Basudev Adhikari – Paris Ko Hawa Sanga

वासुदेव अधिकारी – पेरिसको हावासँग

परपरबाट बत्तिएर
कान नजिकै आएपछि त
सबै कुरा भन्नु नि !
किन कान नै तान्ने ?
किन झिर पठाउने भित्रसम्म ?

मन्त्रमुग्ध भएर
पेरिस हेरिरहँदा
त्रिकोणी बाटो देखिरहँदा
आइफेलटावर लुब्रे हेरिहँदा
धन्यवाद भन्न चाहेको हो तिमीले ?
आफ्नो बुढ्यौलीको
कथा हाल्न खोजेको हो तिमीले ?
कि मलाई
सानो देशको गरिब फुच्चे केटो भनी
गाली गर्न खोजेको ?
कान नजिकै आएपछि त
खुलस्तै कुरा गर्नु नि !
किन च्यात्तिने गरी कान तानेको ?
किन भित्रै पुग्ने गरी झिर पठाएको ?

पेरिस आउँदा
तिम्रो रेनेसाको गर्व
कण्ठै गरेर आएको छु
भिन्सी वागको पराग
काठमाडौँमै सुँघेर आएको छु
के भन्छौ त तिमी मलाई ?
आफ्नै रोमान्सको कथा !
युरो ऋणको घाउ
कि सोध्छौ ?
हाम्रो भद्रगोल मासिने समय !
नकार ऊर्जा निख्रिने अवधि !
कि डराएका छौ ?
म भित्र देदिप्यमान्
नयाँ नेपालको स्वप्न ऊर्जासँग !

परबाट बत्तिदै आएपछि
किन मौन तिमी ?
किन छुच्ची गुरुमाले जस्तो
कान तानिरहेकी !
झिर रोपिरहेकी !

Basudev Adhikari – Kaafal Pakyo

वासुदेव अधिकारी – काफल पाक्यो

पोहोर पोहोर
कहाँ पाक्न पाउनु काफल ?
सधैँ ठिहीले खाने
सधैँ डढेँलोले चाट्ने
सधैँ बाँदरले लुछ्ने
मुना भाँचिहाल्ने
उत्पात खसाइ हाल्ने
चिचिला टिपिहाल्ने !

हिजो
वसन्त आगो फुक्थ्यो
वसन्त बाँदर पाल्थ्यो
वसन्त प्रलय बोक्थ्यो
तर पनि कोइली गाउँथ्यो
‘काफल पाक्यो, काफल पाक्यो’

यस पटक
ठिही पग्लियो घाममा
आगो बाल्दा बाल्दै
डढेलो प्रदायक समातिए
क्यामरामा कैद भयो
तिनको आगो, लज्जा र कलङ्क
बाँदहरु थाके
र वसन्त गानमा मिसिए
आफैँ मसाङ्ग्रियो उत्पात
जोगिए काफल बोटका मुना
जोगिए काफलका चिचिला
मिठो घामको स्पर्शमा
मुना छिप्पिइहाल्यो
चिचिला बढिहाल्यो
अहिले सबै काफल पाकेको होइन
तैपनि कोइलीले गायो
‘काफल पाक्यो, काफल पाक्यो’

चरीले काफल पाकेको गीत गाउनु
सबै बोट काफल पाक्नु होइन
सबै दाना काफल पाक्नु होइन
यो यामको गीत हो
यो उत्सवको सङ्गीत हो
यो महक उद्वोधन हो
याम शुरु भएपछि
नपाकेको बोट पाक्छ
उत्सव शुरु भएपछि
नपाकेको हाँगा पाक्छ
माहौलले नै नपाकेको दाना पकाउँछ
हो, कुनै दाना नपाक्न सक्छ
कुनै दाना कुहिन सक्छ
तिमी किन चिन्ता गर्छौ
काफलको जङ्गलमा
केही दाना काफल पाकेन भनेर
संसारको कुन जङ्गलमा
कुहिएको छैन एक दाना काफल ?

स्वागत छ
‘काफल पाक्यो’ गीतलाई !
कोइलीलाई !
पाकेको काफलको महकलाई !

नपाकेको काफल पाक्ने घाम
र किराबाट जोगाउने
तितेपातीको अर्गानिक झोल
छँदैछ नि हामीसित !

Basudev Adhikari – Switzerland

वासुदेव अधिकारी – स्वीट्जरल्याण्ड

त्यति पर प्रकाश फाल्ने स्वीट्जरल्याण्ड
त्यति पर न्यानो पठाउने स्वीट्जरल्याण्ड
आफैँ किन कामेको जाडोले ?
घामको अस्पर्श पीडाले !

ज्ञानै ज्ञान
सीपै सीप
इमान्दारी नै इमान्दारी
कति पौडनु विश्लेषणमा ?
कति ब्यामोहित हुनु
राइन वा लिमत नदीको कञ्चन प्रवाहमा ?

स्वीट्जरल्याण्ड !
म आउनुपूर्व
तिमी नै आइपुगेका थियौ मेरो हृदयमा
चखाएका थियौ पसिनाको स्वाद
पठाएका थियौ पहाडको वास्ना
त्यतिखेरसम्म
हामी हिमाल हेरेर रुन्थ्यौँ (नाघ्न नसकेकोमा)
पहाड हेरेर पुर्पुरो बजाथ्र्याैँ(फुटाउन नसकेकोमा)
तिमी त पहाडलाई नै छेड्दा रहेछौ
हिमालको आभा फ्रेन्कमा बेच्दा रहेछौ
कति जानेका तिमीले
आफैँभित्रबाट उज्यालो झिक्न !
पहाडको कण कणबाट सौन्दर्य निकाल्न !

स्वीट्जरल्याण्ड !
हिजो अरु गफ बेच्थे÷रवाफ बेच्थे
तिमी हिजो भेडा पाल्थ्यौ
दूध कुरौनी बेच्थ्यौ
गफाडीहरु आज हतियार बेच्छन्
जनजनलाई लडाउँछन्
तिमी सीप र इमान प्रदर्शन गर्छौ
तैपनि पैसाको तुलो
तिमीतिरै ढल्किएको छ
मनको सुई तिमीतिरै फर्किएको छ

म अभिवादन गर्छु
पहाडबाट उदाएको यस ज्योतिलाई
ज्योति संवहन गर्ने हृदयको मोतीलाई

Basudev Adhikari – Jhanda Ko Geet

वासुदेव अधिकारी – झण्डाको गीत

ए, सिँगान नपुछ यस झण्डाले
यसलाई कोटको खल्तीमा पनि नहाल
दरो गरी समाऊ
फररर फरर फहराऊ
यसलाई चम्किलो
झन् झन् चम्किलो बनाऊ

झण्डा कमिज होइन
जो लगाएर फाट्छ
झण्डा फरिया होइन
जो लगाएर मैलिन्छ
र, माटोमा झरेर बिग्रिन्छ
यसलाई कोठामा बन्द नगर
बस्तीहरुमै लैजाऊ
मन मनमै सजाऊ
माटोकै वास्ना सुँघाऊ
ए, यो झण्डाको शानलाई किमार्थ नझुकाऊ

हिजो मैलो जस्तो लागे पनि
आज सुकिलिदैछ यो झण्डा
यसमा माटोको महक छ
राष्ट्रियताको चहक छ

मुलुक बनाउन
मुलुक बचाउन
अहिले यही झण्डा बोक
न्याय
समानता
समृद्धि
र एकता
सबै अटाउन सक्छ यस झण्डामा

Basudev Adhikari – Anam Sadak Ki Thiti Sanga

वासुदेव अधिकारी – अनाम सडककी ठिटीसँग

बैभव चोर्न आएको होइन
न तिमीलाई बराल्न आएको !

म त पेरिसको
बैभव सुँघ्न आएको
विकास हेर्न आएको
सौन्दर्य प्युन आएको
मोनालिसासँग बात मार्न आएको
मसँग किन ततर्किएकी तिमी ?

म अङ्ग्रेज होइन
मैले पनि कनिकुथी अङ्ग्रजी सिकेर आएको
(सदा त नेपाली नै बोल्छु)
बाटो भुलेपछि
के गरुँ त तिमीलाई नसोधेर ?
अघि नै भनेँ नि
म तिमीलाई बराल्न आएको होइन
म तिम्रो भाषा बिटुल्याउन आएको होइन
म तिम्रो भाषाको गुबो मार्न आएको होइन
(हाम्रोमा त्यस्ता आउँछन्)
किन ततर्किएकी तिमी ?
किन मौन बसेकी
के के भनेर
मलाई आँखा तर्दै हिँडेकी ?