Krishna Upadhyaya – Bho Aba Ma Boldina

कृष्ण उपाध्याय – भो अब म बाेल्दिन

भो अब म बाेल्दिन
उ बोल्यो।
श्लेशमान्तबाट दिगन्त हेर्दै
उ बाेल्यो
अब म बाेल्दिन!

म बाेल्दिन
किन बाेल्नु
शुन्यतामा सुन्ने कोहि छैन
शुन्यतामा बाेल्ने कोहि छैन।

अलि अलि बाेल्नेहरु पनि
संवेदनहीन आर्यघाटका उत्तप्त अग्निज्वालामा
जलिरहन्छ्न
धुमिल धुवामा विलिन हुन्छन।
श्लेश्मान्तका हावामा हल्लिदै
मेरा आवाज
आगोको वेग र आवेगमा
आर्यघाट माथी धुवा उडिरहन्छ।

भो म बाेल्दिन
उ एक्लै बाेल्छ।
सुन्दा सुनाखरि सुनिन्छ नि।
सुन्दर सुनाखरिमा
जरक्क परेका जैतुन्का हागामा पनि
शिरिसका शान्त सुशान्त स्वर हरु त आउँछ
म त्यही सुन्छु
म बाेल्दिन
उ बोल्यो।

शिरिसका शान्त स्वरहरुमा
शताब्दीहरुको गर्भ बोकेर
जन्माइएकी आमा हरुका गीत
आगोमा पोलिदैन
धुवामा उड्दैन
खरानीमा हराउदैन।
म त्यही गीतसुन्छु
म बाेल्दिन
उ बाेल्छ।

शताब्दीहरुको गर्भबोकेर
गर्भाधान भएको सम्चेतना
चेतना जन्माउने पिडामा
चेत-अचेत चिच्याइ रहदा
श्लेशमान्त सुनिरहन्छ
म पनि सुनिरहन्छु
म बाेल्दिन
उ फेरि बोल्यो!

Krishna Upadhyaya – Pratham Purush

कृष्ण उपाध्याय – प्रथम पुरुष


स्निग्ध हिमवन्तका हिमस्तुप
भानुका भापिला प्रेमास्पर्श र प्रणय आकर्षणमा
पग्लेर
म काव्य गङ्गा
आस्थाका गंगोत्रीबाट निश्रित
अनन्त अविरल प्रेम प्रवाहित छु ।

मेरो प्रथम पुरुष !
सात फेरा लगाउँदै
तिम्रो काव्यगङ्गाको प्रेमार्पण ।
सुभगा, सर्वांगी, सुन्दरी
म बगिरहँदा
प्रेम तिमीमा पनि !

बग्नु न हो
बग्दा बग्दै
यमुना र म त्रिवेणीमा
प्रभातीय स्वरसुधाका प्रेमप्रणयमा
यतिराज 1 का गीतमा पनि बग्यौं
काव्य सागर लम्किरहँदा !

मेरो काव्य सागरमा
यमुना मात्र होइन
कोशीका कविता, कालीका काव्य
गण्डकीका गीत पनि समाहित छ
स्थिर गङ्गासागर भएर ।

मेरो अखण्ड काव्य गङ्गासागर
तिम्रो सान्निध्यताको तरेली र
काली, कोशी, गण्डकी र यमुनाका
काव्यप्रेम प्रवाहित नभए
मात्र मरुतल हुन्थ्यो ।
मरुतल !

त्यसैले त कोशीका कोकिल स्वर,
गण्डकीका गुञ्जन,
कालीका कलरव
मेरो प्रेम गङ्गासागरका उद्गम हुन् ।
प्रेम सागरका उद्गम हुन् ।
मेरा प्राण हुन्, मेरो प्रथमपुरुष ! तिमी जस्तै !
उद्गम बिना कल्पनामा पनि म हुन्न !
तिमी हिमवन्तमा हिमस्तुप ठिङ्ग उभिएर मात्र त
म अहिले गङ्गामा भएर प्रेम बग्दै छु ।

मेरा गन्तव्यमा तिम्रा गन्तव्य छन्
तिम्रा गन्तव्य म हुँदै हिड्दै छन् ।
हाम्रा गन्तव्यका प्रेम प्रणयमा
मानसपुत्र जन्मन्छ ।
मानस जन्मन्छ ।

मेरो गन्तव्यको यात्रामा
यमुनाको पनि यात्रा छ
कोशीको यात्रा बगेको छ
गण्डकी बगेको छ ।
यात्रामा उनीहरुका स्वप्न छन्
पूर्ण र अपूर्ण स्वप्न छन् ।

हिड्नु न हो
हिड्दा हिड्दा
उनीहरुले प्रेम देखे, हिंसा खेपे
आलिङ्गन देखे, आर्तनाद सुने
हिमवन्त झर्दै आउँदा
मेरो वर्तमान र इतिहास पनि बने

मेरो प्रेम !
तिमीलाई सात फेरा लगाउँदै
म प्रेम आलिङ्गनमा हुँदा
यी सबै मेरो प्रेममा समाहित भए
तिमीमा समाहित भए ।

तर एक्लै हुँदा
यमुना यमुना बगिन्
गण्डकी गण्डकी बगिन्
काली काली नै बगिन्
आफ्नो बग्नुको एकल इतिहास बोकेर ।
अहिले मसँगै बेरिएर
सबै तिमीमा समाहित छन्,
सबै एक्लै पनि देखिन्छन्,
अन्तमा तिमीमा एक छन् ।

त्यसैले
हामीले हेर्दा तिमी देख्छौ, तिमीले हेर्दा हामी देख्छौं !
तिमी हाँस्दा हामी हाँस्छौं, हामी हाँस्दा तिमी हाँस्छौ !

‘तिम्रा आँखा सुन्दर छन्, तिम्रो हाँसो मोहक छ ।’


तिम्रो हाँसो मोहक छ !2
मानसको पनि !

बिहानै उसको मन्द मधुमुस्कानमा
निद्राका नयन जस्तै आँखामा परेली ओछ्याएर
उ उड्छ अनन्त सगर खोज्दै ।
उड्नु न हो
उड्दा उड्दै
मादकताको मानस
अत्तरमयी अङ्गनाको अङ्गालोमा अड्किएर
अत्तरमा अङ्गना देख्छ
अङ्गनामा अत्तर देख्छ ।
सौन्दर्यमा सुगन्ध
सुगन्धमा सौन्दर्य ।

अनन्त यात्रामा
म गङ्गामा बगिरहँदा
मैले मानस देखिरहेँ
अङ्गना देखिरहेँ
मैले देख्दा तिमीले पनि देख्यौ ।

अङ्गनाको अङ्गालोमा बाँधिएर
उसको वक्ष्यस्थलमा अडेस लाग्दा
मानस आँखा चिम्लेर सौन्दर्य खोज्छ
आँखा चिम्लेर सौन्दर्य छाम्छ ।
सुगन्ध खोज्छ ।
अत्तरको वासना
अङ्नाको वासना ।
अङ्नाको अत्तरको वासना !

वासना अनुभूति न हो !

अङ्नाको अनुभूतिमा
मानसका अङ्ग अङ्ग अङ्गनाका हुन्छन् ।
नितम्बिताका नृत्य भावभङ्गीमा
कामासनका नृत्य भावभङ्गीमा
उ सम्पूर्णतामा मानस खोज्छे,
मानस भोग्छे ।
मानसका सहस्र तन्तुहरु भोग्छे ।

मादकताको मानस
अङ्गनाको अङ्गालोमा
कामाङ्गहरुमा काम उत्सर्ग खोज्दै
नितम्बिताको नितम्ब नियाल्छ
सर्वांङ्ग भोग गर्छ !
सर्वांङ्ग !

म देख्छु
त्यहाँ मानसको भोग छ,
अङ्गनाको भोग छ
नितम्बिताको भोग छ ।
सम्भोग कतै छैन ।

अङ्गनाको अधरमा
नृत्यङ्गना नितम्बिताको नृत्य चापहरुमा
मादकताको मानसको मनमा
मेरो प्रेम !
तिम्रो अनपेक्षित अनुपस्थिति अङ्कित नै भएनन् ।

तिमी कहाँ छौ ?


आलिङ्गनबाट मुक्त अङ्गना
मादकताबाट मुक्त मानस
उष्ण भावमा उद्वेलित छन्
आन्ध्रीय आद्रताको अनुभूतिमा अधिर छन् ।
अब अङ्ना अगम्या भै मानसका लागि
मानस अगम्य हो अङ्गनाका लागि ।
अङ्गना मानसमा
मानस अङ्गनामा
प्रेम ! तिमीलाई खोज्न छाडिसके ।

अब भौतारिंदा भौतारिंदै
मरुमय महानगरीय बाटाहरुमा
उष्णताले पखालिएका पाखाहरुमा
अङ्गनाको अनन्त अविरल एकल यात्रा छ !
मानसको एकल यात्रा छ !

यात्रा न हो
विश्राममा सिद्धिन्छ ।

बाटो बाँकी हुँदै
अङ्गनाको यात्रा
अट्टहासमय अट्टालिकामा विश्राम खोज्छ
यात्रा अटलको अङ्गालोमा अड्किन्छ ।
अङ्गना त्यही नै तिमीलाई खोज्छे ।

मानसको मन मधुशालाका क्रूर कक्षहरुमा
अङ्गना धाउँछ।
नितम्बिता धाउँछ।
आतुर आफ्नो मन बिसाउँदै
उ फेरि नृत्यशालाको नृत्यमञ्चमा
कुनै ऋतुमतीमा तन बिसाउँछ ।
मन र तन ऋतुमतीका वक्ष्यस्थलमा विश्राम लिन्छन् ।
उसले पनि तिमीलाई नै खोज्छ ।

कोशी, काली र गण्डकी
म गङ्गामा समाहित हुँदा,
अझ तिमी नै गङ्गा र गण्डकी बग्दा 3
तिमीले त झन् मानस र अङ्गनाका यात्रा हेरिरह्यौ
कान्तिपुरका कायामा
कान्तिपुरका छायामा ।
कान्तिपुरका अट्टहासमय अट्टालिकामा …..

अट्टालिका बाहिर
लासै लासका लाममा
वैभवमा बाँचेकाहरु
ऐश्वर्यका ऐस भोग्नेहरु
मौन मृत्युका मुर्दा मूर्ति बने ।

मुर्दा मुर्दा हुनुका कथा भन्दैनन्
मुर्दाका आफ्ना कथा हुँदैनन्
कथा कान्तिपुरका भए
कथा कान्तिपुरका सडकका भए
कथा मानसका यान्त्रिक यात्राका
कथा भए अङ्गना अप्राप्ती र आक्रोशका ।

कथामा
आक्रोशमय आग्नेयगिरिका अग्निवर्षामा
मानस अग्निगर्भमा भासिन्छ
मानस ऐश्वर्य ढाल्छ
वैभव ढाल्दछ
अनि उ आफैँ ढल्छ ।
घात आघात !

मानस प्रेम खोज्दै प्रेम ढल्छ ।
घात, आघात र प्रतिघातको मानस !


घात, आघात र प्रतिघातको मानस
अट्टालिका अगाडि अचेत अचल रहँदा
अङ्गना अत्तालिंदै अट्टालिका आइपुग्दा
मैले अङ्गना हेरिरहेँ ।

मृत्युमय मौनतामा
अङगना आफैँभित्रको
आँधीमय अन्धकार बाटाहरुमा
चेतन अवचेतनका अभिनव पाखाहरुमा
मानस आघात हुनुको पीडा पोख्दैछ ।

म हिमवन्तबाट तल बगिरहँदा
अङगना अतीतका अतल गर्तमा गाडिएर बसिरही
अतीतको मानसको सान्निध्यतामा
नढलेको मानसको सान्निध्यतामा !
त्यहाँ उ मानसका व्यायाम, प्राणायाम देख्छे
सुगठित शरीरका मांसपेशी देख्छे,
मांसपिण्ड देख्छे
आँखा चिम्लेर उ सबैको अनुभूत गर्छे !

आँखा खोलेर उ
मानसको लावण्य हेर्छे,
यौवन हेर्छे ।
मानस अब यौवन हो,
लावण्य हो,
मन हो
अपराजिता अङ्गना सबै अँगाल्छे ।
सम्पूर्णताको मानस भोग्दा भोग्दै
उ मानसको ऐश्वर्य भोग्छे,
वैभव भोग्छे
आफ्नो सौन्दर्यताको अञ्जुली थापेर
बैंसालु झोली थापेर ।

अहिले उसको अगाडि मानस लडिरहँदा
म देखिरहेछु
अङ्गनाको अचल शरीर
विस्मित विभ्रान्त विक्षिप्त मन
अशान्त आँसुको आकृतिमा
मानस भिजाइरह्यौ ।

भिज्दै जमिनमा लडिरहँदा
मानस आँखा खोलेर आकाश हेर्छ
अङ्गना देख्छ, अङ्गना हेर्छ ।
फेरि आकाश हेर्छ, अङ्गना देख्छ ।
अङ्गना हेर्छ, आकाश देख्छ ।

भ्रान्त विभ्रान्त परिसरका परिदृश्यमा
अब अङ्गना आकाश हो, आकाश अङ्गना हो ।
मानस ढलिरहँदा
उ आकाश छुन खोज्छ, अङ्गना छुन्छ
अङ्गना हेर्छ आकाश देख्छ ।
उसले उडेको आकाश,
उ जमिनमा खस्दाको आकाश
घाइते बनाउने आकाश !

भिज्नु न हो
भिज्दा भिज्दा
मानस उसको
विलग्न विभ्रान्त अतीतका
भ्रान्त भाव पखालिरहन्छ ।

अट्टालिका अगाडि लडिरहँदा
मानस सम्झिन्छ
आकाश यात्राका विप्लवीय बाटाहरुमा
आकाश छुने विप्लवीय बलमा
आकाश छुने विद्युतीय वेगमा
उ बाँसका तामा जस्तै आकाश ताक्छ
बढ्दा बढ्दै
बढेको बाँस तल नुहिये जस्तै
मानस नुहिन्छ,
मानस जमिन छुन्छ ।
चिसो जमिन ! शीतल जमिन !


शीतल जमिन माथि
शीतलताको सौम्य अनुभूतिमा
मानस मानसरोबर खोज्छ
मानस मकालु देख्छ,
माछापुछ«े देख्छ ।
मौन मकालु र मौन माछापुछ«ेका मौन शृङ्खला हेर्छ ।
मानस मौन शृङ्खलामा स्निग्ध मन खोज्छ ।

मन न हो
स्निग्धतामा स्निग्ध हुन्छ ।

स्निग्धतामा मानस मन–मस्तिष्क
बृहत् वृत्तचित्र हो
विगतका बिम्ब प्रतिबिम्ब ध्वनि प्रतिध्वनिका ।
अहिले मानस जमिनमा बसेर त्यही हेरिरहन्छ ।

अङ्गना आँखा अगाडि राखेर
बृहत् वृत्तचित्र हेरिरहँदा
मानस आफ्ना अनुभूति अनुवाद गरिरहन्छ ।
अङ्गना अत्रूmर भावमा सुनिरहन्छे ।

वृत्तचित्रमा

मानस मरुभूमि देख्छ,
मरुभूमिभित्र मरुद्यान देख्छ,
मरुद्यानभित्र मैदान देख्छ,
मैदानभित्र ऊँट देख्छ,
ऊँटका पुछारमा बालक बाँधिएको देख्छ,
अनि देख्छ
सहस्र ऊँटहरुका दौड,
आत्तिएका बालकहरुका चित्कार
खुशीले उछालिएका अतिथिहरुको भिड,
भिडमा अङ्गना,
अङ्गनासँगै उ !

अर्को परिदृश्यमा
मानस पहाड फोर्दै झर्ने झरना देख्छ ।
डाँडामा डाँफेले लालीगुराँस गाएको सुन्छ ।
मुनाल र मयूरका नाच देख्छ ।
पmराकिला फाँटहरु देख्छ ।
सरिताका सरगम सुन्छ ।
अशोकको आडमा अडिएका केतकी देख्छ ।
मालती, माधवी र मल्लिकाका 4 फक्रक्क फुलेका बैंसालु वन देख्छ ।
खेत र खरबारी देख्छ ।
खरको एक कोठे घरमा बस्ने
अर्धनग्न तन देख्छ ।
तीन सय तिर्न तीस वर्ष जोत्दा थाकेको मन देख्छ ।
विभेदका बिरुवा झाँगिएर कलिला हात बेरिएको देख्छ ।
आराध्यका आराधनामा पनि विभेदको बोट देख्छ ।

मेरो प्रेम !
विगत हेरेर
अनुभूति अनुदित भइरहँदा
मानस अङ्गनालाई हेर्छ ।
अनुभूति अनुदित भइरहँदा
मानस अविरल आँशु अनुभूत गरिरहन्छ ।
अविरल आँसु दिग्भ्रमित दृष्टि पखालिरहन्छ ।
मानस चिच्याउँछ
गगनभेदी गर्जन गुञ्जन्छ
आकाश गर्जन्छ ।

विगत हताहतहरुका कथा बोल्छ
हाम्रो विगत हिंसाको कथा बोल्छ ।
अङ्गना, विगत प्रेमका नाममा अप्रेम बोल्छे ।
मायाका कथा बोल्छे ।
अङ्गना, हाम्रो विगत मोह बोल्छे, लोभ बोल्छे ।
पागल प्रलाप, अहङ्कार बोल्छे ।
अङ्गना, हाम्रो अतीत असत्य बोल्छे ।


गगनभेदी, गर्जन गुञ्जदा
मानस आकाश हेर्छ
आकाश देख्छ, बिजुली देख्छ ।
फेरि आकाश हेर्छ, बिजुली नै देख्छ ।

भ्रान्त विभ्रान्त भाव बडारेर
मानस बिजुलीका विद्युतीय प्रकाशमा
आगत विगतका
विलग्न बिम्बहरुको संलग्न आकृति खोज्छ ।

विलग्नहरुको संलग्न आकृति खोजिरहँदा
मौन मानस र अङ्गना मन्द गतिमा
तरुण तरुणीका मन जस्तै एकोहोरो हिड्छन् !
बिस्तारै बिस्तारै !

सँग–सँगै हिडिरहँदा
अङ्गना र मानस
विलग्न विगत र आगतका बीचमा
विवर्ण वर्तमानमा रल्लिरहन्छन् ।

रल्लिरहँदा,
थकित थापाथली पुगेर अजङका जङ्ग दरवार अगाडि
बाग्मती बग्दै बटुक मुद्रामा मधेसतिर झर्दा,
मानस र अङ्गना
कदम्बको रुखमा लुगा राखेर
बाग्मतीमा नुहाइरहँदा,
मानस अतितकी अङ्गना सम्झन्छ ।
अहिलेकी अङ्गना हेर्छ
अतित र वर्तमानको लग्नता देख्छ
संलग्नता देख्छ ।
बाग्मतीमा अतितकी अङ्गना
वर्तमानकी विन्दु हुन्छे ।

अङ्गना अहिले मनको मानस हेर्छे
प्रेमाभिभूत हुन्छे,
प्रेम द्रवित हुन्छे
अब मानस
उसको पनि मन हो,
तन हो ।
मानसका पीडानुभूति अङ्गनाको पनि अनुभूति हो ।
त्यही अनुभूतिमा
अङ्गना आँशुमा गाजल पखाल्छे ।
मानस अङ्गनाका आँखाका काला धारा पुस्छ ।
दुवै शान्त भावमा हाँस्छन् ।
शान्त भावमा हाँस्छन् ।

मेरो प्रेम !
अङ्गालोमा बिस्तारै हिडिरहँदा
मानस अङ्गना
मानसरोवर खोज्छन्, माछापुच्छ«े देख्छन्
मानस मन माछापुच्छ«े चढ्छ ।
अङ्गना मन माछापुच्छ«े चढ्छ ।
मानस अङ्गना माछापुच्छ«े चढ्छन् ।

माछापुच्छ«ेमाथि बसेर
उनीहरु फेवाताल हेर्छन्,
तालमा माछापुच्छ«े देख्छन्
तालमा मानस मानस देख्छ ।
तालमा अङ्गना अङ्गना देख्छे ।
उनीहरुका मन
मधुवनभित्र मधुमास उडिरहँदा,
तालका तरङ्गमा तैरिएर बगेका यात्रीहरुका
सहयात्रा पढिरहन्छन् ।

मन न हो
जलयात्राका यात्रीहरुको मन देख्छ
प्रेम देख्छ, प्रेमालाप सुन्छ
प्रेम प्रणय देख्छ
रम्छ ।

मन न हो
माछापुच्छ«ेबाट उभिएर तल हेर्दा
रोदीघर देख्छ
रोदीघरको गीत सुन्छ
गण्डकीको तिरमा रोदीका गीत सुसेल्छ ।
रोदीमा गण्डकी बग्छ ।

धाननाचमा मेची बग्छ
माई बग्छ, तमोर बग्छ ।
स्याब्रु, सेलो, साकेला,
चण्डी, होरिया र झिझियामा पनि बग्छ ।
मानस र अङ्गना तिनीहरु सँगसँगै बग्छन् ।
तिनीहरु ममा मिसिन्छन् ।
मसँगै गङ्गा बग्छन् ।

मेरो प्रथमपुरुष !
मानस र अङ्गना
दाङमा दन्सिशरणको दरवार पुग्दा 5
जमुना पनि बग्छन्
जमुनाका तिरमा उभिएर ।

जमुनाका तिरमा उभिएर
मानस र अङ्गना
कनकचम्पा र चिनियागुलाबले ढाकेका वन देख्छन्
जमुनाका काखमा, जमुनाका तिरमा ।

जमुनाका तिरमा
बर पिपलका छाहारीमा
मानस र अङ्गना
सखिया नाच नाच्ने व्यग्र सुन्दरी देख्छन् ।
उनीहरुका सेता साडी देख्छन्
मालती र माधवीका माला झुण्डिएको चुल्ठो देख्छन्
पारिजातका माला देख्छन्
मालामाथि मुखमा मृदु हाँसो देख्छन् ।

व्यग्र सुन्दरीसँगै नाच्न व्यग्र छन्
मादल भिरेका मादलेहरु ।
मोहक मुद्रामा,
भदौको मन्द हावामा !

भदौको मन्द हावाले चुमिरहँदा,
सुन्दरीहरु दियो बोकेर गाउँछन् ।
दियो बोकेर नाच्छन् ।
मादलेहरुका मादलको तालमा
मन्द हावासँगै, मन्द गतिमा !

आनन्दको अनुपम अनुभूतिमा
अङ्गना र मानस
परित्यक्ता र परित्यज्यको मनोभावबाट भाग्दै
परित्यक्ता र परित्यज्यको मनोदशाबाट भाग्दै
शब्दमा कुद्छन्
स्वरमा कुद्छन्
धुनमा कुद्छन् ।

गीतका ध्वनि प्रतिध्वनिमा
नाचका बिम्ब प्रतिबिम्बमा
विलुप्त हुन्छन्
विलय हुन्छन् ।

बिस्तारै गीतको गतिमा
मानस अगाडि बढ्छ,
मानस मादलेको मादल माग्छ
मादल बजाउन थाल्छ
नाच्न थाल्छ
एक पछि अर्की यौवनासँग,
शान्त मुद्रामा ।

अङ्गना असहज उभिन्छे,
मानस नाचेको हेर्छे
यौवनाहरु नाचेको हेर्छे
मानस कै मनमा बसेर मानस नाचेको हेर्छे
अङ्गना अब यौवनाको भिडमा हुन्छे,
भिडमा अङ्गना मानससँगै नाच्छे,
मानस नाच्दा अङ्गना नाच्छे,
अङ्गना नाच्दा मानस नाच्छ ।

अब मानस मञ्च हो
अङ्गना त्यसैमा नाच्छे,
मानस मनमा नाच्छे ।

मेरो प्रेमपुरुष ! प्रथम पुरुष !
म देखिरहेछु
मानस अङ्गना प्रेमाभिभूत छन्
मानस अङ्गना एकाकार छन् ।
यौवनाहरुसँग मानस अङ्गना नाचिरह्यो ।
अङ्गना मानस नाचिरही ।

म देखिरहेछु
अतीतकी अङ्गना
अतीतको मानस
विवर्ण वर्तमान छिचोलेर
वर्तमानका मानस र अङ्गना
आनन्दका मानस भएको छ
आनन्दकी अङ्गना भएकी छे ।
आनन्दको अनुभूतिमा अङ्गना
आनन्दको अनुभूतिमा मानस
प्रेमानन्दको अनुभूतिमा परमानन्द देखिरहेछन् ।
परमानन्दमा सत्य
परमानन्दमा परंसत्य ।
मेरो प्रेमपुरुष ! प्रथम पुरुष !
त्यो परंसत्यलाई मेरो नमन 6 ।

वेम्बली, लण्डन
_______________________
1 रामानुजाचार्य
2 वल्लभाचार्य: ‘नयनं मधुरं, हसितं मधुरं’ (मधुराष्टकम)
3 हेर्नुहोस : गोपाल सहस्रनामस्तोत्रम्
4 हेर्नुहोस : Flowers in Ancient Literature’ http://www.flowersofindia.in/mythology.html
5 दाङका थारु राजाको दरवार, दरवार अहिले छैन, तर दन्सिशरणको दरवार भएको भनिने केही भग्नावशेष भएको सानो क्षेत्र अद्यावधि छ ।
6 ‘सत्यं परम् धीमहि’ (श्रीमद्भागवत १:१:१)

Krishna Upadhyaya – Dhanyabad Valentine

कृष्ण उपाध्याय – धन्यवाद भ्यालेन्टाइन

आज त अझ हरियाली माथि हिमालै आएछ
लेकसाइड्को ताल पनि हिलेभग झरेछ
हुँदाहुँदा माछापुछ्रे पनि स्टाभाङार सरेछ
अहिले त हिमाल हिलेभग अगाडि ठिङ्ग उभिएछ।

हिमालका तालबेताल सुरमा
तिमी भ्यालेन्टाइन नाचिरहदा
हिलेभग हिजो पाटनका पटाङ्गिनीमा नाचेको अभिनय गर्छ
तिमी सङ्ग्सङ्गै प्रेम नाचेको अभिनय गर्छ
मेरा आँखा हरुमा
रक्तिम रक्तकण हरुमा
मेरो मनमा!

कान्तिपुरका कलिला रात ओछ्याएर
मन र मस्तिस्कका मन्चहरुमा
तिमी र म
प्रेम प्रणयमा प्रेमिल बाटा पछ्याउदै
उन्मुक्तिका गीत गाएको अभिनय गर्छ
नाचेको अभिनय गर्छ।
त्यसैले त भ्यालेन्टाइन
तिम्रा हिमालजस्तै हिस्सिपरेका अबयबका
धुक्धुकी सुनिने तिम्रा अबयबका
आलिङ्गन र अङ्गालोमा
मृदुस्पर्षहरुमा
उन्मुक्त उन्मुक्तिका गीत गाई रहन्छु
नाचि रहन्छु
तिमी सङ्ग सङ्गै!

तिम्रा असिम प्रेमका परिक्रममा
हरेक दिन प्रेमिल हुन्छन
दिनहरु प्रेम दिन हुन्छन!
होइन भने
सिन्धुको सान्धहालेर
निल नदिको रेखी हालेर
म मरुभुमिमा पग्लिरहदा
हिमाल हृदयमा हालेर
शितल शितल प्रेम पठाउदिनथ्यौ
कलिला कलिला रातहरुमा
चुलोको चम्को माथी दियो बालेर
प्रेम प्रज्वलित गर्दिनथ्यौ।

पर पर पग्लिने प्रेम सङ्गको
तिम्रो प्रेमलाइ
तिम्रा प्रेमिल गीतहरुलाइ
हिलेभगको हिमाल ले पनि सलाम भन्यो
तिमिले गाउने उन्मुक्तिका उन्मुक्त गीतमा हासिरह्यो।

टेम्सका तटहरुमा
समुन्द्रका साँधहरुमा
बालुवाको ओछ्यान लगाएर
भ्यालेन्टाइन
बस्त्रको कलेबरमा तिमी निर्बस्त्र लडिरहदा
तिम्रा अवयवका अलङ्कार
अलङ्कार लाग्छन हिमालका अवयव जस्तै!
यात्रीका पदमार्ग जस्तै!
पन्चेन्द्रीय का अनुभूति जस्तै!

कसरी बिर्सु!
तिमिले गाएका तिम्रा अवयवका गीत हरु
अवयवका अलङ्कारका गीत हरु
अहङ्कार लाग्ने गीत हरु
भ्यालेन्टाइन तिमिले गाई रह्यौ:
“यी सुन्दर अवयव मेरा हुन
कसैले यस्मा हुकुम नचलाउ!”
तिम्रा तिनै उन्मुक्त उन्मुक्तिका भाकाहरुमा
म तिमी सङ्सङै नाच्दा
म तिम्रा अवयव हरु भित्र बाधियेर
प्रणय दिवस मनाइ रहे।

तिम्रा अनन्त अबिरल प्रेममा
म आफै पनि प्रेमाभिभुत छु।
मरुभुमिमा पहिचानहिन पग्लिरहदा
तिमी प्रशान्त को तुफान रोयौ
कान्तिपुरको क्रन्दन पोख्यौ
लोन्डोनियमको आक्रोश ओकल्यौ
तिम्रा छरियेका केश्हरु मेरा अनुहार स्पर्श गरि रहे
पहिचानहिन पग्लिदा म तिम्रो प्रेम पग्लिरहे!

त्यसैले त भ्यालेन्टाइन
उत्तरिसागरको प्रेमिल स्पर्समा
यारेनको स्वच्छन्द स्वतन्त्रताको आकाशमुनी
म उन्मुक्त बाच्छु
प्रेम बाच्छु
स्वतन्त्रता बाच्छु!

स्टाभाङ्गार

Krishna Upadhyaya – Bhigelyand Uddhyan Ka Utkarsha

कृष्ण उपाध्याय – भिगेल्याण्ड उद्द्यानका उत्कर्ष

उत्तरी सागर माथि सगरमा
उत्तरी सगरबाट उत्तरी सागरतिर बगिरहँदा
मानस
स्वयम्भु र नागार्जुन डाँडामाथि भएको अनुभूत गर्छ
नागार्जुनको डाँडामा बसेको अनुभूत गर्छ
नागार्जुनको मन्द सुसेली सुन्छ
नागार्जुन बोलेको सुन्छ ।

भिगेल्याण्ड उद्द्यान उत्रिदा
भिगेल्याण्ड उद्द्यानमा उभिएका
मौन मूर्ति हेर्दा
मानस मान्छेका असंख्य रुप देख्छ
बालक देख्छ
बालिका देख्छ
युवा देख्छ
यौबना देख्छ
बृद्ध अनि बृद्धा देख्छ
जन्म र मृत्यु पनि देख्छ/
जन्म मृत्यु कुदिएका मूर्तिहरुमा
मूर्तिकारका मुर्त मूर्तिहरुमा
नागार्जुनका सुरिला सुसेली सुन्छ
नागार्जुन सुन्छ:

संसार सिमित छ
गुलाब फुल्छन
गुलाब फुलेर मर्छन
फुल्नु र मर्नुको कथा बनेर ।
एक पल्ट फुल्छन मर्छन
आखिर जीवन सिमित छ
संसार सिमित छ ।

एउटा पुस्ता आउँछ
एउटा पुस्ता जान्छ
एउटाले अर्कालाई पछ्याई पनि रहन्छ
पुस्ता पछि पुस्ता न आउछ
गुलाब मर्छ
फेरी फुल्छ
यो अविरल मर्छ
अविरल फुल्छ
हेर त मानस
संसार सिमित छ
संसार असिमित पनि छ ।

गुलाबको आफ्नै रुप छ
गुलाबको आफ्नै रुपान्तर छ
रुपान्तरण छ
यो फुल्छ, ओइलिन्छ, झर्छ
जीवन जस्तै ।
यो फुल्छ
यो ओइलिन्छ
अनि फेरी फुल्छ ।

अनुभूतिका अनुपम साँध सीमामा
जीवनका साँध सीमामा
भावनाहरु सल्बलाउछन
माथि उडछन, अक्कासिन्छन, मड़ारिन्छ्न
खुशी छर्छन, हास्छन
दुखेशो छर्छन, रुन्छन ।
भावनाहरु रुप र रुपान्तरणमा
सधै सधै सजिंछ्न
जीवनका छाया बनेर ।

उज्यालोमा हिंड्दा
छाया पनि त हल्लिन्छ
रुप फेर्छ
रुपान्तरण हुन्छ
गतिशीलबाट गतिहीनमा
चम्किलोबाट मधुरोमा
प्रस्टबाट अप्रस्टमा
फेरी गतिहीनबाट गतिशिलमा
मधुरोबाट चम्किलोमा
अप्रस्टबाट प्रस्टमा
पालै पालो
अविरल ।
अन्धकारमा
प्रकाशमा/
संसार सिमित र असिमित दुवै हो ।
अन्त-अनन्त हो ।

मानस !
तिम्रा प्रज्ञा र ज्ञानका सिमाहरुमा
तिमी नै संसार हौ
संसार सिमित र असिमित हो ।
तिम्रा प्रज्ञा र ज्ञानहरुमा
तिमी कालो पनि छौ
तिमी गोरो पनि छौ
कालो नहुदा गोरो हुन्छौ
गोरोपनाको अनुपस्थितिमा कालो छौ ।
सबै रङ्गमा इन्द्रेणी हौ
तिमि कालो र सेताका सिमा भित्र छौ
असिमित इन्द्रेणीका सिमा भित्र छौ
असिमित इन्द्रेणीका असिमित अंश हौ
असिमित इन्द्रेणी हौ ।

मानस इन्द्रेणी तिम्रो हो
अन्गाल!
गुलाब जस्तै
अन्त र अनन्तको वृत्तमा
तिम्रो इन्द्रेणी हाँसी रहन्छ ।

Krishna Upadhyaya – Nirwan Niyatra

कृष्ण उपाध्याय – निर्वाण नियात्रा

बिवर्ण वर्तमानका बग्रेल्ति बाटाहरु
बौद्धका बिरान बस्तिहरु
स्वयमभूका सिँढीहरु
मानसका मानचित्र हुन्
निर्वाण नियात्राकार

निर्वाण नियात्रामा मानस
स्वयम्भूका सिँढीबाट
कान्तिपुर र्हेछ,
उज्यालोमा उत्साहित हुन्छ ।
फेरी र्हेछ
टकिल्एको जूनमा
बागमती देख्छ
रगताम्य रातो बागमती
अब ऊ
स्वच्छ सजल बागमतीको कामना गर्छ ।

अलि माथि उक्लिन्छ
सुन्दर सुरम्य हिमाल देख्छ
डाँडाकाँडा देख्छ
गुम्बाका गायन सुन्छ
गौरवान्वित हुन्छ र
डाँडामा आँखा पूर्व पश्चिम कुदाउँछ
दक्षिणी फराकिला फाँटहरुमा आँखा कुदाउँछ
हूलका हूल आक्रोशित आकार देख्छ
डाँडाकाँडा फराकिला फाँट
अंशबन्डा गर्न उद्दत भिड देख्छ ।

निर्वाण नियात्राको मानस
बुद्ध बसाइ र्सान उद्दत भिड पनि देख्छ ।
उ दौडन्छ
कपिलबस्तु र लुम्बिनीमा पुगेर
उ बुद्धको पाउ कस्सिएर समातेर
उ त्यहिँ लडी रहन्छ ।

निर्वाण नियात्राको मानस
उज्यालो जूनको उज्यालोमा बर्बराउँछ
बुद्ध न वाड
फाट न वाड
डाँडाकाडा न वाडर

मानस
बुद्धको पाउ छोएर बर्बराइरहँदा
बुद्धका प्रेमपूर्ण आर्शिवादका हात
उसको शिर लक्षित गरिरहे
पूर्णिमाको जूनको प्रकाशमा ।

वेम्बली, लण्डन