Mohan Banjade – Kura Ka Kura

मोहन बन्जाडे – कुराका कुरा

मन्दिरको जग भित्रभित्रै भत्काएर
बाहिर बाहिर गरेका गजुरका कुरा
देउता छोडी आफ्नै पूजा गराउन खोज्ने
पूराना हजूरका कुरा

हुन्छ हजूर हस् हजूर भन्नेलाई थापना गरेर
योग्यताको कदर गरेको गुड्डी हाक्ने कुरा
खुद्रा इमान्दारीको विज्ञापन गरेर
थोकमा न्याय बेच्नेहरुका कुरा

रित्तो थैलो बोकेर दाताको दैलो कुर्नेका
स्वाभिमानका कुरा
अरुका एजेन्डा नै सधै “निष्कर्ष” निकाल्ने
दाताजिवीका अनुसन्धान कुरा

कुरोको चुरो छिनाल्न पराई पाउमा विसर्जित हुनेले
उज्यालो भएपछि गरेका देशभक्तिका कुरा
कित्ता कित्तामा बाँडेर नागरिकलाई
गरिदै गरेका राष्ट्रिय एकताका कुरा

आफ्नो सभ्यता समाप्त पार्न आएकासंग
लिदै गरेका कुण्ठा – मन्त्रणाका कुरा
पूर्वजको स्वाभिमानको सत्तो सराप गरेर
इतिहासको अभिमान गरेका कुरा

यताका कुरालाई ठेगान लगाउने उताका कुरा
उताका कुरालाई ठेगाना सुम्पने यताका कुरा
कुरै कुरामा अल्मलाएर
सन्तति विरुद्ध सिंगौरी खेल्नेका कुरा

कुरो बुझेर पनि बुझ पचाएका कुरा
कुरा गरे जस्तो गरी कुरो लुकाएका कुरा
कुरै नबुझी कुरा लगाएका कुरा
कुरा कुरेर जीन्दगी बिताएका कुरा

अचेल छ्यापछ्याप्ती छन् _
मान्छे बाँड्ने कुरा , मान्छे भाँड्ने कुरा
आँखा टोलाएर सुन्न खोज्दै छिन् आमा –
हामीले हामी भएर गर्ने हाम्रा कुरा |

Mohan Banjade – Topi Ka Kura

मोहन बन्जाडे – टोपीका कुरा

तिनका क्राउन र सेता टोपीले
कति युद्ध रचे, ग्यास च्याम्बर लादे
सभ्यता सके , भाषा बिर्साए
संस्कृति, संस्कार मासे
सम्पदा नासे
सम्पति लुटे
खै अफ्रीकी र माया सभ्यता
खै पेगन संस्कृति
अरुलाई असभ्य र सैतान भन्दै
आफ्ना क्राउनका अत्याचार लुकाएर
अरुका श्रीपेच भत्काउदै छन्
अनेक बहानामा
मान्छेहरु जोड्ने
स्नेह र सद्भावका पेचहरु भाँच्दैछन् |
अरुका पगडी उछाल्न
उनकै सन्तानलाई
लालच देखाएर
तर्साएर वा जाल रचेर
आफ्ना पूर्खाले गरेका
घोर अत्याचारका श्रीन्खला लुकाउन
अरुलाई टुटाउदै फुटाउदै
कान फुक्दै पानी खनाउदै
आफ्ना पगडी जोगाउन
यताका पगडी च्यात्न उद्धत छन् |
आफ्ना गलफन्दामा कट्कटीएको रगतमा
मानवता, दया र अधिकार देख्ने
मर्सी माफियाहरु
स्वर्ग जाने टिकटको अधिकृत बिक्रेता बनेर
भ्रम र अन्धविश्वास बेच्दै
अरुका टोपीको अपमान गर्छन्
अरु खाले टोपीको बद्नाम गर्छन्
अरुका टोपीको पशिनामा खोट देख्छन
अर्कै टोपी लाउनेलाई असभ्य भन्छन्
दास बन्न मात्र योग्य भन्दै
बुद्धी भुटेर मैला टोपीहरुको
बाँधा बनाउने उद्धममा मस्त छन्
र , यताका लोभीपापीहरु
आफ्ना टोपी तिनका खुट्टामा सुम्पेर
दासत्वका लागि सावित हुँदै छन्
र दास बनाउनेको चावीबाट चल्ने
अभ्यास गर्नमा व्यस्त छन् |

टोपी दिवसका उपलक्षमा

Mohan Banjade – Ananta Baata Haru

मोहन बन्जाडे – अनन्त बाटाहरु

अब सबै खुला छ मेरो निम्ति
मन, मस्तिष्क अनि बाटाहरु
अझ म मेरा लागि
उकालो, ओह्रालो वा तेर्पाहें
जुनसुकै बाटो रोज्न सक्षम छु
अझ त्यसमाथि
म नयाँ बाटोको कल्पना गर्न सक्छु
रेखांकन गर्न सक्छु
आफु हिड्ने बाटो आफै बनाउन सक्छु
पूर्वजले बनाएका कैयौं बाटा मध्ये
कुनै बाटो रोज्न सक्छु
मन्दिर वा गुम्वा जाँदा पुगिने बाटो
पानी पँधेरो गर्ने बाटो
ज्ञान खोज्न हिड्ने बाटो
सभ्यता जोगाउन हिडडुल गर्ने बाटो
कुनै डहर, कुनै गोरेटो
कहिले भीरको बाटो
कहिने घाट तर्दै हिड्ने बाटो
कहिले विचारको बाटो
कहिले वादको बाटो
त्यो सबै मैले चाहे बमोजिम हुनुपर्ने थियो
मेरो गन्तव्य सापेक्ष हुनुपर्ने थियो
तर – मेरो बचपनको
मेरो अज्ञानताको
वा मेरो विश्वासको
गलत फाइदा उठाएर
तिमीले तिमी हिड्ने गरेको
वा तिमी भ्रममा परेको
वा बरोबर तिमीले बिराएको बाटो हिड्न
कहिले मलाई कर गर्यौ
कहिले छल गर्यौ
कहिले लालच देखायौ
कहिले बुद्धी भुट्यौ
कहिले शुद्धी लुट्यौ
अब म समयले बयस्क भएको छु
मनले परिपक्व भएको छु
वरपरका दुईचार कुरा बुझ्ने भएको छु
हो , म अब
आफ्नो बाटो खोज्न सक्षम छु
आफ्नो गन्तव्य रोज्न सक्षम छु
म अब घेरो नाघ्न सक्छु
म अचेल सेरोफेरो चिन्न सक्छु
अब “डर” डराई सक्यो मनभित्र
अब ‘कर’ कराई सक्यो मनभित्र
त्यसैले
तिमी यही तक थियौ
तिमीलाई यहीबाट बिदा गरें
आजै अहिल्यै बिदा गरें –
अब बाटाहरुको बीचमा उभिएर
मेरो गन्तव्य तिरका बाटा नछेक
म अब आफू हिड्न
अनन्त बाटाका प्रस्थान विन्दुबाट
आफैले थाहा पाएको बाटा खोज्दैछु
आफ्नै मनले चाहेको बाटो रोज्दैछु |

Mohan Banjade – Timro Naam Ma Ek Chhin

मोहन बन्जाडे – तिम्रो नाममा एक छिन

ऊ बेला
उपनिवेश, अत्याचार र शोषण रक्षाको लागि
पहिरन फेरेर
जासुसीका लागि
नेपाल छिरेका जासुस जिलेस्पिले
षडयन्त्र खुले पछि
बेतिया पुगेर
ओकलेको ईख र विषलाई
इतिहास मानेर
जिन्दगीको जोहो गर्दैछन् कोही,

नेपालसंग हतियार उठाएको
क्याप्टेन कर्कप्यात्रिकले
कर्नेल बनेपछि
मजकुरहरुको
अनुमति र निर्देशन पाएर
अल्प दिनको बसाईमा
सर्वज्ञ बनेर लेखेको
प्रायोजित आक्रोशको
जप गर्दै गुजारा चलाउदैछन् कोही

वा, चन्द्र शमशेरबाट
मरिचमान मार्फत
पुगीसरि असुलेर
राममणि आ.दि.ले लेखेको पाण्डुलिपि
र, टि.यन. रायले गरेको अनुवादलाई
आफ्नो नाममा छपाउने
पर्सिवल ल्याण्डनको किताव पढेर
घृणा पस्किरहेछन् कोही

आफ्नै सभ्यता र माटोका संस्कृतिसंगै
पर्वत , पाखा र समतलमा
झरी बादल संगसंगै
कहिले सुखमा रमाउंदै
कहिले दुखसंग पैठेजोरी खेल्दै
मिलेर बसेका मानिसलाई
कतै धर्मका आधारमा
कतै जातका आधारमा
अपमान गर्ने फ्रान्सिस ह्यामिल्टनको
कुण्ठाबाट प्रेरित भएर
खुट्टा खोज्दै छन् निधार बिसाउन कोही

र अरु कतिले गरेको
जात जात र थातथात्का
अपमानहरुको सानो संग्रह
ब्रेकिन्ग नेपाल र
उता छिमेक विरुद्धको
ब्रेकिंग इण्डिया पढेर
तिनका षडयन्त्र बुझेकाहरु
ती दासताको निम्ति सावित हुने भन्दा
साँच्चै फरक छन्

सायद त्यसैले
तिमीले नेतृत्व गरी
चार वर्ण छत्तीस जातबाट
एकतृत गरेको र
सिन्धुलिगढ़ी र मकवानपुरमा
पराईलाई हार चखाई पठाएर
जोगाएको देशको निम्ति
आत्मा र इमानधर्म नबेचेका
मनले नै नेपालीहरु
स्वान्त सुखाय
तिम्रो नाममा
एकछिन एकजुट भएर
तिमीलाई सम्झंदै छन् |

पृथ्वी जयन्तीको उपलक्षमा

Mohan Banjade – Goth

मोहन बन्जाडे – गोठ

हिउदभरि वेसी वा पहारतिर
गर्मी लागे सिख वा सिहाँलतिर
आफ्नो सुबिधा हेर्दै
गोठ सार्छन्
खान नपाए उग्र हुन्छन्
खाएपछि उग्राउन बस्छन्
मैमत्त साँढेहरु
आफैले जोत्नु परे भाग्छन्
जोताउन पाए
कहिले वादका साउमा सपना देखाएर
कहिले विचारका व्याजबाट तर्साएर
बधुवाहरु किलो उखेल्न खोज्छन्
चरुवाहरु जरो उखेल्न उफ्रन्छन् |
छाडाहरु त झन्
गोठ नै भत्काउन डुक्रन्छन्
छेउमै अनमयस्क विचरा गाईहरु
तिनको स्वाँ स्वाँ र फ्वाँ फ्वाँ,तथा
तिखा सिङ र दुलत्तिसंग तर्सेर
जीउ ज्यान जोगाउँन
कहिले यता कहिले उता भाग्छन्
उन्मत साँढेहरु
जे जानेका छन् त्यसैमा मस्तछन्
त्यसैलाई मात्र विश्वव्यापी र ध्रुवसत्य ठानेर
अरुका सबै सोंच, धारणा र विचारलाई
सखाप पार्न उद्द्त छन् |
अझ केही अन्तरालमा
कुन सनक चड्छ कुन्नि तिनमा
डोडडाउँदै, कोकोहोलो हाल्दै
वस्तीतिर तिर पस्छन्
र, अब
आफू सुध्रिएको बहानामा
खेत जोत्ने वाचा गर्छन्
गाडा तान्ने कसम खान्छन्
तर केही दिनपछि फेरि उस्तै
पहिले झैँ – जस्ताको तस्तै
अरु बलिया साँढेहरु चाटेर दिन काट्छन्
र, आफ्नो भकारो ओंगटन
साँढे साँढे बीच भकारो बाँड्छन्
सबै घाँस पराल दाना पानी
आफू र आफ्नातिर सोझ्याउन
प्रतिज्ञा सबै बिर्सेर
मसक्क आँटछन् र सर्लक्क बाँड्छन्
अनि आफन्तलाई बाँडदा उडेको केही सातु
पितृका नाउमा बाँड्छन्
वादमा बाँधिएका
विचारले थुनिएका
आशाले डोर्याईएका
विचरा गाईहरू
आजित, त्रसित र थकित आँखा
चारैतिर घुमाउँदै
त्यस्ता छाडा साँढेलाई
पशुशालामा थान्को लाएर
बाली जोगाएर
छेउ कुनामा चर्न खोज्दैछन्
र, चुडाएर सबै दाम्ला
भत्काएर सबै खोर
बाच्छा बाच्छीसहित
बुर्कुसी मार्न खोज्दैछन् |

Mohan Banjade – Bhok, Bhog Ra Prem

मोहन बन्जाडे – भोक, भोग र भ्रम

अरुलाई भोकभोकै राखी
भोकका कथा सुनाएर, वा
भोकका गीत गाउन लाएर
एक हूल मानिसलाई
भोक विरुद्ध उचाल्दै
तिमी
आफ्नो सकल भोगको निम्ति
आसन सुरक्षित गर्दैछौ
सेवाको बहानामा
चक्रव्यूहमा पारेर अरुलाई
आफ्नो शासन सुरक्षित गर्दैछौ |
कसैलाई लोभको चंगुलमा पारेर
कसैमाथि घृणाको पासो थापेर
कतै कुण्ठाको जाल फालेर
अँध्यारो सुरुङ्गमा धकेलेर अरुलाई
तिमी एकएक गरी
तिनैका काँध काँधमा चढ्दै
अघि बढ्न व्यस्त छौ
अरुको भोकमार्ग हुँदै
आफ्नो भोगचुलीमा पुग्न
सधै सधै अभ्यस्त छौ
र, अरुका भोकधुनमा
आफ्नो भोगलय हालेको
गीत सुन्नमा मस्त छौ|
जब अरुहरुका
काँध पाट्टिन्छन्
तिघ्रा काम्छन्
र निरन्तरको असह्य पीडाले
सर्वाङ्ग दुख्न थाल्छ
अचानक
समग्र पीडाको समयोगले
मन मष्तिस्कमा झड्का हान्नेछ
तिमी अचानक
काँधबाट खस्ने छौ
मनबाट खस्ने छौ
भन तिमी त्यो दिन
भोगको कुन आसनमा बस्ने छौ?

Mohan Banjade – Maghe Sankranti Ra Tarul Ko Chinta

मोहन बन्जाडे –  माघेसंक्रान्ति र तरुलको चिन्ता

ऊ बेला सूर्यास्त नहुने उपनिवेशले
आँखा लगाएको मेरो माटोलाई
दुई ढुङ्गा बीचको तरुल भनेर
तिमीले त्यो बेलाको समय चिन्यौ
बाइसी चौबीसी टुक्रामा बाँडिएको भूमिलाई
मुलुकको नूनको सोझो गर्ने अभियानमा
ठिही र पशिना खप्दै
चार वर्ण छत्तिस जातका निम्ति
बाह्र हजार घरधुरीको आशिर्वाद लिएर
तिमी तरुललाई ढुंगा बनाउन हिड्यौ
तोपको जबाफ दिन
खुकुरी बोकेर हिड्यौ
अरु तीर्थाटन गर्न जाने ठाउमा
तिमी बन्दुक खोज्न पुग्यौ
बिसे नगर्चीहरुले जोगाएको खर्चबाट
जुटाएको रसदपानी एवं बन्दोवस्तीका सामान र
भिन्न विश्वासका दुई मिस्त्री समेतले
बनाएका बन्दुकबाट
जोगाएको त्यो तरुललाई
ढुङ्गो( त्यो बेला देशलाई ढुङ्गो पनि भनिन्थ्यो) बनाउन
कालु पांडे र झागल गुरुङ रोज्यौ
न्यायका निम्ति पण्डित, ठकुरी र मगर
अर्थात् ज्ञान, साहस र इमान्दारी खोज्यौ
युद्धमा नेतृत्व कसको गराउने भनेर सोध्यौ
घुस रिसवत लिनेको त धनजीव गर्नुपर्ने भन्यौ
खेति गर्ने , खानी चलाउने ठाउँ छान्यौ
अंग्रेज वैरीलाई सिन्धुलीगढीमा रोक्यौ
कश्मिरको वैरीलाई मकवानपुरमा छेक्यौ
देसी महाजनलाई गोड प्रसाह मै तगारो हाल्यौ
यतै तुन्न भन्यौ, यतै बुन्न भन्यौ
आफैले खन्न भन्यौ आफैले जोतौँ भन्यौ
जडीबुटी बेचेर नगद खैचन भन्यौ
झोली थाप्न होइन आत्मनिर्भर बन्न भन्यौ
यतैका नाच हेर्न सिकायौ
यहीको लागि सास फेर्न फकायौ
वैरीका जासुस बेतिया पठायौ
थिति र न्यायका कुराबाट कानूनी राज सिकायौ
प्रजा बलियो बनाउने कुराले प्रजातन्त्र चितायौ
यो सबै नपचेर
ऊ बेला चोला फेरेर आएका जासुसले
उताको श्रीपेचमा दाखेल गरेको
घृणा पत्र पढेर
तिमीले ढुङ्गो बनाउन खोजेको
त्यो बेलाको तरुल विरुद्ध
कुण्ठा वान्ता गर्दै छन् रे कोही
र पनि अरु महरु, मनहरु
यो माघेसंक्रान्तिमा
अझै ढुङ्गो बन्न नसकेको तरुल
जासुसका सन्तान र तिनका खेतालाबाट जोगाउन
जाग्दै छन् जुर्मुराउदै छन्
हुन सक्छ कुनै दिन
असभ्य र सैतानको पगरीबाट दिक्क भएर
तिनमा पनि प्रायोजित घृणा र कुण्ठा सकिने छ र
तरुललाई ढुङ्गो बनाउन
तिनीहरु मध्ये कैयौ
यतै पंक्तिवद्ध हुनेछन् |

(स्रोत : सदृश्य डट कम)

Mohan Banjade – Shir Nihuraune Rahar

मोहन बन्जाडे – शिर निहुराउने रहर

आफ्नै खोरिया आफैले फाँडेर
आफैले रोपी
आफन्तहरुले टिपी
छिमेकी मिलेर बाटेको धागोबाट
गाउँले मिली बुनेको कपडामा
कुनै देशबासी आफैले
सिम्रीक भुइँ र नीलो किनारा बीच
आफ्नै हातले चन्द्रसूर्य रुप कुँदेर
बनाएको हाम्रो आफ्नो झण्डा हात हातमा बोकी
राष्ट्र निर्माता र
सहादत पछि
तिनका कुनै आफन्तले
लाभांश नलिएका
शहिदको शालिक छेउ
सम्मानका साथ राखेर
सुस्त सुस्त
इतिहास चिहाउने रहर छ
संस्कृति सम्हाल्ने रहर छ
अझ भनौ
सभ्यता बचाउने ठहर छ
र पूर्खाले मोर्चा मोर्चामा परचक्रीसंग लडेर
उताको नुनको सोझो गर्ने
चर र भेदिसंग भिडेर
जोगाएको त्यो झण्डा
परचक्रीका काखे सन्तानबाट जोगाई
अर्को पुस्तामा
हस्तान्तरण गर्ने रहर छ
तर
कोही बुद्ध छोडेर शान्तिको नाउमा
बाबु आमालाई नै सैतान भन्दैछन्
कोही जन्मदा पवित्र जन्मे पनि
आफ्नै ढंगले जन्मजात पापी बन्दैछन्
पूर्वजको गुन बिर्सेर
अर्काको नूनपानीमा चुर्लुम्म छन्
सायद तिनलाई
यो माटो –
यो सभ्यता-
र,यो झण्डा भन्दा
परचक्रीको नुन प्यारो छ
तर पनि
राष्ट्र निर्माण अभियानमा होमिने
सिन्धुलीगढ़ीमा लड्ने
बटौलीमा भिड्ने
वा नालापानीमा
प्राण उत्सर्ग गर्नेका सन्तान
वा त्यो इतिहासमा गर्व गर्ने
आजको पुस्तासंग
त्यही झण्डा मुनि
एकजुट भई
कर्मठ सिपाही जस्तै
मन फुकाएर
शिर निहुराउने रहर छ ||

Mohan Banjade – Euta Asabhya Jijibisha

मोहन बन्जाडे – एउटा असभ्य जिजिविषा

तिनका पूर्खाले
हाम्रा पूर्खालाई असभ्य भनेको
वर्ण, जात र थर पिच्छे
कहिले थोक र कहिले खुद्रा रुपमा
अपमान गरेको पनि पढियो (ब्रेकिन्ग नेपाल)
कहिले चोला फेराएर
जासुसी गर्न आएको पनि पढियो
उसलाई उसले त्यसो गरेको भनी
उही बस्तीमा मिली बसेकालाई
आफ्नो दास बनाउन
उचालेका कुरा पनि पढियो
यता विधि विधान लेख्दा
धर्ना कसेर
दान, दण्ड र भेद प्रयोग गरी
मर्सी माफिया बनेर
बिलो लगाएको पनि पढियो
यताका सभ्यताको
जरो उखेल्न
किलो भाँच्न
पसल थापेको पनि पढियो
बंगालमा पुग नपुग चालीस लाख मान्छे मर्ने गरी
अनिकाल पर्दा
गान्धी अझै किन जीउदै त? भन्ने पनि पढियो
जलियानवालावागमा निशस्त्रलाई
घेरामा पारेर मार्नेलाई पुरष्कृत गरेको पनि पढियो
नाला पानीमा पानी रोकेर
पानी बारेको पनि पढियो
पेगन विरुद्ध आमहत्याका कुरा पनि
मनमनै पढियो
सभ्यता समाप्त पारिदिन
काखे बच्चालाई थुतेर
शहर पुर्याएको पनि पढियो
नागासाकी र हिरोसीमा पनि पढियो
ग्यास च्याम्बर पनि पढियो
मण्डेलाको जीवनी पनि पढियो
कुकुर र पररंगीलाई निषेध भनी
ढोकामा टाँसेको पनि पढियो
साना नानीहरुलाई दुर्व्यवहार गर्ने
“पिजागेट’ पनि पढियो
द्वेष घृणा र कुण्ठा फैलाउन
निमेक दिएको पनि पढियो
एक दुई चोटिलाई त
इतिहास सायद यस्तै हुन्छ भन्दै
अलिकति मन मारेर पढियो
अलिकति चित्त दुखाएर पढियो
थप पढ्ने एउटा कौतुहल छ मनमा
अब
तिनका पूर्खाले यहाँबाट लगेका
यतैका शिल्पीले बनाई
यतै प्राण प्रतिष्ठा गरेका मूर्ति
यहींका कलाकारले
आफ्नै रगत पसिनाले कोरेका कला
र यतै लेखेका शास्त्र र विधि विधान
जो सभ्यता होइनन् तिनका लागि
जो पवित्र छैनन् तिनका बीच
त्यस्ता असभ्य कुरा राखी रहँदा
असभ्यता सर्ला भन्ने डरले
फिर्ता गरिदिए भने-
अलिकति शिक्षाको अधिकार सिक्न मन छ
थोरै संस्कृतिको अधिकार पढ्न मन छ
र, केही कला र सभ्यता संरक्षणको
अधिकार बारे सुनाउन पनि मन छ
त्यहाँ मानवाधिकार छ कि खोज्न मन छ
त्यहाँ न्याय छ कि छिचोल्न मन छ
त्यहाँ सत्य छ कि पहिल्याउन मन छ
अथवा
स्वरहरुले साथ दिए
हातहरुले साथ दिए
मनहरुले साथ दिए
यहींका असभ्य हातले पोतेका
पिडिमा बसेर
मधुरो उज्यालोमा
पूर्खाको रगत पसिनाले रचेका ती कृतिहरु
सर्र एकचोटि हेर्न मन छ
र खर्र एकफेर पढ्न मन छ|

Mohan Banjade – Upranta

मोहन बन्जाडे – उप्रान्त

माग्दा सबैसंग माग्नु पर्ने भएपछि
आस सबसंग गर्नुपर्ने भए पछि
कसैलाई आफ्नो र पराई नठानी
योग्यता, क्षमता र सीपका आधारमा
मौका पाउने थिति बसाए हुने |
वादलाई मान्छेको उपज ठानी
भिन्न विचार राख्नुलाई कसूर नमानी
नयाँ विचारलाई पनि फुक्का छोडेर
अर्को वाद वा विचार जन्मन नरोके हुने|
एउटै देश, उनै बस्ती, उही हामी
उसले उसको कुरा काटेकोमा त
कारण होला, तर्क होला, तथ्य होला
कुइनेटो फेरिदैमा वैरी नठाने हुने |
आफ्नो घरको चाबी अन्त/अरुसंग राखेर
दैलो फुटाएर छिर्नुको सट्टा
जहान परिवारमा बिश्वास गरी
साँचो घर परिवार मै राखे हुने |
मन धमिलाई दिन आएका
पराइका कुरा सुनी
इमान धर्म बन्धकी राखेर
आफ्ना पूर्वजलाई पापी नठाने हुने |

Mohan Banjade – Luli Luli Paiya

मोहन बन्जाडे – लुलि लुलि पाइ य

वक्क नफुटेका स-साना नानीहरुलाई
तिनकै हात समाएर
अगाध मायाले खेल खेलमा
लुलि लुलि पाई भन्दै
उनकै गालामा -उनकै हातले हान्दा
बच्चा किल्कारी छोडेर हाँसे झैं
मेरो देशमा
परचक्रीका काखमा पालिएका
गास देखाएर कोखाई कोखाई गर्दा
मुख बाएर आँ गर्दै
जता गास उतै आँखा पुर्याउनेहरुले सुनाएका
देशभक्तिका गुजारामुखी गीत र
जिन्दगीका कृत्रिम कथा सुनेर
अरु पनि हाँस्दै छन् रे त ?

वाद र वारुद संगैसंगै बेचेर
आफै द्वन्द्ध खेति गरी
आफ्नै लागि शान्ति उद्धम चलाएर
प्रेम, दया र अधिकारका माफियाहरु
अन्त कतैका
अरु कसैका
देश टुक्राउन
समाज तोड्न
परिवार भत्काउन र
मन चुड्न
कहिले कुण्ठा छर्छन्
कहिले घृणा रोप्छन्
आसे खेतीमा लागेकालाई
जुरुक्क काँधमा उचाल्छन्
आफै बोक्सी आफै धामी हुनेहरुको
इतिहास नबुझेर
वा बुझेर पनि बुझ पचाएर
काखमा बस्न गएकाहरु
उताका बासी कुरा खाएर
यता बिष बमन गर्छन्
अनि लालचमा परेर
आफ्ना पूर्खा सराप्दै
पराइद्वारा
पराइका लागि
पराइका हुन
सिङ्गो जीवन खर्च गर्छन्|