Janak Karki – Bijuli Ko Khamba

जनक कार्की – बिजुलीको खम्बा

म खम्बा
भएर ठडिएको छु
बर्षौंदेखि यो सहरमा
इतिहासको स्तम्भ
जस्तै भएर।

मैले कुन ब्यवस्थाबाट गुज्रिन?
-पञ्चायत
-प्रजातन्त्र
-लोकतन्त्र
-गणतन्त्र ।

मैले के भोगिनँ ?
-हुरी-बतास
-असिना-पानी
-भूकम्प
-बाढी-पहिरो

मैले के देखिनँ ?
-बलात्कार
-चोरी-डकैती
-हत्या
-इनकाउण्टर ।

म खम्बा भएर
ढडिएको छु
बर्षौंदेखि यो सहरमा
इतिहासको स्तम्भ
जस्तै भएर।
बोकिरहेको छु

यो देशको भारी
दशकौंदेखि
-करेन्ट
-टेलिफोन
-केवुल
-ईन्टरनेटका तारहरू ।

म न कहिले आराम गर्छु
म न कहिले बिदा लिन्छु

म खम्बा
भएर ठडिएको छु
बर्षौंदेखि यो सहरमा
इतिहासको स्तम्भ
जस्तै भएर।

कयौं चोटी
कुकुरको मुत्रदानले
स्नान गरिसकें
खकार,
पान/गुट्खाले
रङ्गिसकें
छाडा चौपायाले
ढाड कन्याउने
खम्बा हुँ म ।

अब म थेग्न सक्दिनँ
थप भार
-वृद्ध भएको छु
-कुप्री परेको छु
-रोगी भएको छु
सायद म ढल्छु कुनै समय
म ढल्दा सायद
मसँगै कयौं जीवनको जिवन ढल्छ
मसित उनीहरूका खम्बा ढल्छन् ।

हेल्लो सरकार !
मेरो एउटा अनुरोध-
तिमीले अग्रजबाट
सिकेको ज्ञान न बिर्स
सकभर
केही जिउँदा खम्बालाई
शहिद बनाउ !