनको भेलबाढी गयो बेसै भयो
पीरतीको पहरामा रसाउँदै म आएँ ।

वैली जाने रहरहरु उखेलेर फाल्दै
वैशाखको पालुवामा पलाउँदै म आएँ ।

शून्यताको लेक बेसी धाउनु धाएपछि
मनैभरि जाई-जुही फुलाउँदै म आएँ ।

तिमीसँग यात्रा गर्ने नौलो धोको बोकी
जिन्दगीको नयाँ गाडी गुडाउँदै म आएँ ।

Rakesh Karki – Aba Deshma Arko Aandolan Chahinchha

राकेश कार्की – अब देशमा अर्को आन्दोलन चाहिन्छ

कानुन बनाउछु भन्नेले
गैर कानुनी गर्न थाले
कहिले सासु कहिले बुहारी गर्दै
कुर्सी मात्र फेर्न थाले
छसय एक भुँडी बढाएर
भोका नांगाको बली चढाएर
जनता झुक्काउनेलाई
अलमल्लाउनेलाई
सबक सिकाउने झापड चाहिन्छ
अब देशमा अर्को आन्दोलन चाहिन्छ

विदेशीको इशारामा
देशको माटो उडाउन थाले
हिमाल तराई भनेर
हाम्रो देश टुक्राउन थाले
जनताको पसिना पिएर
सदन हल्लाउनेलाई
जनताको घोडा चढेर
कानुन समाउनेलाई
जनताकै दह्रो झापड चाहिन्छ
अब देशमा अर्को आन्दोलन चाहिन्छ

लस् एन्जेलस्

Gobardan Pooja – Jeevan Aru Ko Naam Ma

गोबर्दन पूजा – जीवन अरूको नाममा

पाँचवर्ष अघि म मरेको भए
म कसैको पति बन्न पाउने थिइन
मेरो बिहेको भोज खान चाहनेहरुको इच्छा अधुरै रहने थियो
उनीहरुको बधाइको बारी बाँझै रहने थियो

तीन बर्ष अघि म मरेको भए
मेरो बंश बिनास हुने थियो
पत्नीले बिधवाको जीवन बाच्नु पर्ने हुन्थ्यो
बूढी आमाको नाती खेलाउने चाहना तुहिन्थ्यो

आज म खुशी छु
म बाच्न पाएकोमा
तर शंका लाग्छ
भरिएको बेलुनबाट हावा निस्किए झै
शरीरबाट स्वास बाहिरियो भने
एक जना बालकले टुहुरोको नाम पाउने छ
एकजना महिलाको सिउँदोबाट सिन्दुर हराउने छ
खोसिने छ कसैको बूढेसकालको सपना

उफ
म अहिले मर्न हुँदैन
कसैगरी पनि मर्न हुँदैन
मेरा आफन्ताका लागि भए पनि
म बाँच्नु पर्छ

आफू बाच्ने चाहनाले आफ्नो आयु लम्ब्याउन चाहनेहरु
सबै यस्तै सोच्ने गर्छन्
बाँच्छन् आफू तर अरुको नाममा ।

Pratisara Sayami – Jagir Le Nileko

प्रतिसरा सायमी – जागिरले निलेको

अभावको पर्खालले थिचिएर
सा“घुरो जिन्दगीको गल्लीबाट
निस्केँ- म !
आर्जेको ज्ञान, सिप
दिनभरिको समय
सब साटेँ- मैले
एउटा जागिरसँग- कामको मतलबसँग
लेनदेनको बजारमा
गृहस्थीको बलियो घेरा
तानि तानिकन लम्ब्याएर
आकाशको फराकिलो सीमामा
अरू बढी पोखिन
अरू बढी फैलिन ।
आवतजावतको
यो जिन्दगी धान्ने गल्ली !
फराकिलो गर्ने क्रममा
तर जन्तर नै भई झुण्डियो- जागिर यो
मेरो घा“टीमा ।
यसै क्रममा,
जागिर जो हो-
यसलाई मैले
समयको सुनको माला बनाउन खोजे“
गलपासो त होइन
स्वतन्त्र पथ बनाउन खोजेँ
घर र अफिसबीच मात्रको
लामो जेल होइन
आखिर म !
ऐनाको ठूलो ढोकाभित्र
९-५ भित्रको समय पिँजडामा
केवल जागिरेको लेबलमा
टाँसिएछु,
थुनिएछु ।

Durga Prasad Pokhrel – Gainda

दुर्गाप्रसाद पोख्रेल – गैडा

खाग भएर के भो गैडा !
धूर्त शिकारीले लाने भो
जुन जंंगलमा घाँस चरे नि
दुःखले जीवन जाने भो ।

गैंडा भेट्दछ शत्रु मात्रै
इष्टमित्र छैनन् बनमा
आज मार्लान् भोलि मार्लान्
सुख शान्ति छैन मनमा ।

दिन दिनको वन फडानी
डढेलो त्यस्तै फैलिएको
बाहिर लाग्दछ सभ्य जस्तो
मन मान्छेको छ मैलिएको ।

गैडा खोजिरहेछ जीवन
जीवन मास्नेहरुकै बीच
दया धर्म खै मारिरहेछौ
तस्करहरू हो ! बनेर नीच ।

गैडा मारी बनी शिकारी
चोरी जीवन बाँचिरहेछौ
हरे! मानव रुप लिएर
दानव कोही नाचिरहेछौ ।

मानवताको खाग लिलामी
भइरहेछ दिनका दिन
विचरो गैंडा खाग उचाली
मरिरहेछ छिनका छिन ॥

९ अक्टोबर २०१२ वेल्स