शरण आँसु – मेरो बाटो
मेरो बाटो हेर्दा हेर्दै साँझ ढल्यो कि
आमा, तिम्रो स्नेह सुधा मुटु जल्यो कि !
संघारैमा परे पनि अँधेरीको छाया
रातैभरि मझेरीमा दियो बल्यो कि !
फैलाएर फेरि पनि कालो पखेटा
उडी जाने समयले तिम्लाई छल्यो कि !
जति कहर काटे पनि नपाएर सुख
मनभित्र विरहको हुरी चल्यो कि !
बिरह र बेदनाले खसालेर आँसु
दुख जिलो गर्दा गर्दै जीउ गल्यो कि !