Naresh Shakya – Paglera Pani Timro Mutu Bata

नरेश शाक्य – पग्लेर पनि तिम्रो मुटुबाट

पग्लेर पनि तिम्रो मुटुबाट
मात्र ग्लेशिएर बहन्छ,
जमेर तिम्रो मुटु हिमशीला बन्छ,
दुबै स्थितिमा तिम्रो उपस्थिति हाम्रा निम्ति
कति निरंकुश र क्रुर
विषाक्त र वेदनायुक्त छ ?
तिम्रो कोखमा जीवन रस सिंचन हुने उर्वरता होला
के हामी कहिले त्यस्तो आशा गर्न सक्छौँ ?
तिम्रो ओठमा मानवता सिर्जना गर्न प्यास तृप्त पार्ने
गर्माहट होला
के हामी कहिले त्यस्तो
किन्चित अभिलाषा गर्न सक्छौँ ?
प्रगतिका मार्ग प्रशस्त हुन सक्ने
संभावनाका सारा सुन्दर र
रहरलाग्दा क्षितिजलाई ओझल पारेर
ठिही र स्याँठमा अनुवाद गरेर
तिम्रो निर्जीव र संवेदनाहीन सुन्दरतामा
हामी किन गर्व गरौँ ?
किन प्रशंसा गरौँ ?
पग्लेर पनि तिम्रो मुटुबाट मात्र ग्लेशिएर बहन्छ ।