Dipendra KC – Bewaris Mat

दीपेन्द्र के.सी. – बेवारिस मत !

देशको सीमा काटेपछि
स्वतः अनुपस्थित छु म
मतपत्रका स्वस्तिक छापहरुमा । …
मेरा विचारहरु
छिराओस् सिंहदरवार
तिम्रा घोषणाका टेपरिकर्डर
सुनाओस संसदमा
र, फेरियोस् एउट कथा,
कम्तीमा तुरुन्तै सम्भव छैन ।
मैले चाहनुु र नचाहनुमा
केही फरक पर्नेवाला छैन
तिम्रो बहुमत र विजयको अँकगणितमा
म अझै गयल छु
मतदाता नामावलीमा
मजस्ता लाखौं अदृश्य मतदाताहरु
तुरुन्तै लाइन हाल्दैनन् मतदानमा
जसले उल्टाओस परिणाम !
एउटा “नटभ्यालिड” मत
नपुंसक भएको छ यो युगमा ।
मेरा शासक !
कुम र कम्मर मर्काएर
तिमी नाच,
र जतिसुकै मीठो भाखामा
बजाउ बाँसुरी
म नाच्न सक्तिन सपनाहरुमा
त्यहाँ भेटिन्छन—
रगतका रोदनहरु, लाखौं झूटहरु
एकहदमा भन्नुपर्दा
तिम्रो नाच
प्रहसन हो मेरो व्यंग्यशालाको
जहाँ भेटिन्छन केवल जीवनका ठट्टाहरु ।
विजयको एउटा मत !
परेर समयको नसबन्दीमा
बेवारिस डुल्दैछ
लुभेनका गल्लीहरुमा ।
बागलुङ, हालः लुभेन बेल्जियम ।