Janak Karki – Aquarium

जनक कार्की – एक्वेरिएम

मुर्तरुप रगिंन देखिने
बेरंग अमुर्त
ओल्टिदै,पल्टिदै
घोप्टिदै,जोल्ठिँदै
पिगं खेलिरहेका
परदेशी माछाहरु।

तमासाको गोलमैदानमा
सर्कस निर्देशनमा
नटराजकलामा नर्तकी
ताण्डव नृत्यमा अभ्यस्त।

स्वादिस्ट ब्यञ्जनले
ओमेगा सचिंत गर्दै
जिब्रोले चापाईरहेको
जीवनको लय
अत्याधिक रासले बनाएका थुम्कांहरु
विकारले उनेका घुनहरु

केही शालीग्राम वर्णकीमा
थपिएका कृत्रिम रंगहरु
कुनै डिस्को, बार ,पवमा
पोलनृत्य गर्दै सुरिलो बृक्षमा
स्वतन्त्रता टिप्ने बुलन्द आकाक्षामा
फाङ्गहालिरहेको सपनाहरुको तमाशामा
ह्विस्कीले धमिलिएको नजरमा
सिगरेटको धुवाँले कालो मुस्लो छोड्दै
नजरबन्दको मनोरञ्जनमा मस्त दर्शक।

बहु-सांस्कृतिक माछाहरु
नुनिला पानीको पोखरीमा
निला सपनाको फोका उठाउदै फुटाउदै
आजीवन कारावासको सजाय भोग्दै
निर्दोष माछाहरु एक्वेरिएमको कारागारमा।

माझीहरू व्यापार सम्झौतामा हस्ताक्षर गरेर
केही दर्जन माछाहरू भर्खरै अवतरण गराइएका छन्
रगिंन सपनालयमा।