Bhira Khadka – Timro Bidai Utsab

भीरा खड्का – तिम्रो बिदाई उत्सव

हर्षोल्लासकासाथ
म तिम्रो बिदाई
फगत एक्लै
उत्सवको रुपमा मनाउँदैछु ।
आनन्दानुभूति गर्दैछु यतिबेला
आफु एक्लै अनि चुपचाप
तिम्रो बिदाई उत्सव मनाउनुमा
खुसि छु म ।
तिमीले छोडेर जानुमा
अहिले एक्लो बनायौ त के भो ?
म एक्लो कदापी छैन
मेरा अन्तस्करणबाट पग्लिएर
आँखाको बाटो भई आउने
मेरा आँशुलाई सोध
भक्कानिएर फुट्न लागेको
मेरो मुटुलाई सोध
मेरा छटपटी अनि
मेरा उदाशीलाई सोध
म कहाँ एक्लो छु ?
आँशु,रोदन व्यथित मन पिडामयी मुटु
अनि टुक्रिएको मानसिकता
सबै सबै त छन्
सधैभरी साथ दिने वाचा सहित
मसंग तिम्रो
बिदाइको उत्सव मनाउन
भेला भएका छन्
र म टिलपिल आँशु संगै
बोल्न नसकेका शब्द संगै
मुटुबाट निचरिएर आएको
रगतरुपी मदिरामा
आफुलाई विनिमय गर्दैछु,
हर्षोल्लासकासाथ
म तिम्रो बिदाइलाई
एक्लो फगत एक्लो
उत्सवको रुपमा मनाउदै छु ।