Damodar Pudasainee – Sabun

दामोदर पुडासैनी किशोर – साबुन

मलाई तिमीले
साबुन बनायौ
बिस्तारै चुम्यौ
दल्यौ बिस्तारै
आफ्ना अँग अँगमा
र,बगाइदियौ
ढलका दुर्गन्धी कुनाहरूमा
जुनबेला
असाध्यै हुर्केको थियो मेरो बैँश
म मा रँग थियो
मीठो मीठो सुगन्ध थियो
समातिहालुँ छोइहालुँझैँ लाग्ने
अरूभन्दा फरक अनुहार थियो
एक से एक नायिकाहरू उभिन्थे
कयौँ नायकहरू लाम लाग्थे
मेरो बिज्ञापनमा
ठीक त्यहीबेला तिमीले पारेका हौ मलाई
आफ्नो दह्रिलो मुठ्ठीमा
हाम्रो भेटमा
के मात्र गरेनौ तिमीले
नाँगियौ ,पुरै नाँगियौ
र ,निष्फिक्री खेलाइरह्यौ मलाई
मेरा पत्र पत्र नँग्याएर
मैले पनि
मायानै हो सबैकुरा भनेँ
तिम्रो अनुहार चुमेँ
सुमसुम्याएँ तिम्रा अँग अँग
मायामा घिन मानिन
तिम्रा मयलका लाप्सा
कचेराका पहाड बिरूध्द लडिरहेँ
तिम्रा र्याल, सिँगान ,पसिना र दूर्गन्धसँग घिन नमानी
लुटपुटिइरहें निरन्तर
तिम्रो खुशीको लागि
आफू खिइदै गएँ वास्ता गरिन
आफ्नो भन्ने सबै हरायो
वास्ता गरिन
तिमी एउटा उच्च प्रशासक
तिमी एउटा ठूलो नेता
तिमी आफूलाई पदेन बिद्वान मान्छौ
र घुमिरहन्छौ धूप अबिर गर्दै
शक्तिशाली धूरीखाँवो वरिपरि
तिम्रो देखाउँने र चपाउँने दाँत बेग्लै छ
म त निरिह जनता, निरिह मान्छे
तिमीलाई सफा सुग्घर र सुगन्धित पार्दैमा
बिताईरहेछु जिन्दगी
जलिरहेको मैनबत्ति जस्तै
आखिर म एउटा साबुन न हुँ
तिम्रो खुशीकोलागि
क्षण क्षणमा सिध्याइरहेछु जिन्दगी मेरो
तिमी भने बिना सँबेदना
एउटा जिन्दगीमा खेलवाड गरेर
नयाँ नयाँ रूप ,रँग र सुगन्धको खोजीमा
कहिले कता कहिले कता भौँतारिरहेछौ

-२०७५ पुस १७ गते सोमबार
ग्वँग:बुँ,नयाँबसपार्क ,काठमाडौ

Damodar Pudasainee – Prasthan

दामोदर पुडासैनी किशोर – प्रस्थान

आकाश टेकेर
छाम्न खोज्दैछु शिखरहरू
नबीन लिपीमा
कोर्न खोज्दैछु
घाँसे बुट्टाहरू
लामो थकान
बिसाउँने तर्खरमा छु
कोर्दैछु
चमत्कारी चित्रहरू
आगोसँग जिस्केर
छुन खोजेकोछु
मनको ज्वालामुखि
हावाको शक्ति
जाँच्न खोजिरहेछु
तुवालो भित्रका खजाना
आँखामा टाँस्न खोजेकोछु
साइरन भर्खरै बजेको छ
दूर्घटना झुठो प्रमाणित गर्न
हावाको सुरूँग चपाउँन खोज्दैछु
एउटा चरा
सकि नसकि
बादलको सिँढी चिन्दैछ
म बादलका दरबारहरूमा
पुरानो पियानो
ब्युँताउँदैछु
समयलाई
बेस्सरी चपाउँन
दाँतमा साँध लगाउँदैछन्
काकाकुलहरू
समय भने
गुमेको अँश माग्दैछ घामसँग

-भैरहवा,गौतमबुध्द बिमानस्थल
२०७५ फागुन १२ गते

Damodar Pudasainee – Ojhel Ma Samaya Ghoda

दामोदर पुडासैनी किशोर – ओझेलमा समयघोडा

घोडाहरू
आँखा नझिम्क्याई दौडिरहेछन्
भेटिरहेछन्
बदलिएको बाटो
र,बदलिहेको उचाई
डाँडाबाट झरेको सूर्य
झाडीमा लुकेर
बलात्कारको अमिलो गन्ध सुघिँरहेछ
घोडाहरू
हिनहिनाउँदै
चपाउँदैछन्
अखबारका अक्षरहरू
खोला किनारमा
बिष्फोटको गन्ध ब्युँझिरहेछ
सट्टामा
नदीले टोकिरहेछ
बालुवाका टुक्राहरू
इ इक्वेल टु एम सी स्क्वाएर
सँशोधनको माग बढिरहेछ
सँशोधन हुँदैछ
अल्जेब्राको परिभाषा
जीवनगणितका शूत्रहरू
बग्दा बग्दै उँडिरहेछन्
बाफ बेगमा
शहर छेउको बूढो रूखमा
झुण्डिएकाछन्
असँख्य घाम र जून
टाउको टेकेर दौडिरहेछन्
मान्छेहरू शहरमा
मनको
न लेखा राख्न सकियो
न गरियो लेखापरीक्षण
प्रेमयुध्दको डँढेलो भित्र
चैतेहुरी पस्न खोज्दैछ
चारै दिशाबाट
शहर दौडिन खोज्दैछ
गाउँतिर र जँगलतिर
मान्छेहरू भने
ढुँगाको मूर्ति बनेर
निर्निमेष हेरिरहेछन्
जलिरहेको बस्ती
र ,जलिरहेको मान्छेको मन
केहीबेर अघि
आमन्त्रण भएकोछ
अग्निपानको लागि
स्खलित अग्नि
बग्न खोज्दैछ उकालोतिर
बूढो रूखको हाँगामा
पथप्रदर्शकहरू
उमार्न खोज्दैछन्
समयका कलिला आँखा
समयघोडा
गर्भाधानको खवर
छापिएन आजपनि
कुनै अखबारहरूमा

-२०७५ फागुन ११ शनिबार
होटल एभिन्यू ,गोलपार्क ,बुटबल

Damodar Pudasainee – Numafung Ko Tongba Bhatti

दामोदर पुडासैनी किशोर – नुमाफुँगको तोँबा भट्टी

देश
किन नुमाफुँगको तोँबा भट्टी बन्न नसकेको होला
लोकमार्गका गन्तब्यहरू
किन नुमाफुँगको तोँबा भट्टी बन्न नसकेका होलान्
नेता,प्रशासक,प्राध्यापक,लेखापरीक्षक र कविहरू
किन नुमाफुँगमा अनुबाद हुन नसकेका होलान्
प्रश्नहरू
ओलाँगचुँगगोलाबाट फुँगलिँगतिर
हिउँका भुवा बनेर झरिरहेछन्
नुमाफुँगको भट्टीको छानामाथि
देशको एउटा झण्डा छ
तर ,कुनैपनि पार्टीका झण्डा छैनन् आँगन र मझेरीमा
त्यही कुम्भकर्ण पारीको पाथिभरा
जाने र नजानेहरूमा बिभाजन छ
भर्खर निर्माण गरिएका सँघ र प्रदेशहरूमा
राग गाइरहन्छन् बिभाजित रँगहरूले
नुमाफुँगको भट्टीको मझेरी र आँगनभने
लामो बाटोमाझको चौतारी न हो
रोकटोकटोक छैन
आउँनेजाने र मनको भारी बिसाउँने जो कोहीलाई
नुमाफुँगजस्तो न्यानु घाम
अरू कुनै छैन यो सँसारमा
नुमाफुँग जस्तो तीर्खा मेट्ने कँचन नदी
अरू कुनै छैनन् यो सँसारमा
शब्दको जँजाल भन्दा धेरै
स्नेहको सागर फिँजाउँन सक्ने तागत
नुमाफुँग बाहेक अरू कसैसँग छैन
करबीर हुन् नुमाफुँग
फिका फिका हुन्छन् उनका गाला र शिरमा
गुराँस ,चिमाल र सुनपातेहरू
पीरो बनेर अकबरे हुँकार पोख्नेहरूलाई
अचार बनाइदिन्छिन् नुमाफुँगले
कि सजाइदिन्छिन् बोतलहरूमा
कि चटाइदिन्छिन् गाँस गाँसमा
नुमाफुँगको तोँबा भट्टी अघिल्तिर
फिका फिका लाग्छन् सबै अड्डा अदालत
फिका फिका लाग्छन् सुरक्षा निकायहरू
बेकामका लाग्छन् ब्यबस्थापन र ब्यबसाय
सबै असत्य बोल्नेहरू
धमाधम सत्य बोल्न थाल्छन्
नुमाफुँगको तोँबा ओठभित्र झरेपछि
बर्षौ रातदिनको चिन्तनपछि
जीवनमा दु:ख छ र दु:खको कारण पनि छ
भन्ने बुझे गौतम बुध्दले
देशी बिदेशी काटाकाटबाट
रगतको खोलाले बगाउँन थालेपछि
अहिँसा आन्दोलन बुझे महात्मा गान्धीले
केही मान्छेले भोकलाई खेलौंना
र कयौँ मान्छेले भोकलाई आगो बुझिरहेको बेला
भोक सबैको साझा हुनुपर्छ बुझे
मार्कस्,लेनिन् र माओहरूले
सारा चिन्तन पछिका
नवीन दर्शनहरू विमोचन हुन्छन्
नुमाफुँगको तोँबा भट्टीमा
निवाफुँग एक्लै हुन्
आयोजक,उदघोषक,अतिथी,प्रमुख अतिथी र न्यायमूर्ति
त्यही मझेरीबाट निस्केको दर्शन र बिधान पो
मान्दै हिँडिँरहेछन् मान्छेहरू आजसम्म
पुरोहितहरू
ईश्वरको अघिल्तिर सबै बराबर भन्छन्
तर,पैसावाल र पदवाललाई
बढी प्रसाद र पूजाको नाटक रच्छन्
नुमाफुँगको भट्टी त
पूँजीबादको महान मन्दिर हो
जहाँ दाम लिएर भित्रिनेहरू
काम सकेर फर्कने गर्छन्
साम्यबादको सुन्दर तीर्थस्थल हो
जहाँ इच्छ्या र औकात हुनेहरू
रोकटोक छैन कसैलाई पनि
महात्मा ,मूल्ला ,प्रभु र भन्ते भन्नेहरूका
देखाउँने र लुकाउँने दाँत
फरक फरक भएको भेटिरहेछन् मान्छेहरूले
चेला चेली लुट्नेहरू
अझै नाटकका सँबाद बोलिरहेछन् उच्च आसनबाट
जे गर्छिन् त्यही बोल्छिन् निमाफुँगले
जीवनको यथार्थ रँग बुझ्न खोज्नेहरूले
ढोंगी पूजारीले ढाकिरहेको मन्दिर धाउँनुभन्दा
शब्द र अर्थ एकै ओकल्ने
नुमाफुँगको दर्शन खोजिहिँडे हुन्छ
नुमाफुँगको तोँबा भट्टी जत्ति पनि
किन बन्न सकेन हँ देश ?

२०७५ माघ १७ बिहीबार

मेवाखोला रिसोर्ट,फुँगलिँग ,ताप्लेजुँग